नेपाली कामदार रोजगारीको खोजीमा विश्वका विभिन्न मुलुक पुग्ने गरेका छन्। सरकारले खुला गरेको १ सय ८ मुलुकमा नेपाली कामदार आफ्नो श्रम बेच्न जान्छन्। नेपाली श्रम बजारमा वार्षिक रूपमा प्रवेश गर्ने ४ लाखभन्दा बढी युवाको पहिलो उद्देश्य विदेशिने हुन्छ। तर, त्यसका लागि उनीहरू कुनै सीप सिक्दैनन्। सीपबिनै विदेश उड्छन्।
सरकारी तथ्यांकले सीप नसिकी विदेशिनेको संख्या ठूलो रहेको देखाउँछ। विदेशिने युवामध्ये ७४ प्रतिशत अदक्ष रहेका छन्। उनीहरूले कुनै पनि सीप नसिकी विदेशिएको सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७०/२०७१ को आर्थिक सर्वेक्षणले देखाएको छ।
आन्तरिक श्रम बजारमा रोजगारीको अवसर नपाएपछि दैनिक करिब १५ सय युवा विदेशिने गरेका छन्। श्रम बजारमा वार्षिक करिब चार लाखजना प्रवेश गर्नेमध्ये जम्मा एक प्रतिशत दक्ष जनशक्ति विदेशिने गरेको सरकारले जनाएको छ। सर्वेक्षणअनुसार २५ प्रतिशत अर्धदक्ष कामदार कामको खोजीमा विदेश पुग्ने गरेका छन्। राजनीतिक अस्थिरताका कारण औद्योगिक वातावरण नहुँदा रोजगार वृद्धिदर भने २.९ प्रतिशतमात्र रहेको छ।
कुनै पनि सीप नसिकी विदेश पुग्ने कामदारले लेबर र हेल्परको मात्रै काम पाउने गरेको म्यानपावर व्यवसायी सुवर्ण श्रेष्ठ बताउँछिन्। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेका अनुसार विदेशिने अधिकांश कामदारले कुनै सीप सिकेका छैनन्। 'उनीहरूले राम्रो र धेरै कमाइ हुने काम पाइरहेका छैनन्,' उनले भने, 'हातमा सीप नहुँदा कामदारको बार्गेनिङ प्वाइन्ट नै हुँदैन। त्यसैले कामदार आफैँ शोषित भएका छन्। उनीरूले जुन काम अह्राउँछन्, त्यही गर्नुको विकल्प हुँदैन। तिनमा थोरै ज्याला र कम सुविधा हुन्छन्।'
काम नसिकी जाँदा नेपालीहरूले राम्रो प्रदर्शन गर्न नसक्ने र जसका कारण उनीहरूको प्रमोसन पनि नहुने वाग्लेले बताए। 'उतै गएर काम सिक्छु भन्नु भ्रममात्र हो,' उनले भने, 'विदेश जानुअघि केही न केही सीप सिक्नैपर्छ।' उनले सीप सिकाइका लागि पाठ्यक्रम नै बनाउनुपर्ने र सीप विकास तालिम दिने संस्थालाई प्रभावकारी बनाउनुपर्ने बताए। 'हामीकहाँ प्लस टू सकेपछि र हल्काफुल्का अंग्रेजी जान्दैमा सिपालु भएको ठानिन्छ,' उनले थपे, 'तर अंग्रेजी बोल्नेले इलेक्ट्रिक तालिम लिएको छैन, उता गएर के गर्न सक्छ?'
सरकारले सीपमूलक तालिमलाई प्रभावकारी बनाउन बजेटमा समेत सम्बोधन गरेको छ। अर्थमन्त्री रामशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०७१/२०७२ को बजेटमा व्यावसायिक सीप तालिम प्रदान गर्ने संस्थालाई हरेक निर्वाचन क्षेत्रका प्राविधिक विद्यालयसँग सहकार्य गर्दै राष्ट्रिय सीप परिक्षण समितिसँग आबद्ध गराई तालिमको गुणस्तर कायम गर्ने उल्लेख गरिएको छ।
बजेटमा युवा स्वरोजगारी बढाई आन्तरिक रोजगारीको प्रवर्द्धन गर्न व्यावसायिक तथा सीपमूलक र अभिमुखीकरण तालिमलाई थप प्रभावकारी बनाउन जोड दिइएको छ। विभिन्न निकायले दिने सीपमूलक तालिममा दोहोरापना हटाई गुणस्तर बढाउन राष्ट्रिय सीप विकास नीति तर्जुमा गरिने कुरा पनि बजेटमा उल्लेख छ।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले सीपमूलक कार्यक्रमलाई गाउँ–गाउँ पुर्यािउनुपर्ने बताए। 'विदेशिने कामदारलाई लक्ष्य गरी विभिन्न सीपप्रदायक कार्यक्रम तय भएका छन्,' गुरुङले भने, 'हामी विभिन्न संघसंस्थासँग समन्वय गरेर यस्ता कार्यक्रम सञ्चालन गर्नेछौँ।'
वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले विदेशिने कामदारलाई लक्ष्य गरी सरकारले नै तालिम सञ्चालन गर्नुपर्ने बताए। 'कि सरकारले स्वदेशमै रोजगारी उपलब्ध गराउनुपर्योग, कि त कामको खोजीमा विदेशिनेहरूलाई दक्ष बनाउनुपर्योद,' उनले भने।