बजेटमाथिको छलफलसँगै अघि बढ्दै विधेयकहरू
२६ जेष्ठ २०८१
•
७ मिनेट पाठ
बजेटमाथिको छलफलसँगै अघि बढ्दै विधेयकहरू
जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था संसद्ले आफ्ना कामकारबाहीलाई यतिखेर निरन्तररुपमा अघि बढाएको छ। मुलुकको सङ्घीय संसद्मा पछिल्ला दिनमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटको सैद्धान्तिक छलफलका साथै विभिन्न विधेयकमाथिका छलफलले निरन्तरता पाएको छ।




संसदीय शासन प्रणालीमा नीति निर्धारण तथा कानुन निर्माणको कामको व्यवस्थापन संसद्कै कार्यविधिबाट हुन्छ। नीति निर्धारण तथा कानुन निर्माणमा दलहरू त्था सांसदहरुबीचको सघन संवाद र लोकतान्त्रिक विधिको उच्चतम प्रयोगले यी कार्यहरुमा उत्प्रेरणा पैदा गर्ने गर्दछ। 

जनताका प्रतिनिधिको स्वीकृतिबिना कुनै कर नलगाइने भन्ने सिद्धान्त रहेकाले पनि संसदीय गतिविधि, निर्णय र निर्देशनको अनिवार्यताको कल्पना संविधानले गरेको छ। यस सन्दर्भमा संसदीय गतिविधि निर्वाध सञ्चालन हुनु र जनसवालका विषयका साथै सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रम, बजेट र विभिन्न विधेयकमाथि खुला छलफल हुनुले लोकतन्त्रको सौन्दर्यकै अभिवृद्धि गर्छ।

दलहरुबीच मतैक्य नहुँदा थालनीका दिनहरुमा बैठक सञ्चालन सहज हुन नसकेको सङ्घीय संसद्को चालु अधिवेशनका कामकारबाही अहिले निर्वाध बन्दै गएका छन्।

आगामी आवको बजेट प्रस्तुतियता नियमित बैठकहरु र छलफल जारी रहेपछि सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत पदाधिकारी, राजनीतिक दलका नेता, सांसद र संसद् सचिवालयका कर्मचारी कार्यसूचीका आधारमा कार्यजिम्मेवारी सम्पादन गर्न व्यस्त देखिन्छन्।

संसद्का बैठकका विशेष र शून्य समयमा सांसदहरुले आफूलाई लागेका जनजीवन र समसामयिक विषयमा विचार राख्ने क्रम जारी छ। सो क्रममा राजनीतिक छेडछाडको दोहोरी पनि चलेकै देखिन्छ। सहज रूपमा सञ्चालन भएका बैठकमा सांसदले राखेका विचारलाई जनताको सार्वभौमसत्ताको प्रयोगकै अवसरका रुपमा लिन सकिन्छ।

यस बीचमा यही जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनबाट प्रस्तुत आगामी आर्थिक आर्थिक वर्ष २०८१/८२ को बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि सामान्य (सैद्धान्तिक) छलफल सम्पन्न भएको छ। दुवै सदनमा सांसदबाट सो विषयमा उठाइएका प्रश्नमाथि मन्त्री पुनले जवाफ दिइसकेका छन्।

मन्त्री पुनले विगत वर्षमा गरिएको आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिँदो विश्व अर्थ व्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको सुनाए।

उनले उत्पादन र रोजगारका अवसर सिर्जना गर्ने उल्लेख गर्दै बजेटले समन्वयात्मक भूमिका निर्वाह गरी लक्षित राजस्व सङ्कलनमा सफलता मिल्ने विश्वास व्यक्त गरे।

मन्त्री पुनले नयाँ करका रुपमा हरित कर थालनी गरिएको उल्लेख गर्दै मुलुकले सौर्य र नवीकरणीय ऊर्जातर्फ सरकारले ध्यान दिएको स्पष्ट गर्दै आलु, प्याज र स्याउको आन्तरिक उत्पादनलाई संरक्षण दिन मूल्य अभिवृद्धि कर हटाइएको बताए।

छलफलमा सांसदहरुले विनियोजन गरिएको बजेटले लिएका लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न जोड दिएका विषयमा अर्थमन्त्री पुनले गम्भीरतापूर्वक लिएको देखिन्थ्यो।

प्रतिनिधिसभामा यही जेठ २२ गते बजेटको छलफल चलिरहँदा राष्ट्रियसभामा मन्त्री पुनले जवाफ दिन जानुपर्ने भएकाले प्रतिनिधिसभाको बैठकको छलफल चल्दाचल्दै उनको खोजी भए पनि १५ मिनेटका लागि बैठक स्थगन गर्नुपरेको थियो। दुवै सदनमा उही समयमा एकै विषयमा छलफल चल्दाका यस किसिमका समस्या विगतमा पनि नदेखिएका होइनन्।

विगतमाझैँ यस वर्ष पनि सत्तापक्षका सांसदहरुले मूलरुपमा बजेटको समर्थन र विपक्षी सांसदले आलोचना गर्ने क्रम देखियो। सत्तापक्षकै सांसदबाट असन्तुष्टिका स्वर पनि बजेटमाथि गुञ्जिएका छन्।

उदाहरणका रुपमा नेकपा एमाले का सांसद गोकर्णराज विष्टले बजेटमा पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रुपान्तरणकारी क्षेत्र छुट्टयाइनु सकारात्मक रहे पनि प्रस्तावित कार्यक्रम तथा रकम विनियोजनबीचको समुचित व्यवस्थापन नभएको टिप्पणी गरे।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल सरकारको आगामी आवको बजेट यथार्थमा आधारित नभई महत्वाकाङ्क्षी भएको बताए। 

कांग्रेसकै सांसद डा. आरजु राणा देउवाले आगामी वर्षको यस बजेटलाई थप प्रभावकारी र कार्यान्वयनमुखी बनाउन बुँदागत रुपमा सुझाव दिए। सत्तापक्षकै सांसदले बजेटको स्वामित्व कसले लिने भन्ने प्रश्न गर्दा बजेट कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने देखिन्छ।

अर्थमन्त्री पुनले ती सबै सुझावलाई रचनात्मकरुपमा ग्रहण गरेको बताए। संसद्का आगामी बैठकमा विनियोजन विधेयक र आर्थिक विधेयकमा छलफल हुनेछ।

बजेटमाथिका छलफलमा सांसदहरुको पातलो उपस्थिति र छलफलमा भाग लिएका कतिपय सांसदको प्रस्तुति प्रखर हुन नसक्नुका क्रम पनि यसबीचमा देखिएका छन्। छलफलमा भाग लिने सदस्यका लागि समय निर्धारण गरिएपछि स्वचालितरुपमा माइकको लाइन काटिने अभ्यास अहिले पनि छँदैछ। यसैबीचमा इलाम–२ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले जेठ २२ गतेको प्रतिनिधिसभा बैठकमा आफ्नो पहिलो मन्तव्य राखेका थिए।

सांसदबीच वादप्रतिवाद 

यस साताका बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता योगेशकुमार भट्टराईका अभिव्यक्ति राजनीतिक दोहोरीका रुपमा चर्चामा रहे। कांग्रेस नेता शर्माले फौजदारी वा कुनै घटनामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्दा पूर्वाग्रहबाट मुक्त भएर गर्न सरकारलाई आग्रह गरेका थिए भने एमाले नेता भट्टराईले छानबिनबाट आफ्नो दल नभाग्ने स्पष्ट पारेका थिए।

महामन्त्री शर्माले सहकारी पीडितमाथिको छानबिन समितिको गठन हुनु सकारात्मक भए पनि विश्वासको मत लिने समयवाधि २२ दिन बाँकी कायमै रहेको अवस्थामा जेठ ७ गते सदनमा प्रतिपक्षी दलको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहालले हतारोमा विश्वासको मत लिएको घटनामा आफूहरुको असहमति रहेको दर्ज गरे।

महामन्त्री शर्माले गिरीबन्धु टि स्टेटका सम्बन्धमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा कांग्रेसको सरकारका समयमा जग्गा बिक्री गरिएको जस्ता आरोप लगाएकामा चिन्ता व्यक्त गर्दै यदि त्यसो हो भने छानबिन गरेर कारबाही गर्न चुनौती दिए।

महामन्त्री शर्माले काठमाडौँको न्युरोडको सडक निर्माण विवादमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको पक्ष लिए भने एमाले नेता भट्टराईले प्रमुख शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालबाट गरेको आलोचनाको विरोध गरे।    

संसदीय छानबिन समिति गठन र कार्यारम्भ

गत वैशाख २८ गते शुक्रबारदेखि सुरु भएको चालु बजेट अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रियसभामा पहिलो दिनको बैठकदेखि नै प्रतिपक्षीको अवरोध र नारावाजीको शृङ्खला सुरु भएको थियो। पछि प्रमुख दलहरुबीच जेठ १५ गते सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन गर्ने सहमति भयो र संसद्को गत्यावरोधको अन्त्य पनि भयो।

संसदीय छानबिन समिति गठनमा सहमति नभएको भए जेठ १५ गते नेपाल सरकारको बजेट प्रस्तुतिको कार्यसूची प्रभावित हुन्थ्यो। अध्यादेशबाटै भए पनि सरकारले अनिवार्य रूपमा सोही दिन बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताको पालना गर्नुपर्ने अवस्था थियो। तर त्यसो हुन पाएन, बजेट भाषण संसदबामै प्रस्तुत भयो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत दलहरुले सहकारी समस्याको समाधान गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित संसदको कामकारबाहीमा अवरोध गर्दै आएका थिए। तर राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधनमार्फत यही जेठ १ गते प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रमको प्रस्तुतिमा भने संसद अवरुद्ध भएन।

तर त्यसपछि लगातारका अवरोधले नीति तथा कार्यक्रममाथि सहजरुपमा छलफल र जवाफ प्रस्तुति हुन पाएन। संसदीय छानबिन समितिका संयोजक सूर्यबहादुर थापा क्षेत्रीसहित सदस्यहरुले औपचारिक पत्र बुझेर कार्यारम्भ गरिसकेकोले सहकारी समस्याका विषयमा अब संसदमा विवाद उत्पन्न नहोला भन्न सकिन्छ तर समितिको कार्यविधिबारे प्रमुख दलहरुबीच आआफ्ना अडान भने छँदैछन्।

सभामुख देवराज घिमिरेको उपस्थितिमा यही जेठ २३ गते सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सम्पन्न भई समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने निर्णय भएको छ। समितिका सभापति थापाले निर्धारित समय (तीन महिना) भित्रै काम सक्नुपर्छ भनेर छलफल गरेको जानकारी दिए।

उक्त समितिका सदस्यमा नेकपा एमालेबाट थापा र सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा ९माओवादी केन्द्र०बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान रहेका छन्।

अघि बढ्दै विधेयकहरू

यसबीचमा अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ संसद्का बैठकमा पेस गर्नुभएको छ। ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव जेठ २४ गतेको बैठकले बहुमतले स्वीकृत गरेको छ।

प्रतिनिधिसभाकोे बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेस गरेका हुन्।

प्रतिनिधिसभाबाटै सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ बहुमतले पारित भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ लाई पारित गरेपछि विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित नेपाल राष्ट्र बैंकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणका सामग्री स्वदेशमै छपाइ गर्न बाटो खुलेको छ। -रासस
अर्को समाचार
कानुन निर्माणमा बारम्बार देखिएका समस्या : विगतदेखि वर्तमानसम्म
१८ असार २०८२
•
६ मिनेट पाठ
कानुन निर्माणमा बारम्बार देखिएका समस्या : विगतदेखि वर्तमानसम्म
संसदमा कानुन बनाउँदा हुने समस्याले सांसदहरूको योग्यतामाथि प्रश्न उठाएको छ। पहिलेदेखि अहिलेसम्म कानुन बनाउँदा स्वार्थ, बहुमतको बल र प्राविधिक समस्या देखिएका छन्। 




ती समस्यालाई कतिपय राष्ट्रपतिबाट फर्काएर सच्याइएको छ भने कतिपय विधेयक राष्ट्रपतिबाट फर्किए पनि नसच्याई बहुमतको बलमा राष्ट्रपतिसमक्ष लगिएको छ। एउटा राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अर्को राष्ट्रपतिबाट प्रमाणीकरण भएको तथ्य पनि छ। अर्कोतर्फ, एउटा सदनले पारित गरेको विधेयक अर्को सदनले सच्याउने गरेको छ। समितिले पारित गरेको विधेयक पुनः सच्याउन सदनले समितिमा पठाएको संसद् सचिवालयको रेकर्डमा देखिन्छ।  

विधेयक दुवै सदनले पारित गरेपछि समस्या देखिएमा वा राष्ट्रपतिले समस्या देखेमा उनले १५ दिनभित्र संसदमा फर्काउन सक्छन्। संविधानको धारा ११३ अनुसार संसदमा पुनर्विचारका लागि पठाइएको विधेयक सांसदले पुनः विचार गरी पारित गर्छ। यदि सांसदले मूल विधेयकमा परिवर्तन नगरी वा परिमार्जन गरी पुनः पारित गर्छ भने, राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्छ। यदि विधेयक कानुन बनेपछि पनि समस्या रह्यो भने, सर्वोच्च अदालतले त्यसलाई वैधानिक ठहर गर्न सक्छ। धेरैजसो समस्या एउटा सदनबाट अर्को सदनमा जाँदा सच्याइएको पाइन्छ।  

पछिल्लो पटक राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेर प्रतिनिधिसभामा पेस गरेको सङ्घीय निजामती विधेयकमा सरकारी कर्मचारीले राजीनामा दिएमा वा अवकाश भएमा दुई वर्षको कुलिङ अवधि रहने व्यवस्था एउटा दफामा छ भने अर्को दफामा संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य नियुक्ति लिन सचिव र सहसचिवलाई रोक नहुने व्यवस्था राखिएपछि विवाद भएको छ।  

कानुनविद् तथा पूर्वसांसद राधेश्याम अधिकारीले राज्य व्यवस्था समितिबाट गएको प्रतिवेदनलाई जालझेल भएको बताएका छन्। संसदीय व्यवस्थामा यस्तो कुराले संसदीय अभ्यासलाई बिगार्छ भन्ने उनको टिप्पणी छ। उनले भने, ‘बदमासी कसैले गरेको छ, त्यो पत्ता लगाउनुपर्छ र दण्डित गर्नुपर्छ।’  

सङ्घीय निजामती विधेयक असार १५ गते प्रतिनिधिसभाबाट पारित भएपछि समस्या भेटिएको थियो। यसलाई सन्देशसहित राष्ट्रियसभामा पठाइएको छ। राष्ट्रियसभामा दुई वर्ष कुलिङ अवधि राख्ने गरी संशोधन राख्ने तयारी सांसदहरूको छ। प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई राष्ट्रियसभाले सच्याउने ठाउँ छ। तर, नियतवश प्रतिनिधिसभामा समितिले पारित गरेको भन्दा फरक विषय पठाइएको भए छानबिन गर्नुपर्नेमा राज्य व्यवस्था समितिका सदस्यहरूले नै बताएका छन्। 

समिति सदस्य काँग्रेस महामन्त्री गगन थापा, एमाले सांसद पदम गिरीले पनि यसलाई छानबिनको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन्। यस्तो कार्यमा संलग्नले नैतिकताको आधारमा ठाउँ छोड्नुपर्छ र कारबाही भोग्नुपर्ने सांसद गिरीले बताएका छन्। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पनि सभापति, सचिव वा समिति-जसको गल्ती हो, उसले जिम्मेवारी लिनुपर्ने बताएका छन्। तर समिति सभापति रामहरि खतिवडाले पनि छानबिनमा सहयोग गर्ने बताएका छन्।  

पहिले पनि कानुन निर्माणमा भएका केही घटना हेर्दा कतिपय अवस्थामा बहुमतको बलमा विधेयक पारित भएका छन्। शेरबहादुर देउवा नेतृत्वको परमादेशको सरकारको पालामा सङ्घीय सांसदले २०७९ साउनमा नागरिकता विधेयक पास गरेको थियो। तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी साउन २९ मा सन्देशसहित प्रतिनिधिसभामा फर्काइदिएकी थिइन्। तर दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर भदौ २० मा तत्कालीन सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिसमक्ष पठाएका थिए। संविधानको धारा ११३ (४) अनुसार राष्ट्रपति भण्डारीले उक्त विधेयक १५ दिनभित्र अर्थात् असोज ५ भित्र प्रमाणीकरण गर्नुपर्ने थियो। तर प्रमाणीकरण भएन। राष्ट्रपति कार्यालयले किन विधेयक प्रमाणीकरण नभएको हो भनेर न सार्वजनिक रूपमा बोल्यो, न संसदलाई जानकारी दियो। २०७९ फागुन २५ मा नेपाली काँग्रेसका रामचन्द्र पौडेल नयाँ राष्ट्रपति निर्वाचित भए, फागुन २९ मा उनले शपथ लिएसँगै भण्डारी शीतल निवासबाट बिदा भइन्।  

त्यसपछि सरकारले नागरिकता विधेयक अगाडि बढाउन खोज्यो। तर राष्ट्रपति कार्यालयमा होल्ड भएको विधेयकको अवस्था स्पष्ट भएन। प्रधानमन्त्री र सत्तारूढ दलका नेताहरूले गरेको परामर्शमा कानुन व्यवसायीहरूले राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गर्न सक्ने बताए। राष्ट्रपतिले पनि कानुनी परामर्श गरे। उनले नागरिकता विधेयक प्रमाणीकरण होस् भन्ने चाहे, तर संवैधानिक बाटो स्पष्ट नभएकाले अलमलमा थिए। त्यसलाई सम्बोधन गर्न २०८० जेठ १२ मा बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय ग¥यो। मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले संविधानको धारा ६१ को उपधारा २, ३, ४, धारा ६६ र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम विधेयक प्रमाणीकरण गरेका थिए।  

अर्कोतर्फ, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि आएको राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६ जेठ ८ गते फर्काएकी थिइन्। संसद्का दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्ने भए पनि प्रतिनिधिसभाले मात्र स्वीकृत गरेर पठाएको विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ (३) अनुसार पुनर्विचार गर्न फर्काएकी थिइन्। झन्डै दुई तिहाइ बहुमतसहितको सरकारले पेस गरेर प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रपतिबाट फर्काउँदा सत्तारूढ नेकपामाथि नैतिक प्रश्न उठेको थियो। त्यसलाई सच्याएर पुनः राष्ट्रपतिसमक्ष पठाइएको थियो। 

राहदानी विधेयक प्रतिनिधिसभाले २०७५ असोज १० मा पारित गरेको थियो भने भोलिपल्टै राष्ट्रिय सभामा टेबुल गरिएको थियो। तर, राष्ट्रिय सभाको प्रक्रियामै रहेको विधेयक दुई महिनाभित्र फर्किन नआएको भन्दै तत्कालीन सभामुख कृष्णबहादुर महराले २०७६ वैशाख २५ गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका थिए। राष्ट्रिय सभाको भूमिकालाई बेवास्ता गर्दै प्रतिनिधिसभाले एक्लै पारित गरी प्रमाणीकरणका लागि पठाएपछि उक्त विधेयक विवादित बनेको थियो। त्यसैले राष्ट्रपति भण्डारीले गत जेठ २६ गते विधेयकलाई पुनर्विचारका लागि संसदमा फर्काइदिएकी थिइन्।  

राहदानी विधेयकमा रहेको कुनै व्यक्तिलाई राहदानी दिने÷नदिने सरकारको तजबिजी अधिकारलाई राष्ट्रिय सभाको विधायन समितिले हटाएको थियो। कुनै सरकारी निकायबाट राहदानी रोक्का राख्ने वा जारी नगर्ने भनी लेखी आएको खण्डमा राहदानी जारी नगरिने प्रावधान प्रतिनिधिसभाबाट पारित विधेयकमा थियो। राष्ट्रिय सभामा विधेयक विचाराधीन रहेकै अवस्थामा प्रतिनिधिसभाले दुई महिनाको समय देखाएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएपछि उक्त विधेयक फर्किएको थियो। राष्ट्रपतिबाट प्रमाणीकरण भएको भए कसैलाई राहदानी दिने वा नदिने असीमित अधिकार सरकारसँग सुरक्षित हुन्थ्यो। पछि त्यसलाई परिमार्जन गरेर पुनः राष्ट्रपतिसमक्ष पठाइएको थियो।  

अर्कोतर्फ, संसदीय समितिले पारित गरेको विधेयक तत्कालीन व्यवस्थापिका सांसदले फर्काएको थियो। २०७३ असार ७ गते व्यवस्थापिका सांसदले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी कानुन (बाफिया) मा संशोधन र एकीकरण गर्न बनेको विधेयक अर्थ समितिमा फर्काएको थियो। तत्कालीन अर्थ समिति सभापति प्रकाश ज्वालाले विवादित विषय राखेर विधेयक पारित गरी व्यवस्थापिका संसदमा पेस गरेपछि संसद् बैठकले फर्काएको थियो।  

अर्थ समितिले बैङ्क सञ्चालक सांसदहरूको स्वार्थअनुसार विधेयकमाथि प्रतिवेदन तयार पारेको थियो। बैङ्कका सञ्चालक तथा अध्यक्षको कार्यकाल नतोक्ने, संस्थापक शेयर ७ वर्षमा साधारण शेयरमा परिणत गर्न पाइने र त्यसका लागि नेपाल राष्ट्र बैङ्कको स्वीकृति लिनु नपर्ने गरी अर्थ समितिले संसदमा प्रतिवेदन पेस गरेपछि चौतर्फी विरोध भएको थियो। चौतर्फी विरोधका कारण सांसदले विधेयक प्रतिवेदनका ११ वटा दफा र उपदफाहरूमा पुनः विचार गर्न निर्देशनसहित विधेयक सर्वसम्मतिले अर्थ समितिमा फर्काएको थियो। २०८० असार २७ मा राष्ट्रिय सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि सांसदहरूले बिजुली बेच्ने कुरामा बोलेपछि विवाद भएको थियो। विद्युतीय माध्यमबाट हुने कारोबारको विषयलाई नबुझी बिजुली बेच्ने कुरामा सांसद सहभागी भएपछि सांसदहरूले अध्ययन गर्ने प्रवृत्ति छैन भन्ने कुराको पुष्टि भएको थियो।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस