पाकिस्तानी हेरोइन कारोबारीलाई उन्मुक्ति
०९ कार्तिक २०७१
•
१३ मिनेट पाठ
पाकिस्तानी हेरोइन कारोबारीलाई उन्मुक्ति
काठमाडौं-सेतो हेरोइन कारोबारमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहमा संलग्न देखिएकी पाकिस्तानी नागरिक साहिदा प्रविनले तीन महिनाअघि जिल्ला अदालत काठमाडौंबाट सफाइ पाइन्। उक्त फैसलाको पूर्णपाठ अहिलेसम्म जिल्ला सरकारी वकिलको कार्यालय पठाइएको छैन, जबकि प्रविन भने थुनामुक्त भएर पाकिस्तान पुगिसकेकी छन्।




विदेशी नागरिकका हकमा अन्तिम फैसला नहुँदै राहदानीलगायत व्यक्तिगत कागजपत्र जिम्मा लगाएर स्वदेश फर्कने बाटो खोल्नु 'कानुनविपरीत' भएको सम्बद्ध अधिवक्ता बताउँछन्।

२०७० भदौ २४ गते प्रविनसँगै पाकिस्तानी नागरिक अट्टा मोहम्मद साह र सैयद मजर हुसैन काज्मी पाँच किलोभन्दा बढी सेतो हेरोइनसहित काठमाडौंमा पक्राउ परेका थिए। पुर्पक्षका लागि थुनामा पुगेका उनीहरूबारे २०७१ असार २६ मा फैसला आउँदा जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोहम्मद जुनैद आजादको एकल इजलासले प्रविनलाई सफाइ दिएको हो।

उनीसँगै पक्राउ परेका अन्य दुई पाकिस्तानी नागरिकलाई भने उस्तै प्रकृतिको प्रमाणका आधारमा त्यतिबेलै १५ वर्ष कैद र १५ लाख जरिवानाको सजाय भइसकेको छ। इन्टरपोलको रेकर्डमा समेत 'शृंखलाबद्ध सेतो हेरोइन कारोबारमा सक्रिय' भनी सूचीकृत प्रविनले मात्र यो मुद्दामा उन्मुक्ति पाएकी हुन्।

जिल्ला अदालतले संक्षिप्त फैसलाकै आधारमा त्यसै दिन प्रविनलाई थुनामुक्त गर्न केन्द्रीय कारागारमा पत्र पठाएको थियो। त्यही पत्रका आधारमा थुनामुक्त भएलगत्तै उनले सरकारी नियन्त्रणमा रहेको राहदानी फिर्ता पाइन्। उनी असार २९ गते नै दुबई हुँदै पाकिस्तान फर्किन्।

फौजदारी अधिवक्ता सुवास आचार्यका अनुसार विदेशी नागरिकका हकमा अन्तिम अदालतको फैसला नआएसम्म राहदानीलगायत व्यक्तिगत कागजपत्र दिनु हुँदैन। 'तल्लो अदालतबाट सफाइ पाएको अवस्थामा अदालतले खोजेका बेला उपस्थित हुनुपर्ने कानुनी प्रावधान छ, त्यसैले अन्तिम अदालतको फैसलापछि मात्रै अदालतमा रहेको व्यक्तिगत कानुनी कागजपत्र जिम्मा लगाउने प्रावधान छ,' उनले आइतबार नागरिकसँग भने, 'नेपाली नागरिकका हकमा पनि तल्लो अदालतबाट सफाइ पाएको अवस्थामा अदालतमा राखिएका धरौटीलगायत सामग्री पाउन पुनरावेदन अदालतबाट अन्तिम आदेश आवश्यक पर्छ।'

तल्लो अदालतको आदेशमै विदेशी नागरिकले राहदानीलगायत कानुनी कागजपत्र पाउनु त्रुटिपूर्ण भएको उनले बताए। 'कारागारमुक्त भए पनि अदालतले खोजेका बेला उपस्थित हुने गरी तारेखमा राखिन्छ,' आचार्यले भने, 'अन्तिम फैसला नभएसम्म जुन देशमा पक्राउ परेको हो सोही देशमा बस्नुपर्छ।'

गम्भीर प्रकृतिको अभियोग लागेका अभियुक्तले सफाइ पाएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले फैसला पुनरावलोकनको तयारी गरेको थियो। फैसलाको पूर्ण पाठ आउन ढिलाइ हुँदा सरकारी वकिलको कार्यालयले अहिलेसम्म मुद्दा पुनरावलोकन गर्न पाएको छैन।

जिल्ला न्यायाधिवक्ता कार्यालय काठमाडौंका प्रमुख कृष्णजंग शाहले प्रविनलाई सफाइ दिइएको फैसलाविरुद्ध पुनरावेदन जाने तयारी गरिए पनि पूर्णपाठ नआउँदा जान नसकेको बताए। 'फैसला पुनरावेदनको तयारी गरेर पूर्णपाठ कुरेर बसेका छौं,' उनले नागरिकसँग भने, 'पूर्णपाठ आएपछि पुुनरावेदनमा जान्छौं।'

लागुऔषध नियन्त्रण ब्युरोले २०७० भदौ २४ गते ठमेलको मुक्तिनाथ डि कार्गोको भवनअगाडि प्रविन र काज्मीलाई नियन्त्रणमा लिएको थियो। प्रविनले बोकेको कालो ह्यान्डब्याग खानतलासी गर्दा एक किलो सेतो हेरोइन बरामद भएको थियो। पछि उनीहरूकै बयानका आधारमा साह ठमेलको पिलग्रिम्स होटलको कोठा नम्बर ३०१ बाट ४ किलो ६४ ग्राम हेरोइनसहित पक्राउ परेका थिए।

इन्टरपोलको रेकर्डअनुसार सन् २००७ फेबु्रअरी १ मा क्यानेडियन नागरिक डेबोरा कौर ६ किलो ५ सय २० ग्राम हेरोइनसहित पाकिस्तानको रावलपिन्डीमा समातिँदा प्रविन पनि जोडिएकी थिइन्। पछि उनी अदालतबाट छुटिन्।

सन् २०१२ मे १ मा रावलपिन्डीमै ५ किलो हेरोइनसहित पक्राउ परेका उमार फरुफले आफ्नो बयानमा प्रविनको नाम पोलेका थिए। उक्त घटनामा प्रमाण नपुगेको भन्दै उनले अदालतबाट छुट्कारा पाइन्।

प्रहरी प्रतिवेदन र अभियोगपत्रअनुसार प्रविन र काज्मीमाथिको अभियोगको प्रकृति एकै थियो। लागुऔषध नियन्त्रण ब्युरोको अनुसन्धानका आधारमा जिल्ला न्यायधिवक्ताको कार्यालय काठमाडौंले अदालतमा दर्ता गरेको अभियोगपत्रमा 'तीनै जना व्यावसायिक र संगठित लागुऔषध हेरोइनको कारोबारमा संलग्न रहेको' दाबी गरिएको थियो।

प्रतिवादीहरूले सरकारी वकिलका प्रतिनिधि र प्रहरीसमक्ष दिएको बयानमा अभियोग स्विकारेका थिए। उनीहरूले आफूलाई पाकिस्तानमा रहेका जुमार खान (उमर) ले सेतो हेरोइन कारोबार गर्न नेपाल पठाएको बयान दिएका थिए। अदालतमा पुगेपछि तीनै जनाले बयान बदले। साहले आफू पक्राउ पर्दा एक किलो हेरोइन साथमा रहेको र होटलबाट थप ४ किलो ६४ ग्राम फेला परेको स्विकारे, तर प्रविन र काज्मीको संलग्नता कबुलेनन्। उनले प्रविन र काज्मीलाई 'चिन्दै नचिनेको' बयान दिए। प्रविन र काज्मीले पनि हेरोइन कारोबारमा संलग्नता अस्वीकार गर्दै आफूहरू मसला कारोबारी भएको दाबी गरे।

नागरिकलाई प्राप्त फैसलाकपीअनुसार उनीहरूले अदालतसमक्ष दिएको बयानलाई मात्र प्राथमिकता दिएको देखिन्छ। आफूले 'कालो झोला नबोकेको' भन्ने प्रविनको बयानलाई समेत अदालतले प्राथमिकता दिएको छ। इजलासले 'हेरोइन फेला परेको झोला प्रविनको हो भन्ने परिचय खुल्ने कागजपत्र फेला नपर्नु, पाकिस्तानमा सल्लाह भएअनुसार नेपाल आएकोबारे कुनै तथ्य खुलाउन नसक्नु, सबै लागुऔषध आफ्नै हो भन्ने साहको बयान' लगायतका आधारमा प्रविन उक्त घटनामा संलग्न नरहेको प्रमाणका रूपमा लिएको छ।

'प्रविन डायबिटिजको बिरामी भएकाले इन्सुलिन लिन छोरी साथमा लिई नेपाल आउनुले उनी दुषित आपराधिक मनोवृत्तिका साथ नआएको देखिन्छ,' फैसलामा भनिएको छ, 'उनी आपराधिक मनोवृत्तिका साथ आएका भए छोरी लिएर आउने अवस्था विश्वसनीय देखिँदैन। विवादरहित र स्वतन्त्र प्रमाणबाट प्रविनको संलग्नता पुष्टि नभएकाले उनले कसुरबाट सफाइ पाउने ठहर्छ।'

काज्मीको हकमा समेत सोही बयान र प्रमाण संलग्न गरिए पनि साहको पहिलो बयानलाई आधार बनाउँदै उनलाई दोषी ठहर गरिएको छ। प्रविन र काज्मीले आफ्नो बयानमा व्यापारका लागि सँगै पाकिस्तानबाट नेपाल आएको खुलाएका छन्, जसलाई अदालतको फैसलामा प्राथमिकता दिइएको देखिएन। प्रविनलाई सफाइ दिँदा सबै लागुऔषध आफ्नो भएको साहको अदालती बयानलाई आधार बनाइए पनि काज्मीको हकमा प्रारम्भिक बयानलाई नै टेकेर दोषी ठहर गरिएको छ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार साह २०७० भदौ १८ गते कतार एयरवेजबाट दुबई हुँदै काठमाडौं आएका थिए। त्यसको दुई दिनपछि प्रविन र काज्मी पाकिस्तान हुँदै काठमाडौं ओर्लिएका थिए। यी छुट्टाछुट्टै आए पनि उनीहरूको उद्देश्य भने सेतो हेरोइनको कारोबार रहेको प्रहरी अनुसन्धानमा देखिएको थियो। सम्बद्ध अधिकारीका अनुसार साहले आफूसँगै ५ किलो ६४ ग्राम हेरोइन ल्याएका थिए भने प्रविन र काज्मी उनलाई सघाउन आएका थिए।

पक्राउ परेका तीनै जनाले प्रहरीलाई दिएको बयानअनुसार पाकिस्तानमा रहेका जुमार खान (उमर) ले उनीहरूलाई परिचालन गरेका थिए। साह र जुमारबीच पाँच वर्षअघि चिनजान भएको थियो। उनले यसअघि साहलाई छालाका ज्याकेट, बेडकभर नेपाल पठाउने गर्थे। साहको बयानअनुसार उनी नेपाल आउनु १० दिनअघि उमरले ५ लाख पाकिस्तानी रुपैयाँ दिने भन्दै हेरोइन नेपालमा लैजान प्रस्ताव गरेका थिए।

'उनले हेरोइन नेपालमा लगेपछि त्यसलाई लिन उनकै मान्छे आउने र मलाई सघाउन अन्य २ जना समेत नेपालमा आउने भनेपछि म राजी भएँ,' साहको बयानमा छ, 'उनले नेपाल आउने टिकट काटेर उतै सहिदा प्रविन र सैयद मजहर हुसेनलाई भेटाइदिए।'

उनको बयान अनुसार भदौ २४ गते जुमारले दिएको सेतो हेरोइन सुटकेसमा राखेर उनी नेपाल आएका थिए। यहाँ आएर सिधै ठमेलको पिलिग्रिम्समा बसे। दुई जना सहयोगी प्रविन र काज्मीलाई भने कालो हातेब्यागमा एक किलो सेतो हेरोइनसहित उमरले नै पठाएको साहको बयानमा छ।

तत्कालीन ब्युरोप्रमुख प्रतापसिंह थापाले भदौ २८ गते प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दैै 'उनीहरू अफगानी हेरोइन जापान पुर्या८उन नेपाल आएको' बताएका थिए।

प्रविनको राहदानीको रेकर्डमा उनी यसअघि चारपटक नेपाल आएको खुलेको छ। उनीहरूले नेपालबाट गरेको कल रेकर्डका आधारमा पाकिस्तान, जापान र स्विडेनमा पटकपटक सम्पर्क गरेको प्रहरीले सार्वजनिक गरेको थियो। उनीहरूलाई नेपाल पठाउने उमर यसअघि सेतो हेरोइनसहित पक्राउ परेका राधिका विक र श्रीराम विकको बयानमा समेत खुलेका कारोबारी हुन्।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस