७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कोसी ब्यारेज क्षेत्रमा भारतले मिच्यो नेपाली भूमि!

नेपालले भारतसँग सीमा मानेको भन्दा माथितिर स्थापना गरिएको स्तम्भ नम्बर २०७/९। तस्बिर: नागरिक

सप्तकोसी नदीले केही वर्षअघि कोसी ब्यारेजभन्दा दक्षिण–पूर्वतर्फ धार परिवर्तन गरेको थियो। जसका कारण त्यहाँको सीमास्तम्भ ‘गायब’ भयो। सुनसरीको कोसी गाउँपालिका–८ मा पर्ने सो स्थानका स्थानीयका अनुसार खोलाले धार परिवर्तन नगरुन्जेल अहिले सीमास्तम्भ रहेको स्थानभन्दा तीन सय मिटर दक्षिणतर्फ हाल खोला बगिरहेको स्थान नै नेपाल–भारत सीमा हो। तर नेपालले भारतसँग सीमा मानेको भन्दा केही माथि अर्थात् नेपालतर्फ नै स्तम्भ नम्बर २०७÷९ राखिएको स्थानीयको दाबी छ।

नदीले बगाएर सीमास्तम्भ ‘गायब’ भएपछि नेपालतर्फको भूमि मिचिएको स्थानीय बताउँछन्। ‘कोसीका बीचमा रहेको सीमा गायब भएपछि नयाँ स्थापना गर्दा पहिलाको भन्दा अलिकति उत्तरतर्फ सारिएको हो,’ ३० वर्षयता कोसी ब्यारेजपूर्वतर्फको बस्तीमा बसोबास गर्दै आएका कोसी–८ का गणेश तामाङले भने, ‘यसमा सरकारले गम्भीर भएर पुनः अध्ययन गर्नुपर्छ।’

उनका अनुसार कोसी नदीले धार परिवर्तन गरेर सीमास्तम्भ बगाएपछि सन् २०१४ पछि उत्तरतिर सारेर नयाँ स्थापना गरिएको हो।

नेपाल–भारतको सीमा विशेषगरी सुनसरीको कोसी गाउँपालिकामा बढी नै बांगोटिंगो छ। भारतको भीमनगर आउजाउ गर्ने नाका कोसी गाउँपालिका–८ पूर्व–पश्चिम राजमार्गभन्दा झन्डै ३० मिटर मात्र दुरीमा २०६/६ नम्बरको पिल्लर छ।

 ‘हुन त नेपाल–भारतको सीमा एकदमै घुमाउरो छ,’ कोसी गाउँपालिका–८ मै बसोबास गर्ने ९५ वर्षीय जेठा लामाले भने, ‘मेरा बुवाको पालादेखि म यहीँ बस्दै आएको हुँ। नेपाल–भारत सीमामा कुनै समस्या त देखिन्न तर सुनसरीको पश्चिमतर्फ अन्तिम पिल्लर (२०७/९) चाहिँ यताउता भएको हुन सक्नेमा हामीलाई  शंका छ।’

स्थानीयमा संशय पैदा भइरहँदा सुनसरीमा २३ वटा सीमास्तम्भ रेकर्डमा भए पनि फिल्डमा चाहिँ नभएको सशस्त्र प्रहरीको सीमा सुरक्षा बल सुनसरीले जनाएको छ। फिल्डमा १९ सहायक र चारवटा मुख्य स्तम्भ भेटिएका छैनन्। सशस्त्र प्रहरीको रेकर्डअनुसार २०७४/७५ मा सुनसरीमा ११ नयाँ सीमास्तम्भ बनाइएका थिए भने चारवटाको पुनर्निर्माण गरिएको थियो। यस्तै २०७५/७६ मा तीनवटा नयाँ सीमास्तम्भ निर्माण गरिएको थियो।

पछिल्लो समय सशस्त्र प्रहरीले सुनसरीमा १३३ वटा सीमा स्तम्भ रङरोगन गरेको थियो। सुनसरीमा मुख्य, सहायक, सानो र रिफ्रेन्स गरी २९० वटा सीमास्तम्भ छन्। २०४५ सालमा मन्त्रिपरिषद्को निर्णयबाट सीमासम्बन्धी ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ लागु भएको थियो।

सीमासम्बन्धी यो सिद्धान्तले सुगौली सन्धि हुँदाका बखतको नक्सालाई आधार मानेर सीमा क्षेत्रमा जहाँ नदी बगेको थियो, त्यसैलाई दुई देशबीचको सीमा मानेर सन् २०१४ पछि समस्या समाधान गरिएको नापी विभागका प्रवक्ता दामोदर ढकालले बताए।

‘दुई सय वर्षअघि खोला बगेको नक्सा र अहिलेको पक्कै पनि मिल्दैन। गाउँले स्थानीयले प्राविधिक कुरामा कमै मात्र ज्ञान हुँदा पनि समस्या हुने गरेको हो,’ उनले नागरिकसँग टेलिफोनमा भने।

नेपाल–भारतबीचको सीमाबारे बेलाबेलामा विवाद चर्किने गरेको छ। यसको दीर्घकालीन समस्या समाधानका लागि नेपाल सरकारले गम्भीर भएर लाग्नुपर्ने कोसी–८ कै सोमालाल मण्डलले बताए।

बेलाबेलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाल प्रवेश गरेर दुःख दिने गरेको घटनाले भावुक हुँदै उनले यस्ता समस्या पनि सधैंका लागि समाधान हुनुपर्ने बताए।

घटनाक्रमअनुसार २०७२ मंसिर ९ गते कोसी गाउँपालिका–८ मै (साबिक हरिपुरमा) भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले गाउँलेमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा चार जना घाइते भएका थिए।

नेपाली गाउँमा प्रवेश गरी ताकीताकी गोली हान्ने एसएसबीका जवानलाई कारबाही नभएकोमा गाउँलेहरूलाई अझै चित्त दुख्ने गरेको छ। अहिले पनि उक्त घटना सम्झँदा आङ सिरिङ्ङ हुने उनीहरू बताउँछन्। 

प्रकाशित: २८ वैशाख २०८१ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App