१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सीमा क्षेत्रकाे समस्या समाधान गर्न चीनलाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

 उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गरेका छन्।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टी सिजाङ्ग स्वायत्त क्षेत्रका सचिव वाङ झुङहेङसँगको भेटमा उनले सीमा क्षेत्रका किसानलाई तिब्बतमा चरनको व्यवस्था मिलाउन, नेपाली ट्रक कन्टेनर चालकलाई तिब्बत प्रवेश पास उपलब्ध गराउन तथा नेपालको उच्च हिमाली क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न आग्रह गरे।

बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपाल–चीन परम्परागत १४ वटा नाका खुलाउने सहमति भएको उल्लेख गर्दै उनले त्यसका लागि सिजाङ्ग सरकारले सहजीकरण गर्ने विश्वास गरे। ‘नेपाल–चीन सीमा क्षेत्र १४ वटा परम्परागत नाका सञ्चालन हुँदै आएको थियो। कोरोना महामारीपछि बन्द भयो। विदेशमन्त्रीसँगको भेटमा उक्त नाका खोल्ने समझदारी बनेको छ, अब सिजाङ्ग क्षेत्रले सहयोग गर्ने विश्वास व्यक्त गर्दछु’, उनले भने।

नेपाल र चीनबीच सन् १०१२ मा भएको चरनसम्बन्धी सम्झौताअनुसार पुनः चरन सुविधा उपलब्ध गराउन आग्रह गरे। नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई प्राथमिकता साथ अघि बढाउन आग्रह गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सीमावर्ती क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न अनुरोध गरे। आगामी महिना नेपालमा आयोजना हुने लगानी सम्मलेनमा सहभागी हुन उनले सिजाङ्ग सरकार, यहाँका लगानीकर्ता तथा व्यवसायीलाई आमन्त्रण गरे। उनले काठमाडौँ–ल्हासा बस सेवा पुनः सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे।

भेटमा सचिव वाङले नेपाललाई आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपालमा पूर्वाधार विकास तथा ल्हासा–काठमाडौँ बस सेवा पुनःसञ्चालन गर्न सकारात्मक रहेको बताए। चौधवटा परम्परागत नाका क्रमशः खुल्दै जानेमा उनले विश्वास दिलाए। ‘अब १४ वटा नाका खुल्छन्। नेपाली ट्रक कन्टेनर चालकलाई पास उपलब्ध गराउन अध्ययन गरिने र सडक सुरक्षाको प्रत्याभूति भएसँगै उक्त प्रक्रिया अघि बढ्छ’, उनले भने।

वार्तामा चीनका तर्फबाट चिनियाँ कम्युनिस्ट पार्टी सिजाङ्ग क्षेत्रका उपसचिव यान जिन्हाई, अर्का उपसचिव चेन योङक्वी, सिझाङ कमिटीका स्थायी समिति सदस्य दावा सीरेनलगायत उच्च पदस्थ अधिकारीको सहभागिता थियो। –रासस

प्रकाशित: १६ चैत्र २०८० १९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App