पोखरा- रौतहटमा एसबिआई बैंक र पोखरामा मेगा सहकारीबाट गरी ५१ लाख रुपैयाँ लुटिएको घटनाका मुख्य योजनाकार पूर्वमाओवादी कार्यकर्ता सुशील दुलाललाई कास्की प्रहरीले पक्रेको छ। मंसिर २ गते रौटहट चन्द्रपुरको एसबिआई बैंकबाट २० लाख र वैशाख १५ गते पोखराको मेगा सहकारीबाट ३१ लाख रुपैयाँ लुटेर फरार दुलाललाई आइतबार लेकसाइडबाट पक्रेर प्रहरीले सोमबार सार्वजनिक गरेको छ।
एक तलामाथिको सहकारी कार्यालयबाट पैसा लिएर भर्याङबाट ओर्लनासाथ गार्डलाई समातेर उनको आँखामा पट्टी बाँधी पैसाको झोला खोसेका थिए। यती बैंकका गार्ड गोविन्द थापाकै पछिपछि आइरहेका बैंक कर्मचारी भगवान बराललाई लगत्तै लुटेराले गोली हानेका थिए।
माओवादीसमर्थित अखिल क्रान्तिकारी रौतहटका तत्कालीन अध्यक्ष दुलालले पूर्वमाओवादी लडाकुहरुसँग मिलेर दुवै ठाउँमा पैसा लुटेको कास्कीका प्रहरी प्रमुख वसन्त लामाले बताए। कास्कीका प्रहरी निरीक्षक देवी पौडेलको टोलीले दुलाललाई पक्रेको हो।

बैंक लुटका मुख्य योजनाकार सुशील दुलाल। तस्बिर : केशव लामिछाने
दुवै लुटपाटमा संलग्न वसन्त गिरी भने फरार छन्। उनले पोखराको सहकारी लुट्दा चलाएको गोलीले यती विकास बैंकका कर्मचारी भगवान बरालको टाउकोमा गम्भीर चोट लागेको थियो। ८ महिनाको अस्पताल बसाइपछि बराल हालैमात्रै घर फर्केका छन्।
वसन्तसँगै घटनामा संलग्न अर्का आरोपित रोल्पाका विजय केसी पनि फरार छन्। रौतहटमा बैंक लुट्दाकै दिन सिन्धुली घर भएका नारायण राई भने समातिएका थिए। बैंकबाट पैसा लुटेर भाग्दै गर्दा वसन्तले बोकेको पेस्तोल अचानक पड्किएर घाइते भएका राई बाटोमै प्रहरी फन्दामा परेका थिए। उनकै बयानका आधारमा प्रहरीले अरुलाई पक्रन सफल भएको हो।
पोखराको अतिव्यस्त बजार न्युरोडको सहकारीबाट पैसा लुटेर पनि दुलाल रौतहट जानेआउने गर्दै पोखरामै ढुक्कले बस्दै आएका थिए। सिंगो कास्की प्रहरी र प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरो लागी पर्दा पनि उनी पक्राउ परेका थिएनन्। पोखरा—८ न्युरोडमै डेरा गरी सभागृहचोकमा फर्निचर पसल चलाउँदै आएका दुलालको साथबाट कास्की प्रहरीले जर्मनीमा बनेको पेस्तोल, त्यसका गोली र म्यागेजिन र नगद ४ लाख रुपैयाँ पनि नियन्त्रणमा लिएको छ।
मेगा सहकारी बैंकबाट यती डेभलपमेन्ट बैंकले बचतका रुपमा संकलन गरेको ३१ लाख रुपैयाँ ३ जनाको समूहले लुटेको थियो। रौतहटमा इन्फास्ट्रक्चर बैंकले एसबिआई बैंकबाट संकलन गर्न लागेको रकम लुटिएको हो। लुटेराहरुले मोटरसाइकलमा गई पैसा लिई भागेका थिए।