राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन्।
बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजानुपर्ने बताए।
उनले भने, “सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेका हौँ हामी। हाम्रो ओठमा मुस्कान र हातमा फूल छ। हामीले गालीगलौज गर्न सुहाउँदैन। त्यसैले हामी गालीगलौजको राजनीति नगरौँ।”
उनले पार्टीको २१ सिटको यात्रा फूलबाट तय भएको बताए। मात्तिएर र आत्तिएर राजनीतिमा नहुने भन्दै उनले आफूहरु सच्चिनुपर्ने ठाउँहरु केही रहेछन् भने सबैभन्दा पहिले आफ्नो पार्टीभित्रको पङ्क्तिलाई हेर्ने उल्लेख गरे।
उनले अरु दलको आलोचनामा नगर्ने बताए। सामाजिक सञ्जालमा आफूहरुलाई माया गर्ने नाममा अन्य दलहरुप्रति घृणा र गालीगलौज भएको पनि देखिएको भन्दै आफूले क्षमा मागेको उनले बताए। सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध पार्टी सधैँ अग्रपङ्तिमा रहेर काम गर्ने स्पष्ट पारे।
यस्तै सोही सभालाई सम्बोधन गर्दै तनहुँ १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताए। विपक्षीले निम्नस्तरको गाली गरे पनि आफूहरूले प्रवृत्तिको आलोचना गरेको उनले बताए। रासस
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।
त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।
बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।
त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।
त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।