५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेस पस्यो एमाले

दमक- संविधान कार्यान्वयन र राष्ट्रिय एकताको नारासहित प्रमुख प्रतिपक्षी दल एमालेको १५ दिने मेची–महाकाली राष्ट्रिय अभियान शनिबार सुरु भएको छ। राजनीतिक मात्रै नभएर सामाजिक, सांस्कृतिक यो अभियान 'राष्ट्रिय एकीकरण– भाग दुई' भएको दाबी एमाले नेताहरूले गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको पूर्वीनाका काँकडभिट्टाबाट यो अभियान सुरु गरेका हुन्। अभियान उद्घाटन कार्यक्रममा  नेताहरूले संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव माघ ७ गतेभित्र हुनुपर्ने बताए।

अध्यक्ष ओलीले राष्ट्रिय र पार्टी झन्डा एमाले प्रदेश नम्बर १ संयोजक भीम आचार्यलाई हस्तान्तरण गर्दै अभियान सुरु गरेका थिए।

अभियानमा सहभागीलाई बाजागाजासहित चोकचोकमा उपस्थित  एमाले कार्यकर्ता र शुभेच्छुकहरूले स्वागत गरेका छन्। अभियानमा सहभागी मोटर र मोटरसाइकलको लस्कर करिब  ८ किलोमिटर लामो रहेको अनुमान स्थानीय सुरक्षा निकायको छ।

एमाले अधिकांश केन्›ीय सदस्य तथा सांसद अभियानमा सहभागी छन्। पहिलो दिन काँकडभिट्टा, बिर्तामोड र दमकमा आमसभा भए। ती सभामा शीर्ष नेताहरूले सम्बोधन गरे।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान कार्यान्वयन तथा राष्ट्रिय एकताका लागि आफूहरूले अभियान चलाएको र यस्तो अभियान अरु दलले सञ्चालन गर्न नसक्ने बताए। संविधान बन्न रोक्ने शक्तिले अहिले कार्यान्वयनमा समेत अवरोध गरिरहेको भन्दै उनले तीनै तहको चुनाव संविधानअनुसार निर्धारित समयमा हुनुपर्नेमा जोड दिए।

'१९ वर्षदेखि स्थानीय चुनाव भएको छैन। १५ वर्षदेखि स्थानीय निकाय खाली छ,' ओलीले भने,' 'चुनाव हुन नदिने र अस्थिरता बढाउन अहिले पनि काम भइरहेको छ। जनतालाई अधिकार सम्पन्न बनाउने काममा अवरोध गर्ने काम भएको छ।'

उनले संविधान संशोधन प्रस्ताव राष्ट्रिय हितविपरीत रहेको बताए। 'संसद्ले पनि यो विधेयकलाई नैतिक रुपले पारित गर्न मिल्दैन', ओलीले भने। उनले भूगोल र जातका नाममा जनता–जनताबीच विभाजन र विद्वेष ल्याउने कोसिस भइरहेको भन्दै त्यसलाई चिर्न यो अभियान सुुरु गरेको बताए।

एमाले अभियानमा अवरोध खडा गर्न मधेसी दलले गरेका कार्यक्रमप्रति लक्षित गर्दै ओलीले भने, 'हामी जनताको आदेशबाहेक कसैको पनि आदेश मान्दैनौं।'

अभियानले चुनावको पक्षमा पनि माहोल सिर्जना गर्ने अपेक्ष एमालेका नेताहरूको छ। झापा आन्दोलनका क्रममा मारिएका पाँच नेताको स्मरणमा एमालेले फागुन २१ गते सहिद दिवस मनाउँदै आएको छ। यसै दिनको अवसर पारेर यो अभियान सुरु गरिएको हो।

तराई–मधेस खासगरी राजमार्गकेन्›ित यो अभियानका क्रममा विभिन्न ३३ स्थानमा आमसभा गर्ने कार्यक्रम छ।

एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले 'सहिद दिवस' अवसर पारेर पार्टीले कुनै न कुनै अभियान चलाउँदै आएकोमा यसपटक राष्ट्रिय अभियान सञ्चालन गरिएको बताए। उनले अभियान क्रममा झापामा मात्रै डेढ लाख मानिस प्रत्यक्ष सहभागी भएको दाबी गरे। 'कतिपय यातायातको असुविधाका कारण सहभागी हुन पाउनुभएको छैन', उनले भने।

बिर्तामोड सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले मिति घोषणा गरे पनि चुनाव गराउन सरकारले खुट्टा कमाइरहेको बताए। 'स्थानीय तह चुनाव मिति घोषणा एमालेलै दिएको दबाबकै कारण मात्रै हो', खनालले भने, 'निर्धारित समयमा तीनै तहको चुनाव गराउन सकिएन भने संविधान कार्यान्वयन हुन सक्दैन।'

दमक अमसभालाई सम्बोधन गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले नेपालमा बनेका मध्ये अहिलेको संविधान  सबैभन्दा राम्रो भएको बताए। संविधानसभाका तत्कालीन अध्यक्षसमेत रहेको नेम्बाङले संविधान मधेसी, दलित, महिला, जानजातिमैत्री भएको दाबी पनि गरे। 'प्रधानमन्त्रीको चुनाव हुँदा भोट हाल्न आउने अरु बेला संविधान मान्दिन भन्ने यो कस्तो चरित्र हो' मधेसी मोर्चातर्फ लक्षित गर्दै नेम्बाङले भने।

अभियान रोकिँदैन

पहिलो दिनको अभियान सम्पन्न भएपछि दमकमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख भट्टराईले पहिलो दिनको सहभागिताबाट उत्साहित भएको भन्दै अभियानलाई कसैले अवरोध गर्न नसक्ने बताए। उनले एमालेको अभियानसँग जुधाएर मधेसी मोर्चाल राखेका कार्यक्रमप्रति आपत्ति जनाए। 'केही स्थानमा अवाञ्छित काम भएको छ', भट्टराईले भने, 'तर पनि एमाले अभियानबाट पछि हट्दैन।' उनले सप्तरीमा मोर्चाबाट एमाले कार्यकर्तामाथि भएको आक्रमणको निन्दा गरे। उनले सप्तरीका एमाले सचिवले कार्यक्रम व्यवस्थापनका लागि जुटाएको पैसासमेत मोर्चाका कार्यकर्ताले लुटेको आरोप लगाए।

'मोर्चाको नेतृत्वलाई शीर्ष नेता तहबाट यस विषयमा टेलिफोनबाट प्रजातन्त्रिक संस्कार देखाउन भनिएको छ', उनले भने, 'हामीले भनेको चित्त बुझेको छैन भने भोलिपल्ट ठूलो आमसाभ गरेर हामीले गरेका कुराको खण्डन गर्नुहोला। अरुको कार्यक्रम गर्न दिँदैनौं भन्नु सामाजिक फाँसिवादी र अधिनायकवादी चरित्र हो।'

उनले प्रमुख प्रतिपक्षी दलको कार्यक्रममा सुरक्षा दिन नसके सरकारको औचित्य पनि सकिने बताए। 'हामीले छापामार शैलीमा कार्यक्रम गरेका छैनौं। यस विषयमा प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराएका छौं', भट्टराईले भने, 'हरेक दिन कहाँ कार्यक्रम हुन्छ, कुन–कुन नेता कहाँ–कहाँ बस्नुहुन्छ भनेर पारदर्शी ढंगले बताएका छौं। यो हामीले पहिले नै घोषणा गरेको कार्यक्रम हो।' उनले राष्ट्रिय मानवअधिकार आयोग र अन्य मानवअधिकारवादी संघसंस्थालाई यो विषयमा अनुगमन गर्न आग्रह गरिएको पनि बताए। 'हाम्रो कार्यक्रम कुनै दल र व्यक्ति विशेषविरुद्ध होइन, देश›ोही र राष्ट्रघातीविरुद्ध भने हो। पहाड र मधेसबीच द्वेष बढाउनेविरुद्ध हो' उनले भने, 'शान्तिपूर्ण राजनीति गर्ने दलले डराउनु पर्दैन।'

प्रकाशित: २२ फाल्गुन २०७३ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App