प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन्।
शिष्टाचार भेटका लागि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आएका नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताए।
उनले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्वीट्जरल्याण्डको अभ्यास स्थापित भएको उल्लेख गर्दै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई भुइँतहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको सुनाए।
प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा ५० मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गरे।
नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएकाले विकास साझेदारबाट सहयोग अभिवृद्धिको अपेक्षा व्यक्त गरे।
प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग, कोभिड-१९ को रोकथाममा सहयोग तथा शान्ति प्रक्रियामा सहयोग र सद्भावका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद समेत दिए।
प्रधानमन्त्री ओलीले गत जुलाइमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड भ्रमण र सन् २०१९ मा आफू प्रधानमन्त्री हुँदा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा सहभागिताको स्मरण गर्दै यस्ता उच्चस्तरीय भ्रमण र बैठक आदानप्रदानबाट आपसी सम्बन्धमा नयाँ आयाम थपिने बताए।
राजदूत डानियलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको लागि बधाई र शुभकामना दिँदै दुई पक्षीय पारस्परिक हित तथा सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाएकी थिइन्।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी थिए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।
विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।
कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।
यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...