६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

जापानी विदेशमन्त्रीको नेपाल भ्रमण सम्बन्धको उच्चता

फाइल तस्वीर

नेपालको बलियो विकास साझेदारका रूपमा रहेको जापानी विदेशमन्त्री योको खामिखावा एक दिने भ्रमण पूरा गरी आइतबार राति स्वदेश फर्केकी छन्। विदेश मन्त्रालयको जिम्मेवारी ग्रहण गरेपछि उनको यो पहिलो नेपाल भ्रमण हो।

नेपाल भ्रमणका अवसरमा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल र समकक्षी उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरिन्। उनले आइतबार अपराह्न वसन्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमण पनि गरेकी थिइन्।

खामिखावासँगै नेपाल भ्रमणमा आएकी जापानी विदेश मन्त्रालयकी प्रेस सचिव/प्रेस तथा सार्वजनिक कूटनीतिकी महानिर्देशक मारिको कानेकोले अन्तर्राष्ट्रिय कानुनमा आधारित विश्व व्यवस्था कायम हुनुपर्ने बताइन्। ‘हामीले स्वतन्त्र र खुला विश्व व्यवस्थाका निम्ति एकअर्कालाई सहयोग गर्नुपर्छ,’ उनले सम्पादकहरूको समूहलाई सम्बोधन गर्दै भनिन्, ‘रुसले युक्रेनमा आक्रमण गरेर अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको छ।’

साना मुलुकहरूले कानुनमा आधारित अन्तर्राष्ट्रिय विश्व व्यवस्थाका निम्ति क्रियाशील हुनुपर्ने कानेकोको स्पष्ट सन्देश थियो।

भारत र चीनजस्ता ठुला मुलुकसँग जोडिएको नेपाल जापानको निकट छिमेकी नभए पनि चीनसँग आफ्नो मुलुक जोडिएका कारण आफू पनि छिमेकी नै रहेको उनले बताइन्। जापानको निकट छिमेकी मुलुक रुस रहेको छ। आफ्नो मुलुकको उत्तरी क्षेत्रमा सीमा विवाद रहे पनि संवाद जारी रहेको उनले बताइन्।

विश्वमा अहिले देखिएका द्वन्द्वमा क्रममा कानुनमा आधारित विश्व व्यवस्था कमजोर रहेको र साना राष्ट्रमाथि अन्याय हुने हुँदा आवाज उठाउन सबै तत्पर हुनुपर्ने जापानको धारणा रहेको उनले बताइन्। इजरायल र हमासबीच अहिले भइरहेको द्वन्द्वमा समेत कानेकोले हमास र प्यालेस्टाइनलाई छुट्याएर हेर्नुपर्ने बताइन्। जनता प्यालेस्टाइनी हुन् तर हमासका गतिविधि आतंकाकारी रहेको टिप्पणी उनको थियो।

नेपाल सन् २०२६ पछि अल्पविकसित मुलुकमा प्रवेश गर्न लागेको उल्लेख गर्दै त्यो बेला पनि जापानले नेपाललाई निरन्तर सहयोग गरिरहने बताइन्। भर्खरै उद्घाटन भएको नागढुंगा सुरुङलाई पनि उनले जापानी सहयोगको पछिल्लो उदाहरणका रूपमा प्रस्तुत गरिन्।

जापानले नेपालको विकास र पूर्वाधारमा निरन्तर सहयोग गरिरहेको र यस्तो सहयोग ऐतिहासिक सम्बन्धकै आधारमा जारी रहेको उनले बताइन्। ‘नेपालमा पहिलो पटक सुरुङ निर्माण भएको छ, यसबाट हामी धेरै खुसी छौं,’ उनले भनिन्, ‘यो हामीबीच सधैं सम्झनायोग्य परियोजना हुनेछ। दुई देशका जनताबीचको सम्बन्ध इतिहासजत्तिकै लामो छ। हाम्रो मित्रता लामो छ, हामी अरू बढ्ता सहयोगका निम्ति तत्पर छौं।’

प्रकाशित: २४ वैशाख २०८१ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App