नयाँ संकट निम्त्याउँदै दल
२८ साउन २०७३
•
१३ मिनेट पाठ
नयाँ संकट निम्त्याउँदै दल
काठमाडौं- करिब नौ महिनापछि मधेसवादी दल व्यवस्थापिका संसद्मा छिरेपछि धेरैलाई लागेको थियो– अब देशले राजनीतिक निकास पाउँछ। कमसेकम छलफलको माध्यमबाट संविधान कार्यान्वयन बाटो खुल्नेमा धेरै आशावादी थिए। संसद् छिरेको एक साता नबित्दै मधेसवादी दलले सीमा निर्धारण आयोगले गरिरहेको स्थानीय पुनःसंरचनाका कामै रोक्नुपर्ने अर्को माग थपेपछि राजनीतिक निकास धकेलिने देखिँदै छ। बरु यसले थप अस्थिरता निम्त्याउने खतरा छ।




मधेसी दलले पुनःसंरचनाका काम रोक्ने माग थपेर उल्झन बढाएका छन् भने प्रमुख दलसमेत समयमा निर्वाचन गरेर संविधान कार्यान्वयन सफल पार्न गम्भीर देखिन्नन्।

समयमै स्थानीय निकायको पुनःसंरचना कार्य यति धेरै महŒवपूर्ण छ कि २०७४ माघ ७ सम्म देशमा स्थानीय, प्रदेश र संघको निर्वाचन हुन नसके अहिलेको संविधान असफलजस्तै हुनेछ। संविधानअनुसार २०७४ माघ ७ पछि व्यवस्थापिका संसद्को अवधि सकिनेछ जसका लागि अबको करिब १७ महिनामा स्थानीय, संघ र प्रदेशको निर्वाचन गरिसक्नुपर्छ।

संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मधेसी मोर्चा र संघीय गठबन्धनले बुधबार एकाएक सीमा निर्धारण आयोगको कामप्रति गुनासो गर्दै स्थानीय तहमा कलह बढाएको र षड्यन्त्रपूर्ण तरिकाले काम गरिरहेको आरोप लगाएर तत्काल काम रोक्न माग गरेपछि मुलुकमा नयाँ संकट देखिएको हो।

२०७४ माघ ७ भित्र तीनवटै निर्वाचन हुन नसके दोस्रो संविधानसभाको उपलब्धि पनि त्यत्तिकै खेर जान सक्छ।

बहुसंख्यक जनता र राजनीतिक दलको लामो समयदेखिको गणतन्त्रको माग २०६२/६३ को आन्दोलनले पूरा गरेपछि त्यसलाई संस्थागत गर्न पहिलो  संविधानसभा निर्वाचन भएको थियो। तर, संविधान बनाउन चयन भएका जनप्रतिनिधिले कुनै काम नगरेपछि साढे दुई वर्षअघि दोस्रो संविधानसभा निर्वाचन गर्नुपरेको थियो। दुवै निर्वाचनका लागि देशले अर्बौं रुपैयाँ खर्च गरिसकेको छ। आवश्यकताभन्दा धेरै संख्यामा सभासद्/सांसद बनाइएकोमा व्यापक विरोध हुँदाहुँदै एक थान संविधान पाउने आशाले सर्वसाधारण देशले गुमाएको यो पक्षलाई भुल्दै आएका छन्।

संविधान कार्यान्वयनका बेला दलहरूद्वारा संविधान नै असफल बनाउने प्रयास भएपछि तातेको नेपाली राजनीतिले अहिलेको विवाद कसरी समाधान गर्छ भन्ने प्रश्न यतिखेर गम्भीर रूपमा देखा पर्दैछ। हुन त सीमा निर्धारण आयोगको कामप्रति मधेसवादी दल मात्र होइन, ठूला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रजस्ता दल पनि असन्तुष्ट छन्। आयोगका कामै रोक्नुपर्ने माग भने मधेसी मोर्चाले मात्र चर्को रूपमा उठाएको छ।

कांग्रेस, एमाले, माओवादीजस्ता दलका गुनासा आयोगले निर्धारण गरेको संख्याप्रति छ तर मधेसवादी दलले भने आयोगको कामलाई नै षड्यन्त्रपूर्ण ठहर्‍याएका छन्। 'मधेसवादी दलले उठाएका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको पाएका छौं,' संघीय समाजवादी फोरमका संयोजक उपेन्द्र यादवले भने। आउँदो चैतसम्म स्थानीय निर्वाचन नभए पनि मुलुकमा खासै फरक नपर्ने उनको भनाइ छ। १७ वर्षसम्म देशमा स्थानीय निर्वाचन हुन नसक्दा केही फरक नपरेका बेला यो वर्ष चुनाव नहुँदा पनि केही फरक नपर्ने यादवले बताए। 

मधेसी मोर्चाले भनेजस्तो गरी चैतमा स्थानीय निर्वाचन गर्न नसक्ने हो भने त्यसपछिका १० महिनामा तीनवटै निर्वाचन गर्ने सम्भावना नरहने राजनीतिक विश्लेषकको आँकलन छ। कांग्रेस–माओवादीले सत्तागठबन्धन बनाउँदा आउँदो चैतमा स्थानीय निकायको निर्वाचन गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाखमा कांग्रेस सभापति शेरबहादुर देउवलाई सरकार नेतृत्व हस्तान्तरण गर्नेछन्। र, त्यसपछिको नौ महिनामा प्रदेश र संघको निर्वाचन गर्ने सहमति छ।

कानुनविद् भने मुलुकका लागि संघीयता कार्यान्वयन पेचिलो बन्दै गएकाले राजनीतिक दल र तिनका नेता अक्षमता लुकाउन विभिन्न बहाना खोजिरहेको ठान्छन्। संवैधानिक कानुनका ज्ञाता भीमार्जुन आचार्य देश र जनताका लागि स्थानीय निर्वाचन आवश्यक भए पनि अधिकांश दल स्थानीय निकाय निर्वाचनका पक्षमा नरहेको ठान्छन्।

'स्थानीय निर्वाचन गराउन न हिजो केपी शर्मा ओलीको सरकार चाहन्थ्यो न अहिलेको सरकार नै चाहन्छ,' आचार्यले भने, 'संविधानमा लेखिएजस्तो संघात्मक राज्यको कार्यान्वयन गर्ने क्षमता दलहरूसँग छैन।'

२०७४ माघ ७ गतेसम्म अहिलेकै अवस्थालाई निरन्तरता दिएर देेश र जनताले पाएको अहिलेको उपलब्धिलाई शून्यतामा पुर्‍याउन अरु कोही नभएर दलहरू नै सक्रिय भएको उनको आरोप छ। दलहरूले चाहने हो भने अबको एकपटकलाई निर्वाचन गर्न संविधान बाधक नरहेको आचार्यले बताए।

'कथम्कदाचित आयोगले स्थानीय निकायको पुनःसंरचनाका काम गर्न भ्याएन भने पुरानै संरचनाका आधारमा निर्वाचन गर्न सकिन्छ,' आचार्यले भने, 'तर, राजनीतिक दलहरू त्यो पनि चाहँदैनन्।' संसद्बाट एक वर्षमा काम सक्ने गरी गठन गरिएको आयोगको अवधि फागुनमा सकिँदै छ। कार्यावधि सकिनुअघि आयोगले स्थानीय निकायको पुनःसंरचनाका काम सक्ने गरी यतिखेर जिल्लामा तोकिएका कामलाई तीव्र बनाइरहेको छ। हरेक जिल्लामा स्थानीय विकास अधिकारी नेतृत्वमा आयोगले पुनःसंरचनाका लागि छलफल गरिरहेको छ।

नयाँ संविधानअनुसार स्थानीय तहलाई बलियो बनाउन विद्यमान गाविस र नगरपालिकाका संख्या आयोगले कटौती गरेको छ। हालका २ सय १७ नगरपालिका र करिब ३ हजार १ सय गाविसलाई आयोगले ५ सय ६५ वटामा झार्ने प्रस्ताव गरेको छ।  संविधानले नै स्थानीय निकाय पूरै स्वायत्त रूपमा रहने र खर्चको व्यवस्थापन पनि स्थानीय तहबाटै गर्नुपर्ने भएकाले ५ सय ६५ वटामा झार्नुपरेको आयोग पदाधिकारीले बताउँदै आएका छन्।

यतिखेर आयोगले गरिरहेको कामप्रति सबभन्दा बढी सकारात्मक रहेको दल एमाले हो। एमाले नेता किरण गुरुङले तय गरिएका ५ सय ६५ संख्याबारे तलमाथि गर्न सकिने भए पनि आयोगका बाँकी काममा एमालेको समर्थन रहेको बताए। मधेसी मोर्चा र सरकारले चाहँदैमा आयोगले काम रोक्न नसक्ने उनको भनाइ छ।

'आयोग संवैधानिक हो,' उनले भने, 'त्यसैले कुनै दल र सरकारले चाहँदैमा यसको काम रोकिँदैन। र, रोक्नुपर्ने पनि कुनै कारण छैन।' एमाले सरकारमा रहेको भए आयोगले भदौमा पुनःसंरचनाका काम सकेर मंसिरमा स्थानीय निकाय निवार्चन गर्ने तयारी भएको दाबी गर्ने गुरुङले अहिलेको सरकारको कामगराइले  चैतमा पनि स्थानीय निर्वाचन गर्न मुश्किल पर्ने जनाए।

सत्तारुढ दल माओवादी प्रवक्ता पम्फा भुसालले आयोगले गरिरहेका कामलाई केही परिमार्जन गरेर संविधानले निर्दिष्ट गरेकै समयमा सरकारले चुनाव गर्ने दाबी गरिन्। 'प्रधानमन्त्री आयोगलाई दिएको कामको जिम्मेवारीलाई केही फेरबदल गरेर तथा मधेसवादी, एमालेलगायत दलसँग बृहत छलफलबाट अहिलेको विवाद टुंग्याउने पक्षमा हुनुहुन्छ,' भुसालले भनिन्, 'दलहरूबीच कुरा मिलेपछि चुनाव गराउन गाह्रो हुँदैन।'

कांग्रेस नेता प्रकाशशरण महत आयोगले अहिले गरिरहेको प्रस्तावमा सहमति हुने कुनै सम्भावना नरहेको बताउँछन्। 'पुनःसंरचना गर्नु जनतालाई थप सेवा र सुविधा पुर्‍याउनु हो,' महतले भने, 'आयोगले अहिले गरेको प्रस्ताव लागू हुने हो भने जनता झन् समस्यामा पर्छन्। आयोगको यो कस्तो विज्ञता हो, बुझ्न सकिएन।'

पुनःसंरचना गर्दा जनसंख्यालाई आधार बनाउनु त्रुटिपूर्ण रहेको उनको भनाइ छ। 'अहिलेको प्रस्तावअनुसार तराईमा खासै समस्या नहोला,' उनले भने, 'हिमाल र पहाडमा भने अहिलेको प्रस्ताव कामै लाग्दैन।' आयोगले दलहरूको सहमतिअनुसार समयमा काम गर्न सकेन भने अहिलेकै संरचनाअनुसार स्थानीय निर्वाचन गर्न सकिने उनको भनाइ छ। 

संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु यादव स्थानीय निकायको पुनःसंरचना गर्दा आयोगले मधेसमा ५०, पहाडमा २५ र तराईमा १५ हजार जनसंख्या कायम गरिनुलाई षड्यन्त्रपूर्ण र पूर्वाग्रही ठान्छन्। २०७४ माघ ७ गतेसम्म तीनवटै निर्वाचन गर्न नसक्ने हो भने संविधान असफल हुन्छ नि भन्ने कानुनी बाध्यता सम्झाउँदा यादवले मधेसीले उठाउँदै आएका समस्या समाधान नहुने हो भने संविधान सफल हुनु र असफल हुनुमा कुनै मतलब नभएको बताए।

'जुन संविधानले मधेसलाई सम्बोधन गर्न सक्दैन भने त्यो संविधानको के काम?' यादवले भने।
अर्को समाचार
पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण
१५ चैत्र २०७९
•
५ मिनेट पाठ
पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण
‘हामी तपाईंको समस्या समाधान गर्छौं। नो प्रोब्लम। हामी सहयोग गर्न सक्छौं।’ बाँझोपनको उपचारका लागि अस्पताल पुगेकी बेलायतको योर्कसायरकी जेनिफर हानिङ्टनलाई चिकित्सकले दिएको आश्वासन हो यो। ती चिकित्सक जेनिफरका पति सियारनतर्फ फर्कन्छन् र भन्छन्, ‘तपाईंका लागि हामीले गर्न सक्ने उपचारको सम्भावना अत्यन्त न्यून छ।’




जेनिफरलाई डिम्ब उत्पादन गर्न समस्या हुने रोग ‘पोलिसिस्टिक ओभारियन सिन्ड्रोम’ छ। यसले उनको प्रजनन क्षमतालाई प्रभाव पार्न सक्छ। चिकित्सकले उनका पति सियारनसँग पनि प्रजननसम्बन्धी समस्या भएको आशा गरेका थिएनन्। प्रयोगशालामा गरिएका परीक्षणले सियारनले उत्सर्जन गर्ने शूक्रकीटको संख्या अत्यन्त कम रहेको र गतिशिलता पनि न्यून रहेको देखाएको थियो। जेनिफरको समस्याभन्दा उनका पति सियारनको समस्या निदान गर्न कठिन अथवा झन्डै असम्भव रहेको चिकित्सकको निष्कर्ष थियो।

चिकित्सकले त्यसो भनिरहँदा आफ्ना पतिले दिएको प्रतिक्रिया अझै पनि जेनिफर स्मरण गर्छिन्। ‘मेरा पतिले ठुलो आघात र शोक प्रकट गरेका थिए। चिकित्सकको भनाइलाई उनले स्वीकार्न सकेका थिएनन्। चिकित्सकीय परीक्षण गलत भएको उनले ठानेका थिए,’ जेनिफरले भनिन्।

त्यसपछि सियारनको मानसिक स्वास्थ्य बिग्रन थाल्यो। एक्लै बस्न रुचाउने, बेडमा धेरै समय रहने र आफूलाई खुसी राख्न मदिरा सेवन गर्ने आदतले उनमा झन् समस्या थपेको थियो। ‘म क्रमशः संकटको एउटा गहिरो र अँध्यारो बिन्दुतर्फ धकेलिँदै थिएँ,’ सियारन भन्छन्।

कुल अनुपातमा पुरुष बाँझोपनको हिस्सा झन्डै ५० प्रतिशत छ। पुरुषको कुल जनसंख्यामा ७ प्रतिशतमा यो समस्या छ। महिला बाँझोपनको विषयमा जति बहस र छलफल हुन्छ त्यति पुरुष बाँझोपनबारे हुँदैन। सामाजिक तथा सांस्कृतिक लाञ्छना लाग्ने डरले पुरुष बाँझोपनबारे कम छलफल भएको हो। प्रजनन क्षमतासम्बन्धी समस्या भएका धेरैजसो पुरुषले मौन हिसाबले आफ्नो पीडा झेलिरहेका हुन्छन्। अनुसन्धानले यो समस्या बढ्दो क्रममा देखाएका छन्। पछिल्ला अध्ययनबाट यो समस्याका लागि प्रदूषण जिम्मेवार रहेको पाइएको छ। विशेषगरी शुक्रकीटको गुणस्तरमा ह्रास आउनुमा प्रदूषण कारक देखिएको छ।

प्रजनन संकट

विगत शताब्दीमा विश्वको जनसंख्या नाटकीय हिसाबले बढ्यो। ७० वर्षअघिसम्म विश्वको जनसंख्या साढे २ अर्ब थियो। सन् २०२२ मा यो ८ अर्ब पुगेको छ। तर सामाजिक तथा आर्थिक कारणले पछिला वर्षमा जनसंख्या वृद्धिदर घट्दो छ। विश्वभर जन्मदर रेकर्ड स्तरमा घटेको छ। हाल विश्वको ५० प्रतिशत जनसंख्याको हिस्सा भएका देशका महिलाले दुईभन्दा कम बच्चा जन्माउँछन्।

बसाइँसराइका कारण जनसंख्या नथपिएको अवस्थामा यी देशको जनसंख्या क्रमश संकुचित हुँदै गएको छ। जन्मदरमा आएको यो ह्रासको सकारात्मक पक्ष पनि छ। महिला वित्तीय रूपमा सशक्त हुँदै गएको र प्रजनन स्वास्थ्यबारे पनि बढी सचेत भएकाले उनीहरू धेरै सन्तान जन्माउन चाहँदैनन्।  तर अर्काेतर्फ कम प्रजनन दर रहेका देशका जोडीले धेरै सन्तान जन्माउन चाहे पनि आर्थिक र सामाजिक कारण तथा पारिवारिक सहयोग अभावमा त्यसो गर्न सक्दैनन्। यसैगरी प्रजनन उर्बरताका लागि पुरुषको शारीरिक क्षमताले पनि उत्तिकै प्रभाव पारेको हुन्छ। विशेषगरी शुक्रकीट संख्यामा ह्रास, टेस्टोस्टेरोन हर्मनको कमजोर स्तर, इरेक्टाइल डिस्फङ्सन र टेस्टिकुलर क्यान्सरलगायत कारणले पुरुष प्रजनन क्षमता प्रभावित हुन्छ।

पौड्न सक्ने कोष

‘शुक्रकीट उत्कृष्ट कोषिकाहरू हुन्। अत्यन्त सानो आकारमा यी शुक्राणुहरू अर्काे शरीरमा पनि बाँच्न सक्छन। अन्य कोषिकाहरूले यसो गर्न सक्दैनन। यी बिशिष्टकृत क्षमताका हुन्छन्,’ स्कटल्यान्डमा रहेको डुन्डे विश्वविद्यालयकी क्लिनिकल रिडर तथा स्त्रीरोग विशेषज्ञ सराह मार्टिन्स भन्छिन्।

यी कोषिकामा सामान्य परिवर्तन आउदा यिनको डिम्बलाई सेचन गर्ने क्षमता प्रभाव हुने गर्दछ। यी कोषिकाहरूको पौडन सक्ने क्षमता, आकार, संख्याले प्रजनन क्षमतालाई निर्धारण गर्ने भएकाले पुरुषको प्रजनन क्षमता परिक्षण गर्दा यी पक्षहरूको जाँच गरिने चिकित्सक बताउछन्। ‘प्रतिमिलिलिटर विर्यमा ४ करोड भन्दा थोरै शुक्राणु भएमा प्रजननजन्य समस्या देखिन थाल्छ,’ जेरुसलमस्थित हेब्रु विश्वविद्यालयक प्राध्यापक हगाई लेभिन भन्छन्। उनी यो सिमाभन्दा कम शुक्राणु भएको अवस्थामा गर्भ रहने संभावना अत्यन्त न्यून हुने बताउछन।

लेभिन र अन्य अनुसन्धानकर्ताले सन् २०२२मा प्रकाशन गरेको एक अध्ययन प्रतिवेदनका अनुसार सन् १९७३ देखि सन् २०१८सम्म हरेक बर्ष शुक्रकटीको संख्यामा १.२ प्रतिशतले हस आएको देखाएको थियो। सन् १९७३ मा सालाखाला प्रतिमिलिलिटर विर्यमा १० करोड ४०लाख शुक्राणु रहेकोमा सन् २०१८ सम्म आइपुग्दा यो घटेर ४ करोड ९० लाखमा झरेकोछ। सन् २००० यता, शुक्रकीटको संख्यामा २.६ प्रतिशतले हस आएका अनुसन्धानले देखाएको छ।

जनस्वास्थ्य संकट

हेब्रु विश्वविद्यालयकका प्राध्यापक लेभिन वातावरणीय तथा जीवनशैलीका कारण यो परिवर्तन वंशाणुको तहमा पुग्ने र यसले झन् ठुलो समस्या निम्त्याउने तर्क गर्छिन। ‘यो समस्याले धेरै पिढीलाई सताउने संकेत देखिएको छ,’ प्राध्यापक लेभिन भन्छन्। ‘पुरुष अथवा समग्र मानवजातिको कमजोर स्वास्थ्यका कारण शुक्राणुको संख्यामा हस आएकाले यो जनस्वास्थ्य संकट हो र यसलाई उल्टाउन सकिने अथवा नसिकिने हो भन्ने बिषयमा अझै केही भन्न सकिन्न’, उनी थप्छन्।

पछिल्ला अध्ययनले मानवीय आनीवानी भन्दा पनि वातावरणमा रहेको विषाक्त प्रदुषणले प्रजनन क्षमतामा हस आएको देखाएका छन्।

बिषाक्त विश्व

वेलायतको नोटिङघम विश्वविद्यालयककी अनुसन्धानकर्ता रेबेका व्लानचार्डले पुरुष प्रजननमा घरको वातावरणमा पाइने रसायनले पुरुषको प्रजनन क्षमतालाई कसरी प्रभावित पारेको छ भन्ने विषयमा अनुसन्धान गरीरहेकी छिन्। उनका अनुसार प्लाष्टिक, आगो निभाउन प्रयोग गरिने फायर रिर्टारडेन्ट तथा अन्य घरायशी उपयोगका वस्तुले मानिसका हर्माेन प्रणालीमा असर पार्ने र यसले प्रजनन क्षमतालाई समेत कमजोर पार्ने देखिएको छ।

जलवायु परिवर्तनको प्रभाव

पुरुष प्रजननमा जलवायु परिवर्तनले समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ। विभिन्न जिवजन्तुमा गरिएको अध्ययनले तापक्रमा वृद्धि हुँदा शुक्राणुमा प्रभाव पर्ने देखाएका छन्। तातो हावा र तापक्रममा वृद्धि हुँदा किराहरू र मानवको शुक्राणुमा प्रभाव पार्ने सन् २०२२ मा गरिएको एक अध्ययनले देखाएको छ।

यसैगरी कमजोर पोषण, एकाकी जीवनशैली, तनाव, अल्कोहल तथा लागु पदार्थको सेवनले पनि पुरुष प्रजननलाई प्रभाव पार्ने वैज्ञानिक ठान्छन्। विश्वमा हाल उमेर ढल्केपछि सन्तान जन्माउन चाहने प्रवृत्ति बढदो छ। यसले पनि प्रजनन क्षमता कमजोर बनाउने वैज्ञानिक राय छ। यसैगरी नियमित व्यायाम र स्वस्थ्य खानाले पनि सकारात्मक परिणाम दिने चिकित्सक ठान्छन्।

५ बर्षसम्म बाझोपनाको उपचार गराएर आइभिएफ विधी मार्फत दुई सन्तानकी आमा बन्न सफल रहेकी योर्कसायरकी हानिङटन भन्छिन, ‘सबैभन्दा महत्वपुर्ण यो पिडा चुपचाप सहन हुदैन।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस