कुमारी कुइभीर
२१ कार्तिक २०७१
•
१२ मिनेट पाठ
कुमारी कुइभीर
'म कुमारी नै बसेकी छु, केवल तिम्रा लागि' ग्राबियल गार्सिया मार्खेजले एक पुस्तकमा लेखेको यो प्रसंग कुइभीरसँग मिल्दोजुल्दो छ। अग्ला डाँडा देख्यो कि 'पर्यटकीय सम्भावनायुक्त' भन्दै डोजर लगाएर सडक पुर्याेइहाल्ने पद्दति मौलाइरहेका बेला कुइभीर भने कुमारी नै छ। महाभारत पर्वत शृंखलाअन्तर्गत पाँचथरको पौवाभञ्ज्याङदेखि इलामको बाघखोरसम्म जोडिने कुइभीरको फेरो घुम्न सकिन्छ।अन्यत्र जस्तै हिमचुचुरा, सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्न अनुपम मानिने कुइभीर हिमाली जीवन चिहाउने सजिलो गन्तव्य हो। मेची राजमार्गबाट थोरै हिँड्दै कुइभीर थाप्लोमा पुगिन्छ। सम्भावना उच्च भए पनि सडक, होटल, लजजस्ता पूर्वाधार नहुँदा कुइभीर ओझेल परेको छ। विकासका नाममा कुमारीत्व नखोसिनु नै कुइभीरको सबल पक्ष हो। यहाँ आइपुग्ने जो कोही प्रकृतिको काखमा विचरित भएको ठान्छन्। कोलाहल र प्रदूषण नहुनुले झनै राम्रो। 
छोटो पदयात्रा रुचाउनेले पौवादेखि बाघखोर निस्किँदा कुइभीरको शिरैशिर चिसो हावा खाँदै हिँड्न पाउँछन्। सुकेपोखरी–पाटेनागी–नागढुंगा–कुइभीर–चैते हुँदै बाघखोर निस्किन बढीमा पाँच/छ घन्टा लाग्छ। यो झापा–ताप्लेजुङ जोडिने मेची राजमार्ग बन्नुअघि चल्तीको पदमार्ग हो। मोटरै नभित्रिएको पहिलेको समयमा ढाकर बोकेका भरिया, कमाउन हिँडेका बटुवा, जागिरमा गइरहेका कर्मचारी र जन्ती–मलामी जाने जनसाधारणको लर्कोले यो पदमार्ग खाली हुँदैनथ्यो। 
'तलतल सडकै सडक बनेपछि कुइभीरको बाटो यात्रा गर्नेहरू घट्दै गए,' देउरालीका मिङ्मा शेर्पा सुनाउँछन्, 'पूर्वमा अरू ठाउ“को प्रचारप्रसार धेरै भए पनि कुइभीर ओझेल परिरह्यो।' त्यही ओझेल पर्नुले नै कुइभीर कुमारी रहन सम्भव भएको हो। पदयात्रा रुचाउने युवा कुइभीरको फन्को मार्न थालेका छन्। यसले पुराना दिनको सम्झना ताजा बनाउँदै आसपासका बासिन्दालाई लागेको छ, 'कुइभीर पनि पर्ययटकीयस्थल बन्ने रहेछ।'
'यो ठाउँ प्राकृतिक, जैविक र वानस्पतिक सम्पदाको खानी रहेछ,' प्राध्यापक डा. कालुराम खम्बूले कुइभीर फेरो मारेपछि कुनै बेला भनेका थिए, 'ठूलाबडा हिँड्ने सडक नजिकै भए पनि किन महŒव नबुझेको होला?' सरिसृप विज्ञानमा विद्यावारिधि गरेका खम्बूले कुइभीरलाई फुर्क्याउने कारण तथ्यपरक छन्। गंगटेपानीमा उनैले बासस्थान पत्तो लगाएको 'मालिङ्गे पाहा' अरूतिर नपाइने जन्तु हो। त्यसलाई 'पा–पाटेनागेन्थिस्' नामकरण गरिएको छ। 
कुइभीर कालो भालु र सेतो ढेडु पाइने ठाउँका रूपमा पनि परिचित छ। यहाँ मनपाहा, मुनाल, प्युरा, मृग, बँदेल, कालिज घुमिरहेको देख्न लामो समय पर्खिनुपर्दैन। बहुमूल्य प्रजातिका चाँप, कटुस, बजराँठ, फलाँटजस्ता वनस्पति अझै भेटिने कुइभीर गुराँस र चिमालले झनै महŒवपूर्ण छ। 'गुराँस र चिमाल फुलेका बेला कुइभीरको सौन्दर्य कुनै सुन्दरीभन्दा कम हुँदैन,' देउरालीकै राम राई सुनाउँछन्, 'कात्तिक–मंसिर र चैत–वैशाख कुइभीर घुम्ने उत्तम मौसम हो।' 
कुइभीरको काखमा बस्ने केही परिवार यतैका जडिबुटी र वनौषधिले जीविकोपार्जन गर्छन्। पाँचऔंले, बिखुमा, बूढोओखत, चिराइतो, टिम्मुर, सतुवा, चिङफिङ कुइभीरमा पाइने प्रमुख जडिबुटी हुन्। मालिङ्गो अर्को विशेषता हो। घरेलु प्रयोजनका सामग्री बनाउन औधी काम लाग्ने मालिङ्गो कुइभीर वरिपरि पाइन्छ। मालिङ्गोको टुसा रेडपान्डाको प्रमुख आहारा मानिन्छ। 
इलामका प्रमुख चार खोलामध्येको एक देउमाई हो, जसको उद्गमस्थल कुइभीर। कुइभीर केन्द्र चट्टानै–चट्टानले बनेको छ। तलबाट हेर्दा एउटै चट्टान गजधुम्म परेको देखिए पनि नजिक पुग्दा त्यसलाई ठडिने अरू चट्टानको पत्रैपत्र देखिन्छ। 'ठूलो चट्टानमा उभिएर तल हेर्न जो कोहीले सक्दैन, निकै हिम्मत चाहिन्छ,' नजिकैको धप्परका डेण्डु शेर्पा भन्छन्, 'त्यहाँबाट लडियो भने ठहरै भइन्छ, जोगिएर हेर्नुपर्छ।' यहाँबाट आधा घन्टामै धप्परको ऐतिहासिक बौद्ध गुम्बा भेटिन्छ। 

खड्किने कुरा 
'यत्रो हिँड्दा एउटै पसल भेटिएन,' दसैंताका आफन्तसँग घुमिरहेका राजधानीका अनुज तिम्सिना भन्दै थिए, 'चियाखाजा पाइने पसल भइदिए हुन्थ्यो।' पौवा र सुकेपोखरीका पसल छोडेपछि कुइभीर हुँदै बाघखोर निस्कँदा एउटै पसल भेटिँदैनन्। कुइभीर नजिक गाई, बाख्रा र भेडा पालिएका चार वटा गोठ देखिन्छन्, त्यहाँ दिउँसो मान्छे भेट्नै मुस्किल। पहिल्यै खानेकुरा नबोके यात्राभर भोकैतीर्खै रहनुपर्ने हुन्छ। तुम्लेटमा पानी र झोलामा केही खानेकुरा बोक्दा यात्राभर गाह्रो हुन्न। 
बाटो पदयात्रा सुहाउँदो छ। कतैकतै भत्केर अप्ठ्यारो लागे पनि हिँड्न गाह्रो हुन्न। लौरोको सहारा लिने हो भने बाटो काट्न सजिलो हुन्छ। पौवाबाटै देखिन थाल्ने कञ्चनजंघा, कुम्भकर्ण, मकालु र सगरमाथाजस्ता हिमचुचुराले कुइभीर उक्लिएको पत्तो हुन्न। आकाश निलो हुँदा तराईका फाँट, पहाडका थुम्काथुम्की, हिमालका पत्रे चट्टानसम्मै देख्न सकिन्छ। बिहान बंगालको खाडीबाट उदाउने सूर्य साँझ अर्कोतिर अस्ताउँदा उत्तिकै मनमोहक लाग्छ। 
'सौन्दर्य बिछट्ट भए पनि कुइभीरमा सानातिना होटल र लज खुल्नुपर्छ,' उर्लाबारीका लिलानाथ दाहाल भोकाएपछि भन्दै थिए, 'सबैले खानेकुरा बोकेर नआउन सक्छन्, त्यस बेला यहीँ किनेर खान पाउँदा राम्रो।' कुमारी कुइभीरको प्राकृतिक सम्पदा विनाश नहुने र पर्यावरण नखल्बलिने गरी होटल, लज खुल्दा घुम्न आउनेलाई राहत मिल्ने देखिन्छ। पाँचचथरदेखि इलामका गाउँ जाने कतिपय मानिस अझै यो पदमार्गबाटै हिँड्ने हुँदा त्यस्ता होटल, लज चलाउँदा घाटा हुने देखिँदैन। 

अर्को सम्भावना 
पदयात्राको इच्छा र समय हुनेलाई कुइभीर फन्को मार्दै सन्दकपुर छिचोल्न सक्ने अर्को सम्भावना जीवितै छ। पौवादेखि–सुकेपोखरी–कुइभीर–रातो निगाले–छिन्टापु–गोरुवाले हुँदै सन्दकपुर पुग्न बढीमा तीन दिनको समय छुट्याए पुग्छ। महाभारत पर्वतको यो शृंखला यात्रा गर्दा प्रकृतिका अनौठा–अनौठा कुरासँग साक्षात्कार हुन पाइने सो क्षेत्र चहारेका सोम सुनुवार सुनाउँछन्। भरपर्दो पथप्रदर्शक साथ लिएर यात्रा गर्दा जंगली जनावरको खतरा र बाटो झुक्किने जोखिम रहँदैन। 
'मानवीय अतिक्रमण धेरै नहुँदा त्यो मार्गबाट यात्रा गर्नु प्रकृतिको रसस्वादन गर्नु हो,' थुप्रैपल्ट त्यहाँ पदयात्रा गरेका शिक्षक तथा साहित्यनुरागी देवेन्द्र शक्तेन भन्छन्, 'समूहमा गफिँदै सातुसामल बोकेर हिँड्दा झनै रमाइलो।' पौवाबाट पूर्वोत्तर फर्केर जति–जति अघि बढ्यो, उति नौला वनस्पति, चराचुरुंगी र वन्यजन्तु भेटिने उनको अनुभव छ। दरिलो पथप्रर्दशक नहुँदा मालिङ्गोघारीमा बाटो भुलिएर हराउनसक्ने खतरा औंल्याउँदै उनले थपे, 'पहिल्यै सचेत भएर जाँदा राम्रो।' 
पदयात्रानिम्ति नेपाल आउने विदेशीले हेर्न चाहने हिमाल, वनजंगल, खोलानाला र वनजंगल यो मार्गको यात्रा गर्दा मज्जाले भेटिन्छन्। इलाम बजारदेखि दुई घन्टामा पौवा पुग्न सकिन्छ। त्यहाँबाट सुरु हुने पदयात्रा तीन दिनमा सन्दकपुरमा टुंग्याएपछि ल्यान्डरोभर चढेर इलामै वा मानेभञ्ज्याङ झर्न सकिन्छ। मानेभञ्ज्याङ सीमावर्ती बजार हो, जहाँबाट दार्जिलिङ, पशुपतिनगर, मिरिक, सिलिगुडी जाने गाडी पाउन मुस्किल हुँदैन। सन्दकपुरबाट पैदलै पनि मानेभञ्ज्याङ पुग्न सकिन्छ। 
'बडाहाकिमका पालामा मोटर पुगेको चर्चा चले पनि कुइभीर कुमारी गन्तव्य हो,' त्यसक्षेत्रको महत्वबारे लेख्दै आएका शक्तेन थप्छन्, 'पर्यटनका नाममा गलत क्रियाकलाप गर्ने त परै जाऊन्, होहल्ला गर्दे हिँड्नेहरू समेत धेरै पुगेका देखिँदैनन्।' अंग्रेजी साहित्यमा रुचि राख्ने उनी मार्खेजले लेखेझैं घुम्न रुचाउनेलाई निम्त्याउँछन्, 'कुमारीत्व जोगाउन जति मुस्किल हुन्छ, त्यसको गर्व भने झन् धेरै। कुइभीर त्यस्तै गन्तव्य हो, जो कुमारीत्व चखाउन सदैव स्वागत गर्छे।'
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस