इलाम क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि मतदान केन्द्रसम्म सामग्री पठाइँदै छ। सियोदेखि सलाईसम्म ४२ प्रकारका सामग्री मतदान केन्द्रमा प्रयोग गरिँदै छ।
निर्वाचन कार्यालयका अनुसार यो उपनिर्वाचनमा गत निर्वाचनभन्दा थोरैखाले सामान मात्र मतदान केन्द्रमा प्रयोग हुनेछन्। यसअघिका निर्वाचनमध्ये कुनैमा ६४ र कुनैमा ६८ प्रकारका सामान प्रयोग भएका थिए। बर्खा र हिउँदमा भएका निर्वाचनमा पनि सामानको प्रकारका केही फरक पर्ने गरेको छ।
यसपटक मतदान केन्द्रमा नउड्ने मसीको मार्कर पेन, मतपेटिका स्टिकर, स्वस्तिक छाप पित्तल÷रबर, लाहा, मार्कर पेन, स्टिज मेसिन, स्टिज पिन, कैंची, ग्लुस्टिक, पन्चिङ मेसिन, धागो, सियो, फलाटिन कपडा, सलाई, जेलपेन (कालो), जेलपेन (रातो) र मैनबत्तीसम्म प्रयोग गरिँदै छ।
यसैगरी कर्मचारी, स्वयंसेवक, निर्वाचन प्रतिनिधि परिचयपत्र, कार्ड र डोरी, कपडाको थैला, अनुसूचीको रोल, प्याकिङ टेप, भित्र र बाहिर लेखिएको महिला र पुरुषको रोल गरिएको बाँधिएको कार्ड, क्लिप पिन पनि मतदान केन्द्रमा प्रयोग गरिने छ।
मतपेटिका, छेकाबार, प्लास्टिक सुतलीको रोल, स्टाम्प प्याड, स्टाम्प प्याडको मसी, प्लास्टिकको बोरा, प्लास्टिकको थैला, दुई मिटर कोरा कपडाको टुक्रा, सोसर, स्केल, रबर म्याट, फाइल, ठूलो खाम, सानो खाम, फाइल लेस, निविदा पत्र र सेतो कागज पनि मतदान केन्द्रमा प्रयोग हुँदैछन्।
मतदाता नामावली रंगीन खामभित्र, मतदाता नामवली श्वामश्वेत र सुरक्षण सिल पनि मतदान केन्द्र पठाइएको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बुले जानकारी दिए।
‘मतदान केन्द्रमा खटिएका कर्मचारीलाई धमाधाम सामान जिम्मा दिएर पठाउँदै छौं’, उनले भने, ‘१२ गते ४ बजेसम्ममा सबैतिर सामान पुग्ने गरी पठाएका छौं।’ टाढाका केन्द्रमा जाने कर्मचारीलाई मंगलबार नै सामान पठाइएको छ। नजिककालाई बुधबार पनि सामान जिम्मा लगाइएको लिम्बुले बताए। मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित अन्य कर्मचारीलाई निर्वाचन सामग्री दिएर पठाइएको हो।
इलाम क्षेत्र २ मा ७९ मतदानस्थल र एक सय ४९ केन्द्र छन्। कर्मचारी र सामग्रीसँगै सुरक्षाकर्मी पनि जाने जिल्ला सुरक्षा समितिले जनाएको छ। सबै मतदान केन्द्रलाई अति संवेदनशीलमा राखेको सुरक्षा समितिले यसपटक निर्वाचन सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था अपनाइएको जनाएको छ।
निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ जना नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र सात सय नेपाली सेना र अनुसन्धानका १५ जना परिचालन हुनेछन्।
प्रकाशित: १२ वैशाख २०८१ १३:१५ बुधबार