काठमाडौं– मारिएको १० दिनपछि शनिबार दिनेश अधिकारी चरीको पोस्टमार्टम भएको छ। साउन २१ गते भीमढुंगामा प्रहरीसँग भएको मुठभेडमा मारिएका चरीको परिवारको असहमतिका कारण पोस्टमार्टम रोकिएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम कार्कीका अनुसार पोस्टमार्टम सकिए पनि परिवारले लिन नमानेकाले शव शिक्षण अस्पतालमै राखिएको छ।
आफ्नो तर्फबाट समेत पोस्टमार्टममा एक चिकित्सक राख्न पाउनुपर्ने उनीहरूको सर्त प्रहरीले स्वीकार गरेपछि शनिबार पोस्टमार्टम भएको थियो। स्रोतअनुसार पोस्टमार्टममा परिवारका तर्फबाट मनमोहन मेमोरियल अस्पतालका चिकित्सक रामकुमार अधिकारी शिक्षण अस्पतालको हरिहर वस्ती नेतृत्वको टोलीसँगै खटिएका थिए। अधिकारीलाई चरीको परिवारको चिकित्सकका रूपमा एमाले सभासद राजेन्द्र पाण्डेले खटाएका थिए। पाण्डे मनमोहन अस्पतालको व्यवस्थापनमा छन्।
पोस्टमार्टममा चरीलाई ७ गोली लागेको खुलेको छ। गोलीले शरीरका महत्त्वपूर्ण भाग क्षत–विक्षत बनाएकाले आन्तरिक रक्तश्राव हुँदा उनको मृत्यु भएको देखिएको छ।
स्रोतका अनुसार पोस्टमार्टमपछि चिकित्सकले उनको भिसेरा थप परीक्षणका लागि खुमलटारमा रहेको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाएको छ। यस अगाडिका यस्ता केसको भिसेरा परीक्षण प्रहरीको विधिविज्ञानमा हुने गरेको थियो। मृत्यु हुनुअघि कुनै नशालु पदार्थ खुवाइएको छ कि छैन भन्ने यकिन गर्न भिसेरा परीक्षण गरिन्छ।
चिकित्सक टोलीले थप अनुसन्धानका लागि मुठभेड हुँदा चरीले लगाएको कपडा समेत मगाएको छ। स्रोतका अनुसार घटनाको मुचुल्कालगत्तै कपडा प्रहरीले आफ्नै प्रयोगशालामा पठाइसकेको थियो।