पाल्पा- तानसेनमा बस्दै आएका २१ वर्षीय अनिल भण्डारीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। तानसेनका ग्यारेज र वर्कशपमा काम गर्ने सद्दाम अन्सारी, सलमान अन्सारी र महिरम अन्सारी पक्राउ परेका प्रहरीले जनाएको छ। पाल्पाका प्रहरी प्रमुख डीएसपी शिवकुमार श्रेष्ठका अनुसार पाल्पाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नवलपरासीको देवगाउँबाट पक्राउ गरेको हो।
तीनैजनाले आफूबस्ने कोठामा अनिलको हत्या गरेर राति तानसेनस्थित अस्पतालको छेउमा लगेर फालेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनजना जिल्ला अस्पताल नजिकै एकै कोठामा डेरा गरी बस्दै आएका थिए।
१२ गते राति अनिललाई उनीहरुले कोठामा हत्या गरेका तथ्य फेला परेको प्रहरीले जनाएको छ। धारिलो हतियार प्रहार गरेर मुखमा टोपी कोचेर हत्या गरेका डिएसपी श्रेष्ठले बताए। श्रेष्ठका अनुसार सोही रात उनीहरुले अनिलको शवलाई अस्पताल तल झ्याङ्मा फालिदिएका थिए। शव फालेर कोठामा फर्केर उनीहरुले हत्याका सबुतहरु मेटाउन रगत पुछेको प्रहरीले जनाएको छ। रगत लागेका तन्दा, कपडा पनि उनीहरुले कोठाबाट गायब पारेका छन्। हत्याको अर्को दिन बिहानै उनीहरुले तानसेन छाडेका हुनसक्ने प्रहरीको भनाइ छ।
माघ १२ गतेदेखि बेपत्ता भएका अनिलको खोजी गर्न प्रहरीमा निवेदन परेपछि उनको खोजी सुरु भएको थियो। प्रहरीले शंकास्पद क्षेत्रमा खोजी गर्दा सादा पोसाकको प्रहरीले जिल्ला अस्पताल तलको झाडीमा चार दिनपछि माघ १६ गते बिहीबार बेलुका शव फेला परेको थियो। हत्यामा संलग्न तीन जना बस्ने कोठा र शव फेला परेको स्थल नजिकै छ। मुखमा टोपी कोचिएको अवस्थामै शव थियो। आपसी झगडा र सामान्य लेनदेनका कारण हत्या भएको हुनसक्ने डिएसपी श्रेष्ठले बताए।