काठमाडौं- भारतले नेपाल प्रहरी प्रतिष्ठान निर्माणका लागि झण्डै ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ। उक्त आर्थिक सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र भारतका तर्फबाट गृह मन्त्रालयका सचिवले हस्ताक्षर गरे।
भारतले प्रतिष्ठान निर्माणका लागि ८ अर्ब ८० करोड अनुदान सहयोग दिने भएको हो। सम्झौता अनुसार भारतीय आर्थिक सहयोगमा काभ्रेको पनौतीमा अत्याधुनिक उपकरणजडित नेपाल प्रहरी प्रतिष्ठान निर्माण गरिनेछ। १८ वर्षअघि नेपालले प्रहरी प्रतिष्ठान निर्माणमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव गरेको थियो। सोही प्रस्तावअनुसार मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो।
प्रतिष्ठान निर्माणको लागि छिट्टै सम्भाव्यता अध्ययन गर्ने बताइएको छ। प्रतिष्ठान २५ हेक्टर जमिनमा निर्माण हुनेछ। निर्माणपछि वार्षिक ४ सय १० प्रहरीले तालिम लिन सक्ने छन्।