नयाँ मैदान, अनुभवी खेलाडी
०८ असार २०७४
•
९ मिनेट पाठ
नयाँ मैदान, अनुभवी खेलाडी
नेपालगन्ज- २०५४ को स्थानीय निर्वाचनपछि तत्कालीन नेपालगन्ज नगरपालिका हाँक्ने कप्तान र उपकप्तान थिए- डा. धवलशमशेर राणा र समसुद्दिन सिद्धिकी। एमालेबाट मेयर र उपमेयरमा निर्वाचित दुवैजना २० वर्षपछि त्यसैगरी चुनावी मैदानमा उत्रिएका छन्। तर, अहिले उनीहरुका लागि मैदानमा केही नयाँपन छ।

राणाका लागि त टिम पनि फरक छ। उनी अहिले राप्रपाबाट मेयरमा गोल हान्ने दाउमा छन्। सिद्धिकी भने एमालेबाटै मैदानमा कप्तान तोकिएका छन्। यसअघि उपमेयरमा कुशलतापूर्वक गोल गरेका सिद्धिकी मेयरमा पनि गोल हान्न लालायित देखिन्छन्। दुई दशकपछिको खेलमा यी दुई स्पर्धी एउटा साझा पहिचानसहित मैदानमा उत्रिएका छन्। त्यो हो– चुनावी खेलको पर्याप्त अनुभव।

राणा राप्रपा र राप्रपा नेपालका तर्फबाट २०६४ र २०७० को संविधानसभा निर्वाचनमा नेपालगन्ज नगरसमेत सम्मिलित क्षेत्र नं. ३ बाट उम्मेदवार बने। झिनो अग्रतासहित तत्कालीन कांग्रेस सभापति सुशील कोइराला विजयी भएको २०७० को चुनावी खेलमा राणा उपविजेता बने। सिद्धिकी पनि एमालेको तर्फबाट २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बने तर सभासद् बन्नबाट भने चुके।

स्थानीय तह पुनःसंरचनापछि साबिकका ११ गाविस समायोजन भएर नेपालगन्ज बृहत् उपमहानगपालिका बन्यो। नगरको भूगोल र जनसंख्यामात्र बढेन, नगरचुनाव सन्दर्भमा 'अपरिचित अनुहार' भएका नयाँ मतदाता पनि भित्रिए। मैदानमा भने राणा र सिद्धिकीजस्तै अन्य प्रमुख दलले अनुभवी खेलाडीलाई चुनावी मोर्चाको कप्तानी दिएर उतारे।

नेपाली कांग्रेसको तर्फबाट उपमहानगर चुनावमा मैदानको कप्तानी पाएका डा. सुरेशकुमार कनोडिया अनुभवी खेलाडी हुन्। २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सभासद् उम्मेदवार रहेका उनीसँग पार्टीभित्रको आन्तरिक निर्वाचन र पेसागत चुनावमा सफलता पाएको अनुभव छ। नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक रहेका उनी कांग्रेस महाधिवेशन प्रतिनिधि, नेपाल मेडिकल कलेज एसोसिएसनको उपाध्यक्ष र एसोसिएसन अफ प्राइभेट मेडिकलको अध्यक्ष रहिसकेका छन्।

माओवादी केन्द्रबाट मैदानको मोर्चा सम्हालेका दामोदर आचार्य २०७० को संविधानसभा निर्वाचनमार्फत पहिलोपटक मैदान छिरेका खेलाडी हुन्। चुनावबाटै नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य भइसकेका आचार्य अनुभवी र चलाख खेलाडी मानिन्छन्।

बदलिएको मैदान

खेलाडी जतिसुकै अनुभवी र चलाख भए पनि खेल मैदानको बदलिएको संरचना सबैको लागि चुनौती बनेको छ। ६२ हजार चार सय मतदाता रहेको उपमहानरपालिकामा करिब ३० हजार मतदाता नयाँ गाभिएर आएका साविकका गाविसका हुन्। यस हिसाबले पूर्वमेयर र उपमयेर नै भए पनि झन्डै आधा मतदाताका लागि राणा र सिद्धिकी नयाँ अनुहार हुन्। यी दुईको लागि पनि ती मतदाता स्वाभाविक रुपमा नयाँ लाग्नेछन्। 'नयाँ थपिएका वडामा हाम्रो पोजिसन राम्रो भए पनि हिजोको जस्तो सहज वातावरण देखिँदैन,' एमाले उपमहानगर सचिव दत्तप्रसाद आचार्य भन्छन्, 'नयाँ भूगोल र नयाँ अनुहारले सबैलाई अलमलमा पारेको देखिन्छ,  यद्यपि हामीले पछिल्लो समय सांगठनिक अवस्था निकै सुधारेकाले यसको फाइदा स्वाभाविक रुपमा चुनावी मैदानमा देखिनेछ।'

१ देखि १२ नम्बर वडा रहेको साविकको नेपालगन्ज नगरपालिकामा स्थानीय निर्वाचन २०४९ मा कांग्रेस र २०५४ मा एमाले विजयी बनेको थियो। २०५४ को निर्वाचन परिणाम केलाउँदा नयाँ थपिएका ११ वडा (साविकका गाविस) मा भने कांग्रेसको अवस्था मजबुत देखिन्छ। साविकका बलदेवपुर, मनिकापुर र पुरैनाबाहेक अन्य आठ गाविस (कारकाँदो, उदयपुर, भवानियापुर, पिप्रहवा, जयसपुर, परस्पुर, पुरैनी र हिरमिनिया) मा कांग्रेस विजयी भएको थियो।

कांग्रेसका उपमहानगर सभापति प्रशान्त बिष्ट चुनावी मैदान जतिसुकै नयाँ भए पनि आफ्नो उम्मेदवारका लागि फरक नपर्ने बताउँछन्। स्वास्थ्य र सामाजिक क्षेत्रमार्फत जिल्लाभरि बलियो जनसम्पर्क भएकाले सबै मतदाताका लागि उत्तिकै परिचित रहेको उनको भनाइ छ। 'पहिलो कुरा त नयाँ थपिएका वडामा विगतदेखि नै हाम्रो अवस्था अत्यन्त मजबुत छ,' उनले भने, 'त्यसमाथि मेयरका हाम्रा उम्मेदवार सामाजिक सेवामार्फत जनतासँग अत्यन्तै निकट रहेकाले चुनावी मैदान अनुकूल देखिन्छ।'

माओवादी केन्द्रका उपमहानगर इन्चार्ज अतहर हुसेन फारुकी आफ्नो पार्टी र उम्मेदवारका लाागि नयाँ संरचनासहित प्रस्तुत नेपालगन्ज बिरानो नरहेको बताउँछन्। 'हामीले सांगठनिक रुपमा पनि सबै वडामा कमिटी निर्माण गरेर जनतासँग मजबुत सम्बन्ध बनाइसकेका छौं,' उनले भने, 'त्यसमाथि हाम्रा मेयर उम्मेदवारको जनतासँगको राजनीतिक तथा व्यावसायिक सम्बन्धले सहज बनाएको छ।'

राप्रपा भने आफ्ना उम्मेदवार नेपालगन्जको राजनीतिक मैदानमा 'लोकप्रिय ब्रान्ड' का रुपमा स्थापित भइसकेकाले खासै गाह्रो नभएको बताउँछ। 'उहाँ नेपालगन्जको सफल पूर्वमेयरमात्र होइन, संविधानसभा निर्वाचनमा व्यक्तित्वकै कारण लोकप्रिय भोट ल्याउन सफल नेता हो,' पार्टीका बाँके प्रवक्ता श्रीधर सुवेदी भन्छन्, 'त्यही भएर हाम्रो लागि नेपालगन्ज उपमहानगरपालिका निकै सजिलो चुनावी मैदान हो।'

संविधानसभा निर्वाचनको अर्थ

२३ वडा रहेको नेपालगन्ज उपमहानगरपालिका बाँकेका २ वटा निर्वाचन क्षेत्र पर्छन्।  पुरानो नगरपालिका (१२ वटा वडा) र साविकका परस्पुर, मनिकापुर गाविस सम्मिलित क्षेत्र नं. ३ मा २०६४ को निर्वाचनमा मधेसी जनाधिकार फोरमको तर्फबाट सर्वदेव ओझा विजयी भए। २०७० मा भने सोही क्षेत्रबाट कांग्रेसका सुशील कोइराला विजयी भए। राप्रपा दोस्रो र एमाले तेस्रो भए।

साविकका बाँकी ९ गाविस (हाल उपमहानगरका वडा) सम्मिलित क्षेत्र नं. २ मा पनि २०६४ को निर्वाचनमा मधेसी जनअधिकार फोरमका इस्तियाक राई विजयी भए। २०७० को निर्वाचनमा एमालेका दीनेशचन्द्र यादव विजयी भए। यसरी हेर्दा पछिल्लो संविधानसभा निर्वाचनबाट उपमहानगरभित्र कांग्रेस र एमालेको समान सहभागिता देखिन्छ।
अर्को समाचार
‘क्लोज फिनिस’ मा चुक्दा स्तब्ध नेपाल, ‘सुपर सिक्स’ को सम्भावना कति ?
०८ माघ २०८२
•
५ मिनेट पाठ
‘क्लोज फिनिस’ मा चुक्दा स्तब्ध नेपाल, ‘सुपर सिक्स’ को सम्भावना कति ?
घरेलु मैदान र समर्थकको साथ। जितका लागि अन्तिम ओभरमा आवश्यक १३ रन र क्रिजमा जमेका दुई अनुभवी खेलाडी। तर, नतिजा भने सोचेजस्तो भएन।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको समूह ‘बी’ को खेलमा आयोजक नेपाल नेदरल्यान्ड्ससँग झिनो अन्तरले पराजित भयो।

रोमाञ्चक खेलमा नेपाल २ रनले पराजित भएसँगै लगातार दोस्रो हार व्यहोर्न बाध्य भयो।

जारी प्रतियोगितामा १० राष्ट्रले विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन्। तर, आयोजक राष्ट्रको हैसियतमा मैदान उत्रिएको नेपालले आफ्ना सुरुवाती दुवै खेलमा नतिजा सुम्पिँदा सुपर सिक्सको यात्रा केही कठिन मोडमा पुगेको छ।

May be an image of rhinoceros and text that says 'CAN NEPAL NEPAL KIC ICC WOMEN'S T20 NEPAL UP QUALIFIER 2026 DARING RHINOS OS SUPPORTING WOM N'S CRICKET CRICI TEA I3D'
यसअघि थाइल्यान्डसँग पराजित भएको नेपालले बिहीबार नेदरल्यान्ड्सलाई कडा टक्कर दिए पनि ‘फिनिसिङ’ मा चुकेको हो। यद्यपि, समूहको शीर्ष ३ टोली सुपर सिक्समा पुग्ने प्रावधान रहेकाले नेपालको सम्भावना भने अझै कायमै छ। नेदरल्यान्ड्सले भने यो जितसँगै सुपर सिक्समा स्थान पक्का गरेको छ।

बिहीबारको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो। १४१ रनको विजय लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो।

नेपालको इनिङ्सको सुरुवात मिश्रित रह्यो। स्कोरबोर्डमा २२ रन हुँदा ३.१ ओभरमा ओपनर विन्दु रावल १८ रन बनाएर रनआउट भइन्।

लगत्तै अर्की ओपनर सम्झना खड्का १४ रन बनाएर रोबिन रिज्केको बलमा आउट हुँदा नेपालले ३५ रनमा दोस्रो विकेट गुमायो।

त्यसपछि भने नेपालको ब्याटिङ लाइनअप धर्मरायो। कप्तान इन्दू बर्मा (६ रन), विकेटकिपर काजल श्रेष्ठ (४ रन) र पूजा महतो (८ रन) सस्तैमा समेटिँदा नेपालले १०.४ ओभरमा ६२ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो।

मध्यक्रमका ब्याटरहरू एकपछि अर्को गर्दै पेभिलियन फर्किएपछि नेपालको इनिङ्स धराशायी बन्ने खतरा देखिएको थियो। १५.५ ओभरमा ९२ रन हुँदा कविता जोशी १३ रन र १६.२ ओभरमा ९३ रन हुँदा कविता कुँवर १ रनमा आउट भएपछि नेपालको हार निश्चितजस्तै देखिएको थियो।

May be an image of text that says 'CUP CAN ផ្លងញ ఫీಶಸ್ 34 NPA'
९३ रनमा ७ विकेट गुमाएको नाजुक अवस्थामा नेपालका दुई अनुभवी खेलाडी रुबिना क्षेत्री र सीता राना मगरले इनिङ्स सम्हाले। रुबिना र सीताले आठौं विकेटका लागि अविजित ४५ रनको साझेदारी गर्दै नेपाललाई जितको सँघारमा पुर्‍याएका थिए।

अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक थियो। क्रिजमा सेट भइसकेका रुबिना र सीता हुँदा आशा जीवितै थियो। तर, नेदरल्यान्ड्सको कसिलो बलिङसामु नेपाली ब्याटरले आवश्यक रन जोड्न सकेनन् र नेपाल लक्ष्यभन्दा २ रनले पछि रह्यो।

रुबिना ३२ बलमा ५ चौकासहित ३७ रनमा अविजित रहिन् भने सीताले १२ बलमा ४ चौका र १ छक्काको मद्दतले आक्रामक २७ रन बनाइन् तर टोलीलाई जिताउन त्यो पर्याप्त भएन।

खेलपछि प्रतिक्रिया दिँदै रुबिनाले टोलीले राम्रो प्रदर्शन गरेको तर अन्तिममा चुकेको बताइन्। ‘आजको खेल समग्रमा राम्रै रह्यो। हामीलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो, तर जुन प्रकारले सट खेल्न खोजेका थियौं, त्यो सोचेजस्तो भएन। अब आउने खेलमा अझ राम्रो प्रदर्शन गर्नेछौँ,’ रुबिनाले सुनाइन्।

उनले मध्यक्रममा साझेदारीको अभाव खड्किएको पनि स्विकारिन्। ‘नेदरल्यान्ड्सविरुद्ध आज हामीले राम्रो साझेदारी बनाउन सकेनौं, जसले गर्दा लगातार विकेट गइरह्यो। अन्तिमतिर मैले र सीताले एउटा साझेदारी त गर्‍यौं, तर त्यही साझेदारी इनिङ्सको बीचमा भएको भए खेलको नतिजा अर्के हुन्थ्यो होला,’ रुबिनाले थपिन्।

यसअघि नेदरल्यान्ड्सलाई १४० रनमा रोक्न नेपालले सन्तोषजनक बलिङ गरेको थियो। इनिङ्सको दोस्रो ओभरमै पूजा महतोले हेदर सिगर्स १३ रनमा आउट गरिन् भने चौथो ओभरमा सोमु विष्टले फेबे मोल्केनबोएरलाई शून्यमा फर्काइन्।

१६ रनमा २ विकेट गुमाएको नेदरल्यान्ड्सलाई कप्तान बाबेट डे लिडे र स्टेरे कालिसले सम्हालेका थिए। बाबेटले ४७ बलमा ४९ रन बनाइन् भने कालिसले ३० रन जोडिन्। रोबिन रिज्केले १९ र आइरिस जिलिङले १४ रनको योगदान दिए।

नेपालका तर्फबाट रुबिना क्षेत्रीले ३ ओभरमा २१ रन खर्चेर सर्वाधिक २ विकेट लिइन्। त्यस्तै, सोमु विष्ट, पूजा महतो, रिया शर्मा र क्यारोलिन डे लांगेले १–१ विकेट हात पारे।

नेदरल्यान्ड्सकी इसाबेल भान डर वुलिङ ३ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भइन्।

रुबिनाले समग्र टिमको सुधार भइरहेकोमा जोड दिइन्। ‘पछिल्लो खेलहरूभन्दा यो प्रतियोगितामा हामीले राम्रो रन बनाउन सकिरहेका छौं। फिल्डिङ र फिटनेसमा पनि राम्रो सुधार भइरहेको छ। हाम्रो ओपनर सेट भइरहेका छन्, यसरी नै मिडल अर्डरको पनि राम्रो साझेदारी भयो भने खेल बिस्तारै लयमा आउनेछ,’ उनले भनिन्।

नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी थाइल्यान्डको सामना गरेको थियो। सो खेलमा पनि मुख्य समस्या मिडल अर्डर नै देखिएको थियो।

थाइल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो। ओपनर विन्दु रावल र सम्झना खड्काले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए।

तर, सम्झना २६ रन बनाएर आउट भएपछि र विन्दु ४३ रनमा आउट भएपछि नेपालको ब्याटिङ तासको घरझैँ ढल्न पुग्यो। कप्तान इन्दू बर्मा ६ रन, पूजा महतो १२ रन, कविता जोशी ४ रन, सीता राना मगर शून्य र रुबिना क्षेत्री १७ रनमा आउट हुँदा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो।

कप्तान इन्दू बर्माले उक्त हारको मुख्य कारण मध्यक्रम नचल्नु नै भएको बताएकी थिइन्। ‘हामी ३०/४० रन बनाउनबाट पछि रह्यौं। हाम्रो ओपनिङ एकदमै उत्कृष्ट भएको थियो, त्यही अनुसार मध्यक्रमका ब्याटरहरू चलेको भए स्कोर राम्रो हुन्थ्यो। आजको हार मिडल अर्डर नचल्दा भएको हो,’ इन्दूले सञ्चारकर्मीसँग भनेकी थिइन्।

१२४ रनको लक्ष्य थाइल्यान्डले मात्र २ विकेट गुमाएर सहजै पूरा गरेको थियो।

लगातार दुई हारपछि नेपालको सुपर सिक्स यात्रा केही पेचिलो बनेको छ। समूह ‘बी’ मा ५ टोली रहेका छन् र शीर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।

नेपालले अब समूह चरणका बाँकी खेलहरूमा जित हासिल गर्नैपर्ने दबाब छ। घरेलु मैदानको फाइदा उठाउँदै ब्याटिङ, विशेषगरी मध्यक्रममा देखिएको समस्या सुधार्न सके नेपालले अर्को चरणमा स्थान बनाउने सम्भावना जीवितै छ।

तर, नेदरल्यान्ड्सविरुद्धको जस्तो सानो गल्तीले पनि विश्वकप खेल्ने सपनामा ठूलो धक्का लाग्न सक्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस