१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान छ: राजदूत अन्सारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारीबीच दुई देशको श्रम सम्बन्धबारे मंगलबारको भेटमा छलफल भएको छ।

‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौ’, मन्त्री अर्यालले राजदूतसँगको छलफलमा भने, ‘त्यसैले श्रमिकको सीप विकासमा तपाईहरुको सहयोगको अपेक्षा गर्छौ।’

भेटपछि मन्त्री अर्यालले कतारले नेपाली श्रमिकलाई रोजगारीमा अवसर दिएकोप्रति धन्यवाद दिए। ‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु। कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ। जुन प्रशंसनीय छ,’ उनले भने।

कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको राजदूत अन्सारीले बताए। श्रमिक प्राप्तिमा नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको उल्लेख गर्दै उनले नेपाली श्रमिकको सीप विकास लागि सहयोग गर्न कतार सधैँ तत्पर रहेको विश्वास दिलाएका थिए। ‘नेपाली श्रमिकको सिप विकासका लागि के के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस्’, राजदूत अन्सारीले भने, ‘हामी सबै खालको सहयोग गर्न तयार छौ।’

श्रम मन्त्रालयका अनुसार कतारमा ३ लाख ६७ हजार ३ सय ८९ नेपाली कार्यरत छन्। त्यहाँ कार्यरत श्रमिकमा पुरुष ३ लाख ५१ हजार ८ सय ३४ र महिला १५ हजार ५ सय ५५ छन्। कतारले आप्रवासी श्रमिकका लागि पनि न्यूनतम पारिश्रमिक लागू गरेको छ। 

प्रकाशित: ४ वैशाख २०८१ १६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App