काठमाडौं-ब्रुपेनर्फिन र डाइजेपाम कारोबारमा भारतीय नागरिकको प्रत्यक्ष संलग्नता बढेको छ। लागूऔषध नियन्त्रण ब्युरोले मनोद्धिपक समूहमा पर्ने बु्रपेनर्फिन र डाइजेपाम कारोबारी केन्द्रित गरेर चलाएको ५ दिनको विशेष अप्रेसनमा पक्राउ परेकाको संख्याले सीमामा बसेर कारोबारमा सक्रिय हुने भारतीय नागरिक आफैं लागूऔषधि बोकेर काठमाडौं आउने गरेको खुलेको हो।
ब्युरोका डिआइजी प्रतापसिंह थापा प्रहरीले नेपाली सहयोगी सञ्जाल भत्काएपछि भारतमा रहेका मुख्य कारोबारीले उतैका नागरिकलाई प्रयोग गर्न थालेको देखिएको जानकारी दिए। ब्युरोले असार ३२ देखि साउन ४ सम्म ब्रुपेनिर्फन र डाइजेपाम कारोबारीलाई केन्द्रित गरेर पक्राउ अभियान चलाएको थियो। पाँच दिनमा ११ जना कारोबारी पक्राउ परेकामा ६ जना भारतीय नागरिक छन्।
ब्युरो अधिकारीका अनुसार ब्रुपेनर्फिन र डाइजेपामको मुख्य स्रोत भारत हो। सीमावर्ती क्षेत्रमा बस्ने भारतीय कारोबारीसँग मिलेर नेपाली कारोबारीले स्थलमार्गबाट भिœयाएर धरान, काठमाडौं, पोखरा, हेटांैडाजस्ता सहरमा रहेका दुर्व्यसनीसम्म पुर्यामउँदै आएका छन्। यस्तो कारोबारमा प्रायः नेपालीले नै मुख्य सहर भित्र्याउने गरेकामा पछिल्लो समय भने भारतीय नागरिकले उतैका सहयोगीलाई ब्रुपेनर्फिन र डाइजेपाम दिएर नेपाल पठाउने गरेको ब्युरोको कारबाहीमा खुलेको हो।
लागूऔषध प्रयोगकर्ताले ब्रुपेनर्फिन र डाइजेपाम मिलाएर सुईबाट लागूऔषधि लिने भएकाले कारोबारी पक्राउ पर्दा प्रायः यी दुवै लागूऔषधिसहित पक्राउ पर्छन्। भारतीय सहरमा ब्रुपेनर्फिन १ सय ५० सम्ममा पाइन्छ। कारोबारीले नेपालमा त्यही सेटलाई १ हजारदेखि २ हजार रुपैयाँसम्ममा बेच्छन्।
'एकै सेटमा १ हजारसम्म फाइदा हुने भएपछि भारतीय कारोबारी पछिल्लो समय आफैं सक्रिय देखिए,' डिआइजी थापाले भने, 'नियन्त्रणका लागि भारतीय पक्षसँग सहकार्य गरिरहेका छौं, तर प्रभावकारी नियन्त्रण अझै हुन सकेको छैन।'
पक्राउ पर्नेमा भारतको बिहारमा बसेर नेपालका कारोबारीलाई लामो समयदेखि ब्रुपेनर्फिन र डाइजेपाम पठाउन सक्रिय समूहका सदस्य रहेको ब्युरो अधिकारी बताउँछन्।
भुक्तानी लिन आउँदा सामान पनि सँगै
भारत मोतिहारीका जरिना खातुन र कालिमा खातुन ५ सय एम्पुल ब्रुपेनर्फिन र उत्तिकै परिमाणको डाइजेपामसहित बल्खुमा पक्राउ परे। फरकफरक बसमा आएका यी दुवै महिलालाई शंका लागेर जाँच गर्दा कालिमाको साथबाट ब्रुपेनर्फिन र डाइजेपाम फेला परेको थियो।
केरकार क्रममा जरिनाको नामसमेत खुलेपछि प्रहरीले यी दुवैलाई पक्रेर कार्यालयमा ल्यायो। अनुसन्धानमा जरिना आफूले यसअघि पठाएको ब्रुपेनर्फिन र डाइजेपामको पैसा उठाउन आएको खुल्यो। ब्युरोका डिआइजी थापाका अनुसार उनी पैसा पनि उठाउने र सामान पनि दिने योजनासाथ कालिमालाई सहयोगी बनाएर काठमाडौं आएकी थिइन्। कालिमाको साथमा काखे बालकसमेत थियो।
प्रहरी बयानमा कालिमाकाले बच्चासँगै हुँदा प्रहरीले कडा जाँच नगर्ने भएकाले बच्चासहित आएको बयान दिएकी थिइन्। प्रहरीले बालकलाई एक सामाजिक संस्थालाई स्याहारका लागि दिएर उनलाई हिरासतमा राखेको छ। प्रहरीले साउन २ मा पक्रेको भारत पश्चिम चम्पारणका मोहमद बसिर आलम र रियाजुदिन अन्सारीसमेत पुरानै कारोबारी हुन्। उनीहरु ५ हजार ६ सय एम्पुल ब्रुपेनर्फिन र डाइजेपामसहित पक्राउ परेका थिए।
उनीहरुले नेपाल–भारतको सीमावर्ती सहरमा बसेर नेपाली कारोबारीलाई लागूऔषधि पठाउँदै आएका थिए। पछिल्लो समय भने उनीहरु पर्साका मकबुल आलमसहित आफैं काठमाडौं आउँदा पक्राउ परे। मकबुल नेपालमा बसेर उनीहरुबाट मगाएको बु्रपेनर्फिन र डाइजेपाम काठमाडौं लगायत सहरमा बेच्ने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो। यी तीनै जना कलंकीमा पक्राउ परेका थिए।
साउन २ मै २ हजार एम्पुल ब्रुपेनर्फिन र डाइजेपामसहित पक्राउ परेका भारत मोतिहारीका नुर इस्लाम मियासमेत ब्युरोको सूचीमा पुराना कारोबारी रहेको देखिएको डिआइजी थापाले जानकारी दिए। उनी कलंकीमा पक्राउ परेका थिए।
यो अवधिमा ब्युरोले भारतीय नागरिकसँगै नेपाली कारोबारीसमेत पक्रेको छ। असार ३२ मा डल्लुबाट ४ सय एम्पुल बुप्रेनर्फिन र डाइजेपामसहित चेतबहादुर भण्डारी पक्राउ परे भने सोही दिन सप्तरी तिलाठीका सुरेश कर्ण र धादिङका राहरी राई ३ हजार ३ सय ६३ एम्पलुल ब्रुपेनर्फिन र डाइजेपामसहित पक्राउ परेका थिए। उनीहरु यट्खाबाट पक्राउ परेको ब्युरोले बिहीबार जानकारी दिएको छ।