सेल्फी राहत
१७ पौष २०७२
•
२० मिनेट पाठ
सेल्फी राहत
वैशाखको गर्मी मौसम। मध्य दिन हुँदा पनि आकाश छ्यांग उघि्रएको थिएन। घुम्लुंग बादल ओढेर समय कुन्नि किन ठुस्स परेर बसेको थियो। सुन्तली बाख्रालाई टाट्नामा घाँस हालिदिएर आँगनमा निस्किई। छोरो बाहिरै खेलिरहेको थियो। भित्रबाट एक बाल्टिन पानी लिएर निस्कँदासम्म उसको एकाग्रता भंग भएको थिएन। बिहानको मेलो जोतिसकेर भर्खरै फर्किएको बिर्खबहादुर गोरु बाँधेर घरमाथि उक्लिएर आराम गरिरहेको थियो।

छेउमै बाल्टिनभरि पानी थियो। एक जग उघाएर टाउकोबाट खन्याउन लाग्दा–नलाग्दै छोरो फुत्किएर भाग्यो। उसले फेरि झम्टिएर कपालमा जगल्ट्याएर तानी। छोरो रुन थाल्यो।

करेसा नजिकैको रूख छेउमा एक हुल काग उडे। चराचुरुंगीको चर्को कल्याङमल्याङ सुनियो। छोराको जिउमा साबुन दल्नमात्र लागेकी सुन्तली करेन्टको झट्का लागेझैं भएकाले ढुनमुनिएर कान्लामुनि पुगी। छोरो हुत्तिएर उसको अँगालोमा आइपुग्यो। एक छिनसम्म उसले आँखा खोल्नै सकिन। के गर्ने, के नगर्ने होसै भएन। जमिन त झोलुंगोझैं हल्लिरहेको थियो। छोरालाई कस्सेर समातेर उसले एकनासले फलाकिरही— रामराम' राम' रा˜˜˜म'

गाउँमा खैलाबैला मच्चियो। रोएको चिच्याएको आवाजले उसको कान नै फुट्लाझैं भएको थियो। केही बेरपछि उसले बल गरेर टाउको उठाई। आँखैअघि छिमेकीको घर डङ्ग्रंग लडेको थियो। मान्छे, गाईबस्तु सबै सोत्तर' उसको छाती ढक्क फुल्यो। हात गोडा थरर्र कामे। आँखाका कुनाबाट आँसुका ढिका ढुनमुनाउँदै ओरालो लागे। उसले हिम्मत बटुली र यसो मुन्टो फर्काएर आफ्नो घरतिर चिहाई। घरको नामोनिसान थिएन। घरका ठाउँमा एउटा ठूलो माटोको ढिस्को थियो र त्यसबाट छारो पनि उडिरहेको थियो। ऊ आतेसले दुई पाइला अघि बढी। आशामुखी नजरले वरिपरि नियाली। अघि भर्खरैसम्म बार्दलीमा बसेर बिँडी तानिरहेको बिर्खबहादुरको कतै अत्तोपत्तो थिएन। एक्कासि उसको जिउ तातो भएर आयो। ऊ फाल हालेर घरतिर दौडिई। कान्लामाथि पुग्न नभ्याउँदै फेरि अर्को झट्का लाग्यो। एक छिन त्यहीँ बसेर उसले आफूलाई सम्हाल्ने प्रयास गरी। छातीभित्र मुटु बेजोडले हल्लिइरहेको थियो। ऊ मनमनै भगवान्को नाम जप्दै दुवै हातले टाउको समातेर उठी र कान्लामाथिको आफ्नो घरतिर आई।

'सन्तुका बा'!!' आहत स्वर थर्थराएर निस्कियो। अपसोच! कसैले हजुर' भनेन। सुन्तली बिर्खबहादुरलाई बोलाउँदै बेहोसीझैं माटोको ढिस्को वरिपरि घुमिरही। छोरो कोकोहोलो गर्दै उसको पछिपछि लाग्यो।

ढिस्कोको एक छेउमा सेतो दौराको फेर देखिएको थियो। त्यहीँबाट रगतको भल पनि बग्दै गरेको सुन्तलीले देखी। दौराको फेरमुन्तिर एक जोडी मैला नांगा पैताला पनि देखिए। छोरो दौडिएर गयो र नजिकै टुक्रुक्क बसेर आर्त स्वरमा बोलायो, 'बा'!'

बिर्खबहादुर बोलेन।

छातीभित्र ढ्यांग्रो बज्न थाल्यो। मन र मस्तिष्क दुवै काम नगर्ने अवस्थामा थिए। तत्काललाई सुन्तलीले कुनै प्रतिक्रिया जनाउन सकिन। छोरो आमाको जिउमा लिपिक्क टाँसिएर थुरुरुरु काम्दै डाँको छोडीछोडी रुन थाल्यो। सुन्तलीको भने होस ठेगानमा थिएन। दिमाग आँधी चलेर थामिएको वातावरणझैं सनन्न परेको थियो। पूरा जिउ नै शीतांग थियो। एक छिनसम्म ऊ मूर्तिझैं जहाँको त्यहीँ ठडिइरही।

केही बेरमा टाढाको मधुरो आवाजजस्तै छोराको ह्वाँह्वाँ उसको कानसम्म आइपुग्यो। उसले आफ्नो जिउमा टाँस्सिएर कहालिएको छोरालाई चकित भएर नियाली। बिस्तारै आफूलाई यथास्थानमा फर्काएर उसले चारैतिर हेरी। त्यस बेला माटाको थुप्रोमा परिणत भएको घरलाई देखी उसले। त्यहीँ थिए, ढिस्कोमुन्तिर च्यापिएका एक जोडी पैताला अनि ऊ उभिएको ठाउँसम्मै आइपुग्न लागेको रगतको आहाल!

'गाईबस्तु, अन्नपात, श्रीसम्पत्ति, सन्तुका बा'!!' उसको छातीमा गाँठो परेर आयो। भक्कानो फुट्यो। ऊ भुइँमा थचक्क बसेर डाँको छोडीछोडी रुन थाली। छोरोले पनि उसलाई सघायो। केही बेर अघिसम्मको हाँसीखुसी उसको घरसंसार क्षणभरमै श्मसानझैं बनेको थियो। आशाको मसिनो डोरी भने कायमै रहेछ क्यारे। अतासिएर ऊ वल्लोपल्लो घरतिर दौडी। मद्दतका लागि हारगुहार गरी। कोही आएन। आऊन् पनि कसरी? सबैको अवस्था उही थियो। पूरै गाउँ शोकमग्न थियो। सबैको छातीमा गहिरो चोट थियो। उसको घाउले मलम पाएन।

बाँचेकाहरूले गाउँ सम्हाले। तेह्र दिनको शोक बार्दा लगाउने सेतो लुगा पनि कसैले दिएको थियो। त्यसलाई साट्ने अवस्था पनि उसको थिएन। सम्पत्तिका नाउँमा आफ्नो र छोराको दुई थान जिन्दगी र हृदयभरिको पीडाबाहेक ऊसँग अब अरू केही बाँकी थिएन। बेसहारा उसले छोराको हिम्मत नटुटोस् भनेर जिन्दगी जसोतसो घिसार्ने भरमग्दुर प्रयास गरिरही।

भोक, प्यास र पीडामा रन्थनाएर सहाराको आशमा खुल्ला आकाशमुनि गाउँलेले दुई साता गुजारे। दीनहीन उनीहरूको दयनीय दृष्टिले एक–अर्कालाई नियाल्नबाहेक अरू केही गर्न सकेनन्। बालबच्चा बेलाबेला भोकले आत्तिएर रुन्थे। पूरै गाउँ सिनोझैं दङदङी गन्हाउन थालेपछि उनीहरू केही पर सरे। घरिघरि आकाशमा हेलिकप्टर देखापर्थ्यो। उनीहरू केही पाउने आशले झुरुम्म भएर आकाशतिर हेर्थे। हेलिकप्टर टाउकैमाथि एक फन्को लगाएर त्यसै फर्कन्थ्यो।

पालैपालो गाउँलेले घर लडेको ढिस्को सोहोर्न थाले। अलिअलि काठ निस्कियो। गाउँका बाँस काटिए। चित्राको कटेरो बनाउने बन्दोबस्त हुन थाल्यो। मुस्किलले दुई साता कटेपछि गाउँमा फाट्टफुट्ट नयाँ मान्छे देखिन थाले। पोल्टाभरि आशा बोकेर उनीहरू तिनलाई घेरा हाल्न जान्थे।

काँधमा बोक्ने, हातमा बोक्ने थरीथरीका क्यामेरा, मोबाइल बोकेर मान्छेहरू आउँथे। एकएक पोका पहिले कहिल्यै नखाएका खाद्यान्न उनीहरूका हातमा दिन्थे अनि मुसुक्क हाँस्न लगाउँथे र फोटो खिच्थे। छातीभित्र आलो घाउ चहर्या इरहन्थ्यो। कलेटी ओठ तन्काएर सुन्तली खल्लो हाँसो खिसिक्क हाँसिदिन्थी। त्यही हाँसोको बदला पाएको दुई–चार पोका चाउचाउ, बिस्कुट र एक जोर अर्धानो लुगा बोकेर ऊ छोराको टाउको सुमसुम्याउँथी। छोरो आमाको हातमा बिस्कुटको पुरिया देखेर मुख मिठ्याउँथ्यो।

हिजोसम्म आफ्नै हातले उब्जाएको अन्न छ्यालब्याल थियो। बाँडेरै खान पुग्थ्यो। कहिल्यै कसैसँग हात पसार्नुपरेको थिएन। आज नियतिले यस्तो दिन पनि देखाइदियो। उसको बालख छोरो यो सब बु‰ने भएकै थिएन। बबुरा पेटको ज्वाला सहन सक्दैनथ्यो अनि बेलाबेलामा भोक लाग्यो भन्दै आमालाई पिरोल्न आउँथ्यो। सुन्तली अर्कापट्टि फर्किएर आँसु चुहाउँथी।

सहरमा उसका केही आफन्त थिए। उनीहरूले केही खाद्यान्न ल्याइदिए। सहयोग जुटाइदिए। चित्राको सानो कटेरो बन्यो। ऊ एक छाक मकै, एक छाक भोकै भएर दिन बिताउन थाली। दुई महिनासम्म काला, गोरा, गहुँगोरा, सुकिला, मोटाघाटा थरीथरीका मान्छे आइरहे। पहिले–पहिले क्यामेरा देखेर असहज महसुस गर्नेहरूलाई पनि पछि त बानी पर्न थाल्यो। गाउँ छिर्नासाथ सबै क्यामेरा तेर्स्याउँथे।

कसैले टालेका लुगा खिचे त कसैले पीडाले सुर्ताएको अनुहार। कसैले छोराको नांगो आङ खिचे, कसैले चित्राको कटेरो। कोही उनीहरूको छेउमा आउँथे अनि हातमा पोको राखिदिएर सेल्फी हान्थे। छोरालाई 'चिज' गर भन्थे। सुन्तली भित्रभित्रै कहालिन्थी। एक पोको राहतका लागि उसले धेरैपटक आँसु बेचिदिई। पेटको आगो निभ्ने झिनो लालसाले ओठमा कृत्रिम हाँसो टाँसिदिई। निधारमा ठूलो रातो टीका र रातै चस्मा लाउनेले आफ्नो मैलो सेतो बरखी बारेको धोतीलाई रातै देखेको उसले बिस्तारै बु‰न थालेकी थिई। तर पनि ऊ अबुझ बन्दिन्थी।

यता मान्छेको भेल सकियो, उता बर्खा सुरु भयो। बल्लतल्ल उभ्याएको चित्राको कटेरोले बर्खा थाम्न सकेन। भित्र भेलबाढी चल्थ्यो। कहिले हुरीले जस्ताको छानो उडाइदिन्थ्यो। बिहानै बटुलेर ल्याई पुनः छानो हाल्नुपर्थ्यो। छोराको अनुहारमा एक टुक्रा हाँसो फुलेको हेर्ने रहरले उसले कैयन् दिन आँसु पिएर बिताई। घरको हालतले बिर्खेलाई सम्झेर धक फुकाएर रुनसमेत सकेकी थिइन उसले। एवंरीतले दसैं गयो, तिहार बित्यो। यसपटक गाउँभरि परेको शोकले गर्दा चाडबाड कतै थिएन।

जाडो सुरु भयो। लगत्तै गाउँमा फेरि नयाँ मान्छेहरू सलबलाउन थाले— भिन्न रुपरङमा।

केही दिनदेखि जाडोले सुन्तली सुत्नै सकेकी थिइन। चिसोकै कारण छिमेकीको मृत्यु भएपछि त झन् उसको हिम्मत टुट्न लागेको थियो। ऊ रातभर आगो बालेर छोरालाई काखमा लिएर बस्थी। चिसो सिरेटोले पिठ्युँ जम्लाजस्तै हुन्थ्यो। एकसरो ओढ्ने ओछ्याउने पनि थिएन।

एक दिन सुन्तली अँगेनामा खोले उमाल्न लागेकी थिई। छोरो बुर्कुसी मारेर छाँद हाल्न आइपुग्यो।

'आमा, स्कुलको चौरमा जाऊँ रे,' हातमा समातेर हिँडिहाल्न हतार लगाउँदै छोराले तान्न थाल्यो।

'किन?' उसले उठिहाल्ने हतार देखाइन।

'राहत दिने रे,' छोराका खुट्टा भुइँमा थिएनन्।

'कसले भन्यो?'

'केशबेका बाले त ब्लांकेट ल्या'छन्, हरिको दाइले लुगा पाएछन्। तपाईंलाई पनि रातो धोती दिन्छन् कि?'

सुन्तलीले छोरोको अबोधतामा पनि आँसु रोक्न सकिन। त्यो बालकलाई के थाहा, सेतो धोतीमा बसेको उसको बाउको आत्माको बारेमा।

ब्लांकेटको सम्झनाले मात्र पनि सुन्तलीको मन न्यानो भयो।

'छिट्टो जाम न। सकियो भने फेरि हिस्स परिन्छ,' छोरो एकोहोरो जिद्दी गरिरहेको थियो।

सुन्तली उठेर हतारहतार स्कुलको चौरतिर लागी।

चौरमा निकै जमघट भएको रहेछ। गाउँलेहरू लाममा ज्ञानी भएर थपक्क बसेका थिए। सुन्तली पनि गएर हुलमा मिसिई। हेर्दा भर्खरका केही सहरिया युवायुवती बडो उत्साहले राहत बाँड्दै थिए। हातमा ब्लांकेट र एक पोको खाद्यान्न लिएपछि बदलामा क्यामेरातिर हेरेर मुसुक्क हाँसिदिनुपर्ने त हो। पालैपाले उनीहरू लुगा बाँड्थे। एउटाले बाँड्दा सात जनाले फोटो खिच्थे विभिन्न पोजमा। यता हेर्नुस् यता भन्दै आदेश दिन्थे र फोटो खिच्नेबित्तिकै फोटो कस्तो आयो भनेर सबै झुम्म हुन्थे। लाग्छ— त्यहाँ लुगा बाँडिदैछैन, उनीहरूको गरिबीमाथि मानवताको ढोँगरूपी बज्रप्रहार गरिँदैछ।

समाजसेवाको सामान्य र अकाट्य नियम भनेको दाहिने हातले दिएको देब्रे हातलाई थाहा हुनुहँुदैन भन्ने हो। अझ भन्नुपर्दा दिनेलाई उसले दिएको कसले पायो भन्ने थाहा हुनुहुन्न र पाउनेले कसले दियो भन्ने थाहा पाउनुहुन्न। तर यो सामान्य ज्ञान पनि नभएकाहरू पिकनिक मनाउन केही सामान लिएर गाउँमा आउँदा पढेलेखकाहरू आफ्नो कर्मलाई धिक्कार्थे तैपनि चुप थिए किनकि त्यहाँ बोल्दा झगडा पर्न सक्थ्यो। सहरियाले गाउँमाथि गरेको चरम यातनाको यो अर्को रूप थियो— मानवताको खोल ओढेर गरिने अमानवीय काम। लाग्थ्यो— यसरी मानवताको ढोँगरूपी खोल ओढेर समाजमा कुरीतिको बीउ रोप्नेहरू समाजका अपराधी हुन्।

ढिलो आएकाले ऊ अन्तिममा परेकी थिई। पालो नआउने हो कि भन्ने डर पनि लागेको थियो। तर रित्तो हात फर्किनुपरेन। एउटी भर्खरकी युवतीले सुन्तलीको विधवापन र गरिबीको खिल्ली उडाउँदै उन्मत्त हाँसेर फोटो खिचाउँदै उसको हातमा एउटा प्याकेट राखिदिई। नबु‰नेे छोरो दंग परेर मुसुमुसु हाँसिरहेको थियो। प्याकेट लिएर फर्कंदै गर्दा आमाले मैलो बरखी बारेको सेतो धोतीको फेरले आँसु पुछेको उसले देखेन।

फर्किने बेलामा सुन्तलीले सामान झोलामा हाली। हलुका कपडा छोरालाई समात्न दिई अनि छोरो डोहोर्याोउँदै घरतिर लागी। अलि वर कुइनेटोमा ठूलो पीपलको रूख थियो। रूखपछाडि सम्म परेको फाँट र फाँट पर्तिरबाट जंगल सुरु हुन्थ्यो। जंगलको मुखैनिर अघि राहत बाँड्न आएकाहरू वनभोज खाँदै थिए, कोही एक्लै विभिन्न पोजमा सेल्फी खिच्दै थिए। तीमध्येका एक जोडी युवायुवती हातमा हात राखेर बसेका थिए। पीपलको रूख कट्नै लाग्दा सुन्तलीले त्यस युवतीको बोली सुनी।

'खै, तिम्रो फोटो देखाऊ त। भरे म फेसबुकमा अपलोड गर्छु।'

'युवकले भन्यो, 'म त ट्वीटरमा हाल्ने हो, मस्ती फलोअर्स बढ्छ।'

एक छिन रोकिएर उसले फेरि थप्यो, 'बुझ्यौ, राहत त बहानामात्र थियो, वास्तवमा म आजको पूरै दिन तिमीसँग बिताउन चाहन्थेँ। अब यी सबै र पहिलेका फोटो मिलाएर काठमाडौंमा एउटा फोटो प्रदर्शनी गर्छु। त्यहाँ फोटो बिक्री भएको पैसाले अस्ति तिमीले भनेको ग्यालेक्सी ग्रान्ड किनिदिन्छु।'

समातेका हात अझ जोड लगाएर युवतीले सहमति जनाई। दुवै हाँसे।

माथिका अपलोडका कुरा नबुझे पनि तलका कुरा सुन्तलीले सुनी अनि बुझी। उसका पाइला धर्मराए। मन कस्तोकस्तो भएर आएपछि उसले बिर्खेलाई सम्झी। एकमन त सोची— अघि पाएको त्यही राहतका कपडा नै छोरासहित घाँटीमा बेरिएर बिर्खेकोमा जाऊँ! तर खै पछि के सोची कुन्नि, ऊ राहतको भारी बोकेर लुखुरलुखुर घरतिर लागी। छोरो उसको पछिपछि टुकुटुकु हिँडिरह्यो।

भोलिपल्ट काठमाडांैमा पढ्दै गरेको सुन्तलीको भाइले दिदी र भान्जाको फोटो कतैबाट फेसबुकमा देखेछ। आफ्नी दिदीलाई एक पोका सामानको लागि हाँस्न लगाएको बुझेर ऊ भक्कानो छाडेर रोयो। उसलाई लाग्यो- गाउँलाई मात्रै होइन, ती सेल्फी राहतकर्मीले त गाउँको खोला, जंगल र रूखबिरुवा समेतको धज्जी उडाएछन्; राहतको नाममा पिकनिक मनाएर!
अर्को समाचार
बच्चन : काठमान्डू सेल्फी
११ असार २०७२
•
१८ मिनेट पाठ
बच्चन : काठमान्डू सेल्फी
नेपालमा यसपालि गएको विनाशकारी भूकम्पपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकै चर्चामा आए। त्यसपछि अभिनेता अमिताभ बच्चन। अमिताभले भूकम्प पीडितका लागि राहत कोषमा ११ लाख भारतीय रुपैयाँ जम्मा गरेपछि उनी नेपाली मिडियाको हेडलाइन बने। उनलाई लिएर भारतीय प्रधानमन्त्री मोदीले रिट्वीट नै गरे। मोदीकै कारण अमिताभले कुनै समय गुजरातको प्रवर्द्धनका निम्ति निःशुल्क विज्ञापन खेलेका थिए, गुजरातका ब्रान्ड एम्बोसेडर भएर।नेपालमा चलेको फिल्मबाट करोडौं कमाउने खान बन्धु— आमिर खान, सलमान खान र शाहरुख खान चुप लागे पनि अमिताभ चुपचाप बस्न सकेनन्। नेपालमा भूकम्प आउनासाथ पशुपतिनाथको सम्झना गर्दै आफ्नो फिल्म ‘महान्'को सुटिङको संस्मरण ब्लगमा लेखेर सहानुभूति प्रकट गरे।
नेपाल सन्दर्भमा सदासर्वदा चर्चामा रहने बम्बई फिल्मी उद्योगका चर्चित अभिनेता अमिताभ बच्चन पहिलो होइनन्। उनीभन्दा पहिल्यै सदावहार अभिनेता देव आनन्दले त नेपाललाई आफ्नो फिल्ममार्फत अन्तर्राष्ट्रि्रय बजारमा समेत लिएर गए। ‘कान्छा रे कान्छी रे प्रीत मेरे साँची' जस्तो लोकप्रिय गीतमार्फत नेपाली लोकधुनलाई बलिउडमा जीवित राखे। उनले नेपाली बाजा मादललाई समेत स्थापित गराइदिए।
देव आनन्द नेपालका सानासाना दुःखमा दुःखी हुने एक भारतीय अभिनेता थिए। नेपाली कलाकार रवि शाह, प्रकाश थापा, मीना सिंह, सुनील थापा, गोपाल भुटानी, छुन्की भुटिया, केबी मोक्तान, रतन गुरुङ र पछिल्लो चरणमा गायक उदीतनारायण झालाई उनले मौका दिए। यसबाट उनको नेपाल–सम्बन्ध प्रस्ट हुन्छ। देव आनन्दको स्टुडिओ नवकेतनमा नेपाली फिल्मको प्राविधिक कार्यको निम्ति छुट थियो।
उनले नेपालमा आफ्ना दुई फिल्म ‘ईश्क ईश्क ईश्क' र ‘हरे रामा हरे कृष्णा' छायांकन गरे। पछिल्लो हिट भयो तर अघिल्लो फिल्मका कारण नेपालसित शबाना आजमी र शेखर कपूरको सम्बन्ध सेतु जोडियो। देव आनन्दकै कारण यश चोपडाले ‘जोशिले' यहीँ छायांकन गरे।
देव आनन्दले सिनेमाका अलावा आफ्नो पुस्तक ‘रोमान्सिङ विद् लाइफ' प्रवर्द्धनका लागि पनि नेपाल आएर अपार माया दर्शाए। असी वर्षको उमेरमा आफ्नो पुस्तकका निम्ति अन्तिमपटक नेपाल आएका उनी पहिलोपटक चालीस वर्षअघि दरबारको पाहुना भएर युवराजधिराज वीरेन्द्रको बिहेको जन्तीमा आएका थिए। 
पञ्चायती कालका शासक महेन्द्रका उनी प्रिय थिए। उनी दरबारका एक चहेता कलाकार। भारतीय प्रधानमन्त्रीसित महेन्द्रको सम्बन्ध बिग्रँदा पनि देव आनन्दसित खसोखास सम्बन्ध थियो नै। 
भारत र पाकिस्तानको लडाइँ चरमचुलीमा भएको बेला भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयीले पाकिस्तानसित वार्ता गर्न चाहँदा पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले सशर्त स्वीकार गरे। त्यो वार्ताको नेतृत्व प्रधानमन्त्री वाजपेयीले गरेको भए पनि ड्राइभिङ फोर्समा देव आनन्द नै थिए। वार्ता गर्न लाहोर गएको बसको अघिल्लो सिटमा चेक शर्ट र कोटमा देव नै थिए, उनैले नवाज शरीफलाई अँगालो हालेर वार्ताको निम्ति बधाई दिए। संयोगले शरीफ देव पढेकै लाहोर कलेजका जुनियर परेछन्।
देव आनन्द यस्ता धेरै कुरामा छिमेकीका असल मित्र थिए, यो उनको सिनेमामा पनि देखिन्थ्यो र व्यवहारमा पनि। २०५८ जेठ १९ गते नेपालमा भएको दरबार हत्याकाण्डपछि देव आनन्द अति भावुक भए र उनले आफूलाई माया गर्ने नातेदारलाई गुमाएको महसुस गरे। उनले यसबारे आत्मकथामा पनि सगर्व लेखेका छन्। उनी त्यसको केही समयपछि नेपाल आए र पशुपति मन्दिरको घाटमा दिवंगतका निम्ति श्रद्धाञ्जली अर्पण गर्दै रोए पनि। 
उनी नेपाल–भारतबीच सांस्कृतिक दूतजस्तै थिए। यसपालि हाम्रो दुर्दशाको तस्बिर हेर्न नपाई उनी चार वर्षअघि नै बितिसके। 
तर, उनी जत्ति नै दुःखी देखिए— अभिनेता अमिताभ बच्चन। 
नेपाल र नेपालीका निम्ति सदैव चिन्ता गर्ने प्रसिद्ध अभिनेता अमिताभको नेपालमा दुई सिनेमा ‘महान्' र ‘खुदा गवाह' छायांकन भएका छन्। दुवै फिल्म सफल भएको मानिन्छ। 
‘महान्' त अमिताभका लागि नेपालीको लागि नै एक यादगार फिल्म मान्न सकिन्छ। यसै फिल्मबाट अमिताभले टि्रपल रोलमा प्रवेश गरेका थिए भने यो चलचित्र सुटिङ गर्दाका प्रायः स्थान यसपालि ध्वस्तन्यस्त भएका छन्। भूकम्पलगत्तै उनले ब्लगमा त्यो पुरानो तस्बिर पनि शेयर गरेका थिए। 
अमिताभ नेपालमा महानको सुटिङ गर्न आउँदा होटल एभरेस्टमा बसेका थिए। यो भूकम्पले होटल एभरेस्टलाई पनि भग्न अवस्थामा पुर्याकइसकेको छ। पुलित्जर पुरस्कार विजेता आइएम शेलीले एभरेस्ट होटल उपन्यास लेखेर चर्चा पाएका थिए। यही होटलमा ०४१ सालमा अमिताभ आफ्ना पिता डा. हरिवंश राय बच्चन, आमा तेजी बच्चन र छोराछोरीसहित आएका थिए। अमिताभ त्यो बेला काठमान्डू आउँदा नेपालका चार पत्रिकाले उनीसित गुणगम्भीर वार्ता गरेका थिए। गोरखापत्रबाट दुर्गानाथ शर्मा, मधुरमबाट विश्व बस्नेत र रिपु श्रेष्ठ, ममताबाट विजय उदय पाल्पाली र पुकारबाट थियो— यो पंक्तिकार। तीमध्ये गोरखापत्रबाहेक अरू पत्रिका भग्नावशेष भइसके। एभरेस्ट होटलमा अन्तर्वार्ता दिँद अमिताभ ताज्जुब भएका थिए, नेपाली पत्रिकाले पनि उनलाई चिन्छन् भनेर।
उनले त्यो बेला एभरेस्ट सेराटन, होटल अन्नपूर्ण, मुग्लिङमा फरक–फरक शैलीमा अन्तर्वार्ता दिएका थिए। 
महान्, अमर अकबर एन्थोनी, दिवार, बर्सादकी एक रात, नमक हलाल, अमिताभका नेपालमा व्यावसायिक रूपले सफल फिल्म हुन् तर उनको अर्को सफल फिल्म ‘शोले' काठमान्डूमा रिलिज हुन पाएन, प्रतिबन्धित भयो। धर्मेन्द्रका कारणले यो फिल्म नेपालमा चल्न पाएन। यसबारे अमिताभले त्यो बेला आश्चर्य प्रकट गरेका थिए। 
अमिताभबाहेक बलिउडका धेरै कलाकारले नेपालमा सुटिङको निम्ति आउने र यहाँको ठाउँको प्रशंसा गर्ने गरेको पाइन्छ। ती चाहे सलमान खान हुन् वा ऋषि कपूर, नाना पाटेकर हुन् वा नसिरुद्दीन शाह, विनोद खन्ना हुन् वा शशि कपूर, अनिल कपूर हुन् वा जैकी श्राफ; ती सबैले नेपालमा आएर भारतमा भन्दा बढी नै माया र सम्मान पाएकै छन्।
अमिताभ ती कलाकारभन्दा फरक हुनुका दुई कारण छन्— सम्बन्ध र इतिहास।
अमिताभको नेपालसितको सम्बन्ध अभिनय, फिल्म र सुटिङका कारणमात्र भएको होइन। उनको जीवनकै पहिलो विदेश यात्रा नेपालमा भएको थियो। औसत बाल्यकाल पनि यहीँ बित्यो। नेपालका कविहरू लक्ष्मीप्रसाद देवकोटा, चित्तधर हृदय, बालकृष्ण सम, भवानी भिक्षु, सिद्धिचरण श्रेष्ठहरूलाई बाल्यकालमै स्पर्श गर्न पाउने उनी पहिलो भारतीय अभिनेता थिए। उनी पिता हरिवंश रायसित युगकवि सिद्धिचरणको घर पनि पुगेका थिए भनेर युगकविले संस्मरणमा लेखेका छन्। पितासँगै अमिताभ महाकवि देवकोटाले स्थापना गरेको सरस्वती सदनको पुस्तकालय हेर्न पनि पुगेका थिए।
अमिताभले यसपालि ११ लाख रुपैयाँ दिँदै भने, ‘म नेपाल र नेपालीको लागि अझै कुनै पनि किसिमको सहयोग गर्न इच्छुक छु।'
उनको यो भनाइमा पनि गर्वशाली इतिहास झल्किन्छ। इलाहावाद, दिल्लीमा बाल्यकाल बिताएका उनको एउटा गौरवशाली बाल्यकाल काठमान्डूमा बित्यो। त्यही बेला उनले दिलीपकुमारका राम्राराम्रा फिल्म हेरेका थिए। सन् २०११ को डिसेम्बरमा दिलीपकुमारलाई बधाई दिँदै उनले उनले उल्लेख गरेका छन्, ‘मैले तपाईंका आन, सहिदजस्ता शक्तिशाली फिल्म काठमान्डूको पुरानो सिनेमा हलमा हेर्दा कुनै दिन यहाँसित एउटै पर्दा शेयर गर्छु भन्ने कल्पना पनि गरेको थिइनँ।'
अमिताभले सिनेमा हेरेका ती पुरानो हल त भुइँचालोभन्दा पहिले नै हराइसके।
अमिताभ अभिनेताका रूपमा पहिलोपटक सन् १९८१ को मे महिनामा आएको भए पनि यसअघि उनी सन् १९५५ मा पितासँग भारतीय राजदूतावासका सचिव महाराजकृष्ण रसगोत्रको निम्तो मान्न आएका थिए। यही कालमा उनको धेरै समय काठमान्डूमा बितेको थियो। उनका पिता भने सन् १९५४ मै भारतीय दूतवासले आयोजना गरेको कवि सम्मेलनमा कविका रूपमा आइसकेका थिए। 
पहिलोपटकको कवि सम्मेलनबारे कवि बच्चनले लेखेका छन्, ‘नेपालमा मलाई कविको रूपमा चिन्नेहरू कम थिएनन्। धेरैजसो मान्छे मेरो मुखबाट कविता सुन्न चाहन्थे। नेपालमा मेरो प्रवासकालमा कतिपय ठाउँमा कैयौंपटक कवि सम्मेलन भए, जसमा नेपाली कविहरूले पनि भाग लिए। नेपालका जुन कविहरूको नाउँ मलाई याद छ, ती थिए— कवि श्री बालकृष्ण सम, श्री देवकोटा, श्री घिमिरे, श्री केदारमान व्यथित र श्री भवनी भिक्षु।'
नेपालका कविहरूमाझ लोकप्रिय भइसकेका कवि बच्चनको ‘मधुशाला' नेवारभाषामा त्यतिबेला जनकवि दुर्गालाल श्रेष्ठले ‘सुलिँ' नामबाट अनुवाद गरिसकेका थिए। 
कवि बच्चन स्कुले जीवनदेखि नै नेपालप्रति आकर्षित थिए। इलाहावाद युनिभर्सिटी इतिहास विभागका प्रमुख डा. ईश्वरप्रसाद सिंहकै कारण नेपालप्रतिको मोह उनमा बढेको थियो। जुद्धशमशेरको शासनकालमा नेपालको इतिहास लेख्न बोलाइएका सिंहले नेपालको गौरवपूर्ण वर्णन गरेको सुनेपछि बच्चन नेपाल आउन लालायित भएका थिए। कवि बच्चनले आत्मकथा ‘बसेरे से दूर'मा लेखेका छन्, ‘विद्यार्थी जीवनदेखि नै मेरो मनमा नेपालका लागि कुतुहलता थियो। मानचित्रमा भारतको उत्तरमा कम चौडाइ भएको ज्यादा लम्बाइको यो देशलाई देखाएर हाम्रो अध्यापक यो बताउन भुल्दैन थिए कि नेपाल एक स्वतन्त्र देश हो। आफ्नो गुलामीका दिनमा यो कल्पना गर्दा मनमा एक प्रकारको हर्ष हुन्थ्यो। नेपालमा केही यस्तो शक्ति छ जबकि हाम्रोजस्तो लम्बाचौडा देश अंग्रेजसित पराजित भएको थियो तर नेपालले स्वतन्त्रताको झन्डा उँचो राख्यो।'
कवि बच्चनले नेपालको कुनाकुना घुमेका थिए। मठमन्दिर, दरबार र सांस्कृतिक सम्पदा सबै। उनले लेखेका छन्, ‘पुरानो काठमान्डू त मन्दिरहरूको नगरी हो। सायदै त्यस्तै ठाउँ होला जहाँ तपाईं उभिनुस्, मन्दिर नदेखियोस्। सडक गल्ली, चोक, चौबाटो, दोबाटो, कुना काप्चामा जहाँ ठाउँ मिलेको छ, त्यहाँ मान्छेले मन्दिर बनाएका छन्।'
अमिताभलाई नेपालसित जोड्नमा कवि बच्चनको इतिहास ज्ञानको अहम् भूमिका छ। पिताले बनाएको बाटोमा सुसंस्करित रूपमा हिँड्न सिकेका अमिताभले आफ्नो छोराको बिहे, आफ्नो जीवनमा आएको आर्थिक संकटमा सदासर्वदा पशुपतिनाथलाई सम्झे र विनाशकारी भूकम्प गएको पर्सिपल्ट पशुपतिनाथलाई सम्झेर यिनै पंक्ति लेखे आफ्नो ब्लगमा। 
‘थाहा छैन, भगवानमा केही शक्ति त छ यस्तै भूकम्पमा पनि यी अडिग रहे।'
अमिताभमात्र होइन बच्चन परिवारकी बुहारी अभिनेत्री जया बच्चनको पहिलो फिल्म सुमनका नायक पनि नेपालकै अभिनेता जग्गनाथ तिमिल्सेना थिए। यी धेरै सम्बन्ध र स्नेहका कारण बच्चन परिवार नै नेपालको निकट रहे। कवि बच्चन आउँदा होस् वा अभिनेता बच्चन आउँदा, नेपालमा तिनको स्वागत हुनुको कारण पनि त्यही हो। 
‘दशद्वार से सोपान तक' कृतिमा कवि बच्चनले लेखेका छन्, ‘नेपालका राजाकी बहिनी शारदा अमिताभकी फ्यान थिइन्। उनले दिएको भोजमा राजमाता भेट भइन्। स्व. महाराज महेन्द्रकी पत्नीले मेरो पछिल्लो यात्रामा मेरा काव्य पाठ सुनिसकेकी थिइन्, जसको स्मृति तिनलाई अझै पनि छ/थियो। स्व. महाराज स्वयं एक राम्रा कवि थिए र एक गोष्ठीमा उनको कविता सुन्ने अवसर मिलेको थियो। राजमातालाई त्यो दिनमा याद थियो।' 
बच्चनले सम्झेका र सम्झना गरेका धेरै कुरा त अब रहेनन्। कति त स्मृतिमै सीमित भए । दरबार हत्याकाण्ड र भुइँचालोपछि धेरै कुरा हराए/गुमे। तर नहराएको कुरा अझै बाँकी छ— असल छिमेकीको सदासयता र स्नेह।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस