५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

राजपा किल्लामा उपेन्द्र ‘इन्ट्री ’

सर्लाही- सर्लाही राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गृहजिल्ला हो। उनीहरु तीनैजनाले चुनाव छाडेर आन्दोलनमा लाग्ने घोषणा गरिसकेका छन् भने १० वर्षसम्म सँगै आन्दोलनमा रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा ओर्लिएका छन्। 

चुनावमा जाने भएपछि राजपासँग सम्बन्ध बिग्रिएको अवस्था छ। यही बेला नेता यादव राजपका नेतात्रयको गृहजिल्ला सर्लाहीमा चुनावी गतिविधिमा केन्द्रित भए। विगतका आन्दोलनको जस लिन पनि यादव चुनावी मैदानमा अहोरात्र खटिएका छन्।

राजपाको चर्को विरोध हुँदाहुँदै पनि कार्यकर्ता प्रवेश सभामा सम्बोधन गर्दै यादवले मलंगवा र राजमार्ग क्षेत्रका कार्यकर्तासँग भेटघाट गरे। चुनाव रोकेर रोकिँदैन भन्दै उनले तयारीमा लाग्न कार्यकर्ताको हौसला बढाए। उनलेस र्लाहीमा दुई दिन समय दिए। पटकपटक विभिन्न ठाउँमा राजपा कार्यकर्ताले यादवलाई अवरोध गर्न खोजे तर सफल हुन सकेनन्। फोरम नेपाललाई राजपाको विरोधले असर पार्न सकेन।

राजपालाई चुनावमा आउन आग्रह गरेका यादवले चुनावी मैदानमा अवरोध गर्न कोही आइलागे आफ्नो पार्टी पनि जाइलाग्ने चेतावनी दिए। 'प्रतिकार कसरी गर्ने, फोरमले राम्रररी जानेको छ', उनले चेतावनी दिए। यादवले मधेसमा चुनाव कुनै पनि शक्तिले रोक्न नसक्ने बताउँदै दोस्रो चरणको चुनाव जुनसुकै हालतमा सफल हुने ठोकुवा गरे। प्रधानमन्त्री चुनावमा मत दिने र जनतालाई मत दिनबाट वञ्चित गराउने राजपाको दोहोरो चरित्रले चुनावमा कुनै प्रभाव नपर्ने उनले बताए।

नवलपुरको पत्रकार सम्मेलनमा यादवले चुनाव सार्दै जाँदा जनतामा अन्योल बढेको भन्दै चुनावप सार्नुभन्दा पनि चुनाव सफल बनाउनेतर्फ लाग्न सरकारलाई सुझाव दिए। यादवले राजपाको अवरोधले चुनावमा सामान्य अप्ठेरो परे पनि असर नपर्ने बताए। 'चुनाव जनताका लागि आवश्यक छ, कसैको आन्दोलनले चुनाव प्रभावित हुँदैन', यादवले भने, ‘चुनाव भए स्थानीय सत्ताले शक्ति पाउँछ, नभए देश र मधेसका जनताले नोक्सानी भोग्नुपर्ने हुन्छ। चुनाव मधेस र मधेसीको आवश्यकता हो।’

लोकतन्त्र, संघीयता, स्थानीय स्वायत्तता, प्रादेशिक संरचना आफूहरूकै  आन्दोलनको उपलब्धि भएको भन्दै उनले यिनलाई संस्थागत गर्न र प्राप्त उपलब्धिको रक्षा गर्न पनि चुनाव आवश्यक रहेकोमा जोड दिए। यादवले भने, ‘सरकारले चुनाव गराउन चाहे तराई मधेसमा चुनाव हुन्छ। द्वन्द्व निरुपणका लागि पनि चुनावको विकल्प छैन।’

प्रकाशित: ३० जेष्ठ २०७४ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App