नेपालस्थित साउदी अरबको दूतावासले सिन्डिकेट शैलीमा मात्र भिसा दिने र अनावश्यक कागजात माग्न थालेपछि व्यवसायीहरू बंगलादेशको ढाका पुगेर भिसा स्ट्याम्पिङ गर्न थालेका छन्।
नेपालमा हालै स्थापित दूतावासले केही म्यानपावरसँगको मिलेमतोमा सीमित कम्पनीलाई मात्र भिसा र अरबी भाषाको अनुवाद गर्ने अनुमति दिएको थियो। यो प्रक्रिया झन्झटिलो भएको भन्दै व्यवसायीले ढाकाबाट भिसा स्ट्याम्पिङ गर्न थालेका हुन्। नेपालमा दूतावास आउनुअघि नेपालको भिसा स्ट्याम्पिङ ढाकाबाट नै हुने गर्थ्यो।
दूतावासले सोमवारदेखि बिहीवारसम्म समय छुट्याएर हप्तामा एउटा कम्पनीलाई ५० जना कामदारका लागि मात्र भिसा दिने तर केही कम्पनीलाई भने सहजै भिसा स्ट्याम्पिङ गरिदिने भन्दै व्यवसायीहरू ढाका धाउन थालेका छन्।
दूतावासले शैक्षिक प्रमाणपत्र, पुलिस रिपोर्ट आदि खोज्छ र तिनका अरबी अनुवाद अनिवार्य गरेको छ। यस्तो निर्णय उसले तोकेको कम्पनीमा मात्र लागू हुने गर्छ। प्रत्येक कागजपत्रको अरबी भाषामा अनुवाद गर्दा छुट्टाछुट्टै रूपमा पैसा तिर्नुपर्ने हुन्छ।
साउदी अरबका लागि नेपाल र बंगलादेशबाट भिसा लिन सकिन्छ। बंगलादेशमा पुगेर भिसा लिन खोज्दा अन्य कागजपत्र र अरबी भाषाको अनुवाद नचाहिने र तुरुन्तै भिसा निस्कने भएकाले व्यवसायीहरू ढाकासम्म पुग्ने गरेका हुन्।
प्रगतिशील वैदेशिक रोजगार मञ्चका अध्यक्ष टंक राउतले नेपालस्थित साउदी दूतावासले अनावश्यक कागजपत्र माग्ने र भिसा पनि सजिलोसँग उपलब्ध नगराउने बताए। यही कारण अधिकांश व्यवसायी ढाका पुग्ने गरेको उनले बताए। 'हामी व्यवसायीलाई नेपालमा साउदीको दूतावास भएको अनुभवै भएन,' उनले भने। राउतका अनुसार ढाका पुगेर भिसा स्ट्याम्पिङ गर्दा प्रतिभिसा आठ हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ।
दूतावासले केही संस्थालाई मात्र अनुमति दिएर अरबी भाषाको अनुवाद गर्न लगाउने र त्यसबाट पैसा उठाउने गरेको छ। दूतावासले अनुवाद गर्नेका लागि आफ्नो कार्यालय छेवैमा अफिस खोल्ने अनुमतिसमेत दिएको व्यवसायीको आरोप छ।
दूतावासले गल्फ कन्स्ल्टेन्सी, नासा, सोलुसनलगायत संस्थालाई कागजपत्र, प्रमाणपत्र र पुलिस रिपोर्ट अरबी भाषामा अनुवाद गर्न अनुमति दिएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले साउदी अरबको भिसा प्रक्रिया झन्झटिलो भएको बताए। 'भिसा दिन र कागजपत्रका विषयमा केही समस्या देखिएको छ,' उनले भने, 'हामी यस विषयमा कुरा गर्न चार पटकसम्म दूतावास गइसकेका छौँ।' अहिले केही सुधार भए पनि अझै समस्या रहेको उनले बताए। 'केही व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न दूतावासलाई झुक्याएका छन्,' उनले भने, 'हामीले खबरदारी गरिरहेका छौँ।'