महाभारत र कर्ण
२२ कार्तिक २०७१
•
२४ मिनेट पाठ
महाभारत र कर्ण
भारतीय टिभी च्यानल स्टार प्लसमा 'महाभारत' शृंखला हालै सकिएको छ। बीआर चोप्राको बहुचर्चित 'महाभारत' शृंखलाको भव्यतासँग स्टार प्लस शृंखलालाई दाँज्न सकिन्न। तर, त्यसविपरीत यसले युधिष्ठिरलाई भन्दा कर्णलाई धर्म र सत्यनिष्ठाको पर्याय मानेको छ।




...
पूर्वीय साहित्यमा रुचि भएका नाताले 'महाभारत' मेरो पनि प्रिय किताब हो भने कर्ण प्रिय पात्र। कर्णको दुर्नियति सम्झँदा मलाई आफ्नै जीवनका अनेक प्रसंग साक्षात्कार भएझैं लाग्छ। मेरो दृष्टिमा उनी महाभारतकै नायक हुन्। महाकवि वेदव्यास स्वयंले चाहेर पनि उनलाई खलनायक बनाउन सकेनन्। चक्रपाणि चालिसेको 'संक्षिप्त भारत' पढेपछि कर्णप्रति मेरो आकर्षण बढ्यो। त्यसपछि गीता प्रेस भारतको 'संक्षिप्त महाभारत भाग १, २', भारतीय लेखक नरेन्द्र कोहलीको उपन्यास 'कर्ण', विश्व बुक्सको 'कितने खरे हमारे आदर्श', डा. वीणा पौडेलको 'वेदपुराणका रत्न भाग १, २' पढेँ। सबैमा कर्णप्रति उच्च प्रेम र सम्मान छ।
कर्ण त्याग, पराक्रम र सत्यनिष्ठाका पर्याय थिए। तथापि उनको जीवन अरण्य रोदनजस्तै एक अविरल निश्वास थियो। एउटा मौन वेदना, मौन चित्कार, मौन विद्रोह। उनको जीवनका केही प्रसंग यस्ता छन्, जसले संवेदनशील हरेक व्यक्तिभित्र भूकम्प मच्चाउँछन्। 'शूद्र' भएकै कारण धनुर्विद्यामा उनले अर्जुनसँग प्रतिस्पर्धा गर्न पाएनन्। द्रौपदीको स्वयंवरमा मत्स्यवेद र भीष्मको नेतृत्व रहुन्जेल महाभारत युद्धबाट उनलाई वञ्चित गर्नुको कारण पनि त्यही थियो। यथार्थमा उनी शूद्र थिएनन्। कुन्ती र सूर्यका जेठा छोरा थिए। उनको नश्लमाथि उठाइएको प्रश्न प्रागइतिहासको भयानक गल्ती थियो। त्यसको उत्तरदान आधुनिक युगमा पनि सकल दलित, उपेक्षित र उत्पीडित जनले बेहोर्नुपरेको छ। तिनको प्रतिभा, पराक्रम र सौर्यको कदर गर्न आज पनि हाम्रो समाज तयार छैन। यो त्यही इतिहासको नीलडाम हो।
पाण्डव र कौरवसँगै कर्णले पनि द्रोणाचार्यबाटै धनुर्विद्या सिकेका थिए। तर, उनी 'राजकुमार' थिएनन्। त्यसैले आचार्य द्रोणले शस्त्रविद्याको पूर्ण ज्ञान उनलाई दिएनन्। उनको सामाजिक हैसियत एक सामान्य सारथिको छोरा हुनुमात्र थियो। ब्राह्मणलाई मात्र सिकाउने हठी परशुरामबाट ब्राह्मणत्वको परीक्षामा सफल भएर उनले शस्त्रविद्या सिके। तर, गुरुको निद्रा भंग हुन नदिन बिच्छीको टोकाइ चुपचाप सहने उनलाई परशुरामले समेत ब्रह्मास्त्रको पूर्ण ज्ञान दिएनन्। अनुपम गुरुभक्ति र अतिसहनशीलताको पुरस्कार उनले यसरी पाए। शूद्र भएकै कारण एकलव्य यो विद्या सिक्नसमेत अयोग्य ठहरिए। द्रोणको मूर्तिलाई गुरु थापी कडा अभ्यास गरेर धनुर्विद्यामा जब उनी अर्जुनभन्दा पनि पोख्त भए, गुरुदक्षिणास्वरूप उनको बुढी आंैला काटियो। अद्वितीय वीर तथा इमानका प्रतीक कर्ण बदनाममात्र भए। तर, पितातुल्य गुरु द्रोणको हत्या गराउन झुटभन्दा पनि कैयन् गुना खतरनाक अर्ध सत्य बोल्ने युधिष्ठिर सत्यवादी ठहरिए। द्रौपदीलाई पाँच पति थोपर्ने ती आदर्श पुरुष र आर्यावर्तका नायक भए। भारतको विश्व बुक्सद्वारा प्रकाशित 'कितने खरे हमारे आदर्श?' ले भनेको छ, 'हिन्दु संस्कृतिको आरम्भिक युगमा कविहरू इमानदार व्यक्तिको प्रशंसा गर्थे। पछि राज्यआश्रित कविहरूले न्याय र नीतिलाई पाखा लगाए अनि आश्रयदाता राजा, महाराजाका उचित, अनुचित सबै कामको विरुदावलि गाउनमै आफूलाई कृतकृत्य मान्न थाले।' तिनको यही कृत्यकै कारण सत्य र न्यायकै गलत व्याख्या हुन पुग्यो।

...
युधिष्ठिरका बुद्धिमत्ता, धैर्य, सहनशीलता र त्याग बिर्सिनसक्नु गुण थिए। तर, आमा कुन्तीको वचन सत्य साबित गर्ने निहुँमा उनले पद्मिनी शरीरकी द्रौपदीलाई पाँचै दाजुभाइकी पत्नी बनाए। सत्य पालना गर्ने नाममा यसरी सत्यको हत्या भयो। जुवामा युधिष्ठिरले राज्य, आफू स्वयं, भाइहरू र द्रौपदीलाई समेत हारे। यो सामन्तवादी चालचलनको चरम रूप थियो। सभामा नंग्याउन ल्याइएकी द्रौपदीले प्रश्न उठाइन्, 'आफैंलाई हारिसकेका व्यक्तिले अरुलाई दाउमा राख्ने अधिकार कहाँबाट पाए?' उनको कुरा सुन्ने कोही भएन। बरु कौरव पक्षकै विकर्णले उनको पक्षमा आवाज उठाए। दुर्योधनले समेत घोषणा गरे, 'द्रौपदी, तिम्रा चार पतिले आफूलाई हारिसकेका युधिष्ठिरको अधीन अस्वीकार गरून्, म तिमीलाई स्वतन्त्र गर्न तयार छु।' यस्तोमा पनि पाण्डवहरूको मुखबाट कुनै आवाज निस्केन। गुप्तवासका क्रममा राजा विराटकहाँ द्रौपदीसहित पाँचै दाजुभाइको झुटो नाम, जात र व्यवसाय बताउनु अनौठो थिएन। तर, आमाको अञ्जान वचनलाई 'सत्य साबित' गर्ने त्यस्ता व्यक्तिले गुरुको हत्या गराउन बोलेको अर्ध सत्य र यस्ता झुटका लागि प्रायश्चित गरेनन्। 
युधिष्ठिरको यी कृत्यप्रति सम्पूर्ण 'लीला रच्ने' कृष्ण मौन भइदिए। कुनै महाकविले पनि प्रश्न उठाएनन्। बरु सबै मिलेर उनलाई हिन्दु समाजका आदर्श पुरुष घोषणा गरे। तर, आफ्नो युगका महावीर, इमानप्रति प्रतिबद्ध, दानवीर, वचनवीर कर्ण भने सधैं उपेक्षित भए। आदर्श पुरुष होइन, उनलाई खलनायक भनियो। तर, उनको जीवन सदाचार, स्वाभिमान, वीरता, साहस र आत्मबलिदानको जीवन थियो। जीवित रहुन्जेल सामाजिक मान्यता नपाए पनि उनी पाण्डवमध्ये ज्येष्ठ थिए। कुमारी अवस्थामा कुन्तीले सूर्यसँग सहवास गर्दा उनको जन्म भएको थियो। लोकलाजबाट बच्न जन्मनेबित्तिकै कुन्तीले पानीमा नडुब्ने काठको बाकसमा राखेर खोलामा बगाइन्। हस्तिनापुर दरबारका सारथि अधिरथले उद्धार गरेर उनलाई छोराका रूपमा पाले। सूर्यपुत्र कर्ण सारथिपुत्र भए। तिरस्कारपूर्वक उनलाई सूतपुत्र भनियो। यसरी वंशको उच्चता र कुलीनताको अभिमान जन्मनेबित्तिकै उनीबाट खोसियो। 
सत्यवादी मानिएका पाण्डव स्वयंको उत्पत्ति सम्मानजनक थिएन। पाण्डु जीवित हुँदै कुन्तीले नियोग प्रथाद्वारा धर्मराजबाट युधिष्ठिर, वायुबाट भीम, इन्द्रबाट अर्जुन जन्माएकी थिइन्। उता, आश्विनी कुमारबाट पाण्डुकी कान्छी पत्नी माद्रीले नकुल र सहदेव जन्माइन्। यसमा पाण्डवहरूको दोष छैन। तर, तिनै पाण्डव कर्णको जन्म र कुलबारे गर्नसम्म उपहास गर्थे।
...
गुरु शिक्षा सकिएपछि रंगस्थलमा अर्जुनको चुनौती स्वीकार्न सक्ने एकमात्र योद्धा कर्ण थिए। हस्तिनापुरका कुलगुरु कृपाचार्यले 'सूतपुत्रलाई राजकुमारसँग प्रतिस्पर्धा गर्न अधिकार नहुने' घोषणा गरे। यो अविवेकी घोषणामा पितातुल्य गुरु द्रोणाचार्य, हस्तिनापुरका महारथि र भारदारहरूले ल्याप्चे लगाइदिए। भीमसेनले त 'सूतपुत्रले राजकुमारलाई ललकार्ने' भनेर बातैपिच्छे उनको कुलको अपमान गरे। बाँकी सबै भारदारले वीरताको सम्मान गर्नुको साटो भीमकै बोलीमा लोली मिलाए। कर्णले आफ्नो योग्यताको परीक्षा दिन नपाउने भए। कुन्तीलाई थाहा थियो, कर्ण उनकै जेठो छोरा हो। लोकलाजबाट बच्न आफ्नै जेठो छोराको अपमान उनले चुपचाप हेरिरहिन्। आखिर दुर्योधनले भने, 'वीरता कुनै जाति वा नश्लको पेवा होइन। नदी र शूरवीरहरूको उत्पत्तिको कथा सबैलाई थाहा हुँदैन। पाण्डवहरू हो, जन्म वा कुलको होइन, वीरताको सम्मान गर्न सिक। होइन भने तिमीहरूको जन्मका हाल हामीलाई पनि थाहा छ।' कुलगुरुले राजकुमारसँग युद्ध गर्न राजकुमार नै हुनुपर्ने नियम बताएपछि दुर्योधनले तत्काल कर्णलाई अंगदेशको राजा बनाए। तैपनि, घाम डुबिसकेकाले कर्णले प्रतिस्पर्धा गर्न पाएनन्। बदलामा कर्ण आफ्नो असीम अपमान र विपत्मा साथ दिने दुर्योधनको आजीवन हितैषी भए।
कर्णले भोग्नुपरेको अपमान सहस्र छन्। संसारका सारा शूरवीरले प्रतिस्पर्धा गर्न पाउने द्रौपदीको स्वयंवरमा उनले भाग लिन पाएनन्। सारा राजा, राजकुमार मत्स्यवेद गर्न नसकी निहुरीमुन्टी न भइरहेका बेला जब आत्मविश्वाससाथ उनले धनु उठाए, द्रौपदीको मनमा हाहाकार मच्चियो। कर्णले मत्स्यवेद गर्नेमा उनीसमेत विश्वस्त थिइन्। तर, 'तल्लो जाति' को युवककी पत्नी हुनु उनलाई स्वीकार्य थिएन र घोषणा गरिन्, 'म सूतपुत्रसित बिहे गर्दिनँ।' वीरताको यो अर्को अपमान थियो। दुर्योधनले 'निच जातिको' कर्णलाई मित्र र अंगदेशको राजा बनाएको हस्तिनापुरका भारदारहरूलाई सह्य थिएन। कौरव सेनापति बन्ने क्रममा भीष्मले भनेका थिए, 'म सेनापति रहुन्जेल सूतपुत्र कर्णले युद्ध गर्न पाउँदैन।' खासमा यो युद्धको सुरुवातमै कौरव पक्षको पराजयको उद्घाटन थियो। भीष्म अर्जुनको सरशैयामा नपरुन्जेल महावीर कर्णविना महाभारत युद्ध चलिरह्यो। कर्ण दुर्योधनका सच्चा हितैषी थिए। त्यसैले भीष्मपछि सेनापति बनेका द्रोणलाई रणनीति सुधार्न जब उनी सुझाव दिन्थे, द्रोण बातैपिच्छे उनलाई युद्धबाट निकालिदिने धम्की दिन्थे। 
द्रोणको पतनपछि कर्ण स्वयं सेनापति भए। उनले माद्र नरेश शल्यलाई सारथि बनाए जो नकुल र सहदेवका साख्य मामा थिए। ती एक नम्बरका धोकेबाज थिए। पाण्डवका पक्षमा लड्न आएका उनी युधिष्ठिरको उपेक्षा र दुर्योधनको सत्कारबाट प्रेरित भएरै कौरव पक्षमा लागेका थिए। युद्ध सुरु हुने बेला कुन्ती र कृष्णले पाण्डव पक्षलाई सघाउन आग्रह गर्दा उनले कौरव पक्षबाट लडे पनि ऐनमौकामा दुर्योधनलाई कमजोर बनाउने वाचा गरेका थिए। त्यो वाचा उनले बारम्बार कर्णलाई अर्जुनको दाँजोमा अत्यन्त हेय देखाएर, उनको मनोबल गिराउने व्यवहार गरेर पूरा गरे। सारथि भएर पनि कर्णको आदेश मान्न उनी अस्वीकार गर्थे। बारम्बार उनी 'अर्जुनले तिमीलाई नमारी छाड्दैनन्' भनेर कायल पार्थे। 

...
कर्णलाई पाण्डवतर्फ मिलाउन आग्रह गर्ने क्रममा कृष्णले कर्णको जन्मभेद खोल्दै भनेका थिए, 'तिमी नै पाण्डवमध्ये जेठा मानिनेछौ।' जेठा भएका नाताले राजा बन्ने र सुन्दरी द्रौपदीको पति बन्ने अवसर उनलाई पनि मिल्नेवाला थियो। सुन्दरी द्रौपदीका लागि पाँच दाजुभाइमा फुट हुने डरले युधिष्ठिरले उनलाई पाँचै दाजुभाइकी साझा पत्नी बनाएका थिए। तिनै पद्मिनीमाथि हिस्सा लाग्ने लोभले कर्णलाई तान्न सकेन। सत्यनिष्ठ मानिएका पाण्डवहरूका भने द्रौपदीबाहेक निजी पत्नीहरू पनि थिए। युधिष्ठिरले शिविदेशका राजा गोवासनकी छोरी देविका, भीमले राक्षस कुलकी हिडम्बा र काशीराजकी छोरी बलन्धरासँग बिहे गरे। द्रौपदीसँग युधिष्ठिरको सहवासका बेला कुटी छिर्दा अर्जुनलाई १२ वर्ष बह्मचार्यको सजाय भयो। त्यसै अवधिमा नाग राजकुमारी उलुपी, मणिपुर राजकुमारी चित्रांगदा र कृष्णकी बहिनी सुभद्रालाई पत्नी बनाएर धनुर्वीर अर्जुन पत्नीवीर पनि भए। चेदी नरेशकी छोरी करेणुमतीलाई नकुलले र मद्र नरेशकी छोरी विजयालाई सहदेवले निजी पत्नी बनाए। तर, कृष्णको प्रस्ताव अस्विकार्दै एक पत्नीव्रत कर्णले निर्द्वन्द्व भएर भने, 'मेरो यौवन केवल मेरी पत्नीका लागि हो।' 
जीवनका हरकदममा अपमानित कर्णले कहिल्यै स्वधर्म त्यागेनन्। जन्मले राजकुलकै भए पनि आमाकै कारण निच जातिको अपमानपूर्ण जिन्दगी बाँच्नुपरेको पहिलोपल्ट थाहा पाउँदा कुनै युवकको मनोविज्ञान कस्तो होला? कर्णले त्यही मर्मभेदी स्थितिको साक्षात्कार गरे। तर, त्यसको प्रतिक्रिया उनले आमा कुन्तीसित कहिल्यै प्रकट गरेनन्। युद्ध सुरु हुनै लाग्दा कुन्तीले पनि उनलाई पाण्डवतर्फ लाग्न आग्रह गरिन्। जन्मदात्री भएर पनि आमा हुन नसकेकी, आफ्नो अपमानपूर्ण जीवनको कारक बनेकी तिनै कुन्तीलाई समेत उनले ममतामयी आमाको सम्मान दिए। तिनको कुकृत्यका लागि कुनै गुनासो गरेनन्। याचकलाई कहिल्यै निराश नफर्काउने कर्णले 'अर्जुनबाहेक कसैलाई नमार्ने' वाचा गरे। नभन्दै युद्धमा युधिष्ठिर, भीम, नकुल, सहदेवलाई पक्रेर, तिनको तेजोबध गरेर ज्यान माफी दिए। युद्धअघि छोरा अर्जुनको जितका लागि इन्द्रले ब्राह्मण भेष धरेर कर्णसँग कवच मागेका थिए जुन जन्मदै उनको शरीरमा टाँसिएको थियो। इन्द्रले षड्यन्त्र गरेको थाहा पाउँदा पनि उनले आफ्नो जीवनकै मूल्यमा कवच दिएर पठाए। अर्जुनको शरशैयामा सुतेपछि भीष्म स्वयंले पाण्डवतर्फ लाग्न सुझाव दिँदा उनले विनम्रतापूर्वक अस्विकार्दै दुर्योधनप्रतिको अविरल वफादारी दर्शाएका थिए। 

...
यो बेग्लै कुरा हो, टुहुरा पाँच पाण्डवमाथि सय भाइ कौरवले गर्नुसम्म अन्याय गरेका थिए। भीमलाई विष खुवाएर नदीमा फ्याँकिएको थियो। राज्यसत्ताबाट च्युत गर्न अत्यन्त विष्फोटक पदार्थहरूले बनेको लाहाको घरमा जलाएर मार्ने षड्यन्त्र गरियो। बनवास र गुप्तवासका क्रममा पनि बारम्बार मार्न खोजियो। भीष्म, विदूर, द्रोण, कृपाचार्यजस्ता न्यायप्रेमी लाचार छायाँ भए। कौरवको हाहामा लागेर विपत्तिमा परेका पाण्डवको धज्जी उडाउनु, आफ्नो अपमानको बदला लिन दुःखी द्रौपदीप्रति अश्लील कटाक्ष गर्नु, दुर्योधनलाई युद्ध प्रेरित गरेर नरसंहारलाई निमन्त्रणा दिनु सज्जन कर्णलाई सुहाउने कुरा थिएन। तथापि, उनी दुर्योधनको पक्षमा पुग्नु अनौठो थिएन। 
दुर्योधन क्षत्रीय कुलीनताको भन्दा वीरताको सम्मान गर्थे। राजाका ज्येष्ठ पुत्र नै भविष्यमा राजा बन्ने राज परम्पराअनुसार पाण्डवहरूलाई राज्यमाथि अंश दाबी गर्ने अधिकार पनि थिएन। भीम सानैदेखि हदै खलेपु थिए। उनी रूख हल्लाएर हाँगामा बसेका कौरवलाई खसाल्थे। जुल्फी पक्री फनक्क घुमाएर पाहाजस्तै पछार्थे। पोखरीमा निःसासिने गरी डुबाइदिन्थे। यही सम्झेर दुर्योधनले आफ्नो राज्यमाथि खतरा देखी पाण्डवलाई पन्छाउन खोजे। कति अवस्थामा पाण्डव दुर्योधनसँग सम्झौता गर्ने मनस्थितिमा पुग्थे। कृष्ण बारम्बार युद्धका लागि उचाल्थे। तर, आफैं राजपाठबाट गहलहत्याइँदा पनि पाण्डवको क्षत्रीय र राजकुलीन अभिमान हदै उत्ताउलो थियो। तिनको यही जातिवादको अहम्ले कर्णलाई दुर्योधनको घेरोमा धकेलिदिएको थियो। 
तथापि, कर्ण आफ्नो सत्यनिष्ठा, दयालुपन र दानी स्वभावबाट डगमगाएनन्। युधिष्ठिर जुवामा पराजित भएपछि दुर्योधनले द्रौपदीलाई सभामा घिच्याएर ल्याउन कर्णलाई अह्राएका थिए। दुर्योधनको अन्यायपूर्ण आदेशका लागि उनले द्रौपदीसँग माफी मागे। द्रौपदी रजस्वला भएर एकवस्त्रा रहेकी थाहा पाउँदा त्यसै फर्के। दुर्योधनले षड्यन्त्रपूर्वक पाण्डवको हत्या गर्ने योजनालाई कायरता भन्दै दुत्कारे। 
महाभारत युद्धमा उनले देखाएको अद्वितीय वीरताका अनेक घटना छन्। उनले अश्वमुख नामक वाण प्रहार गर्दा कृष्णले चलाखी गरेर रथ ननुहाएका भए अर्जुन स्वयं मारिने थिए। तैपनि कर्णको वाणले अर्जुनको किरिट र मुकुट उछिट्टियो। अरू चार पाण्डवको त उनले सातै लिएका थिए। अन्ततः कर्ण स्वयं युद्धको नियमविपरीत अर्जुनको ब्रह्मास्त्र प्रहारबाट मारिए। हिलोमा जाकिएको रथको पांग्रा उठाउन लाग्दा निःशस्त्र कर्णमाथि प्रहार गर्न कृष्णले आदेश दिए। कर्णले युद्धको नियम सम्झाउँदा कृष्णले उनको खिल्ली उडाए। कर्णको सहादतपछि सञ्जयले भनेका थिए, 'याचकले माग्दा जसले सदैव दिन्छु भन्यो, याचकका लागि जसले कहिल्यै हुन्न भनेन, जसलाई सज्जनहरूले सदैव सत्पुरुष माने, तिनै कर्ण आज युद्धमा मारिए। याचकरूपी पन्छीहरूको कल्पवृक्ष ढल्यो।'
स्टार प्लसको शृंखलामा कर्णको ब्रह्मास्त्रबाट अर्जुनलाई बचाउनु असम्भव भएपछि कृष्ण भागेझैं गरी अर्जुनको रथ यस्तो दलदलतिर लैजान्छन् जसलाई पछ्याउँदै जाँदा कर्णको रथ भासिन्छ। आचारसंहिताविरुद्ध अर्जुनको प्रहारबाट कर्ण मरणान्त हुँदा आर्तनाद गर्दै कुन्ती पाण्डवहरूलाई कर्णको असली परिचय दिन्छिन्।' पाण्डवहरूले खै गर्दा आमा कुन्तीलाई बचाउँदै कर्ण भन्छन्, 'यो सब मैले गर्दा भएको हो प्रिय अर्जुन। म तिमीलाई हराउन चाहन्थेँ। छल गरेर तिमीले ममाथि विजय प्राप्त गरे पनि धर्म र नैतिकताका दृष्टिले त मैले नै तिमीलाई पराजित गरेँ! किनभने कृष्णको छल बुझ्दाबुझ्दै मैले तिमीमाथि कहिल्यै छलपूर्वक प्रहार गरिनँ।'
अर्को समाचार
महाभारत, श्रीकृष्ण र कूटनीति
०४ भदौ २०७३
•
३३ मिनेट पाठ
महाभारत, श्रीकृष्ण र कूटनीति
गाउँ–सहरका कुनाकाप्चा कृष्ण भजनले गुन्जायमान हुन थालेका छन्। हिन्दी सिरियलहरू श्रीकृष्णमय भइसके। प्रेमका ईश्वर अनि संसारमा अन्याय र पाप नाश गर्न आएका विष्णुका आठौँ अवतारका रूपमा कृष्णको आराधना गरिन्छ। आफ्नो आस्थाका युगपुरुषलाई पुज्ने र ईश्वरका रूपमा सम्मान गर्ने मानिसको अधिकारलाई म सम्मान गर्छु। म आफै पनि हिन्दु संस्कृति र परिवेशमा हुर्केको हुँ। तर, म पुराण युगलाई समाजशास्त्रीय आँखाले हेर्न रूचाउँछु। रजनीकान्त शास्त्रीको 'हिन्दु धर्मका उत्थान और पतन', देवीप्रसाद चट्टोपाध्यायको 'लोकायत', भारतको विश्व बुक्सका आलोचनात्मक प्रकाशनहरू मेरो दृष्टिकोणका सहायक हुन्।




कर्मयोग

'गीता' मा कृष्णले अर्जुनलाई दिएको एउटा प्रमुख उपदेश हो, कर्म गर, फलको आश नगर। यसको अन्तर्य कर्मयोगमा छ जुन अत्यन्त महŒवपूर्ण छ। पहिरो लाग्ला वा बाँदरले नाश गर्ला भनेर किसानले बाली लगाउन छाड्दैन। एल्बम नबिक्ला भनेर संगीतकारले नयाँ मुर्च्छना रच्न छाड्दैन। पाठक कम छन् भन्दैमा कविले कविता लेख्न छाड्दैन। सयौँ प्रयोगको असफलतापछि स्टिभ जब्स हरेक कोठामा अट्ने कम्प्युटर बनाउन सफल भए। ९ सय ९९ पटकको असफलतापछि पनि थोमस एल्बा एडिसनले बिजुलीको चिम बनाइछाडे। यही हो कर्मयोग।

तथापि, कृष्ण स्वयंका क्रियाकलाप कर्मयोगको चोखो भावनाले प्रेरित थिएनन्। अनर्थमा यमुना किनारको नागबस्ती नाश गर्नु, शिशुपालले बिहे गर्न लागेकी युवती अपहरण गर्नु, सानो निहुँमै शिशुपालको हत्या गर्र्नु, आफैले आमा भनेर बोलाएकी कुब्जासित संसर्ग गर्नु, क्षत्रीय जातित्वमाथि दम्भ गर्नु आदि उनका क्रियाकलाप त्याज्य छन्। यस्ता उपद्र्याइमा पाण्डवलगायत उनका अनुगामीहरू जयजयकार गर्दै नाचगान गर्थे। विजेताको स्तुति गर्ने र तिनकै पक्षमा इतिहास लेख्ने परम्परा सायद यस्तै प्रसंगबाट प्रेरित हुन्छ। महाभारतका रचनाकार व्यासले लगभग पाँच हजार वर्षअघिको त्यस युगलाई धर्मयुग मानेका छन्। यथार्थमा त्यो जातिवादी अर्थात् ब्राह्मण–क्षत्रीको उच्चतावादी युग थियो। अन्य जातिको त्यहाँ कुनै आत्मसम्मान थिएन। नत्र सूतपुत्र भनिएका कर्णको बारम्बार अपमान हुने थिएन। धनुर्विद्यामा अर्जुनभन्दा निपुण शुद्र एकलव्यको बूढीऔँला काटिने थिएन। असुर र वर्णव्यवस्थामा 'तल्लो जाति'का व्यक्तिको हत्यालाई सामान्य मानिने थिएन।

वास्तवमा सनातन समाजका यी युगपुरुष महत्वाकांक्षालाई निरन्तर पछ्याइरहने अत्यन्त चलाख, बौद्धिक र कूटनीतिक व्यक्ति थिए जसलाई ईश्वर बनाएर वेदव्यासले 'महाभारत' लेखे। चलाखीपूर्वक प्रचारयन्त्र प्रयोग गरी उनी ईश्वर र युधिष्ठिर सत्यवादी कहलिए। यही 'योग्यता'को अभावमा सत्य र इमानमा निष्ठावान् महावीर कर्ण युद्धसंहिताविरुद्ध मारिए र खलनायक ठहरिए।

'मोदीआइन' को प्रश्न

विश्वेश्वरप्रसाद कोइरालाको लघु उपन्यास 'मोदीआइन' ले महाभारत युद्धलाई मानवताको महाविनाश ठान्छ। अर्जुनले युद्ध नगर्न धनुषवाण बिसाएको र उद्दण्ड भीमसेनले समेत शान्तिको चाहना व्यक्त गरिरहेका बेला द्रौपदीले प्रतिशोधको बाचा सम्झाएकी थिइन्। कृष्णले युद्धको अनिवार्यताबारे प्रवचन दिएका थिए। उपन्यासकी प्रमुख पात्र नारी भन्छे, 'कृष्ण त भगवान् हुन्, उनी हामी मान्छेको प्रेम, भावना र संवेदनालाई किन महत्व दिन्थे! उनी त युद्ध गराएर यो सुन्दर मानव संसारलाई क्षतविक्षत पार्न चाहन्छन्।' मोदीआइनले यसरी महाभारत युद्धको औचित्य र कृष्णको देवत्वमाथि सूक्ष्म तरिकाले प्रश्न उठाएको छ।

ब्रजमा बाल्यकाल

भारतको विश्व बुक्सद्वारा प्रकाशित 'श्रीकृष्ण एन्ड हिज गीता' का अनुसार उनको जन्म पाँच हजार वर्षअघि भएको अनुमान छ। त्यतिखेर आर्य जाति उत्तर भारतका नदी किनारतिर फैलिएर त्यहाँका बासिन्दासँग घुलमिल भइसकेका थिए। स–साना गणराज्य थिए। जरासन्ध, कंश, शिशुपाल, द्रुपदलगायत राजा थिए। अहिलेको नयाँ दिल्लीमा सबैभन्दा समृद्ध, शक्तिशाली र व्यवस्थित हस्तिनापुर राज्य थियो। खेती र गाईपालन मुख्य व्यवसाय थिए। युद्धका मुख्य हतियार धनुषवाण र गदा थिए। सवारीका रूपमा रथ र घोडाहरू उपयोग हुन्थे।

पहिले शौरसेन गणराज्य थियो। त्यहाँका गणपति उग्रसेन थिए। मगधमा गणतन्त्र मासेर जरासन्धले निरंकुश राजतन्त्र लादिरहेका थिए। उनका दुई छोरी अस्ति र प्राप्तिको बिहे उग्रसेनका छोरा कंशसँग भयो। निरंकुश राजाका यी दुई छोरीले पतिलाई पनि शौरसेनमा निरंकुश राजतन्त्र चलाउन प्रेरित गरे। फलस्वरूप आफ्नै पितालाई अपदस्थ गरेर कंश निरंकुश राजा भए। अपदस्थ राजा उग्रसेनका भाइ देवक, उनकी छोरी देवकी र ज्वाइँ वसुदेवलाई यो कुरा बिझिरहेको थियो। देवकी वसुदेवकी चौधौँ पत्नी थिइन्। यसअघि उनका पत्नीहरू कौशल्या, इला, पैरवी, रोहिणी, भद्रा, मदिरा, धृतदेवा, शान्तिदेवा, उपदेवा, श्रीदेवा, देवरक्षिता, सहदेवा थिए। यिनीहरूबाट ६९ छोरा र एक छोरी थिए। यसअघि नै उग्रसेनका पाँच छोरी कंशा, कंशक्ली, कंका, शूरभूमि, राष्ट्रपालिकाको बिहे वसुदेवका भाइहरू क्रमशः देवभाग, देवश्रवा, आनक, श्यामक, सृञ्जयसँग भएको थियो। देवक, वसुदेव र देवकी कंशलाई राज्यच्युत गर्ने गोप्य योजना बनाइरहेका थिए। देवकीलाई पाल्कीमा राखेर वसुदेवकहाँ पुर्‍याउन लाग्दा कंशलाई यो गोप्य सूचना प्राप्त भयो। तत्काल उनले बहिनी–ज्वाइँलाई झ्यालखाना हालिदिए। उनीहरूबाट जन्मेका शिशु मारिदिए।

भाद्र कृष्णाष्टमीको रात कृष्णको जन्म भयो। चलाखीपूर्वक देवकले कंशका एक प्रहरीलाई मदिरा खुवाएर बेहोस बनाइदिए। वसुदेवले कृष्णलाई यमुना नदी तारेर ब्रजवासी नन्दकहाँ पुर्‍याए। सट्टामा नन्द र यशोदाले केही दिनअघि मात्र जन्मेकी छोरी वसुदेवलाई दिए। देवकीले छोरी जन्माएको खबर मध्यरातमा कंशकहाँ पुग्यो। जेलको शिलाखण्डमा रहेकी शिशुलाई कंशले मार्न खोज्दा बत्ती निभ्यो। फेरि अर्को बत्ती ल्याउँदा एउटा प्रहरीले शिशुलाई गायब गरिदियो।

अत्यन्त सुन्दर, चलाख, चञ्चल र प्रिय बालसुलभताका कारण कृष्णले यशोदा र ब्रजबासीको मन जिते। शिशु गायब भएपछि कंशलाई आफ्नै राज्यमा विद्रोहीलाई सघाउने नन्द हुन् भन्ने शंका थियो। तर, पर्याप्त प्रमाण थिएन। उनले देवकीपुत्र खोज्न पुतना, शंकटासुर, तृणावर्त, बत्सासुर, बकासुर, धेनुकासुर आदि गुप्तचर पठाए। कृष्ण र गोपालहरूले चलाखीपूर्वक सबैलाई मारिदिए। कृष्ण सानैदेखि रसिक, चलाख र विद्रोही थिए। युवतीलाई मोहित पार्थे।  जनताले करस्वरूप कंशकहाँ लान लागेको दही, दूध, घिउ, मह लुटेर खान्थे। खाइनसकेको नष्ट गरिदिन्थे। साथीहरूको मद्दतमा उनले यमुना किनारबासी नागजातिका राजा कालियमाथि आक्रमण गरे जो कंशका हितैषी थिए। नागबस्ती पूरै ध्वस्त गरिदिए। एक दिन उनले बूढा मामा कंशको पनि बध गरे र आफ्ना बाबु–आमालाई जेलमुक्त गराए। यसले उनको ख्याति र प्रभुत्व झनै फैलियो।

हस्तिनापुर प्रवेश

कृष्ण भारतवर्षकै महत्वपूर्ण व्यक्ति बन्ने सपना देख्थे। भारतको प्रमुख सत्ता हस्तिनापुर अत्यन्त समृद्ध, संगठित र व्यवस्थित थियो। अन्धा भए पनि राजा धृतराष्ट्र कुशल र उदार शासक थिए। उनले आफ्ना सय छोरा र स्वर्गीय भाइ पाण्डुका पाँचै छोरालाई द्रोणाचार्यबाट शिक्षा दिलाए। पाण्डुका जेठा छोरा युधिष्ठिरलाई उत्तराधिकारी तोके। कडा मेहनत र गुरुको कृपाले पाण्डुकै साहिँला छोरा अर्जुन धनुर्विद्यामा गुरुपुत्र अश्वत्थामाभन्दा पनि निपुण भए। यो देखेर धृतराष्ट्र खुसी भए। अर्जुनको नेतृत्वमा कौरव–पाण्डवले कुरु राज्यको संरक्षण गर्नेमा उनी विश्वस्त थिए। काका भीष्मपछाडि अर्जुनलाई नै उनी सेनाधिपति बनाउन चाहन्थे। जनता सुखी थिए। विज्ञान र कलाको उन्नति हुँदै थियो। राज्यसभामा भीष्म, द्रोणाचार्य, कृपाचार्य र विदूरजस्ता अनुभवी, वीर, बुद्धिमान व्यक्तिहरू थिए। अर्जुन, भीम, दुर्योधन, युधिष्ठिर, दुःशासनजस्ता कर्मठ दोस्रो पुस्ता तयार भइसकेको थियो। यस्तो बेला हस्तिनापुरले प्रभुत्व स्वीकार नगरेसम्म कृष्णको महŒवाकांक्षा पूरा हुँदैनथ्यो।

दुर्योधन वीर थिए। गदा युद्धमा भीमले पनि उनलाई जित्न सक्दैनथे। अर्जुन धनुर्विद्यामा सर्वश्रेष्ठ ठहरिए। पिता धृतराष्ट्रदेखि राज्यसभाका सबैले सदैव अर्जुन र पाण्डवहरूकै प्रशंसा गर्थे। यसले दुर्योधनको ईर्ष्या चुलियो। एकदिन राज्यसभा र सारा जनतासामु अर्जुनले अनुपम धनुर्विद्या प्रदर्शन गरे। उनी संसारकै सर्वश्रेष्ठ धनुर्धारी घोषित भए। त्यसै सभामा कर्णले अर्जुनलाई चुनौती दिए। विचरा कर्ण 'दासपुत्र' भएकैले अर्जुनसँग प्रतिस्पर्धा गर्न योग्य मानिएनन्। वीरतालाई सम्मान गर्दै दुर्योधनले कर्णलाई अंगदेशको राजा बनाए। कृष्ण कुरुक्षेत्रका राजकुमारहरूबीचको यो द्वन्द्व नियालिरहेका थिए। यही मौका छोपेर उनी कूटनीतिका सोह्र कला प्रदर्शन गर्दै हस्तिनापुर छिरे।

'ईश्वरका अवतार'

जनता 'धार्मिक' थिए। ब्राह्मण र सन्यासी देवताजस्तै पुजिन्थे। राजारानीको खोपीमा समेत उनीहरू बिनारोकतोक प्रवेश पाउँथे। जनता र राजाबीच उनीहरू नै माध्यम हुन्थे। तिनका हरेक कुरा अन्धश्रद्धाका कारण जनता सत्य ठान्थे। विश्व बुक्सको प्रकाशन 'कितने खरे हमारे आदर्श' का अनुसार कृष्णले त्यतिखेर पुरोहितका नेता वेदव्यास र सन्यासीका नेता नारदको सहारा लिए। आफ्नो हत्या गर्न आउने पुतनालाई दूध चुसेरै प्राण हरेको, नागराजा कालियको दमन, नागबस्ती ध्वंश, शिशुपाल बध, कंश बध, गोवर्द्धन पर्वतलाई औँलाले उठाएको, कुप्री बूढी कुब्जालाई मस्त तरुनी बनाइदिएका जस्ता चामत्कारिक खबर वेदव्यास र नारदबाट फैलाएर कृष्ण भारतवर्षमा आफूलाई ईश्वरका अवतार कहलाउन सफल भए। सत्य जाँच्ने कुनै माध्यम थिएन। ब्राह्मण र सन्यासीका कुरामा शंका गर्नु पाप ठानिन्थ्यो।

धर्मका नाममा उनले पाण्डवहरूमा कौरवविरोधी भावना फैलाए। ब्राह्मणमार्फत् सबै गणराज्यमा कौरवप्रति घृणा र पाण्डवप्रति सहानुभूति बटुले। पहिला उनले फुपु कुन्तीलाई हात लिए। त्यसपछि अर्जुनलाई। दुर्योधनलाई यसको आभास भइसकेको थियो। परन्तु, आफूलाई सधैँ मूर्ख भनेर दुत्कार्ने राज्यसभासामु उनले यो कुरा राख्न सकेनन्। राखे पनि कसैले पत्याउने थिएनन्। यस्तो स्थितिमा उनले पाण्डवलाई नसिध्याए आफ्नो सत्ता नबच्ने ठाने।

दुर्योधनले पाण्डवहरूलाई अत्यन्त विस्फोटक पदार्थहरूले बनेको लाहाको घरमा जलाएर मार्ने योजना बनाए। विदुरबाट यो सुइँको पाएपछि एक मंगोल महिला र उनका पाँच छोरालाई राखेर आफैले घर जलाइ पाण्डवहरू सुरुङको बाटो भागे। कौरवले ती महिला र पाँच छोराछोरीको लास देखेर पाण्डव र कुन्ती मारिएको ठाने। जंगलमा उनीहरूले अनेक दुःख भोग्नुपर्‍यो। कतिपय अवस्थामा दुर्योधनसँग सम्झौता गर्ने मनस्थितिमा पुग्थे। कृष्ण बारम्बार धैर्यको पाठ पढाउँथे।

द्रौपदीसित बिहेपछि पाण्डवहरूको शक्ति बढ्यो। कृष्णले युद्ध हुने धम्की दिएपछि दुर्योधनले परिस्थिति आकलन गरेर पाण्डवलाई इन्द्रप्रस्थ राज्य दिए। उनीहरूलाई बस्न त्यतिबेलाको सबैभन्दा आधुनिक कलाद्वारा सुसज्जित महल बनाइदिए। यस्तो महल दुर्योधनकै पनि थिएन। एकदिन उनी पाण्डवको महल भ्रमण गर्न गए। महलको वास्तुकला अनुपम थियो। पानीजस्तो देखिने ठाउँमा जमिन र जमिनजस्तो देखिने ठाउँमा पानी थियो। दुर्योधन जमिन भन्ठानेर गएको ठाउँमा पानी थियो। उनी पानीमा डुबेको देखेर द्रौपदीले 'अन्धाको छोरा पनि अन्धा' भनेर अट्टहास गरिन्। पाण्डवहरू हाँसिरहे। दुर्योधनले बदला लिने प्रण गरे। कृष्णको कूटनीति अर्कोपल्ट फेरि सफल भयो।

अर्जुनमाथि प्रभाव

मामा शकुनीको सहयोगले जुवा खेलेर दुर्योधनले युधिष्ठिरको राज्य, भाइहरू, द्रौपदी सबैलाई जितिदिए। धृतराष्ट्रले अत्यन्त उदार मन गरेर सबैलाई मुक्तमात्र गरिदिएनन्, फेरि राज्य फिर्ता दिए। फेरि पनि युधिष्ठिरले जुवामा सबै हारे। भाइहरू र द्रौपदीसहित वनबास गए। अत्यन्त कष्टकर वनबास सकिए पनि जितेको राज्य दुर्योधनले छाडेनन्। कृष्णको प्रेरणामा पाण्डवहरूले युद्ध घोषणा गरे। दुवैतर्फबाट युद्ध तयारी भयो। कौरव पक्ष अत्यन्त सुदृढ थियो। भीष्म, द्रोण, कर्ण, अश्वत्थामा, कृपाचार्यजस्ता महारथी उनीहरूसँग  थिए। नकुल–सहदेवका आफ्नै मामा शल्य कौरवपट्टि लागेका थिए।

पाण्डव सेनाका सञ्चालक अर्जुन आफ्नो कमजोर स्थितिप्रति सचेत थिए। उनको मनमा नानाथरी कुरा खेल्न थाले। ठूला बा, उनका छोरा, द्रोणको माया, बाल्यकालको आपसी स्नेह सम्झँदा अर्जुनलाई युद्धप्रति वितृष्णा भयो। भीष्म, द्रोण, कर्णजस्ता महारथीलाई धर्मयुद्धको नियमअनुसार मार्न सकिन्न भन्ने उनलाई थाहा थियो। यी जिउँदा रहुन्जेल युद्ध जित्न सकिन्नथ्यो। कसैगरी यिनीहरू मारिए हस्तिनापुरको सुदृढता भंग हुन्थ्यो। युधिष्ठिरको जुवाप्रेमलाई न्यायोचित साबित गर्न थुप्रै निर्दोष मारिन्थे। दुर्योधनलाई द्रौपदीले उपहास गर्नु धृतराष्ट्रको पनि अपमान थियो। त्यसका लागि पाण्डवहरूले माफी नमाग्नु अर्को गल्ती थियो। त्यसमाथि युधिष्ठिरले जुवा खेलेर राज्य, भाइहरू, आफू स्वयं र द्रौपदीलाई समेत हार्नु महाभूल थियो। त्यस्तोमा पनि कसैलाई नथुनी त्यसै छाडिदिनु दुर्योधनको उदारता थियो। युद्धमा वीरजति सबै मारिएपछि देशको सुरक्षा के होला? यस्तै सोचेर अर्जुनले धनुषवाण भुइँमा राखे र युद्ध नगर्ने घोषणा गरे।

कृष्ण यसका लागि पहिल्यैदेखि तयार थिए। मनोविज्ञानको सहारा लिएर अर्जुनलाई कृष्णले पूरै बदलिदिए। जिते हस्तिनापुर र हारे स्वर्गको सपना देखाए। कहिले उच्च, कहिले नरम स्वरमा बोलेर उनले अनेक ब्रह्माण्डको काल्पनिक नक्सा बनाए र बिगारे। कृष्णको कुराले लठ्ठिएका अर्जुनले कर्ण, भीष्म, जयद्रथ, द्रोण, दुर्योधन मरेको देखे। अर्जुनलाई कृष्ण नै सर्वसत्ताधारी ईश्वर हुन्, यो जगत् उनकै लीला हो, कुनै पनि कुरा टारेर टर्दैन भन्ने भान पारिदिए। द्रौपदीले दुर्योधनको अपमान गर्नु, युधिष्ठिरले जुवा खेल्नु सबै पूर्वनिश्चित थियो, अहिलेसम्म जे भयो, जे हुनेवाला छ, सबै कृष्णकै इच्छामा भर पर्छ भन्ने भान पार्न उनी सफल भए। यसरी अर्जुन युद्धका लागि तयार भए।

महाभारत युद्ध

कृष्णले भीष्म, विदुरलगायतलाई पनि आफू परमेश्वर भएको भान पारिसकेका थिए। उनी पाण्डवसँग भएपछि यो युद्ध जित्न असम्भव छ भनेर भीष्म बारम्बार दुर्योधनलाई सुनाउँथे। दुर्योधनले कौरव सेनापति बन्न आग्रह गर्दा सुरुमै भीष्मले तीन सर्त राखे, १) म सेनापति रहुन्जेल 'सूतपुत्र' कर्णले युद्ध गर्न पाउँदैन २) म कुन्तिपुत्रहरूलाई बध गर्दिनँ ३) शिखण्डीविरुद्ध कुनै अस्त्र चलाउँदिनँ। सेनापतिले यसरी लडाइँ सुरु नहुँदै कौरव सेनाको पराजयको उद्घाटन गरिसकेका थिए। कर्णजस्ता महावीरले युद्धमा भाग लिन नपाउँदा कौरव पक्ष कमजोर हुने पक्का थियो। नभन्दै दसौँ दिनसम्म कौरव सेनाको तुलनामा पाण्डव सेना बलियो भइसकेको थियो। भीम, अर्जुनजस्ता महायोद्धाको अन्त्य नहुन्जेल कौरवको जित असम्भव थियो। कृष्ण पाण्डव पक्षबाट सेनानीका रूपमा नलडी अर्जुनका सारथी हुनुमा विशेष कारण थियो। सेनानीजस्तै लड्न गएका भए उनी अर्जुनसँग हुने थिएनन् र भावनामा बगिरहने अर्जुनले विचार बदल्ने खतरा थियो।

आठौँ दिनसम्म कौरव सेनामा निकै क्षति भएपछि दुर्योधनले कर्णलाई युद्ध गर्ने अनुमति दिन दबाब दिए। नभए सेनापतिबाट भीष्मलाई बर्खास्त गर्ने चेतावनी दिए। बल्ल भीष्मले पाण्डव सेना ध्वस्त पार्ने वचन दिए। नभन्दै भोलिपल्ट उनीसामु पाण्डव सेना डढेलोमा परेको पत्करजस्तै भए। यो देखेर युधिष्ठिर आतंकित भए। कृष्णको सल्लाहअनुसार साँझ युद्धविरामपछि उनले भीष्मलाई भेटे।  शिखण्डी लड्न आए हतियार त्याग्ने गोप्य भेद भीष्मले खोलिदिए। युद्धको दसौँ दिन शिखण्डीलाई अगाडि राखेर अर्जुनले भीष्मलाई वाणैवाणको शै्ययामा सुताइदिए।

युद्ध सुरु हुनै लाग्दा कृष्णले कर्णलाई 'तिमी कुन्तीपुत्र हौ, त्यसैले पाण्डव पक्षमा लाग' भनेका थिए। यही रहस्य कुन्तीले पनि कर्णलाई सुनाइन्। दुवैलाई कर्णलेे दुर्योधनको उपकारप्रति बेइमानी गर्न नसक्ने बताएका थिए। हो, उनले आफूलाई मर्ममै प्रहार गर्ने अर्जुनबाहेक चार दाजुभाइलाई नमार्ने बचन दिएका थिए। धृतराष्ट्रको पहिलो पुत्र युयुत्सु वैश्य दासी युवतीबाट जन्मेका थिए। यही कारण उनको युवराज हुने हक खोसिएको थियो। कृष्णको इशारामा कुन्ती र पाण्डव उनलाई उचालिरहेका थिए। युद्ध सुरु हुनै लाग्दा आफूलाई इच्छा लागेको समूहमा जान सबैलाई स्वतन्त्रता भएको उद्घोष गरियो। युयुत्सु कौरव सेना छाडी पाण्डव पक्षमा आए।

नकुल–सहदेवका मामा शल्यले कौरवलाई सघाउने सूचना कृष्णले कुन्तीलाई दिए। अन्ततः शल्यले कुन्तीलाई बचन दिए, 'धन्ना नमान्नुस्, मौका मिल्नासाथ म कौरव सेनालाई तेजोबध गर्छु।' नभन्दै उनले 'अर्जुनसामु तिमी केही छैनौ' भनेर कर्णको तेजोबध गरिरहे।

जयद्रथ बध

चक्रब्यूहमा पारी अर्जुनका छोरा अभिमन्युलाई महावीरहरू मिलेर युद्ध आचारसंहिताविरुद्ध मारेका थिए। अभिमन्यु हत्यामा धृतराष्ट्रका ज्वाइँ जयद्रथको दुष्टता अर्जुनले थाहा पाए। उनले भोलि सूर्य रहुन्जेल जयद्रथको हत्या गर्न नसके आफै चितामा जलेर मर्ने उद्घोष गरे। जयद्रथ भाग्न खोजे। द्रोणले अर्जुनलाई जयद्रथसम्म आइपुग्नै नदिने आश्वासन दिए। नभन्दै द्रोणको चक्रब्यूह तोडेर जयद्रथसम्म पुग्न अर्जुन सफल भएनन्। घाम डुब्यो। चिता बन्यो। वाण छाडेर अर्जुन चिता चढ्न तयार भए। कृष्णले सम्झाए, क्षत्रीय वीरले चितामा पनि धनुर्वाण छाड्नु हुँदैन। वाण लिएर अर्जुन चिता चढ्न तयार भए। दुर्योधनका मामा शकुनीले जयद्रथलाई भने, शत्रु चितामा जलेर खरानी भएको हेरेर आत्मा शान्त पार। जयद्रथ टुप्लुक्किए। त्यही मौकामा कृष्णको इशारा पाएर अर्जुनले वाण प्रहार गरी जयद्रथको टाउको उडाइदिए। महाभारत कथाअनुसार भने अर्जुन मर्ने भए भनेर कृष्णले लीला गरे। सूर्य अस्ताउन एक घडी बाँकी हुँदै उनले सुदर्शन चक्रले सूर्यलाई छेकिदिए र अन्धकार पारिदिए। अर्जुनले जयद्रथको हत्या गर्नेबित्तिकै चक्र हटाइदिए। झलमल्ल घाम लाग्यो।

धर्मयुद्धको उल्लंघन

भोलिपल्ट पन्ध्रौँ दिनको युद्धमा द्रोणले पाण्डव सेनालाई सोत्तर पारिदिए। द्रुपद, विराटलगायत वीर राजालाई मारिदिए। कृष्णले सुझाए, 'अश्वत्थामाको हत्या नगरी आचार्यलाई शान्त गर्न सकिन्न।' भीमले कृष्णको आशय बुझेर दशार्थ देशका अश्वत्थामा नामक हात्तीलाई मारिदिए र द्रोणले सुन्ने गरी भने, 'तपाईं बेकारमा किन चम्किनुहुन्छ गुरुदेव? भर्खरै मैले तपाईंको छोरा अश्वत्थामालाई मारिसकेँ।' द्रोणले पत्याएनन्। 'युधिष्ठिरले भनेमात्र पत्याउँछु' भने। कृष्णको दबाबमा द्रोणका त्यति ठूला विश्वासपात्र युधिष्ठिरले अर्धसत्य बोले, 'मान्छे हो वा हात्ती, अश्वत्थामा मारिए।' 'मान्छे हो वा हात्ती' भन्ने वाक्यांश बोल्दा कृष्णले बेसरी शंख बजाए, भीमले ठूलो स्वरमा हल्ला गरे। द्रोणले 'अश्वत्थामा मारिए' भन्ने वाक्यमात्र सुने। उनी हतियार त्यागेर तुरुन्त योगासनमा बसे। यसैबेला धृष्टद्युम्नले द्रोणको शीर काटिदिए।

धनुर्विद्यामा कर्ण अर्जुनभन्दा कम थिएनन्। अत्यन्त वीरतासाथ लड्दालड्दै कर्णको रथको पांग्रा हिलामा भासियो। हतियारविहीन उनी पांग्रा उचाल्न गए। यस्तो बेला विपक्षीमाथि प्रहार गर्नु युद्ध आचारसंहिताविरुद्ध थियो। कृष्णको आदेश पाएर यही मौकामा अर्जुनले वाण हानेर कर्णको बध गरे।

युद्धको अन्त्यमा कौरव पक्षका कृतवर्मा, अश्वत्थामा, कृपाचार्य र दुर्योधनमात्र बाँकी रहे। दुर्योधन भागेर द्वैपायन ह्रद नामक तलाउमा लुकेर बसेका थिए। युधिष्ठिरले चुनौती दिएपछि उनी भीमसँग गदायुद्ध गर्न तयार भए। उनले भीमलाई आच्छुआच्छु पारे। कृष्णको इशारामा भीमले नियमविपरीत दुर्योधनको जाँघमा प्रहार गरे। दुर्योधनको कम्मर भाँचियो। झेल गरेको भनी कृष्णका दाजु बलराम स्वयं गदा उचालेर भीमलाई मार्न तयार भए। कृष्णले बलरामलाई थुम्थुम्याए। दिक्क हुँदै बलराम तीर्थयात्रामा हिँडे।

अन्त्यमा

खासमा, कृष्णको जीवनकथा अनुपम सफलताशास्त्र हो। उनकै दूरदर्शिता र चलाखीका कारण पाण्डवहरूले लगभग असम्भव युद्ध जिते र राज्य पाए। यी सबै 'भगवान्को लीला' ठहरियो। उनै 'भगवान्' का सन्तान ५६ कोटी यदुवंशी आपसमा काटामार गरेर सखाप भए। एक व्याधाको वाण लागेर स्वयं कृष्णकै दुखद् निधन भयो। यसलाई पनि 'लीला' भनियो।

वास्तवमा सनातन समाजका यी युगपुरुष महŒवाकांक्षालाई निरन्तर पछ्याइरहने अत्यन्त चलाख, बौद्धिक र कूटनीतिक व्यक्ति थिए जसलाई ईश्वर बनाएर वेदव्यासले 'महाभारत' लेखे। चलाखीपूर्वक प्रचारयन्त्र प्रयोग गरी उनी ईश्वर र युधिष्ठिर सत्यवादी कहलिए। यही 'योग्यता'को अभावमा सत्य र इमानमा निष्ठावान् महावीर कर्ण युद्धसंहिताविरुद्ध मारिए र खलनायक ठहरिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस