प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको तिहाड जेलमा रहेका गुन्डा नाइके लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्दा माग्न लगाएको प्रहरी अनुसन्धानमा देखिएको छ। प्रसाईंका कार्यकर्ताले विश्नोईको नाम लिएर व्यापारीसँग हिन्दी भाषामा कुराकानी गरेको निष्कर्ष निकाल्दै प्रहरीले उनीप्रति अनुसन्धान सोझाएको छ। प्रहरीले कुराकानीको श्रव्य सामग्रीसमेत फेला पारेको दाबी गरेको छ।
‘कुराकानीको अडियोसमेत फेला परेको छ’, प्रहरी स्रोतले भन्यो। विश्नोईको नाममा धम्की खेपेका चारजनाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी दिएपछि यस विषयमा अनुसन्धान सुरु भएको हो। ‘दुर्गा प्रसाईका खासखास मानिसले नै व्यापारीसँग विश्नोईको नाम लिएर पैसा मागेको पाइयो’, स्रोतले भन्यो, ‘यसको अनुसन्धान नतिजा केही दिनमा आउनेछ।’
स्रोतका अनुसार प्रसाईंले ललितपुरको एक होटलबाट केही व्यापारीसँग चन्दा उठाएका थिए। ‘प्रसाईंले चन्दा लिएको पनि आभास भएको छ,’ स्रोतले भन्यो। प्रहरीले यही विषयलाई प्रमाण मानेर आपराधिक लाभसम्बन्धी आरोपमा पनि प्रसाईंमाथि अनुसन्धान सुरु गरिसकेको छ।
सिआइबीका प्रमुख एआइजी दीपक थापाले अनुसन्धान भइरहेको विषयमा धेरै कुरा बोल्न नमिल्ने बताए। ‘अनुसन्धान भइरहेको छ, धेरै कुरा बोल्न मिल्दैन’, उनले भने। प्रहरीका अनुसार प्रसाईंका कार्यकर्ताले दुबई र भारतका टेलिफोन नम्बरबाट विश्नोईको नाममा धम्काएर व्यापारीसँग चन्दा मागेका थिए। प्रहरीले ठाडो उजुरी लिएर यस विषयमा दुई साताअघिबाटै अनुसन्धान गरिरहेको छ। प्रसाईं पक्राउ नपर्दै प्रहरीमा ठाडो उजुरी परेको थियो।
त्यतिबेला प्रहरीले प्रसाईंलाई अनुसन्धानमा राखेको थिएन। प्रहरीले धम्की दिनेहरूको नम्बर विश्लेषण गर्दा उनीहरू प्रसाईंसँग जोडिएको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको हो। प्रसाईंका कार्यकर्ताले मारवाडी समुदायका व्यापारीसँग धेरै चन्दा मागेका थिए। चन्दा माग्नेले विश्नोईको नाममा हिन्दी भाषामा कुराकानी गरेका थिए। व्यापारीहरूले पनि प्रहरीलाई दिएको अडियोमा हिन्दी भाषाबाटै कुराकानी गरेको सुनिन्छ। विश्नोईको नामबाट केही सरकारी कर्मचारीलाई पनि धम्की आएको प्रहरीको दाबी छ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एकस्टर्सन) सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुरमा उपदफा ३ (ख) बमोजिम कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने प्रावधान छ। प्रसाईंले यसरी चन्दा लिएको र धम्क्याएको पुष्टि भएमा उनीमाथि यही कानुन आकर्षित हुने प्रहरीको दाबी छ।
भारतीय गुन्डानाइके विश्नोईले ठगी, फिरौती, असुली, गुन्डागर्दी र हत्या अभियोगमा जेल सजाय भोगिरहेका छन्। पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए। विश्नोईले सेन्ट्रल जेलबाटै आपराधिक गिरोह परिचालन गरेको खुलेपछि उनलाई तिहाड जेल सारिएको हो। उनले पटकपटक भारतीय अभिनेता सलमान खानलाई पनि चन्दा माग गर्दै ज्यान मार्ने धम्की दिएको भारतीय प्रहरीको दाबी छ।
प्रसाईंको विषयमा अनुसन्धानमा खटिएका सिआइबीका एक अधिकृतका अनुसार विश्नोईलाई नेपालतिर हेर्ने फुर्सद नै छैन। प्रसाईंका कार्यकर्ताले नेपाली व्यापारीलाई विश्नोईको नाम लिएर धम्की दिएका मात्र हुन्।
दुर्गा प्रसाईंको रिहाइको माग गर्दै बुधबार काठमाडौं माइतीघरमा गरिएको प्रदर्शन। तस्बिर: दिपेश दर्शनधारी/नागरिक‘हामीलाई शंका पहिला नै थियो– लरेन्स विश्नोईको नाम लिएर अरू कसैले धम्क्याएको हुनसक्छ। यो शंका प्रमाणित हुने क्रममा छ’, ती अधिकृतले भने, ‘दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानलाई सहयोग गर्नुपर्यो, चन्दा दिनुपर्यो भन्दै धम्काइएको व्यापारीहरूले बताएका छन्।’
प्रसाईंलाई प्रहरीले यही मंसिर ४ गते विद्युतीय अपराध नियन्त्रण ऐनविपरीतको कसुर आरोपमा पक्राउ गरेको थियो। उनीमाथि आपराधिक लाभका लागि धम्की दिएको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रसाईंलाई सिंहदरबार प्रहरी बृत्तको हिरासतमा राखिएको छ। प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्ब रूपैयाँ लगानी रहेको भन्दै सामाजिक सञ्जालमा भिडिओसहितका सामग्री राखेका थिए।
प्रसाईंले कम्बोडियाको टेलिकममा ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए। प्रमाण भन्दै सार्वजनिक गरिएको ती स्क्रिनसटको सत्यतामाथि प्रश्न उठाइएको छ। सामाजिक सञ्जाल फेसबुकमा अनुप नेपाल नामको आइडीबाट त्यही स्क्रिनसटलाई भिडिओ बनाएर हालिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटोलाई प्रोफाइल पिक्चर राखिएको उक्त आइडीमा हालिएको भिडिओमा ‘अपुष्ट प्रमाण’ केही समयदेखि राष्ट्र राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्राप्त भएको भनिएको छ।
प्रसाईंले मंसिर ३ गते त्यो भिडिओ सार्वजनिक गरेका थिए। प्रसाईंले तथ्य–प्रमाण भन्दै प्रस्तुत गरेको भिडिओमा प्रधानमन्त्री ओलीको हस्ताक्षर र नाम प्रचलनअनुसारको छैन। गत असोज ६ गते पनि साइबर अपराध कसुरमा उनलाई पक्राउ गरिएको थियो।
झापाको भद्रपुरमा शुक्रबार पक्राउ परेको भनिएका दुर्गा प्रसाईं नेपालबाट सडकमार्ग हुँदै करिब १२ घण्टा टाढाको दुरीमा थिए। त्यही दुरी पार गरेर प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा सीमावर्ती क्षेत्रमा ल्याउन नेपाल प्रहरी सफल भएको थियो। भारतीय प्रहरीले बुधबारबाटै उनको ‘रेकी’ सुरु गरेको थियो। ‘स्थानीय प्रहरीले रेकी सुरु गरिसकेको थियो तर प्राविधिक कारणले ढिलो भयो।
बिहीबार बिहानै उनलाई नियन्त्रणमा लिन गरिएको प्रयास लम्बिन पुगेको थियो तर दिउँसोतिर उनी भने नियन्त्रणमा आइसकेका थिए,’ अनुसन्धान खटिएका एक अधिकारीले भने। व्यवस्थाविरोधी आन्दोलनमा लागेर हिंसा मच्चाएका प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई दुई साता कुर्नुपरेको थियो। नेपालमै रहेको भन्दै राज्यलाई चुनौती दिइरहेका उनी अन्नतः भारतमा भेटिएका हुन्।
नेपाल प्रहरीले भने शुक्रबार बिहान भद्रपुर ल्याएपछि मात्रै प्रसाईं पक्राउ परेको जानकारी दिएको थियो। खासगरी नेपाल–भारतबिच अपराधीहरू गुपचुपमै लेनदेन गरिन्छ। प्रसाईंका हकमा पनि त्यसै गरिएको थियो। तर बिहीबार साँझ हल्लीखल्ली भएपछि प्रहरीले ढाकछोपको प्रयास गरेको थियो।
एक साताभन्दा लामो समय बिताएको टोलीले भारतको आसामस्थित तामलपुर बास्कामा रहेको एक घरबाट प्रसाईंलाई नियन्त्रणमा लिएर नेपालबाटै गएको प्रदेश नं. १–०१–००२ च ३७९३ नम्बरको स्कोर्पियोमा राखेर ल्याइएको थियो। उक्त घर नेपालीभाषी अभिचन्द्र पाठकको हो। उनी एक हिन्दुवादी नेता भएको बताइएको छ। ‘भारतीय र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेका दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले सीमा क्षेत्रमा छाडेपछि नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो,’ स्रोतले भन्यो।
नेपाल प्रहरीको विशेष ब्युरो र उपत्यका अपराध महाशाखाको टोलीले मंगलबार साँझदेखि बुधबार बिहानसम्ममा प्रसाईं बसेको घर पहिचान गरिसकेको थियो। सुरुमा भारतको उत्तर प्रदेशस्थित प्रयागराज पुगेको विशेष ब्युरोको टोली प्रर्सांलाई नभेटेपछि आसाम पुगेको थियो। तर प्रहरीका अनुसार उनी दिल्ली, लखनउ हुँदै राजस्थान पनि पुगेका थिए।
लखनउमा योगी आदित्यनाथलाई भेट्न खोज्दा सम्भव नभएपछि सुरक्षित स्थान खोज्दै प्रसाईं आसाम पुगेका हुन्। भुटानी सीमानजिकको बास्कामा उनलाई झापातिरकै एक आफन्तले बस्न उक्त घर खोजिदिएका थिए। उनी सुरुदेखि नै त्यही घरमा बस्दै आएका थिए। त्यहीँबाट पक्राउ गरेपछि उनको सचिवालयले बिहीबार आसाम प्रहरीसमक्ष आत्ममसर्पण गरेको जनाएको थियो।
नेपाल र भारतबिच एकअर्काको देशमा पक्राउ परेका आरोपितलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ। अर्को देशमा पक्राउ परे त्यहाँको प्रहरीले सीमा क्षेत्रमा ल्याएर छाड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्याउने गरिन्छ। यो क्रम गुपचुपमै हुने गरेको छ।
नेपाल र भारतका सुरक्षा अधिकारीहरूले यो विषयमा औपचारिक धारणा राख्ने गरेका छैनन्। दुर्गा प्रसाईंका हकमा पनि दुवै देशका अधिकारीहरूले यही विधि अपनाउन खोजेका थिए। तर नेपालतर्फ सूचना चुहिएपछि प्रहरी अप्ठेरोमा परेको थियो। त्यस्तो अवस्थामा भारतीय प्रहरीले जिम्मा लगाउन आनाकानी गर्ने सम्भावना देखेपछि प्रहरीले विज्ञप्ति जारी गरेर प्रसाईं पक्राउ नपरेको बताएको थियो।
काठमाडौंको तीनकुनेमा विध्वंस मच्चाउने आन्दोलनको नेतृत्व गरेका प्रसाईं चैत १५ देखि फरार थिए। उनले नेतृत्व गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’ले चैत १५ मा काठमाडौंको तीनकुनेमा प्रदर्शन आयोजना गर्दा हिंसा भड्किएको थियो।
उक्त प्रदर्शन हिंसात्मक बनेसँगै तीनकुनेबाट बिएबी–४२०८ नम्बरको स्कोर्पियो चढेर उनी सीमापार भएका थिए। प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको स्कोर्पियो यसअघि नै झापाबाट काठमाडौं ल्याइएको थियो। स्कोर्पियो चालक ईश्वर विकले प्रसाईंलाई झापाको बिर्तामोड स्थित बिएन्डसी मेडिकल कलेजमा लगेर छाडेको बयान दिएका थिए।
भारत पुगेपछि प्रसाईं चुप बसेनन्। भिडियो बनाएर सार्वजनिक गर्ने र राज्यलाई चुनौती दिने काम उनले गरिरहे। त्यसकारण पनि नेपाल प्रहरीलाई उनको लोकेसन ट्र्याक गर्न सहज भएको थियो।
पहिलो र दोस्रो भिडियो बनाएको मन्दिरमा पुगेर नेपाली सुरक्षाकर्मीले लोकेसन ट्र्याक गरेका थिए। त्यसपछि भारतीय प्रहरीसमक्ष प्रसाईंलाई पक्रन अनुरोध गरिएको थियो। आसाममा उनी बसेको घरको तस्बिरसहितको ‘लोकेसन’ दिएपछि भारतीय प्रहरीले नेपाली सुरक्षाकर्मीलाई सहयोग गरेको थियो।
बिहीबार साँझ आसाममा पक्राउ परेपछि प्रसाईं निकटहरूले ‘समर्पण’ गरेको दाबी गरे। तर उनले आत्मसमर्पण गरेको भन्ने सत्य नभएको प्रहरी अधिकारीहरू बताउँछन्।
प्रसाईंको खोजीमा विशेष ब्युरो र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली निरन्तर लागेको थियो। हाल विशेष ब्युरोको कमान्ड डिआइजी सिद्धविक्रम शाहले गरेका छन्। उपत्यका अपराध महाशाखामा एसएसपी रमेश बस्नेत छन्। प्रसाईं पक्राउमा उनीहरू दुवैको पहलकदमी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तर प्रसाईं पक्षधरहरूले सुरक्षाका लागि आफैं प्रहरीमा गएको दाबी गर्दै आएका छन्। प्रहरीले यसलाई अस्वीकार गर्दै आएको छ।
अनुसन्धान गर्न १२ दिनको समय
चैत १५ गतेको हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रहरीलाई १२ दिनको समय दिएको छ। भद्रपुरबाट ल्याएपछि काठमाडौं प्रहरी परिसरले अदालतसँग अनुसन्धानका लागि समय मागेको थियो।
जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले राज्यविरुद्धको कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको थियो। उनीसँगै रहेका अंगरक्षक दीपक खड्काको अनुसन्धानका लागि पनि १२ दिनको समय दिइएको छ।
खड्कालाई पनि प्रहरीले भारतबाटै ल्याएको थियो। प्रसाईंले नै आन्दोलनको कमान्डर बनेर सुरक्षा निकायलाई नै गाडीले किच्ने र मिच्ने गरी भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन उच्छृंखल बनेको बनेको थियो। प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित दुई जनाको मृत्यु भएको थियो।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...