पोखरा-अस्पताल जाने किन? स्वास्थ्यमा केही गडबडी भयो भने उपचार गर्न। तर, के रोग लाग्यो भनेर थाहै भएन भने कसरी होला उपचार? सामान्य ज्वरोखरो वा अरू केही रोगव्याधिबारे त लक्षणकै आधारमा डाक्टरले पत्ता लगाउँछन् र औषधोपचार सिफारिस गर्छन्। तर शरीरको भित्री सिस्टममै गडबडी भएर समस्या भएको रहेछ भने त कुनै यन्त्रको सहयोग नलिई रोग पत्ता लगाउन सकिन्न।
मान्छेको शरीरको भित्रभित्रै कहाँ कस्तो गडबडी भएको छ भन्ने पत्ता लगाउन यान्त्रिक सहयोगमा जाँचिने थुप्रै विधिमध्ये एउटा महत्वपूर्ण विधि एमआरआई हो। एमआरआई मेसिन भएन भने अनेक रोग र समस्याको पहिचान नै सम्भव हुँदैन।
ढाड दुखेर क्षेत्रीय अस्पताल पुगेकी छाचोककी दया सापकोटालाई भएको के थियो भनेर पत्ता लगाउन मणिपाल नपुगी धरै भएन। किनभने रोगको पहिचान गर्ने एमआरआई मेसिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थिएन, जुन मणिपाल शिक्षण अस्पतालमा भने छ।
३५० सय बेड क्षमताको क्षेत्रीय अस्पतालमा नभएको एमआरआई मात्रै होइन, नवजात शिशुलाई सघन उपचार गर्नुपर्यो् भने पनि कि मणिपालतिरै कुदानउनुपर्छ कि सेवा अस्पताल। भारतीय लगानीको मणिपाल र निजी क्षेत्रको सेवा अस्पतालले नवजात शिशुका लागि सघन उपचार कक्ष एनआइसियु सुविधा दिएका छन्।
मान्छेको अति संवेदनशील अंग टाउको। यसमा चोटपटक लाग्यो भने कठिन उपचार गर्नुपर्छ। कसैलाई टाउकोमा चोट लागेर क्षेत्रीय अस्पताल पुग्यो भने पनि उसलाई त्यहाँ आवश्यक सबै उपचार सम्भव नहुन सक्छ। किनभने टाउकोको चोटपटक लाग्दा सघन उपचार गर्न चाहिने न्युरोआइसियु पनि क्षेत्रीय अस्पतालको अर्काे अभाव हो। त्यो सुविधाका लागि बिरामीलाई मणिपाल दौडाउनुको विकल्प रहन्न।
सरकारी अस्पताल भएकाले सरकारले नै आवश्यक सेवासुविधा थप्नुपर्ने हो, तर क्षेत्रीय अस्पतालका लागि त्यस्तो पहल भएको छैन। एमआरआई मेसिन महँगो भएकैले किन्न नसकेको बताउँछन्, अस्पतालका सुपरिटेन्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठ। भन्छन्, 'राम्रो मेसिन किन्नुपर्योा भने १२ करोड रुपैयाँ पर्दाे रहेछ, त्यसैले स्वास्थ्य मन्त्रालयले पनि आँट्न सकेको छैन।'
चाहेको बेला डाक्टरहरूको सेवा नपाइनु क्षेत्रीय अस्पतालको अर्काे बिडम्वना हो। बहिरंग सेवामा साढे १० बजेबाट आउने डाक्टरको जाँच बेलुकी ५ बजेसम्म हुँदैन। कहाँसम्म पनि हुन्छ भने डाक्टरकै सिफारिसमा रगत, खकार वा दिसापिसाब जाँचेर रिपोर्ट देखाउन जाँदा डाक्टर हिँडिसकेका हुन्छन्। अर्काेतिर चौबिसै घन्टा खुल्नुपर्ने क्षेत्रीय अस्पतालको प्रयोगशाला आधा दिनमात्रै खुल्छ, त्यत्ति कारण पनि बिरामीले जाँचपड्ताल गर्न एकै दिनमा भ्याउँदैनन्।
'क्षेत्रीय अस्पतालमा सुविधा छ/छैन भन्ने एकातिर छ भने भएको पनि गुणस्तरीय हुन्छ कि हुन्न भन्ने प्रश्न उठ्छ,' डा. पदम खड्का भन्छन्, 'सरकारी मानसिकता भइदिनाले बिरामीले राम्रो सेवा पाउन सकेका छैनन्।' क्षेत्रीय अस्पतालका थुप्रै कमीकमजोरीकै कारण निजी क्षेत्रका अस्पताल फस्टाएको उनी बताउँछन्। 'सरकारीमा सेवा सुविधा नपाएपछि बिरामी पसलजसरी खोलिएका निजी अस्पताल नगई सुख पाउँदैनन्,' सेवा अस्पतालसँग आबद्ध डा. खड्का भन्छन्।
कास्कीमा वर्षभर १३ हजारजति महिला सुत्केरी हुने सरकारी आँकडा छ। त्यसमध्ये सबैभन्दा धेरै क्षेत्रीय अस्पतालमा जान्छन्। त्यहाँ जानको संख्या नौ हजारभन्दा बेसी हुन्छ। सुत्केरी सेवामा विश्वसनीयता कमाएको अस्पतालमा यति भीड लाग्छ, बेड नपुगेर महिलाहरू भुइँमै सुत्न बाध्य हुन्छन्। आफूले कमाएको विश्वसनीय सेवाको विस्तार गर्न अस्पताल चुकेको छ। मेसु डा. श्रेष्ठ भन्छन्, 'प्रसूति वार्डमा बेड बढाउनुपर्योि भनेर मन्त्रालयमा योजना पेस गरेका छौं, तर माथिबाटै कुनै कदम चालिएको छैन।'
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटुरोग विशेषज्ञको एउटा पनि दरबन्दी छैन। मुटुरोग विशेषज्ञको दरबन्दीबाहेक नै रहेका एक विशेषज्ञ भने छन्। अहिलेसम्म मुटुका समस्या उनीबाटै हल हुँदै आएको छ। तर, कसैलाई हृदयाघात भयो भने सामान्य उपचारबाहेक यहाँ अरू केही हुन सक्दैन। बेलैमा अस्पताल पुगेको बिरामी पनि घर फर्कन्छ–फर्कन्न भन्न सकिन्न। यो बिडम्वना देेखेजानेकाले आफ्नो बिरामीलाई सिधैं हेलिकोप्टर चार्टर गरेर काठमाडौं पुर्यानउने गरेका छन्। त्यसको चर्चित उदाहरण छन्, यहाँका एक सामाजिक कार्यकर्ता। हृदयाघात भएका उनलाई क्षेत्रीय अस्पतालमा उपचार सम्भव नदेखिएपछि हेलिकोप्टरमार्फत काठमाडौं पुर्यारउनुपरेको थियो। काठमाडौंमा उपचार गर्न भ्याएकैले उनलाई पुनर्जन्म मिल्यो। पछिल्लो समय सहरी बासिन्दामा बढ्दो मुटुरोग समस्याको समाधान गर्ने सुविधा मुलुककै प्रमुख सहरको अस्पतालमा भने उपलब्ध गराइएको छैन।
मिर्गाैलाको डायलसिस गर्नुपर्योर भने बिरामीले महिनौं कुर्नुपर्छ क्षेत्रीय अस्पतालमा। अस्पतालमा डायलसिस मेसिन पाँच वटा छन्। बिरामीको चापअनुसार मेसिन थप्नुपर्ने भएकाले मन्त्रालयसँग माग गरिएको अस्पतालले जनाएको छ। डायलसिसको सुविधा पोखराका अरू केही अस्पतालमा समेत भए पनि बिरामी क्षेत्रीय अस्पताल जानै रुचाउँछन्।