८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपा फुटले मधेसमा हलचल, एमालेले साथ नछोड्ने भएपछि सरकार सुरक्षित

पार्टी विभाजनपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको मधेस सरकार धरापमा परेको चर्चाले राजनीति तरंगीत बनेको छ, तर सत्ताधारी प्रमुख दल नेकपा (एमाले) तत्कालै सरकारको साथ नछोड्ने निष्कर्षमा पुगेपछि मधेस सरकार तत्कालका लागि सुरक्षित देखिएको छ।  

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले नबाहिरिएसम्म सरकार सुरक्षित देखिएको हो। मधेस प्रदेशमा एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार मन्त्री सरोज यादवले नागरिकसँग भने, ‘तत्काल सरकार ढाल्ने वा समर्थन फिर्ता लिने कुनै कुरा भएको छैन। वर्तमान सरकार ढाल्नेबारे मैले कुनै छलफल वा वार्ता चलाएको पनि छैन। यो हल्ला कहाँबाट फैलिएको छ, मलाई थाहा भएन।’

यस्तै,माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले सरकारबाट समर्थन फिर्ता लिने छलफल चलाएको स्वीकार गरेका छन्। उनले भने, ‘छलफल चलाएको छुँ, अहिलेसम्म कुनै ठोस निर्णय भैसकेको छैन।’ उनले कुनकुन दलसँग छलफल भएको छ भन्ने कुरा खुलाएनन्।

सत्ता साझेदार दलहरु पहिला सरकारबाट बाहिरिएर प्रतिपक्षको कित्तामा उभिनुपर्ने प्रतिपक्षी दल जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव बताउँछन्। ‘प्रतिपक्षी कित्तामा उभिएपछि मात्र अर्को सत्ता गठबन्धन बनाउनेबारे छलफल अघि बढ्छ’,उनले भने।

१ सय ७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। जसपा संसदीय दलका नेता यादव नेतृत्वको सरकारलाई अहिले एमाले, माओवादी, एकीकृत समाजवादीको समर्थन छ। पछिल्लो पटक वैशाख ४ गते मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत लिएका थिए। ६१ जना प्रदेशसभा सदस्यले यादवको पक्षमा मतदान गरेका थिए।

प्रदेशसभामा एमालेका सभामुखसहित २५, माओवादीका ९, एकीकृत समाजवादीका ७, लोसपाका ८ र जसपा नेपालका १९ सांसद छन्। कांग्रेसका २२, जनमतका १३, राप्रपाका १, नागरिक उन्मुक्ति १ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।  

स्वतन्त्र सांसदहरू प्रमोद जयसवाल एमालेबाट शिक्षा तथा संस्कृति मन्त्री छन्। जसपा नेपालमा प्रवेश गरेकी स्वतन्त्र सांसद सुरिता कुमारी साह युवा तथा खेलकुद मन्त्री छन्। यस्तै, सप्तरीबाट स्वतन्त्र जितेका अनिरुद्धकुमार सिंह जसपा नेपालमा प्रवेश गरेका छन्।

वर्तमान सत्ता गठबन्धनलाई टिकाइराख्न मुख्यमन्त्री यादव कसरतमा लागेका छन् । सकेसम्म यसै गठबन्धनलाई अघि बढाउने सोचमा जसपा छ। जसपाका प्रमुख सचेतक रामअशिष यादवले भने, ‘संघीय सरकारको सत्ता समीकरण याथावत रहेकोले प्रदेशमा पनि जसपा नेतृत्वको सरकार अहिलेसम्म ढुक्क छ। हामी यो सत्ता समीकरणलाई अगाडि लिएर जाने पक्षमा छौं’, उनले भने।

‘संघीय समीकरण कसरी अघि बढ्न र त्यसले प्रदेशलाई कसरी प्रभावित गर्छ भन्न सकिन्न। हामी यसै गठबन्धनलाई मजबुत बनाएर प्रदेशबासीको भावनाअनुसार काम गर्न इच्छुक छौं’, उनी भन्छन्।

यता वर्तमान सत्ता गठबन्धन फेरिएर जसपा नेतृत्वको प्रदेश सरकारबाट गठबन्धन दल समर्थन फिर्ता लिए सरकार धरापमा पर्नेछ। त्यो बेला जसपाले कांग्रेस, लोसपाका साथै एकीकृत समाजवादीको पनि साथ पाएमात्र सरकार गठन गर्न सक्छ। एकीकृत समाजवादी र लोसपाबिना जसपा नेपालको नेतृत्वमै अर्को सरकार गठन कठिन देखिन्छ।

संघीय सरकारबाट जसपा नेपाल नबाहिरिएसम्म मधेस सरकार सुरक्षित देखिन्छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव संघीय सरकारमा उपप्रधान एवं स्वास्थ्य मन्त्री छन्।  

२०७९ पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका यादव भने त्यसयता लगातार मधेस प्रदेशका मुख्यमन्त्री हुन्। करिव १६ महिना कार्यकालमा मुख्यमन्त्री यादवले चार पटक विश्वासको मत लिइसकेका छन्।

प्रकाशित: २८ वैशाख २०८१ १२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App