सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केका मानिसले आफ्नो स्वार्थका मुलुकका ठुला, साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन्। भ्रष्टाचार, ठगी, मानव बेचबिखन, हत्यालगायत आपराधिक र विसंगत गतिविधिमा संलग्न व्यक्तिहरूले आफ्नो कर्तुत लुकाउन राजनीतिक दलहरूलाई उपयोग मात्र गरेका छैनन, बदनामसमेत गराएका छन्। बदनाम र विवादित पात्रहरूलाई पार्टीमा आश्रय र संरक्षण दिनुमा दलका नेताको पनि आफ्नै स्वार्थ देखिन्छ।
डेढ वर्षअघि विशेष अदालतले दोषी ठहर्याएर तीन करोडभन्दा बढी रूपैयाँ जरिवाना तोकेका पप्पु कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार केही दिनअघि एमालेमा प्रवेश गरे। यही मंसिर ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्। बदनाम पात्रलाई पार्टीमा ल्याउँदा केही नेता त खुसी भएका होलान् तर आमकार्यकर्तालाई भने ‘नामुद ठग’हरूको भारी बोक्न गाह्रो परिरहेको छ। रौनियार एमाले प्रवेशप्रति पार्टीकै पदाधिकारी असन्तुष्ट छन् । तर उनीहरू खुलेर बोल्न सकेका छैनन्।
रौनियार २०७४ सालमा तत्कालीन संघीय समाजवादी पार्टीको टिकटमा पर्साबाट संसद् सदस्यमा निर्वाचित भएका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७५ असोजमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परे। त्यसपछि उनी संसद्मा फर्किन पाएनन्। विशेष अदालतले २०७९ वैशाखमा सुनाएको फैसलाअनुसार रौनियारले अब चुनावमा प्रतिस्पर्धा गर्न पनि पाउँदैनन्। सर्वोच्च अदालतले पनि विशेषको फैसला सदर गरे रौनियारको संसदीय राजनीति करिबकरिब सकिनेछ । तत्कालीन संघीय समाजवादी पार्टी अहिले जनता समाजवादी पार्टी (जसपा) बनेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले वास्ता नगरेपछि रौनियार एमालेको आडमा मधेसमा राजनीति गर्ने कोसिस गर्दैछन्। प्रमुख प्रतिपक्षी एमालेले भावी सरकारको नेतृत्व गर्ने सम्भावना छ । यसैकारण रौनियारले आफ्नो स्वार्थ पूरा गर्न एमालेको फेरो समातेको आकलन गर्न सकिन्छ।
रौनियार ठेकेदार पनि हुन्। उनले ठेक्का लिएका दर्जनौं योजना अलपत्र छन्। यसबाट राज्यलाई अर्बौंको नोक्सानी भएको छ। रौनियारको हातमा अहिले पनि अझै पनि २० अर्ब ९५ करोड रूपैयाँबराबरका विभिन्न ठेक्का रहेको जानकारको दाबी छ। सडक विभागका अनुसार पक्की पुल र सडकका ६६ वटा ठेक्का उनको कम्पनी पप्पु कन्स्ट्रक्सनले पाएको छ। तीमध्ये दर्जनौं अलपत्र छन्।
एमालेले समृद्धिका लागि यही मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गको झुलाघाटदेखि चिवाभन्ज्याङसम्म पदयात्रा गर्दै छ। कार्यकर्ता परिचालन र संगठन निर्माण, राष्ट्रिय एकताको आधार निर्माण र सरकार पक्षबाट भएका गलत कामको उजागर गर्न पदयात्रा गर्न लागिएको उसले जनाएको छ। एमालेले पदयात्रा तय गरेको मध्यपहाडी लोकमार्गमा पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका दर्जनौं पुल अलपत्र छन्। सरकारी बजेट दोहोन गर्ने र विकास निर्माण अलपत्र पार्ने ठेकेदारदलाई बोकेर एमालेले मध्यपहाडी लोकमार्गकेन्द्रित पदयात्रा गर्दा कार्यकर्तामा कस्तो सन्देश जाला ? रौनियार आफूले गरेका बदमासी ढाकछोप गर्न ओलीलाई ‘रिझाएर’ एमालेमा पसेको पार्टीकै कार्यकर्ता बताउँछन्।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि यसअघि ओलीको आशीर्वादमा एमालेमा प्रवेश गरेका थिए । अहिले तिनै प्रसाईं एमाले छाडेर नेताहरूमाथि गालीगलौजमा उत्रेका छन् । २०७८ कात्तिक ७ गते झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रसाईंलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरेका थिए। त्यसअघि प्रसाईं माओवादी केन्द्रनिकट मानिन्थे । एमाले सत्तामा पुगेपछि उनी हजुरबा साइनो लगाएर ओलीसँग नजिकिएका थिए। औपचारिक रूपमा एमालेमा प्रवेश नगर्दै प्रसाईं केन्द्रीय सदस्यको रूपमा २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनमा पनि सहभागी भएका थिए । एमाले प्रवेश कार्यक्रममा प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना गरेका थिए। अहिले उनी राजसंस्था फर्काउनुपर्ने नारा लगाउँदै सडक आन्दोलनमा छन्।
अर्का विवादित लक्ष्मी महतो पनि जनता समाजवादी पार्टी छाडेर २०७९ असोज २३ गते एमाले प्रवेश गरे । सोही साल मंसिरमा भएको संसदीय निर्वाचनमा एमालेले महतोलाई महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनायो । उनले चुनाव पनि जिते । फरार भनिएका उनलाई प्रहरीले पक्राउ गरेको छैन । उनी अहिले भारतमा छन् ।
त्यस्तै कुनै बेलाका चर्चित उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार मानिएका उमेश गिरीलाई एमाले अध्यक्ष केपी ओलीले २०७४ मंसिर ४ गते फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका थिए । गिरीको गुन्डागर्दीको विरोधमा एमालेले बेलाबखत संसद्समेत तताउने गरेको थियो । एमाले नेताहरूले गिरीलाई कारबाही गर्न
पटक–पटक माग गरेका थिए । तर पछि तिनै गिरीलाई ओलीले पार्टीमा भिœयाए । भारतीय गुन्डा पप्पु भूमिहारको समूह परिचालन गरी अग्रवाललाई अपहरण गरी फिरौती लिएको, एमालेका नेता–कार्यकर्तामाथि आक्रमण गरेको आरोपसमेत उनीमाथि थियो। उनको प्रवेशलाई लिएर एमाले नेतृत्वको आलोचना भएको थियो। अहिले गिरी गुमनाम छन्।
हिन्दु युवा संघको केन्द्रीय अध्यक्ष रहेका ४५ वर्षीय काशी तिवारीको २०६७ जेठ २९ गते वीरगन्जमा गोली हानेर हत्या गरियो।
तत्कालीन माओवादी नेता प्रभु शाह, जलिम मियाँलगायतको योजनामा तिवारीको हत्या भएको अभिव्यक्ति त्यसबेलाका प्रहरी अधिकारीहरूले सार्वजनिक रूपमै दिएका थिए। पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्षसमेत रहेका मियाँमाथि कान्छा छोराकी सालीको हत्यामा संलग्न रहेको आरोपसमेत थियो। तिवारी हत्या प्रकरणमा मुछिएका साह र मियाँ पछि एमाले प्रवेश गरे। पर्सा र रौतहट एमाले वृत्तमा त्यसको विरोध भयो। अन्ततः पार्टीको निर्णय भन्दै कार्यकर्ताले ती विवादित पात्रलाई स्वीकार गरे।
त्यसैगरी तिवारी हत्यामा मुछिएका साहलाई जोगाउन ८ लाख रूपैयाँ घुस दिने पूर्वसहसचिव नागेन्द्र झा एमाले प्रवेश गरे। झालाई एमाले अध्यक्ष ओलीले २०७९ वैशाख ३ गते सर्लाही पुगेर पार्टीमा भित्र्याएका हुन्। झाले २०६८ असोज २६ गते तिवारीकी पत्नी बबितालाई ८ लाख रूपैयाँ दिई साहको नाम नलिन प्रलोभन दिएका थिए। त्यसको अडियोसमेत सार्वजनिक भएको थियो। तिवारी हत्यामा प्रभु साहको मुख्य संलग्नता भएको किटानी जाहेरी तत्कालीन पर्साका प्रहरी प्रमुख रमेश खरेलले सरकारी वकिल कार्यालयमा पेस गरेका थिए।
२०५८ सालसम्म राजावादी रहेका ल्हाक्र्याल लामा पनि एमालेमा प्रवेश गरे। स्थानीय विकास मन्त्रालयमा कमल थापाको प्रशासन चल्दासम्म गुम्बा व्यवस्थापन समितिको अध्यक्ष लामा हुन्थे। एमाले प्रवेश गरेपछि लामा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री बने। दोहोरो नागरिकता र पासपोर्ट लिएका उनले राज्यमन्त्री भएको १० दिनमै राजीनामा दिनुपर्यो। पार्टीमा खारिएका र त्यागी वीरबहादुर लामालाई पन्छाएर खनालले लामालाई अर्थराज्यमन्त्री बनाएका थिए। यसको पार्टीभित्र चर्को आलोचना भयो। तिनै लामा पछि माओवादीमा गए। अहिले उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएको छ।
विवादित मेडिकल व्यवसायी वीरगन्जका बसरुद्धिन अन्सारी पनि अहिले एमालेमा सक्रिय छन्। त्यस्तै अर्का व्यापारी मोती दुुगड एमाले उद्योग विभागको सदस्य छन्। उनी एमाले अध्यक्ष ओलीका आर्थिक व्यवस्थापक मानिन्छन्। एमाले नेतृत्वले ६० लाख रूपैयाँ लिएर विराटनगरकी उद्योगपति राज्यलक्ष्मी गोल्छालाई समानुपातिक सांसद बनाएको भन्दै पार्टीभित्र ठूलो आलोचना भएको थियो। युवा संघका नेताले गोल्छाबाट पैसा बुझेको समाचारमा आएको थियो ।
ओखलढुंगाका एमाले नेता छवि कार्की, शिक्षक उज्जन श्रेष्ठ र गणेश श्रेष्ठ, गुरु लुइँटेललगायतको हत्यामा सजाय भोगेका माओवादी नेता बालकृष्ण ढुंगेललाई पनि एमालेले संरक्षण गरेको आरोप थियो। ढुंगेलको निधन भैसकेको छ।
एमाले अध्यक्ष ओलीले माओवादीका विवादित नेता कालीबहादुर खामको पनि बेलाबेलामा चर्चा गर्छन्। गुण्डा नाइके राजीव गुरुङ (दीपक मनाङे) लाई पनि मनाङबाट सांसद बनाउन एमालेले सहयोग गरेको थियो। अर्का गुण्डा दिनेश अधिकारी ‘चरी’लाई पनि एमालेको साथ र सहयोग थियो। उनलाई प्रहरीले इन्काउन्टर गरेको थियो। अर्का गुण्डा चक्रे मिलन एमालेमै क्रियाशील छन्। युवा संघमा उनको कोटाबाट ५० जना केन्द्रीय सदस्य भएको बताइन्छ। विगतमा भीमप्रसाद गौचन, भूपाल किराँती, सत्यमान लामालगायत पञ्चलाई एमालेमा प्रवेश गराएर त्यागी र इमानदार कार्यकर्तामाथि अन्याय गरिएको पीडित बताउँछन्।
निर्वाचनमा होमिएका दलहरूले मतदाता तान्नका लागि आकर्षक घोषणापत्र बनाएर सार्वजनिक पनि गरेका छन्। घोषणापत्र बनाउने क्रममा दलहरूले पर्यटन क्षेत्रका लागि पनि महत्वाकांक्षी र आकर्षक योजना अघि सारेका छन्। हाल भईरहेको आगमनलाई दोब्बर बनाउनेदेखि विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको दर वृद्धि गर्ने, हाल भईरहेको बसाई अवधि लम्बाउने, कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदानलाई बढाउनेसम्मका योजना दलहरूको घोषणापत्रमा उल्लेख छ।
कांग्रेसले सार्वजनिक गरिको प्रतिज्ञामा आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको घोषणापत्रमा उल्लेख गरेको छ। त्यस्तै पर्यटन क्षेत्रको हिस्सा कुल गार्हस्थ्य उत्पादनमा १५ देखि २० प्रतिशत पुर्याउने लक्ष्य पनि कांग्रेसको रहेको छ। अहिले नेपालको अर्थतन्त्रमा पर्यटनको योगदान ५ प्रतिशत मात्र रहेको छ। अहिले नेपालमा वर्षभरिमा हवाई माध्यमबाट भित्रिने विदेशी पर्यटकको संख्या झन्डै १२ लाख मात्र छ।
पर्यटन बोर्डले सन् २०२५ मा जम्मा ११ लाख ५८ हजार ४ सय ५९ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएको बताएको छ। यो आगमन संख्या अघिल्लो वर्ष ११ लाख ४७ हजार ५ सय ४८ रहेको थियो। नेपालमा अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी पर्यटक २०१९ मा भित्रिएका थिए। २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए।
त्यसबाहेक कांग्रेसले शान्ति, ध्यान र आरोग्यको विश्व गन्तव्य बनाउन ‘आरोग्य नेपाल’ को नारा पनि प्रतिज्ञापत्रमा उल्लेख गरेको छ। विदेशी पर्यटकका लागि ‘वेलनेस र डिजिटल नोम्याड भिसा’ को व्यवस्था गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ। नेपाली सभ्यता र जीवनशैलीको प्रत्यक्ष अनुभवका लागि सामुदायिक होमस्टे र सहरी घरवास कार्यक्रम संचालन गर्ने पनि कांग्रेसको प्रतिज्ञामा समेटिएको छ।
नेपाल आउने विदेशी पर्यटक र आन्तरिक यात्रुका लागि हवाई भाडा सस्तो बनाउन विमानस्थल सञ्चालन, ल्याण्डिङ, पार्किङ, हवाई इन्धनको अतिरिक्त शुल्क आदि घटाई नेपाल खर्चको हिसाबले र आकर्षक गन्तव्यको रुपमा स्थापित गर्ने पनि कांग्रेसले बताएको छ। आकाशमा हुने विमान होल्डिङ समय न्यूनीकरण व्यवस्था गर्ने पनि कांग्रेसले बताएको छ। नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षा सम्बन्धी सेफ्टी लिस्टबाट हटाउन पहल गर्ने पनि कांग्रेसले बताएको छ।
पोखरा र भैरहवामा निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन र विश्वका प्रमुख सहरबाट सिधा उडान सम्पर्क गर्न उच्चस्तरीय कूटनीतिक पहल गर्ने पनि कांग्रेसले प्रतिज्ञामा उल्लेख गरेको छ। अहिले पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित छैन। संचालनमा आएको तीन वर्ष बितिसक्दा पनि पोखरा र भैरहवाले नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडानमा योगदान दिन नसक्दा आलोचना पनि हुने गरेको छ।
त्यस्तै एमालेको घोषणापत्रमा नेपालमा विदेशी पर्यटकको वृद्धि, भित्रिएका पर्यटकको बसाई अवधि बढाउने उल्लेख छ। पर्यटनको पूर्वाधार विकास, बजार प्रवर्द्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा र नयाँ गन्तव्यको विकास गरेर पाँच वर्षमा पर्यटक आगमन दोब्बर गर्ने एमालेको दावी छ। अहिलेको आगमनको हिसाबले पाँच वर्षभित्र एमालेले २४ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य घोषणापत्रमा उल्लेख गरेको छ।
कोरोना संक्रमणको प्रभाव रहिरहँदा सन् २०२१ मा नेपाल भित्रिएका विदेशी पाहुनाको बसाई अवधि सबैभन्दा बढी थियो। त्योवर्ष विदेशी पाहुनाले औसतमा १५.५ दिन नेपालमा बिताउँथे। सरकारले पर्यटकको बसाई अवधिको तथ्यांक राख्न थालेदेखिको त्यो नै सर्वाधिक बसाई अवधि थियो। त्यसअघिको वर्ष सन् २०२० मा नेपालमा विदेशी पाहुनाको बसाई अवधि औसतमा १५.१ दिन थियो।
तर, सन् २०२२ पछि नेपाल भित्रिएका विदेशी पाहुनाको बसाइँ अवधि ओरालो लाग्न थालेको थियो। २०२२ मा विदेशी पाहुनाको नेपाल बसाइँ अवधि औसतमा १३.१ दिन थियो। त्यो अवधि सन् २०२३ मा १३.२ दिन र सन् २०२४ मा १३.३ दिन थियो। कोरोना संक्रमणपछिका वर्ष बसाइँ अवधि ओरालो लागेको थियो। पछिल्लो तीनवर्षदेखि करिब एकैखालको बसाइँ अवधि रहेको सरकारी तथ्यांक छ। विदेशी पर्यटकको बसाइँ अवधि बढाउन नसक्दा लाभ लिन नसकेको व्यावसायीले बताउँदै आएका छन।
पर्यटकको बसाइँ अवधि बढाउनका लागि विभिन्न आकर्षक कार्यक्रम गर्नुपर्नेमा व्यावसायीले जोड दिँदै आएका छन। त्यसबाहेक सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय ट्राभल ब्लगर, इन्फ्लुएन्सर, वृत्तचित्र र चलचित्रमार्फत नेपालका विविध पर्यटन गन्तव्य, क्षेत्र र अनुभवको आक्रामक प्रचार–प्रसार गर्नुका साथै यस कार्यमा नेपाली डायस्पोराको समेत सक्रिय सहभागिता सुनिश्चित गर्ने एमालेको घोषणापत्रमा जनाइएको छ।
अर्काे दल रास्वपाको वाचापत्रमा भने नेपाल भित्रिने पर्यटक संख्या र उनीहरूको प्रतिव्यक्ति खर्चलाई पाँच वर्षभित्र दोब्बर पार्दै औसत बसाइ लम्ब्याउन आवश्यक नीति कार्यान्वयन गर्ने उल्लेख छ। नेपाल घुम्न आउने विदेशी पर्यटकले दैनिक ४१ अमेरिकी डलर खर्च गर्ने गरेको सरकारी तथ्यांक छ। पर्यटन मन्त्रालयको तथ्यांकमा विदेशी पर्यटकले सन् २०२३ मा औसतमा दिनमा ४१ अमेरिकी डलर खर्च गरेको उल्लेख छ। यो खर्च सन् २०२२ मा ४०.५ अमेरिकी डलर थियो। पर्यटन व्यावसायीले विदेशी पर्यटकले गरेको खर्च रकम कम भएकोले गतिविधि बढाएर खर्चने क्षमता विस्तार गर्नुपर्नेमा जोड दिँदै आएका छन्।
तर, गण्डकी प्रदेश भित्रिने विदेशी पर्यटकले गर्ने दैनिक खर्च भने समग्र मुलुकको तुलनामा बढी छ। गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको बसाई तथा खर्चको प्रवृत्तिबारे विशेष अध्ययन गरेको राष्ट्र बैंकको पोखरा कार्यालयको अनुसन्धान इकाइले गण्डकी प्रदेशमा भित्रिएका विदेशी पर्यटकले दैनिक औसतमा ५४ देखि ८९ अमेरिकी डलरसम्म खर्च गर्ने गरेको उल्लेख गरेको छ।
अध्ययन अनुसार गण्डकी प्रदेश भित्रिएका पर्यटकको भारित औसत दैनिक खर्च ६२.८९ अमेरिकी डलर छ। तर, प्याकेज लिएर गण्डकी प्रदेश घुम्न आउने पर्यटकको औसत दैनिक खर्च भने ८९.३१ अमेरिकी डलर रहेको उल्लेख छ। त्यसैगरी स्वतःस्फुर्त रुपमा खर्च गर्नेगरी गण्डकी प्रदेश भ्रमण गर्न आउने पर्यटकको दैनिक औसत खर्च भने ५४.३२ अमेरिकी डलर रहेको राष्ट्रबैंकको अध्ययनले बताएको छ।
दलहरुले घोषणापत्रमा यो पटक पर्यटन क्षेत्रलाई समेटेको भएपनि यसअघिको अभ्यासमा प्राथमिकता भने कम दिने गरेको पर्यटन क्षेत्रले बताउने गरेको छ। पर्यटकको आकार बढाउनेदेखि खर्च र बसाई अवधि दोब्बर बनाउने तथा कुल गार्हस्थ उत्पादमा दिएको योगदानलाई बढाउने भनेर दलको घोषणापत्रलाई उल्लेख गरेपनि ती महत्वाकांक्षी योजनाका रुपमा मात्र रहेको उनीहरुको भनाई छ।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘आगमन दोब्बर बनाउने, कुल गार्हस्थ उत्पादन १५ देखि २० प्रतिशत पुर्याउनु, खर्च गर्ने क्षमता वृद्धि गर्नेगरि दलहरुले घोषणापत्रमा पर्यटनलाई समेटेका छन। बाहिरबाट सुन्दा राम्रा योजना देखिन्छन। तर, यी सबै महत्वाकांक्षी योजना हुन। चाँसो दिएर लागिपरेमा पुरा गर्न नसकिने भन्ने होईन।’ पर्यटनमा राजनीतिक दलले उत्तिसारो चाँसो नदिँदा पछाडि पर्दै आएको उनले बताए।
‘नेपालले अन्तर्राष्ट्रिय बजारसँग प्रतिश्पर्धा गर्ने भनेकै पर्यटनमा हो। तर, आलोपालो सरकार चलाउँदै आएका दलहरुले यसअघि पर्यटनलाई नै बेवास्ता गर्दै आएका थिए,’ उनले भने, ‘अहिले घोषणापत्रमा समेटेका त छन। तर, वास्तविक रुपमा कत्तिको महत्व दिन्छन त्यो भने हेर्न बाँकी छ। अहिलेसम्मको अभ्यासमा दलको प्राथमिकतामा पर्यटन परेको थिएन।’ नीतिगत रुपमा काम गर्ने हो भने पर्यटनबाट अहिले भन्दा अझै बढी लाभ लिन सकिनेमा कुनै द्विविधा भने नरहेको उनले बताए।
पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने पनि अहिलेसम्म दलले पर्यटन क्षेत्रलाई बेवास्ता गरेकैले भनेजति लाभ लिन नसकेको बताउँछन। ‘दलहरुले यसअघि पनि पर्यटन विभाग बनाएका छन , तर पर्यटन क्षेत्र उनीहरुको प्राथमिकतामा परेको थिएन। विभागका लागि विभाग बनाइएको थियो,’ लामिछानेले भने, ‘यसअघि नै पर्यटनलाई महत्व दिएको भए साच्चै पर्यटन क्षेत्रले गति लिएको हुन्थ्यो। तर, दलको बेवास्तामा परेको थियो।’
अहिले चुनावको समयमा दलहरुले पर्यटनलाई प्राथमिकता राखेको देखिएको छ। ‘पर्यटनमा हामी गर्छाै भनेर कहिल्यै अघि बढेको देखिएन। यतिसम्म की भागबण्डाको राजनीतिमा पनि पर्यटन मन्त्रालय कसैले हत्तपत्ति रोज्दैनथे। पर्यटन मन्त्रालयलाई कमजोर बनाइएको थियो,’ उनले भने, ‘देशको अर्थतन्त्रमा योगदान दिएको भनेर पर्यटनलाई दलहरुले कहिल्यै बुझेनन।’
घोषणापत्रमा उल्लेख गरेको कुरालाई पुरा गर्न पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि कुटनीतिक रुपमा चासो देखाउनुपर्ने उनले बताए। ‘पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थललाई पुरा रुपमा संचालन गरेको खण्डमा मात्र पर्यटनमा केही लक्ष्य सहजै पुरा होला, नत्र सहज छैन,’ उनले भने, ‘कसरी लक्ष्य पुरा गर्ने भन्ने दलहरुले उल्लेख गरेका छैनन। समस्या थाहा भएर पनि ‘एक्सन’ मा नगएकोले पर्यटन क्षेत्र पछाडि परेको हो। सत्तामा पुगेपछि काम गर्ने चलन छैन। साच्चै लाग्ने हो अहिले घोषणापत्रमा समेटिएका कुरा पुरा गर्न असम्भव पनि छैन।’
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...