२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपनिर्वाचनमा सहयोग पुर्‍याउन निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न गराउन सरकारलाई सहयोगको आग्रह गरेको छ।

बिहीबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलल सम्बद्ध निकायबाट कार्यान्वयन गर्ने गराउने गरी आवश्यक सहयोग तथा निर्देशन गर्न सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय भएको जानकारी दिए।

‘बिहीबार बसेको आयोगको बैठकबाट आगामी वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्य र बझाङ जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा रिक्त रहेको प्रदेशसभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन सम्बद्ध निकायबाट कार्यान्वयन गर्ने गराउने गरी आवश्यक सहयोग तथा निर्देशन हुन सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय गरेको छ,’ उनले भने, ‘उपनिर्वाचन हुने जिल्लाहरूको विद्युत् र खानेपानी आपूर्तिको व्यवस्था नियमित गराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिनेसमेत निर्णय भएको छ।’

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्र भित्रको यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाई जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्थाका साथै तोकिएको मतदानस्थल र मतदान केन्द्रहरूसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारहरू समेत सरकार तथा प्रदेश सरकारका सम्बद्ध निकाय एवम् स्थानीय तहबाट प्राथमिकताका साथ आवश्यक मर्मत सम्भार गरी गराई सुचारू अवस्थामा राख्ने व्यवस्था गर्ने।

त्यस्तै उपनिर्वाचन हुने जिल्लाभित्रका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल टेलिकम, निजी क्षेत्रका सञ्चार सेवा प्रदायक संस्था तथा विकास आयोजना लगायत सरकारी निकायका वायरलेस, टेलिफोन, फ्याक्स तथा अन्य सञ्चार साधनहरू मर्मत र सेवा विस्तार गर्नुपर्ने भए तत्काल मर्मत र सेवा विस्तार गरी चालु अवस्थामा राख्न लगाउने र निर्वाचनको कामका लागि आवश्यक भएमा सम्बन्धित निकायले तत्काल प्राथमिकता दिई उपलब्ध गराउने व्यवस्था गर्ने।

उपनिर्वाचन हुने जिल्लाका सरकारी, सामुदायिक तथा निजी अस्पताल, नर्सिङ होम लगायत स्वास्थ्य संस्थाहरू निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाउनका साथै जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरू सुचारू अवस्थामा राख्ने तथा जिल्लामा रहेका दमकललाई चालु हालतमा राखी निर्वाचनको क्रममा आवश्यक परेको बखत तत्काल प्रयोग गर्न सक्ने व्यवस्था गर्नेदेखि प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनका क्रममा नियुक्त गरिएका वा खटाइएका वा तोकिएका वा आयोगको निर्देशन, आदेश पालना गनुपर्ने कर्तव्य भएका कुनै निजामती वा प्रदेश वा स्थानीय तह वा अन्य सरकारी निकायका कर्मचारी वा सुरक्षाकर्मीले कुनै किसिमको डर, धम्की वा प्रलोभन दिएमा वा वल प्रयोग गरी आफ्नो कर्तव्य पालना गर्न वा गराउनबाट विचलित गराएमा उक्त कार्यलाई निर्वाचन कसुर मानिने व्यवस्था रहेकोले कानुनको वर्खिलाप हुने गरी कहीं कतैबाट यस्तो कुनै कार्य नहुन र भए गरेको पाइएमा कानुन बमोजिम आवश्यक कारबाही गर्ने गराउने व्यवस्था गर्नेलगायत विषय लेखी पठाइएको छ।

उपनिर्वाचन हुने जिल्लामा विद्युत्, खानेपानी, यातायात, सञ्चार, स्वास्थ्य, दमकल जस्ता सेवा तन्दुरुस्त राख्न र निर्वाचन क्षेत्रमा खटाइएका सुरक्षाकर्मी, कर्मचारीलाई सुरक्षित कार्य सम्पादन गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो। प्रतिनिधिसभाको इलाम २ र बझाङको प्रदेशसभा १ (क)मा हुने उपनिर्वाचन सम्पन्न गर्न गत चैत २८ गतेदेखि आचारसंहिता लागु भएको छ।

प्रकाशित: ७ वैशाख २०८१ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App