भदौमा दुई दिने जेनजी आन्दोलनको क्रममा लुटपाट, तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले विशेष पूजा गरेर सुपरमार्केट खोलेका हुन्। झण्डै पाँच महिनाको मर्मत र पुनर्निर्माणपछि यो स्टोर सर्वसाधारणका लागि फेरि उपलब्ध भएको हो।
विराटनगर १९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको दुर्दशा भएको छ। संघीय सरकार मातहतको यो रंगशालालाई वर्षौंसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मतसम्भार नगरिएका कारण दुरावस्था भएको हो।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालाको मर्मतसम्भार र सरसफाइसमेत नगरेपछि विगत ४ वर्षयता यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेका छैनन्। क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्। सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मतसम्भारमा सरकारले कुनै चासो राखेको छैन।
सरकारको वेवास्थाको सिकार बनेको यो रंगशाला यतिबेला झाडीमा परिणत भएको छ। १४ बिघाभन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ। तर, उक्त बजेट पूर्वाधार निर्माणका लागि नभई डीपीआर निर्माणका लागि विनियोजन गरिएको हो।
पटक-पटक डीपीआर बनाउने तर, भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिने संघीय सरकारको नीतिले राष्ट्रिय गौरवको यो आयोजना मन्त्री, नेता र कर्मचारीहरूको कमाइखाने भाँडो मात्रै बनेको छ।