फिल्म रिलिज हुनुअघि दर्शकलाई मास्क, रुमाल र क्यालेन्डर जस्ता उपहार बाँड्न मरिहत्ते गर्छन्, निर्माता/निर्देशक। आफ्नो फिल्मप्रति दर्शकको ध्यान तान्न खोज्नु ठीकै हो। पछिल्लो प्रवृत्ति हेर्दा फिल्म बनाउनभन्दा फिल्मको प्रवर्द्धनमा धेरै ऊर्जा खर्चिएको पाइन्छ।
सुटिङ गर्ने बेला धेरै लोकेसन सिफ्ट गरिँदैन। जतिसक्दो थोरै लोकेसनमै सुटिङ सकाउन प्रयास गरिन्छ। गाउँघरका दृश्य 'चिट' गरेर काठमाडौँमै ठोकठाक पारिन्छ। फिल्म चल्ने बेला भने 'प्रोमोसनल टुर'को नाममा कलाकारको पूरा पल्टन देशका कुनाकाप्चा पुग्छन्।
धेरै लोकेसन सिफ्ट हुँदा फिल्मको सुटिङ खर्चिलो हुन्छ। तर, देशदौडाहामा कलाकार निस्किँदा पनि सुटिङकै जति खर्च भइरहेको हुन्छ। त्यसैले आवश्यक छ भने धेरैभन्दा धेरै लोकेसनमा सुटिङ गर्नु नै ठीक हो, बरु पब्लिसिटीको बेला गरिने देशदौडाहाको खर्च घटाउँदा हुन्छ।
फिल्मलाई कसरी चर्चामा ल्याउने भन्ने विषयमा निर्माताहरूको दिमाग छिटो घुम्छ। केही निर्माताले फिल्मको प्रचार–प्रसारमा तारिफयोग्य 'क्रिएटिभिटी' प्रदर्शन गरेका पाइन्छन्। फरक यतिमात्र हो कि, जतिसुकै 'क्रिएटिभ आइडिया' लगाए पनि फिल्मको व्यापारिक सफलताको कुनै ग्यारेन्टी हुँदैन। त्यो 'क्रिएटिभिटी' फिल्मको रचना प्रक्रियामै खर्चे भलाइ हुन्छ।
पटकथा लेखकलाई ५० हजार रुपैयाँ छुट्याउन पनि लोभ गर्ने निर्माताले फिल्म चल्ने बेला प्रचारको सामान्य जिम्मेवारी लिनेलाई डेढ–दुई लाख रुपैयाँ दिन बेर लाउँदैन। यसरी खर्चिने पैसा पटकथा लेखनमा लगानी गर्नु बुद्धिमानी हो। पटकथामा पैसा खर्चे फिल्म राम्रो बन्ने सम्भावना हुन्छ र फिल्म राम्रो बनेको खण्डमा अरू सामान्य फिल्मको दाँजोमा बढी चर्चा पाइहालिन्छ।
पोस्टरमा कलाकारका अनुहारलाई विभिन्न 'इफेक्ट' प्रयोग गरेर सिँगार्ने चलन बढेको छ। कलात्मक र आकर्षक पोस्टरले फिल्मको व्यापारलाई बढाउन सहयोग गर्नसक्छ। पोस्टर राम्रै बनाउनुपर्छ। तर, फिल्म पनि पोस्टरको इज्जत धान्न सक्ने हुनुपर्योर।
पोस्टरमा कलाकारलाई सिँगार्न, जति सूक्ष्म रूपमा बुट्टा भरिन्छ, फिल्मको पटकथा लेख्दा त्योभन्दा मिहिन रूपमा काम गर्न जरुरी छ। दर्शकले कलाकारको दमदार उपस्थिति पोस्टरमा होइन, फिल्ममै खोज्छन्। विभिन्न रङ पोतेर पोस्टरलाई 'कलरफुल' बनाउन लालायित हुनेहरू फिल्म कलरफुल छ कि छैन भन्नेतर्फ सचेत हुँदैनन्।
कुनैकुनै फिल्मले आइटम गीतमा १० लाख रुपैयाँसम्म खर्च गरेको पाइन्छ। भव्य सेट, महँगा पहिरन, रंगीचंगी लाइट र कलाकारको भीड भेला पारेर आइटम डान्स खिच्दा महँगो हुनपुग्छ। तर, फिल्मभित्र धेरैजसो आइटम गीत अनावश्यक रूपमा घुसाइएको भान हुन्छ। 'लुट'को 'उध्रेको चोली' समेत फिल्मभित्र आवश्यक थिएन।
'लुट'को व्यापारलाई आइटम गीतले केही न केही फाइदा पुर्यानयो होला। तर, धेरै दर्शकले फिल्मको कथामा उक्त गीतले अवरोध पैदा गरेको प्रतिक्रिया दिए। आइटम गीतमा निकै खर्च गरे पनि फिल्मलाई फाइदा दिन नसकेको गतिलो उदाहरण 'हँसिया' हो। निकै महँगो भनिएको 'आजको यो रमझममा' गीतले फिल्मको आकर्षणलाई बढाउन सकेन।
आइटम गीतमा ओइराएको पैसा फिल्मको पटकथा र अझ राम्रा कलाकार प्राविधिक छनोटमा लगाइएको भए 'हँसिया' पक्कै धारिलो हुनसक्थ्यो। अनावश्यक प्रायोजनमा पैसा खर्च गरेको आरोप 'हँसिया'लाई छ। त्यसैले दर्शकको खल्ती काट्नसक्ने जति पनि धारिलो हुन सकेन फिल्म।
आइटम गीतले एकथरी दर्शकलाई हलसम्म डोर्या उन मद्दत त गर्ला। तिनलाई रिझाउन चाहिँ फिल्म नै गतिलो हुनुपर्छ। हिन्दी फिल्म 'तीस मार खान'को 'शिला की जवानी' गीत भयंकर हिट थियो। गीतले केही दर्शकलाई आकर्षित पनि गर्योो। तर, फिल्म झुर थियो। गीतको जादु धेरै दिन टिक्न सकेन।
फिल्मको 'प्रि–प्रोडक्सन' एउटा महत्त्वपूर्ण चरण हो। पटकथा लेखन, कलाकार तथा प्राविधिक छनोट यो चरणमा गरिन्छ। त्यसपछि 'प्रोडक्सन' चरण अर्थात् सुटिङमा फिल्मको प्रवेश हुन्छ।
निर्माता–निर्देशकले 'प्रि–प्रोडक्सन' चरणमा फिल्म युनिटभन्दा बाहिरका कोहीसँग सहयोग, सरसल्लाह माग्दैनन्। पटकथा खुसुक्क लेख्छन्, मानौँ कसैले कथा चोरिदिन्छन्। कलाकार तथा प्राविधिक पनि आफ्नो नजिक र चिनेजानेका रोज्छन्।
तिनै निर्माता–निर्देशक फिल्म रिलिज हुने बेला चाहिँ सरसल्लाहका लागि घरदैलो अभियानमा ओर्लिन्छन्। उनीहरूले आफ्नो फिल्मको 'प्राइभेट स्त्रि्कनिङ' पनि गराउँछन्। फिल्म कस्तो लाग्यो भन्ने प्रतिक्रिया माग्छन्। जबकि त्यो चरणमा पुगेपछि फिल्ममा फेरबदल वा काँटछाँट गर्न असम्भव भइसकेको हुन्छ।
निर्माताहरूको यो पारा बिलकुलै उल्टो हो। फिल्मलाई साँच्चीकै राम्रो बनाउने हो भने पटकथा लेखनको चरणमै साथीभाइको सल्लाह–सुझाव लिनुपर्छ। काँटछाँट गर्दै, सुधार्दै पटकथाको अन्तिम ड्राफ्ट निकाल्नुपर्छ। त्यसपछि पटकथालाई सुहाउँदो र योग्य कलाकार तथा प्राविधिकलाई अनुबन्धित गर्नुपर्छ।
फिल्म बनाउनु भनेको घर बनाउनु जस्तै हो। दुवैमा जग बलियो हुनुपर्छ। जगमा पैसा, पसिना र बुद्धि खन्याउन कन्जुस्याइँ गर्नु हुँदैन।