काठमाडौं-सार्क शिखर सम्मेलनमा सहभागी हुन मंगलबार नेपाल प्रस्थान गर्नु केही घन्टाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टि्वट गरे, ‘छिमेकी राष्ट्रसँग घनिष्ट सम्बन्ध विकास गर्नु मेरो सरकारको मुख्य प्राथमिकता हो।'
उनले यो टि्वट आफ्नो व्यक्तिगत टि्वटरबाट नभई भारतीय प्रधानमन्त्रीको आधिकारिक टि्वटर ‘पिएमओ इन्डिया' बाट गरेका थिए। आफ्नो व्यक्तिगत टि्वटर एकाउन्ट ‘नरेन्द्रमोदी' बाट भने उनले नेपाल भ्रमण र सार्क सम्मेलनबारे केही उल्लेख गरेका छैनन्।
नेपाल प्रस्थान गर्नुअघि उनले सार्क सदस्यराष्ट्रका प्रमुख तथा सरकारप्रमुखसँग द्विपक्षीय छलफल गर्न आतुर रहेको सन्देश पनि दिएका छन्।
श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेले पनि काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेबित्तिकै टि्वट गर्न भ्याए। ‘केही समयअघि मात्र काठमाडौं आइपुगेँ। भोलि १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुनेछु,' राजापाक्षेले आफ्नो आधिकारिक टि्वटर एकाउन्ट ‘प्रेसराजापाक्ष' मा लेखेका छन्।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पनि काठमाडौं प्रस्थान गर्नुअघि थिम्पु विमानस्थलमा तस्बिर खिचाएर टि्वटरमा अपलोड गरेका थिए। काठमाडौं ओर्लनेबित्तिकै आफ्नो आधिकारिक टि्वटर एकाउन्ट ‘छिरिङतोब्गे' मा उनले लेखे, ‘सार्क सम्मेलनमा सहभागी हुन काठमाडौंमा अवतरण गरियो। न्यानो स्वागतका लागि धन्यवाद – नेपाल।'
सामाजिक सञ्चाल टि्वटर र फेसबुक सर्वसाधारणमात्र होइन, विशिष्ट व्यक्तिका निम्ति समेत पलपलको अनुभव, खुसी र दुःख साटासाट गर्ने माध्यम बनेको छ। सार्कका राष्ट्रप्रमुख तथा सरकारप्रमुखले टि्वटर तथा फेसबुक एकाउन्ट खोलेका छन्। र, आफ्ना जनता तथा विश्वभर छरिएका प्रशंसकमाझ पुग्ने बाटो र भावना अभिव्यक्त गर्ने माध्यम बनाएका छन्। उनीहरूका विचार तथा गतिविधि नियाल्न हजारौं–लाखौं प्रशंसकले विशिष्ट व्यक्तिलाई फेसबुक र टि्वटरमा पछ्याइरहेका हुन्छन्। यिनै पछ्याउने (फलोअर्स) का आधारमा को कति चर्चित छ भन्ने मापन पनि हुने गरेको छ।
सार्क सदस्यराष्ट्रका प्रमुख तथा सरकारप्रमुखमध्ये सबैभन्दा बढी फलोअर्स भारतीय प्रधानमन्त्री मोदीको छ। उनको टि्वटर एकाउन्ट ‘नरेन्द्रमोदी' लाई ८१ लाख ६३ हजार ६ सय २९ जनाले पछ्याएका छन्। उनको एकाउन्टलाई टि्वटरले भेरिफाईसमेत गरेको छ। मंगलबार दिउँसोसम्म ६ हजार ३ सय ८३ टि्वट गरेका मोदीले १ हजार ५५ जनालाई पछ्याएका (फलोइङ) छन्। उनले सार्क सदस्यराष्ट्रका सरकारप्रमुखमध्ये भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेलाई मात्र टि्वटरमा पछ्याएका छन्।
त्यस्तै, भारतीय प्रधानमन्त्रीको आधिकारिक टि्वटर ‘एटपिएमओ इन्डिया' बाट हालसम्म २ हजार २ सय ९२ वटा टि्वट भएका छन् भने यसलाई ३६ लाख ६३ हजार ४८ जनाले पछ्याएका छन्।
श्रीलंकाका राष्ट्रपति राजापाक्षलाई टि्वटरमा पछ्याउनेको संख्या दोस्रो ठूलो छ। उनको टि्वटर एकाउन्ट ‘प्रेसराजापाक्ष' लाई ७७ हजार ३ सय ४३ जनाले पछ्याएका छन्। मंगलबार दिउँसोसम्म ३ हजार २ सय ४० टि्वट गरेका राजापाक्षेले सार्कका राष्ट्रप्रमुख तथा सरकारप्रमुखमध्ये पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई मात्र पछ्याएका छन्। राजापाक्षले हालसम्म जम्मा १२ जनालाई टि्वटरमा पछ्याएका छन्।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीलाई टि्वटरमा पछ्याउनेको संख्या तेस्रो ठूलो छ। मंगलबार दिउँसोसम्म २ हजार ४ सय ९५ टि्वट गरेका उनलाई ५१ हजार ६ सय ७ जनाले पछ्याएका छन्। टि्वटरले समेत भेरिफाई गरेको एकाउन्ट ‘एटअसरफघानी' मा उनले सार्क सदस्यराष्ट्रका कोही पनि राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई पछ्याएका छैनन्।
पाकिस्तानका प्रधानमन्त्री सरिफलाई टि्वटरमा पछ्याउनेको संख्या चौथो ठूलो छ। उनको टि्वटर एकाउन्ट ‘पिएमनवाजसरिफ' लाई २५ हजार २ सय ३ जनाले पछ्याएका छन्। हालसम्म ६ सय ८७ टि्वट गरेका उनले ६३ जनालाई मात्र पछ्याएका छन्। सरिफले सार्क सदस्यराष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखमध्ये भारतीय प्रधानमन्त्री मोदीलाई मात्र पछ्याएका छन्।
भुटानका प्रधानमन्त्री तोब्गेलाई टि्वटरमा पछ्याउनेको संख्या पाँचौं ठूलो छ। उनको टि्वटर एकाउन्ट ‘छिरिङतोब्गे' लाई २४ हजार ८६ जनाले पछ्याएका छन्। मंगलबार दिउँसोसम्म ३ हजार ९ सय २ वटा टि्वट गर्न भ्याएका तोब्गेले १ सय ६६ जनालाई पछ्याएका छन्। सार्क सदस्यराष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखमध्ये उनले भारतका प्रधानमन्त्री मोदीलाई मात्र टि्वटरमा पछ्याएका छन्।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई टि्वटरमा पछ्याउनेको संख्या छैठौं ठूलो छ। जम्मा ३२ टि्वट भएको हसिनाको एकाउन्ट ‘शेखहसिना' लाई ११ हजार ४ सय ५६ जनाले पछ्याएका छन्। उनले चार जनालाई मात्र पछ्याएकी छन्। उनले सार्कराष्ट्रका सरकारप्रमुख तथा राष्ट्रप्रमुखमध्ये एक जनालाई पनि पछ्याएकी छैनन्।
माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनलाई टि्वटरमा पछ्याउनेको संख्या सातौं ठूलो छ। उनलाई हालसम्म २ हजार ९ सय ८९ जनाले पछ्याएका छन्। मंगलबार दिउँसोसम्म जम्मा २८ टि्वट गरेका उनले ५८ जनालाई पछ्याएका छन्। उनले पनि सार्क सदस्यराष्ट्रका कुनै पनि राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई पछ्याएका छैनन्।
प्रधानमन्त्री सुशील कोइरालाले भने टि्वटर एकाउन्ट खोलेका छैनन्, तर उनका नाममा थुप्रै टि्वटर एकाउन्ट भेटिन्छन्। उनको नाममा खोलिएको एउटा टि्वटर एकाउन्ट ‘सुशीलकोइरालाएनसी' लाई १ हजार २ सय १५ जनाले पछ्याएका छन्। प्रधानमन्त्री कोइरालाको आधिकारिक फेसबुक पेज पनि छैन।
फेसबुकमा पनि भारतीय प्रधानमन्त्री मोदीलाई नै लाइक गर्ने बढी छन्। फेसबुकले भेरिफाई गरेको उनको आधिकारिक फेसबुक पेजलाई २ करोड ५२ लाख ९६ हजार ५ सय ४२ जनाले लाइक गरेका छन्। मोदीपछि अफगानिस्तानका राष्ट्रपति घानीको फेसबुक पेजलाई सबैभन्दा धेरैले लाइक गरेका छन्। घानीको फेसबुक पेजलाई मंगलबार दिउँसोसम्म ५ लाख ५७ हजार २ सय ६१ जनाले लाइक गरेका छन्। मोदी, घानीसँगै श्रीलंकाका राष्ट्रपति राजापाक्षेको फेसबुक पेजलाई पनि फेसबुकले भेरिफाई गरेको छ।
राजापाक्षेको आधिकारिक फेसबुकलाई हालसम्म ४ लाख २५ हजार ४ सय ५ जनाले लाइक गरेका छन्। बंगलादेशकी प्रधानमन्त्री हसिनाले १ लाख २ हजार ५ सय ५५, भुटानका प्रधानमन्त्री तोब्गेले ४३ हजार ३ सय २२, माल्दिभ्सका राष्ट्रपति यमिनको फेसबुक पेजले ४ हजार २ सय ९२ लाइक पाएका छन्। पाकिस्तानी प्रधानमन्त्रीको भने फेसबुक पेज बनेको छैन।