२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेको ‘हीरक महोत्सव’मा प्रधानमन्त्री दाहाल र देउवा विशेष वक्ता

नेकपा (एमाले) ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना दिवसको हीरक महोत्सव मनाउने भएको छ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी एमालेले नेकपा स्थापना दिवसको ७५ वर्ष पूरा गरेको अवसर पारेर सो महोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो।

गोदावरीको सनराईज हलमा आयोजना हुने सो विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष अतिथिको रूपमा सहभागी हुने एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए।

उक्त समारोहमा एमालेले भने पार्टीको तर्फबाट नेपालको कम्युनिस्ट आन्दोलनको ७५ वर्षको विभिन्न आरोह अवरोह समावेश गरिएको भिडियो डकुमेन्ट्री प्रस्तुत गर्दै छ। महासचिव पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलनको विकास र समृद्धिको सन्दर्भसहितको पार्टीको भावी कार्यक्रमबारे आफ्नो दृष्टिकोणहरू राख्ने बताए।

त्यसैगरी एमालेले सोही हलमा वैशाख ८ र ९ गते (भोलि र पर्सी) पार्टीका महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बोलाएको छ।

महासचिव पोखरेलले भने, ‘१० गतेका दिन हामी चाहिँ पार्टी स्थापनाको ७५ औँ वर्ष, जसलाई हामी हीरक महोत्सवको रूपमा आयोजना गरिराखेका छाैँ र १० गते पार्टी स्थापनाको दिन जसलाई हामी हीरक महोत्सवको अन्तिम दिनको रूपमा विशेष समारोहको रूपमा आयोजना गर्दैछौं। र हामीले अघि चर्चा गरिसकेका छौँ। त्यो समारोहमा हामीले नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विपक्ष दलका नेता शेरबहादुर देउवाजीलाई विशेष वक्ताको रूपमा आमन्त्रित गरेका छौँ। र अर्कोतर्फबाट हामीले हाम्रो पार्टीको तर्फबाट चाहिँ ७५ वर्षमा कम्युनिस्ट आन्दोलनको चाहिँ आरोह–अवरोध झल्किने खालको भिडियो डकुमेन्ट्री प्रस्तुत गर्ने काम गर्नेछौँ। र भविष्यमा हामी कसरी अगाडि बढ्दछौँ भन्ने कुराको सन्देश पनि हामी त्यसको माध्यमबाट कम्युनिस्ट आन्दोलनको विकास र समृद्धिको सन्दर्भका बारेमा हाम्रा दृष्टिकोणहरू त्यो हीरक महोत्सवको अवसरमा प्रस्तुत गर्ने कुरा म तपाईँहरूको बिचमा राख्न चाहन्छु।’

महासचिव पोखरेलले एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा केन्द्रीय सदस्यसहित २४ सय ५४ जना प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने एमालेले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०८१ २०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App