फ्री भिसा, फ्री टिकट भएको मुलुकमा कामदारबाट म्यानपावरले अनधिकृत रूपमा रकम उठाइरहेका छन्। पाँच हजार लाग्ने सेवा शुल्कमा १५ हजार रुपैयाँ असुलिरहेका छन्। ८० हजार लाग्ने मलेसियामा डेढ लाख रुपैयाँ लिन्छन्। वैदेशिक रोजगारी क्षेत्रमा थुप्रै बेथिति रहेका छन्। तर, सरकारले एउटा पनि म्यानपावर कम्पनीको अनुगमन गरेको छैन।
वैदेशिक रोजगार विभागमा दिनहुँ कामदार ठगिएका गुनासा र उजुरी आइरहेका छन्। महिनामा करोडौँको ठगी भएको विभागकै तथ्यांकमा छ। तर, नियमन निकाय विभागले चार महिनामा एउटा पनि म्यानपावरको अनुगमन गरेको छैन।
विदेशिने कामदार दिनहुँ ठगिने उजुरी लिने विभागले चार महिनाको अवधिमा एउटा पनि म्यानपावरको अनुगमन गरेको छैन। विभागले प्रभावकारी अनुगमन नगर्दा वैदेशिक रोजगारीमा ठगिने रकम र संख्या बढ्दै गएको छ। विभागले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा एउटा पनि म्यानपावर कम्पनीको अनुगमन भएको छैन, कुनै पनि म्यानपावर कम्पनीलाई स्पष्टीकरणसमेत सोधिएको छैन।
विभागले म्यानपावर कम्पनीमा अनुगमन गरेर गलत काम गर्नेलाई कारबाही गर्न सक्ने भए पनि विभागमा उजुरी आउला प्रक्रिया अगाडि बढाउँला भनेरमात्र बसेको छ। एकातिर आफ्नै तथ्यांकमा ठूलो ठगी भएको देखाउँछ अर्काेतिर एउटा पनि अनुगमन गर्न सकेको छैन।
चार महिनाको अवधिमा पनि विभागमा ९ सय ९८ वटा ठगीका उजुरी परेका छन्। कात्तिक महिनामा मात्र १ सय ९८ जनाको उजुरी परेको छ। चार महिनाको अवधिमा ६ सय १५ जनाको संस्थागत र ३ सय ८३ जनाको व्यक्तिगत उजुरी विभागमा परेको हो। चार महिनामा विभागमा २२ करोड २७ लाख ४८ हजार ५ सय ५१ रुपैयाँ ठगी भएको दाबी परेको हो। सोही अवधिमा ४ करोड ७९ लाख ६५ हजार ९ सय रकम विभागले भराएको छ। त्यस्तै १ सय ८४ जनाको जाहेरी फरफारक गरिएको विभागले उल्लेख गरेको छ। ४६ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ भने अदालतमा ६ करोड १६ लाख ७५ हजार २ सय ९६ बिगो दाबी गरिएको छ। विभागबाट निर्णय भएर एकजनाबाट एक लाख रुपैयाँ निर्णय जरिवाना गरिएको छ।
विभागले चार महिनाको अवधिमा ठूलो संख्या र रकममा उजुरी लिए पनि एउटा म्यानपावरलाई अनुगमन गरेको छैन।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले विभागलाई नियमित अनुगमन गर्ने निर्देशन दिइरहेको बताए। 'म्यानपावरमा कामदारलाई ठग्ने गरेको पाइएको छ,' उनले भने। मन्त्री गुरुङले निर्देशन दिएको भने पनि मन्त्रालय नै प्रभावकारी अनुगमनमा असफल भएको छ। विभागअन्तर्गतको काठमाडौँ कार्यालयका प्रमुख मधुविलास पण्डितले तथ्यांकमा नभए पनि विभागले अनुगमन गरेको बताए। 'हामीले म्यानपावर कम्पनीको अनुगमन निरन्तर गरेका छौँ,' उनले भने।
विभागले अद्यावधिक गर्दै आएको प्रगति विवरणको तथ्यांकमा सबै विवरण परिवर्तन भए पनि साउनदेखि नै म्यानपावर अनुगमन र स्पष्टीकरणमा शून्य राख्दै आएको छ। विभागले चार महिनाको अवधिमा ७० वटा अभिमुखीकरण संस्थाको भने अनुगमन गरेको छ। सो अवधिमा १० वटा संस्थालाई विभागले निलम्बनसमेत गरेको छ।
विभागले अनुगमन नगर्दा मलेसियालगायत खाडी मुलुकमा जाने कामदार लागतभन्दा बढी रकम तिर्न बाध्य भएका छन्। ८० हजार लागत लाग्ने मलेसियामा म्यानपावर कम्पनीले डेढ लाखदेखि २ लाख रुपैयाँसम्म लिने गर्छन्। 'डेढलाख तिरे पनि म्यानपावर कम्पनीले ८० हजारको मात्र भौचर दिन्छ,' गोर्खा एसोसियटबाट गतमहिना मलेसिया गएर फर्केका राजीव सापकोटाले भने, 'बाँकी ठगिएको रकमको विषयमा उजुरी गर्ने आधार हुँदैन। त्यस्तो अवस्थामा विभागले अनुगमन गर्ने हो। तर, म्यानपावरको मनपरी छ। मलेसिया पुगेपछि अनफिट भनेर फर्काइयो। यता आएपछि क्षतिपूर्ति ४० हजारमात्र दिन्छन्। कामदार सबै ठाउँमा ठगिन्छन्।'