२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कुम्भ मेलाले सम्पूर्ण मानवलाई एकताको सूत्रमा बाँधेको छ: ओली

सुनसरीको बराहक्षेत्रमा लागेको महाकुम्भ मेलाले सम्पूर्ण मानवलाई एकताको सूत्रमा बाँध्न सहयोग गरेको नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

उनले बराहक्षेत्र देवभूमि, पून्यभूमि, तपोभूमि र ज्ञानभूमि भएको बताउँदै कुम्भ मेलाले सम्पूर्ण मानवलाई एकताबद्ध गराएको बताए।

‘बराहक्षेत्रमा लागेको कुम्भ मेलाले विश्व मानवमा बन्धुत्व, भातृत्व, मित्रता, सद्भाव र सहअस्तित्व कायम गरेको छ,’ अध्यक्ष ओलीले शनिबार दिउँसो सुनसरीको चतराधाम कुम्भ मेलाको धार्मिक सभामा भने ‘बराहक्षेत्र ज्ञानको भूमि भएकाले यस्तो पुन्यभूमिको विकास गर्न सरकार लाग्नुपर्छ।’

ओलीले कुम्भ मेलाको नेतृत्वकर्ता जगत गुरु बालसन्त मोहन शरण देवाचार्यको प्रशंसा गरे।

कुम्भ मेला सुरु भएको १९ औं दिन शनिबार एकै दिन चार लाखभन्दा बढी भक्तजनले स्नान गरेको आयोजकले जनाएको छ। १९ दिनको अवधिमा १२ लाखभन्दा बढीले स्नान गरेका छन्।

पछिल्लो दिनमा कुम्भ मेलामा थामि नसक्ने गरि भीड हुने गरेको छ। चैत २७ गतेदेखि सुरु भएको कुम्भ मेला एक महिनासम्म चल्नेछ।

अमृतको तर नै भेटिएको पिण्डेश्वरस्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ कुम्भ मेला लाग्ने गरेको छ।

समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ–जहाँ अमृत खस्यो खस्यो त्यहाँ–त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ। नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानी पनि रहेको छ।

नेपालमा पहिलो पटक २०५९ सालको चैत शुक्ल प्रतिपदा अर्थात् चैत ६ गते देखि वैशाख शुक्ल तृतीया सम्म एक महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो। जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो।

यस्तै, चतराधाममा २०६३/०६४ मा दोस्रो कुम्भ, २०७०/०७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/०७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला लागेको थियो।

कुम्भ मेलामा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने विश्वास रहेको छ। बराहक्षेत्रको चतरामा १२/१२ वर्षमा महाकुम्भ मेला र ६/६ वर्षमा अर्ध कुम्भमेला लाग्ने गर्छ।

प्रकाशित: १५ वैशाख २०८१ २०:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App