पछिल्ला केही महिनादेखि विवादास्पद नेपाली फुटबलमा मंगलवार अर्को तरंग पैदा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले चार महिनाका लागि फुटबलसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबैखाले गतिविधिबाट आफूलाई अलग राखेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) लाई जानकारी गराएका छन्।
थापाले फिफा इथिक्स कमिटीको अनुसन्धान ब्युरोलाई आफू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधिबाट नोभेम्बर ४ (मंगलवार) बाट सुरु हुनेगरी १ सय २० दिन अलग बस्न राजी भएको जानकारी गराएको फिफाको वेबसाइटमा जनाइएको छ। थापाले त्यस अवधिमा आफू र एन्फाविरुद्धका सबै छानबिनको समीक्षा भइसक्ने अपेक्षामा आराम लिएको फिफाको वेबसाइटले जनाएको छ।
थापाले यसै महिनाको पूर्वार्द्धमा एन्फा अध्यक्षको हैसियतमा कुनै पनि काम नगर्ने घोषणाका साथ दुई महिनाका लागि पद स्थगन गरेका थिए। व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले एन्फामा ५८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै थापा लगायतको पद स्थगन गर्दै दुई महिनाभित्र छानबिन सम्पन्न गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग र युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको थियो।
असोज १२ मा दिएको निर्देशन लामो समयसम्म पनि पालना नभएपछि लेखा समितिले बारम्बार मन्त्रालयलाई ताकेता गरिरहेको अवस्थामा कात्तिक ३ मा थापा स्वयंले आफ्नो पद स्थगन गरेका थिए। दुई महिनाका लागि थापाले पद स्थगन गरेपछि एन्फा कार्यसमितिले वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो।
दुई महिनाका लागि राष्ट्रिय गतिविधिबाट स्वेच्छिक आराम लिएका थापाले अचानक मंगलवारबाट लागू हुनेगरी १ सय २० दिन अन्तर्राष्ट्रिय जिम्मेवारीबाट समेत पन्छिनुलाई विभिन्न कोणबाट अर्थ्याउन थालिएको छ। थापाको पछिल्लो कदमले उनी एसियाली फुटबल महासंघको उपाध्यक्षका रूपमा पनि आउँदो चार महिना सक्रिय नहुने भएका छन्।
थापा र एन्फाविरुद्ध पछिल्ला केही महिनादेखि आन्दोलन चर्काइरहेका एन्फाका उपाध्यक्षद्वय कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धरले एन्फामा व्यापक आर्थिक अनियमितता भएको दाबीका साथ एन्फा र अध्यक्ष थापाविरुद्ध छानबिन गर्न फिफाको इथिक्स कमिटीमा उजुरी गरेका थिए।
विश्वकप २०२२ को दाबी क्रममा कतार र एसियाली फुटबल महासंघ (एएफसी) का तत्कालीन अध्यक्ष कतारी नागरिक मोहम्मद बिन हमामले विश्वभर नै व्यापक मात्रामा पैसा बाँडेको आरोप लागेपछि फिफाको इथिक्स कमिटीले २०११ बाटै छानबिन सुरु गरेको थियो। यसक्रममा विभिन्न प्रसंगमा एन्फा अध्यक्ष थापाको पनि नाम जोडिँदै आएको थियो। फिफाले विशेष अनुसन्धानका लागि अमेरिकी कानुनव्यवसायी मिचेल गार्सियाको नेतृत्वमा विशेष समिति बनाएको थियो। गार्सियाको समितिले डेढ महिनाअघि नै चार सय पृष्ठको आफ्नो प्रतिवेदन फिफामा बुझाइसके पनि त्यसलाई सार्वजनिक गरिएको छैन।
गार्सियाको प्रतिवेदनमा दोषी देखिएका मंगोलियाका फुटबल प्रमुखलाई फिफाले कारबाही गरिसकेको छ भने अन्यको हकमा अहिलेसम्म केही सार्वजनिक गरिएको छैन। आउँदो केही महिनाभित्र गार्सियाको प्रतिवेदनको समीक्षा पूरा गरेर फिफाले दोषी देखिएकालाई कारबाही गर्ने सम्भावना छ। फिफा अध्यक्ष सेप ब्लाटरले प्रतिवेदन सार्वजनिक नगरिने बताउँदै दोषी देखिएकालाई सोझै कारबाही गर्ने बताएका छन्। ...फिफाको आचार संहिताअनुसार प्रतिवेदनका सबैकुरा सार्वजनिक गर्न मिल्दैन। कसैको विषयमा पनि अन्तिम निर्णय भएपछिमात्र त्यसलाई सार्वजनिक गरेर आवश्यक कारबाही वा क्लिन चिट दिने व्यवस्था छ,' ब्लाटरले एक अन्तर्वार्ताको क्रममा भनेका थिए।
फिफाले हमाम निकट फुटबल अधिकारीलाई क्रमैसँग कारबाही गरिरहेको अवस्थामा अबको तारो थापा हुन सक्ने केहीको अनुमान छ। थापा हमामका निकट मित्र हुन्। हमामसँग उनका पुत्र गौरवले लिएको एक लाख डलर तथा थापा स्वयंले लिएको १ लाख १५ हजार डलरको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चा चल्ने गरेको छ।
थापा स्वयंले भने आफूले कुनै खराब काम नगरेको बताउँदै आएका छन्। दोषी देखिए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताउने थापाले आफू र एन्फाविरुद्धका सबै छानबिन प्रक्रिया भने तत्काल टुंगाउन आग्रह गरेका थिए। पछिल्लो कदमका विषयमा थापाले कुनै प्रतिक्रिया दिएका छैनन्। फिफाको वेबसाइटमै आफ्ना सबै कुरा आएको बताउँदै उनले थप नबोल्ने भनाइ राखे।