राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा।तुलिया अक्सन र महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
जेनेभा भ्रमणमा रहेका अध्यक्ष दाहालले भेटमा नेपालको संघीय संसद र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान,लोकतन्त्रका लागि संसदीय भूमिका लगायत विषयमा कुराकानी गरेका थिए।
भेटमा अध्यक्ष दाहालले आइपीयूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानता, युवा सशक्तिकरण, दिगो विकास लगायतका सवालमा संवाद, सहकार्य र असल अभ्यासहरुको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए।
अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिस्कृत गर्न र लोकतान्त्रिक संस्थाहरु थप सुदृढ गर्न अन्तर व्यवस्थापिका संघसँग आफूहरुले बलियो र घनिष्ट सहकार्य गर्न चाहेको बताउँदै आइपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरे।
संविधानसभाबाट जारी संविधानमार्फत् नेपालले महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको भन्दै अध्यक्ष दाहालले संघीय संसदमा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिलाहरु जनप्रतिनिधिको रुपमा सहभागी जानकारी गराएका थिए।
सो अवसरमा अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा.अक्सनले नेपालले विगतदेखि नै आइपीयूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गरेका थिए। नेपालको संघीय संसदमा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको उल्लेख गर्दै उनले समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताए।आइपीयूको सचिवालयलाई अझैं व्यवस्थित बनाउन लागिरहेको भन्दै अध्यक्ष तुलियाले आइपीयू सचिवालयमा नेपाली प्रतिनिधित्व गराउन आफूले पहल गर्ने आश्वासन दिएका थिए।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को १४९ औँ महासभामा नेपाली प्रतिनिधि मण्डलको सहभागिता उपलब्धिमूलक र सफल रहेको बताएका छन्।
असोज २७ गतेदेखि कार्तिक १ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा भएको अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को १४९ औँ महासभामा राष्ट्रिय सभा सदस्य दाहालसहित ९ सदस्यीय टोलीको सहभागिता रहेको थियो।
मंगलबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारहरूसँग भेटघाट गर्दै अध्यक्ष दाहालले महासभामा नेपाली प्रतिनिधि मण्डलको सहभागिता उपलब्धिमूलक र सफल भएको बताएका हुन।
उनले महासभामा आफूले नेपालको सङ्घीय संसदको नेतृत्व गर्दै ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा केन्द्रित रहेर सम्बोधन गरेको जानकारी दिए।
अध्यक्ष दाहालले आफ्नो सम्बोधनको क्रममा विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरूमा सबैको समतामूलक पहुँच सुनिश्चित गर्न यस क्षेत्रलाई साझा हितको विषयका रुपमा हेर्नुपर्नेमा जोड दिएको सुनाए।
उनले विश्वका साढे दुई अरब मानिसहरूको अझै पनि सूचना प्रविधिमा पहुँच नभएको उल्लेख गर्दै सबैमा समान पहुँच पुर्याउनका लागि अनुसन्धान, विकास, स्रोत परिचालन र युवाहरूको सहभागिता बढाउन प्रविधिको समान पहुँचमा सुनिश्चितता गर्नुपर्नेमा पनि आफ्नो जोड रहेको जानकारी गराए।
सम्बोधनको क्रममा उनले साइबर असुरक्षा, गोपनीयता भङ्ग, नकारात्मक सामग्रीको प्रचार र (आर्टिफिसियल इन्टेलिजेन्स) एआईको दुरुपयोगको जोखिम न्यूनीकरण गर्नुपर्नेमा आफूले जोड दिएको उल्लेख गरे।
त्यसका लागि आवश्यक नीति, नियम बनाउनका लागि विश्वका व्यवस्थापिकाहरूका बिचमा सहकार्यको आवश्यकता रहेको उनको भनाइ थियो।
अध्यक्ष दाहालले जलवायु परिवर्तनको प्रभाव र जोखिम न्यूनीकरणका लागि स्थापित कोषहरूबाट सहायता उपलब्ध गराउन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रविधि उपलब्ध गराउन विश्व समुदायलाई आव्हान गरेको जनाए।
उनले नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने दिशामा रहेको भन्दै यसका लागि अन्तर्राष्ट्रिय स्तरबाट थप प्राविधिक र योजनागत सहयोगको आव्हान गरेको पनि जानकारी दिए।
उनले अन्तर–व्यवस्थापिका संघको महासभामा नेपालको परराष्ट्र नीति, संवैधानिक व्यवस्था तथा नेपालको शान्ति प्रक्रियाको बारेमा विश्व समुदायलाई जानकारी दिएको पनि जिकिर गरे।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...