इलाम- 'गुप्तचर हुँ' भन्दै ग्रामीण भेगमा ठगी गर्ने र जर्वजस्ती करणी गर्ने एकजना सरकारी कर्मचारीलाई अदालती सजाय भएको छ। दिनभर कार्यालयमा काम गरी बाँकी समय 'गुप्तचर हूँ' भन्दै हिँड्ने जिल्ला प्राविधिक कार्यालयका पियन दुर्गाप्रसाद नेपालीलाई जिल्ला अदालतले आइतवार जर्वजस्ती करणी मुद्दामा पाँच बर्ष कैद सजाय तोकेको हो।
जिल्ला न्यायाधीस प्रकाश ढुंगानाको इजलासले नेपालीलाई मुलुकी ऐन जर्वजस्ती करणीको १ नम्बर र ३ (५) नम्बरको कसुरमा सोही महलको ३ (५) नम्बर बमोजिम पाँच बर्ष कैद सजाय भएको तोकेको हो। अदालतका तहसिलदार अर्जुन श्रेष्ठका अनुसार, पीडित युवतीलाई नेपालीले क्षतिपूर्तिसहित २५ हजार रुपैयाँ पनि दिनुपर्नेछ।
'गुप्तचर हूँ' भन्दै अनैतिक क्रियाकलापमा समेत संलग्न भएको पुष्टि भएपछि उनी जिल्ला प्राविधिक कार्यालयको जागिरबाट निलम्बित भइसकेका छन्। कार्यालय प्रमुख ओम ढुंगानाका अनुसार, प्रहरी कार्यालयले अनैतिक गतिविधिमा संलग्न भएको पत्राचार गरेलगत्तै उनलाई कार्यालय सहयोगी पदबाट निलम्बन गरिएको हो।
डेरामा श्रीमति र दुई सन्तान हुँदाहुँदै आफूलाई अविवाहित बताउने नेपालीले पछिल्लोपल्ट नामसमेत फेरेर गजुरमुखी गाविसकी एक युवतीसँग शारीरिक सम्बन्ध राखेको प्रहरी अनुसन्धानबाटै खुलेको थियो। 'एसपी नेपाली' नाम बताएर आफूलाई नेपालीले 'तिमी मेरी एक मात्र श्रीमति' भन्दै शारीरिक सम्बन्ध राखेको उनले बताएकी थिइन्।
ठगी आरोपमा पक्राउ परेका नेपालीलाई प्रहरीले ती युवतीको बयान आधारमा जर्वजस्ती करणी मुद्दा चलाएको थियो। 'सुरुमा गुप्तचर हूँ भन्दै ठगेको मौखिक उजुरी थियो र पक्रियौं, बुझ्दै जाँदा युवतीहरुसँग अनैतिक क्रियाकलाप गर्दै श्रीमति हौ भन्न खप्पिस रहेछ' इन्सपेक्टर याम पौडेलले भने, 'अदालती फैसलाले अब ५ बर्ष कैद सजाय हुन्छ।'
इन्सपेक्टर पौडेलका अनुसार, नेपालीले ती युवतीसित पुस ८ र ९ गते शारीरिक सम्बन्ध राखेका थिए। त्यसबारे जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको थियो। 'युवतीले आफूलाई झुक्याएर बलात्कार गरेको उजुरीका आधारमा नेपालीलाई जर्वजस्ती करणीको मुद्दा चलाइएको थियो' पौडेलले भने, 'बेलैमा सजाय भयो।'
पाँच बर्षदेखि प्राविधिक कार्यालयमा सहयोगी कर्मचारी नेपालीले हेयर स्टाइल र पहिरनसमेत सुरक्षाकर्मीसँग मिल्दो लगाएर मानिसलाई झुक्याउँदै आएका थिए। त्यहीक्रममा चिसापानी–५ का कूलबहादुर दमाईबाट ५० हजार रुपैयाँ ठगेको खुलेको छ। 'प्रहरीमा भर्ना हुनुछ' भन्दै नेपालीले उक्त रकम ठगेको दमाईले प्रहरीमा उजुरी दिएका छन्।
आफूबाट पोहोर फागुनमा उक्त रकम लिएको उजुरी दमाईले प्रहरीमा दर्ता गराएका छन्। त्यसैगरी ठग्न खोजेको भन्दै अरु छ जनाले पनि मौखिक उजुरी गरिसकेका छन्। नेपालीसँगै पक्राउ परेकी गजुरमुखीकी युवतीलाई प्रारम्भिक सोधपुछपछि 'निर्दोष र पीडित' पाइएको भन्दै प्रहरीले त्यतिबेलै छोडेको थियो। पछि उनले मुद्दा हालेकी थिइन्।
'अविवाहित र गुप्तचर हूँ' भन्दै नेपालीले 'श्रीमति' बनाएकी अर्की एक युवती पनि आठ महिने गर्भसहित भेट्टिएकी थिइन्। ३४ बर्षीय नेपालीले उत्तरी गाविस घर भएकी ती २२ बर्षीया युवतीलाई गर्भवती बनाई सदरमुकाम नजिकैको धोवीधारामा कोठा लिएर राखेका थिए।