सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गरेबापत महिला कामदारको ३१ सय र पुरुष कामदारको २ हजार ९ सय ४० रुपैयाँ शुल्क तोकेको छ। तर, १२ वटा मेडिकल सेन्टर सरकारी निर्णयको अवज्ञा गर्दै लामो समयदेखि स्वास्थ्य परीक्षणबापत ५ हजार ५ सय लिँदै आएका छन्।
गल्फ कोपरेसन काउन्सिल (जीसीसी) सँग आबद्ध १२ वटा मेडिकलले गाम्का नेपाल संस्था खडा गरी लामो समयदेखि कार्टेलिङमा ओमन, साउदी अरब, र बहराइन जाने कामदारसँग मेडिकलबापत बढी शुल्क असुल्दै आएका हुन्। स्वास्थ्य मन्त्रालय तथा श्रम मन्त्रालयले २०६५ सालमा वैदेशिक रोजगारीमा जाने कामदारको लागि महिलालाई ३१ सय र पुरुषलाई २९ सय ४० शुल्क तोक्ने सचिव स्तरीय निर्णय गरेको थियो। तर, गाम्का नेपालमा समावेश १२ वटा मेडिकलले सिन्डिकेट गर्दै एकतर्फी रूपमा ५५ सय रुपैयाँ उठाउँदै आएका छन्।
सरकारी अनुगमन र कारबाही नभएपछि सरकारी निर्णयकै अवज्ञा गर्दै कामदारलाई मेडिकलहरूले आर्थिक भार थोपरेका हुन्। कामदार, वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल स्वास्थ्य व्यवसायी महासंघलगायत विभिन्न संघसंस्थाले पटक–पटक विरोध गर्दै आए पनि गाम्का नेपालले चर्काे शुल्क असुल्दै आइरहेको छ।
बाह्र वटा नै मेडिकल सेन्टरको कामदारको स्वास्थ परीक्षण शुल्कको बिलमा ५५ सय लिएको पाइएको छ। बढी शुल्क असुल्ने मेडिकलमा चुच्चेपाटीको अल खालिज मेडिकल सेन्टर, नयाँ बानेश्वरको अल मसुर डायग्नोसिस्ट सेन्टर, बत्तिसपुतलीको अक्वा डायग्नोसिस्ट सेन्टर, त्रिपुरेश्वरको हेल्थ केयर क्लिनिक, ज्याठाको कान्तिपुर डायग्नोसिस्ट सेन्टर, त्रिपुरेश्वरको लाइफ केयर प्रिन्स डायग्नोसिस्ट सेन्टर, धुम्बाराहीको लाइफ ट्रस्ट मेडिडायग्नोसिस्ट प्रालि, बाँसबारीको मेडिएसिया डायग्नोसिस्ट सेन्टर, चाबहिलको राजाम मेडिकल सेन्टर, पुल्चोकको साइबा मेडिकल सेन्टर, कुपन्डोलको साउदी नेपाल मेडिकल सेन्टर, डिल्लीबजारको सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस रहेका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले गाम्का नेपालमा आबद्ध १२ वटा मेडिकलले लामो समयदेखि स्वास्थ्य परीक्षणबापत बढी शुल्क लिइरहेको बताए। ‘गल्फमा जाने कामदारको स्वास्थ्य परीक्षण अनिवार्य रूपमा गाम्का नेपालको मेडिकलमा गर्नुपर्ने हुन्छ। अनिवार्य भएकै कारण मिलेमतोमा लामो समयदेखि बढी शुल्क लिँदै आएका छन्। नियमन निकायलाई समेत आर्थिक प्रभावमा पारेर नियमकै अवज्ञा भएको छ,' उनले भने।
गत असोज ३१ गते साउदी नेपाल मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षण गराएका गंगा शाहीले दुई थरी बिल दिएर ५५ सय लिएको बताए। स्वास्थ्य परीक्षण गरेपछि पनि एक्स्ट्रा टेस्ट भन्दै बढी रकम लिने गरिन्छ। साउदी नेपाल मेडिकल सेन्टर नेकपा एमालेका सभासद् महेन्द्र शेरचनको हो।
गाम्का नेपालअन्तर्गतका मेडिकलहरूले मेडिकल चेकअप भन्दै २९ सय ४० र एक्स्ट्रा टेस्ट शीर्षकमा २५ सय ६० शुल्क लिँदै आएका छन्। मेडिकल चेकअप भइसकेपछि एक्स्ट्रा टेस्ट भनेर शुल्क लिनु ठगी भएको रोजगार व्यवसायी तथा संघका निवर्तमान महासचिव रोहन गुरुङले बताए। ‘अनधिकृत रूपमा रकम उठाउँदा पनि कारबाही हुन नसक्नु लज्जास्पद हो,' उनले भने।
बाह्र वटा मेडिकललाई मात्र स्वास्थ्य परीक्षण गर्न दिनु कानुन विपरीत रहेको भन्दै सरकारले केही महिनाअघि गल्फ कोपरेसन काउन्सिललाई पत्रसमेत पठाएको थियो। नेपालको प्रतिस्पर्धा, प्रवर्द्धन तथा बजार संरक्षण ऐन र वैदेशिक रोजगार ऐन विपरीत १२ वटामात्र मेडिकलाई सूचिकृत गर्ने काम नियम विपरीत भन्दै सरकारले नै पत्र पठाए पनि १२ वटा मेडिकलले मिलेमतोमा कामदारको स्वास्थ्य परीक्षण गर्दै आइरहेका छन्। सरकारले भने वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ३ सय ५० स्वास्थ्य संस्थालाई सूचिकृत गरेको छ। तर, साउदी, बहराइन र ओमनका लागि गाम्का नेपालसँग आबद्ध १२ वटा स्वास्थ्य संस्थाले मात्र परीक्षण गरेर पठाउने गरेका छन्।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गाम्का नेपालको विषयमा सरकारले नयाँ तरिकाले सोच्न थालेको बताए। ‘रकम बढी लिएको बाहिर गुनासो आए पनि उजुरी नआएकाले कारबाही गर्न सकिएको छैन। उजुरी आउनासाथ कारबाही हुन्छ। सरकारले तोकेकोभन्दा बढी शुल्क लिने जुनसुकै मेडिकल पनि कारबाहीमा पर्छन्,' उनले भने।
‘नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले सिन्डिकेट शैलीमा १२ वटामात्र मेडिकलले स्वास्थ्य परीक्षण गर्ने त्यो पनि सरकारले शुल्क तोकेभन्दा बढी खुल्लमखुल्ला थाहा हुँदा पनि सरकारले कारबाही गरिरहेको छैन,' उनले भने, ‘अन्य मेडिकलले सरकारले तोकेभन्दा पनि सस्तोमा मेडिकल शुल्क लिइरहेका छन्। गाम्काको मनपरी सधैँभरि हुने?' उनले भने। गाम्का नेपालका पदाधिकारीले भने शुल्कका विषयमा प्रतिक्रिया दिन चाहेनन्।