वैदेशिक रोजगारीमा विदेशिने नेपाली कामदारका लागि मलेसिया आकर्षक गन्तव्य बन्दै गइरहेको छ। खाडी मुलुकमा भन्दा तलब र सुविधा बढी हुने भएकाले केही वर्षयता मलेसिया नेपाली कामदारको पहिलो श्रम गन्तव्य बन्दै आइरहेको छ। नेपालबाट गएका कामदार फरक कम्पनी र तलबमा काम गर्न बाध्य भएर कम्पनी छोडेर भाग्ने र अवैधानिक भएर फर्किरहेको समयमा मलेसियाकै विभिन्न कम्पनीमा उच्च पद र पारिश्रमिकमा नेपाली कामदारले काम गरिरहेका छन्।
मलेसियामा चालू आर्थिक वर्षको असोज महिनासम्ममा ५७ हजार ७ सय ९६ जना कामदार पुगेका छन्। जसमा १६ सय ७० जना महिला कामदार रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। करिब ७ लाख नेपाली कामदार रहेको मलेसियामा नेपाली कामदारका समस्या पनि थुप्रै रहेका छन्। विशेषगरी सम्झौताअनुसारको काम र तलब नहुने र श्रम शोषण हुने आरोप मलेसियालाई लाग्दै आएको छ। सम्झौताअनुसार काम र तलब नभएपछि कम्पनी छाडेर भाग्ने नेपाली थुप्रै छन्। यस्तो समस्याका बीचमा पनि मलेसियामा केही नेपाली कामदारले उच्च पारिश्रमिक र सुविधा पाएका छन्। उनीहरूका अनुसार, मलेसियामा सुख पनि छ, दुःख पनि छ। कुन रोज्ने आफैँमा भर पर्छ। केही कामदारले यसपटक शुक्रवारसँग आफ्ना अनुभव साटेका छन्।
विकास शाक्य, धरान (डीसीएस कम्पनी)मैले मलेसियाको मलाकामा रहेको डीसीएस कम्पनीमा काम गर्न थालेको १० वर्ष भयो। महिनाको एक लाखभन्दा बढी कमाउँछु। कम्पनीमा म गुणस्तर नियन्त्रण विभागमा सुपरभाइजर छु। पहिला कम्पनीमा सामान्य कामदारको रूपमा काम गरेँ। काम गर्दै जाँदा पद पनि बढ्यो र तलब पनि। मलेसिया थोरै लागतमा राम्रो पारिश्रमिक पाउनका लागि राम्रो गन्तव्य बनेको छ। यहाँ ९ सय रिंगेटबाट तलब सुरु हुन्छ। एउटै कम्पनीमा धैर्य गर्नुपर्छ केही वर्षमा नै लाखभन्दा बढी कमाउन सकिन्छ। नेपालका म्यानपावर कम्पनी र मलेसियाका एजेन्टहरूको मिलेमतोमा कामदारलाई फरक तलब र कम्पनीमा पारिदिने भएकाले कामदार कम्पनी छोडेर भाग्न बाध्य भएका छन्। कम्पनी छोडेपछि गैरकानुनी हुने भएकाले प्रहरीले पक्राउ गरी नेपाल फर्काउने गर्छ। तर, कम्पनी छोड्नअघि दूतावासमा खबर गर्नुपर्छ।
प्रेमकुमार कार्की, ब्याउली, भोजपुर (क्याम्बेल कम्पनी)नेपाली कामदारको लागि मलेसिया अवसर नै अवसर रहेको छ। यहाँ आएर धैर्यमात्र गर्नुपर्छ युरो बराबरको कमाइ हुन्छ। म मलेसिया आएको १० वर्ष भयो। मैले आधारभूत तलब र सुविधा गरेर अहिले महिनाको एक लाख हाराहारीमा कमाउँछु। पहिला म अपरेटर थिएँ, अहिले लाइन म्यानेजमेन्ट हेर्छु। कामदारको ड्युटी मिलाउनेसम्मको जिम्मेवारी हुन्छ, कामदार भिसामा आएकोले यहाँभन्दा बढी के खोज्नु। मलेसियामा कामदारलाई समस्या नभएका होइनन् समस्या छन्, तर म्यानपावरले गल्ती गरेपछि हामी कामदारले पनि गल्ती गर्दा झन् समस्या बढ्छ। कम्पनी नै छोडेर भागेपछि आफू नै अवैधानिक भइन्छ त्यसैले उजुर गर्ने ठाउँ नै हुँदैन। पहिला कम्पनीमा नै रहेर प्रक्रिया गर्ने हो। कम्पनीले दिने सेवा सुविधा पनि पाएको छु। होस्टेल पनि निःशुल्क छ।
नेपालबाट कामदार आउँदा कम्पनीको पृष्ठभूमि नै नबुझीकन आउँदा कामदारले दुःख पाउँछन्। म्यानपावर कम्पनी र मलेसियामा काम गर्ने कम्पनीको विषयमा सामान्य रूपमा बुझ्न सकिन्छ। तर, पनि कामदारले त्यो नबुझ्दा दलालले फँसाइरहेका छन्। मलेसियाका विभिन्न कम्पनीमा राम्रो अवसर छ। नबुझ्दा र दलालका कारण त्यो अवसर नेपाली कामदारले पाएका छैनन्।
तुलबहादुर पुर्जामगर, कावासोती, नवलपरासी (क्याम्बेल कम्पनी)मैले पहिला पनि १० वर्ष मलेसियामा काम गरे। पछि नेपाल फर्कें। फेरि मलेसिया आएको छु। आएको दुई वर्ष भइसक्यो। अहिले मैले यहाँ तलब र सुविधा गरेर महिनाको एक लाखजति कमाउँछु। धेरै नेपाली कामदारले कम्पनी छाड्ने र भाग्ने गरेकाले मलेसियामा समस्या भएको जस्तो देखिएको हो। तर, काम गर्दै जानुपर्छ, यहाँ राम्रो कमाइ छ। सामान्य अंगे्रजी बोल्ने कामदार भयो भने अझ सजिलो हुन्छ। मलेसियामा सुरक्षागार्ड, औद्योगिक, रेस्टुरेन्ट क्षेत्रमा पनि नेपाली कामदारको तलब र सुविधा बिस्तारै बढिरहेको छ। न्यूनतम तलब ९ सय रिंगेट हुने मलेसियामा दक्ष कामदारका लािग भने अझै ठूलो अवसर रहेको छ। नेपालबाट नै काम सिकेर आउनुपर्छ यहाँ अझ बढी कमाउन सकिन्छ।
'गर्नेलाई अवसरैअवसर'
निरञ्जनमानसिंह बस्न्यात, मलेसियाका लागि नेपाली राजदूतमलेसियाको हरेक क्षेत्रमा नेपाली कामदारको कामको प्रशंसा हुने गरेको छ। मलेसियामा भएका सबै देशका कामदारमध्ये नेपाली कामदारलाई सोझो र इमानदार मानिन्छ। त्यसैले पनि यहाँ नेपाली कामदारको माग उच्च छ। सामान्य कामदारसँगै विभिन्न कम्पनीका ठूलै पदमा पनि नेपाली कामदार कार्यरत छन्। हामीले मलेसियाको कम्प्युटर एसोसियसनका पदाधिकारीसँग बैठक गरेर नेपालमा आईटीको दक्ष कामदार रहेको जानकारी गराएका छौँ। उनीहरूले यसतर्फ चासो पनि देखाएका छन्। आईटीमा काम गर्नेले २ लाखदेखि ४ लाखसम्म कमाउन सक्छन्। यसतर्फ धेरै कम नेपाली रहेका छन्। हामीले यस क्षेत्रमा नेपालीको संख्या बढाउने प्रयास गरिरहेका छौँ। त्यस्तै सिभिल इन्जिनियरका लागि पनि कुरा भएको छ। मलेसियामा पेट्रोम्याक्सदेखि सामान्य कम्पनीमा पनि नेपालीले काम गरेका छन्। औद्योगिक क्षेत्रमा कामदारको केही समस्या देखिए पनि अन्य क्षेत्रमा नेपाली कामदारलाई धेरै नै राम्रो वातावरण रहेको छ। मलेसिया नेपाली कामदारका लागि आकर्षण गन्तव्य भए पनि ८० हजार लाग्ने लागतमा म्यानपावर कम्पनीले डेढलाखसम्म लिने गर्छन्। समस्या नेपालबाट नै सुरु हुन्छ। त्यसैले नेपालबाट नै सचेत बन्नुपर्छ।