जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री पोखरा ल्याइएको छ। चिनका दुई वटा कार्गो जहाजबाट ती सामान बुधबार बिहान पोखरा ल्याइएको हो।
चिनले सहयोग स्वरूप दिएका ती सामाग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपालका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे। नेपाली २८ करोड रुपैयाँ मूल्य बराबरका ती सामाग्री पोखराबाट ट्रकमार्फत भूकम्प प्रभावित क्षेत्रमा पठाइने गृहमन्त्री श्रेष्ठले बताए।
चीनले दिएको राहत सामाग्री बुझ्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ।४६ सय थान ब्ल्यान्केट र ६ सय थान टेन्ट सामाग्री रहेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। सशस्त्र प्रहरीले पोखरामा रहेका ती सामाग्री ट्रक मार्फत जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रसम्म पुर्याउने उनले बताए।
प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितका लागि एक महिनाको तलब दिने भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने निर्णय गरेको जानकारी दिइन्।