नक्कली खाता खोली ३४ करोड घोटाला
२५ असार २०७२
•
११ मिनेट पाठ
नक्कली खाता खोली ३४ करोड घोटाला
काठमाडौं- कृषि विकास बैंक स्वयम्भू शाखाका शाखा अधिकृत केदार गौतमको आर्थिक हैसियत एक वर्षमा ह्वात्तै अकासियो। सामान्य उत्सवमा पनि उनी सहकर्मीलाई सुनका आंैठी, ल्यापटप, मोबाइल लगायतका महँगा उपहार दिन्थे। उनले भूकम्पपछि लाजिम्पाट क्षेत्रमा अपार्टमेन्ट किने। छोराको व्रतबन्धमा रोयल ब्यान्क्वेटमा भव्य पार्टी दिए।

गौतमको आर्थिक अवस्था कसरी फेरियो? सबै अचम्भित थिए। बैंकका अधिकारी पनि बेखबर थिए। चासो पनि दिएनन्।

बैंकको रेमिट्यान्स खाताको करोडौं रुपैयाँ गायब भएको तथ्य असार ९ गते बिहान खुल्दा भने कर्मचारीहरू चकित भए। खाताको अवस्था खोतल्दै जाँदा बैंककै कर्मचारीको संलग्नतामा एक वर्षदेखि 'गम्भीर आर्थिक अपराध' भइरहेको खुल्यो। त्यसपछि बैंकले अनुसन्धान गर्न प्रहरी गुहार्‍यो।

असार १० गतेदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आर्थिक अपराध अनुसन्धान गर्ने अधिकारी घोटाला भएको रकमको फेहरिस्त उतार्न व्यस्त छन्। यस क्रममा एक वर्षमा रेमिट्यान्स खाताबाट ३४ करोड रुपैयाँ घोटाला भएको खुल्यो। घोटालामा कृषि विकास बैंकका ग्राहकका १२ खाता प्रयोग भएको पत्ता लाग्यो। तत्काल ती खाता रोक्का गर्दा २ दुइटामा ४३ लाख रुपैयाँ फेला पर्‍यो भने अन्य खाता रकमविहीन थिए। नक्कली नागरिकता प्रयोग भएर खाता खुलेको देखियो।

'अहिलेसम्मको अनुसन्धानमा बैंकको ३४ करोड रकम बदनियतपूर्ण रूपमा निकालिएको खुलेको छ,' घोटालाको अनुसन्धान गरिरहेको ब्युरोका प्रमुख डिआइजी हेमन्त मल्लले भने, 'यसमा संलग्नको पहिचान र खोजी प्रयास जारी छ।'

घोटालाको जालो
शाखाका प्रमुख भरत बानियाँ, पैसा राख्ने स्थान (भल्ट) मा काम गर्ने शाखा अधिकृत गौतम र टेलरमा काम गर्ने गीता पन्त अनुसन्धानको घेरामा परेका छन्। प्रारम्भिक अनुसन्धानमा बानियाँ र पन्त घटनामा संलग्न भएको तथ्य खुलेको छैन। गौतमले नेपालको सीमा काटिसकेका छन्। गौतमका अन्य सहयोगी भएको निष्कर्ष निकालिए पनि पहिचान हुन सकेको छैन। अनुसन्धान अधिकारीहरू अहिले रकम निकाल्न प्रयोग भएका बैंकका सिसिटिभीबाट केही खुल्ने आसमा छन्।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार गत असोजबाट स्वयम्भू शाखाको रेमिट्यान्स खाताबाट अन्य १२ खातामा रकम जाने क्रम सुरु भएको थियो। रेमिट्यान्सको प्रवृत्तिअनुसार प्रायः काठमाडौंबाट अन्य जिल्लामा बढी रकम जाने भए पनि कृषि विकास बैंकको स्वयम्भू शाखाको रेमिट्यान्स खातामा कैलाली, कञ्चनपुर, दाङ, सिरहा जस्ता जिल्लाबाट काठमाडौंमा रेमिट्यान्स आउँथ्यो। सबै रकम स्वयम्भू शाखाबाटै बैंकको विभिन्न शाखामा रहेका खातामा ट्रान्सफर हुन्थ्यो। यसरी आएको रकम प्रायः अन्य बैंकबाट इलेक्ट्रोनिक चेक क्लियरिङ पद्धतिबाट निकालिन्थ्यो।

गत असोज २९ गते बैंकको मंगलबजार शाखामा नगेन्द्र प्रधानका नाममा रेमिट्यान्स खाता खुलेको थियो। पहिलो कारोबार त्यहीँबाट सुरु भयो। त्यसपछि न्युरोड, पुल्चोक, जावलाखेल र स्वयम्भू शाखामा नवीन गुरुङ, बलराम केसी, रञ्जित भट्टराई, सरोज यादव, रवी कार्की, गोविन्द भण्डारी, गगन प्रधान, सुमन शर्मा, अर्जुन भण्डारी, महेन्द्र राई र वसन्त राईका नाममा खाता खुले। यी सबै खातामा प्रत्येक दिन स्वयम्भु शाखाबाट रेमिट्यान्सको रकम स्थानान्तरण हुन्थे।

घोटाला रोक्न रेमिट्यान्स पठाउनेले रकम पाउनेलाई पठाएको १६ संख्याको कोड नम्बर र परिचय खुल्ने सरकारी निकायबाट जारी भएको परिचयपत्रका आधारमा बैंकको रेमिट्यान्स हेर्ने कर्मचारीले रकम दाखिला गर्ने र अर्को अधिकृतले सोको जाँचपछि स्वीकृति दिएपछि मात्रै रकम निकाल्न सक्ने पद्धति राखिएको थियो।

रकम स्थानान्तरण भएकामा जाँच गर्ने र स्वीकृत दिने दुवै प्रक्रिया पूरा भएका थिए। तर, रेमिट्यान्सको गोप्य १६ संख्याको कोड र रकम निकाल्न आउनेको परिचयपत्र कतै थिएन।

प्रारम्भमा थोरै–थोरै रकम स्थानान्तरण हुने गरे पनि पछिल्लो समय एकै पटक ठूलो मात्रामा रकम स्थानान्तरण भएको थियो। स्रोतअनुसार गगन प्रधानका नाममा खुलेको खातामा एकै दिन ४ करोड ४१ लाख रुपैयाँ स्थानान्तरण भएको छ। रञ्जित भट्टराईका नाममा खुलेको खातामा २ करोड ८० लाख स्थानान्तरण भएको खुल्यो भने अन्यको नाममा एकै पटक ५० लाखभन्दा बढी रकम स्थानान्तरण भएको देखियो।

खातामा १० लाखभन्दा बढी रकम आए त्यसको स्रोत नेपाल राष्ट्रबैंकलाई जानकारी गराउनुपर्ने र शंकास्पद देखिए अनुसन्धान हुने भए पनि कृषि बैंकमा एक वर्षसम्म भएको यत्रो आर्थिक अपराधबारे केन्द्रीय बैंकले समेत चालै पाएन।

'रेमिट्यान्सका लागि बचत खाता खोलिने भए पनि यसमा चल्ती खातासमेत खोलिएको छ,' स्रोतले भन्यो, 'खाताबाट एकै दिन ४ करोड ४१ लाख रुपैयाँ स्थानान्तरण हुँदा समेत केन्द्रीय कार्यालय र शाखाका प्रमुखले पत्तो नपाउनु रहस्यमय छ।'

यसरी खुल्यो घोटाला
असार ९ गते केन्द्रको डिजिटल रेकर्डमा रेमिट्यान्सवापत आएको रकम दाखिला भएको तर, अन्तिम स्वीकृत नभएको देखियो। त्यसपछि केन्द्रका अधिकारीले सो रकम कहाँबाट कसले कसको नाममा पठाइएको हो भनेर विवरण हेरे। तर, विवरण केही थिएन।

स्रोतअनुसार स्वयम्भू शाखाबाट सो रकम दाखिला भएको थियो। रकम पठाउने शाखाको नाम थियो, तर आवश्यक पर्ने १६ संख्याको गोप्य कोड थिएन, पठाउनेको नामसमेत नदेखिएपछि केन्द्रको सो शाखासँग सोधपुछ गर्दा त्यस्तो रकम नै नपठाएको खुल्यो। त्यसपछि केन्द्रले स्वयम्भू शाखाबाट भएको रेमिट्यान्सको कारोबार हेर्दा ठूलो घोटाला भइरहेको पत्ता लाग्यो।

स्वयम्भूमा रकम दाखिला गर्ने जिम्मेवारी पन्तले पाएकी थिइन्। रकम स्थानान्तरणका लागि आवश्यक कोडबारे उनी र शाखा प्रमुख जानकार थिए। अनुसन्धानको प्रारम्भमा गीताले आफ्नो कम्प्युटरमा शाखा अधिकृत गौतम बसेर सघाउने गरेको खुल्यो। जानकारी लिन गौतमसँग सम्पर्क गर्दा प्रारम्भमा उनको फोन लाग्यो, तर उठेन। पछि मोबाइल स्विचअफ भयो।

बैंकको क्लोज सर्किट टेलिभिजनको रेकर्डमा रेमिट्यान्सको खाताबाट दोस्रो खातामा रकम दाखिला भएका बेला गीताको कम्प्युटरमा गौतम बसेको देखियो। काम गर्दागर्दै बत्ती गएपछि उनले सो रकमको अन्तिम स्वीकृति दाखिला गर्न नभ्याउँदा केन्द्रले चाल पाएको थियो।

स्रोतका अनुसार यो बीचमा गीताको आर्थिक अवस्थामा नाटकीय उतारचढाव देखिएको छैन। अनुसन्धान अधिकारीले उनको परिवार, आफन्तको आर्थिक अवस्था बुझ्दासमेत शंकास्पद नदेखिए पनि उनी अनुसन्धानकै दायरामा छिन्।

रकम घोटालाका लागि प्रयोग भएको खाताको विवरणमा गौतम संलग्न रहेको खुलेको थियो। प्रहरीले खाता खोल्दा राखिएको नागरिकता खोज्दा सबै नक्कली देखियो।

कृषि विकास बैंकका एक अधिकारीले यसबारे आन्तरिक अनुसन्धान भइरहेको र केही समयमै बैंकले घटना सार्वजनिक गर्ने बताए। राष्ट्रबैंकका अधिकारी जानकारी नभएको भन्दै पन्छिए।

अनुसन्धानरत ब्युरोका प्रमुख डिआइजी मल्लले 'अनुसन्धान सुरु गरी बैंकसँग आवश्यक विवरण मागेको जानकारी दिए। 'अहिले नै अनुसन्धान घटनाको गहिराइमा पुगिसकेको छैन,' मल्लले भने, 'संलग्न भएकाहरूको खोजी र अनुसन्धानका लागि आवश्यक विवरण संकलनमा केन्द्रित छौं।'
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस