डडेल्धुरा- बझाङ्गको बिकट गाउँका स्थानीयले चन्दा संकलन गरेर २२ किलोमिटर सडक बनाएका छन्। सरकारको मुख ताक्दा ताक्दै दुई दशक पर्खेका बझाङको ब्यासी र कडेल क्षेत्रका जनताले चन्दा संकलन गरेर गाउँमा गाडी गुड्ने सडक पुर्यातएका हुन्।
सडक निर्माणको लागि जयपृथ्वीनगरका करिब २ सय परिवारले २ करोड संकलन गरेका थिए। गाउँलेहरुले सडक निर्माणको लागि श्रमदान समेत गरेका थिए। सडक बनाउन २ सय परिवारकै सदस्यले श्रमदान गरेको स्थानीय शिक्षक सुरत दमाईले बताए।
'भाडे गाउँ देखि जयपृथ्वीनगर गाउँ सम्म करिब २२ किलोमिटर सडकमा गाउँलेकै लगानी रहेकेा छ। ' स्थानीय प्रेमबहादुर सिंहले भने, '२ हजार देखि ८० हजार सम्म स्थानीयले लगानी गरेका छन्।' सामान्य दैनिक उपभोग्य बस्तु खरिद गर्न पनि एक दिनको बाटो हिड्नु पार्ने बाध्यतालाई अन्त्यगर्न स्थानीयले सडकमा आफै लगानी गरेका हुन्। जिविस र सडक विभागलाई सडक निर्माणका लागि स्थानीयले पटक पटक आग्रहगर्दा पनि निर्माणको लागि रकम नछुट्याएपछि गाउँलेहरु सडक निर्माणमा आफै जुटेका थिए। २२ किलोमिटरको सडकखण्डमा २ वटा गाविस ब्यासी र कडेल पर्छन्। स्थानीयले आफै सडक खन्ने भएपछि ब्यासी र कडेल गाविसले १८ लाख रुपैयाँ विनियोजन गरेका थिए।
'गाविस देखि मन्त्रालय सम्म र सचिव देखि मन्त्रीसम्म सडक निर्माणको माग गर्दै गएका थियौ, सबैले आश्वासनमात्रै दिए' स्थानीय सुरेन्द्र धामीले भने, 'आफ्नो गाउँको विकास आफै गर्नु पर्ने भन्ने लागेर शुरु गरेकाहौं।'
सात महिनामा २२ किलोमिटर सडक खनेर गाउँमा गाडी ल्याउन सफल भएपछि गाउँमा यातायातको साधन हेर्ने सपना पुरा भएको स्थानीय समाजसेवी अक्कल बहादुर धामी बताउँछन्।
ब्यासी कडेँल गाविसका जनताको यस अभियानमा विश्व खाद्य कार्यक्रम, सप्रोस नेपालले पनि सहयोग गरेको छ।