प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनको परिणाममा धक्का बेहोर्नुपरेको छ। कीर्तिपुर नगरपालिकाको प्रमुखमा जित हासिल गरे पनि २०७९ सालमा भएको स्थानीय तहको निर्वाचन परिणामको तुलनामा कांग्रेसले यो उपनिर्वाचनमा साख गुमाएको छ। कांग्रेसले जितेका एक नगर प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्षका लागि निर्वाचन भएकोमा कीर्तिपुरको नतिजा मात्र आफ्नो पक्षमा पार्न सफल भएको हो। कीर्तिपुरमा पनि नजितेको भए कांग्रेस वडामै सीमित हुने अवस्था थियो।
कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन्। डंगोल पाँच हजार तीन सय ३४ मतसहित विजयी भएका हुन्। उनलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका शिवशरण महर्जन चार हजार पाँच सय ५५ मतमा सीमित हुन पुगे। नेकपा एमालेका सुरेन्द्र मानन्धर चार हजार तीन सय ३७ मत ल्याई तेस्रो स्थानमा रोकिए। दलहरूले कीर्तिपुरको उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका थिए।
२०८४ सालको आम निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जनाउँदै आएको कांग्रेसले १६ वटा वडाध्यक्ष भने जितेको छ। काठमाडौं महानगरपालिका–१६ को परिणाम यसअघि दुईपटक कांग्रेसले आफ्नो पक्षमा पारेको थियो। तर वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि भएको चुनावको परिणाम राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा गएको छ ।
पछिल्लो परिणामअनुसार सरकारको नेतृत्व गरेको एमालेले एक अध्यक्ष, दुई उपाध्यक्ष र पाँचवटा वडामा जित हात पारेको छ। उसले एक अध्यक्ष र दुई उपाध्यक्ष उपनिर्वाचनबाट थपेको छ। प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, एक नगरपालिका उपप्रमुख, एक उपाध्यक्षसहित ६ वटा वडाध्यक्षको परिणाम आफ्नो पक्षमा पारिसकेको छ।
यसअघिको स्थानीय तह निर्वाचनपछि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलोपटक उपनिर्वाचनमा भाग लिएर काठमाडौंमा एउटा वडाध्यक्ष जित्न सफल भएको छ। सोमबार राति आएको परिणामअनुसार दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष एमालेले जितेको छ। यो समाचार तयार पार्दासम्म मतगणना जारी रहेको हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्। रिक्तमध्ये दुई गाउँपालिका उपाध्यक्ष मात्र माओवादी केन्द्रबाट निर्वाचित थिए।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित ४४ जनप्रतिनिधिमध्ये विभिन्न कारणले निधन भएर रिक्त रहेकामध्ये चार स्थानको मात्र नतिजा आउन बाँकी छ। त्यसमध्ये उदयपुरको बेलका नगरपालिका–९ को अध्यक्षका लागि भएको निर्वाचनमा बदर मतलाई लिएर एमाले र माओवादी केन्द्रबीच विवाद देखिएको छ। जसले गर्दा त्यहाँको मतगणना अवरूद्ध छ। परिणाम आउन बाँकी रहेका चार स्थानबाहेक कांग्रेसले यसअघि जितेका दुई अध्यक्ष, एक उपप्रमुख, एक उपाध्यक्ष पनि गुमाएको छ।
मतगणना जारी रहेकामध्ये गौरीशंकरमा एमाले र सर्केगाडमा माओवादी केन्द्रले उपाध्यक्षमा अग्रता कायम गरेका छन्। रिक्तमध्ये दुई गाउँपालिका उपाध्यक्षमा मात्र यसअघि माओवादी केन्द्रका नेता निर्वाचित थिए।
त्यस्तै जनता समाजवादी पार्टी नेपालले दुई, नेपाल मजदुर किसान पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले एक÷एक वडाध्यक्ष आफ्नो पक्षमा पारेका छन्। परिणाम आएको मोरङको ग्रामथाम गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी निर्वाचित भएका छन्। उनले ६ हजार नौ सय ६९ मत पाए भने प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले पाँच हजार तीन सय ३३ मत पाए। यसअघि मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको २०८१ असार ३ गते निधन भएको थियो। गच्छदारले गत निर्वाचनमा सात हजार ६ सय ५ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारूले ६ हजार ९३ मत पाएका थिए।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन्। बुढाले प्रतिस्पर्धी कांग्रेस उम्मेदवार केशकुमारी तुलाचनलाई एक हजारभन्दा बढी मतले पराजित गरेकी हुन्। बुढाले तीन हजार ६ सय २७ मत पाइन् भने तुलाचनले दुई हजार एक सय २८ मत पाइन्। यसअघि त्यहाँ माओवादी केन्द्रकै भूपेन्द्रा बुढामगर चार हजार ५९ मतसहित निर्वाचित भएका थिए भने कांग्रेसकी कमलाकुमारी मल्लले दुई हजार १० मत पाएकी थिइन्। बुढामगरको २०८१ भदौ २८ गते सवारी दुर्घटनामा परी निधन भएको थियो ।
जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादीकी देवका लामिछाने निर्वाचित भएकी छन्। उनले चार हजार दुई सय ७२ मत पाइन् भने प्रतिस्पर्धी कांग्रेसकी इन्द्रा चन्द सिंहले तीन हजार एक सय ४७ मत पाइन्। उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गतेको भूकम्पमा निधन भयो। कांग्रेसका तर्फबाट निर्वाचित सिंहले पाँच हजार चार सय ६ मत पाउँदा एमालेकी सुनिता बोहरा तीन हजार तीन सय ९३ मतमा समेटिएकी थिइन्।
दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित भएका छन्। उनले तीन हजार १२७ मत पाए भने कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार ६७५ मत पाए। अध्यक्ष लछुमन गुरुङको २०७९ माघ २७ गते निधन भएको हो। उनले दुई हजार ९७९ मतसहित निर्वाचित हुँदा एमालेका हरिप्रसाद उपाध्यायले दुई हजार ५१९ मत पाएका थिए।
बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी सुलोचनाकुमारी भण्डारी निर्वाचित भइन्। उनले एक हजार सात सय ४० मत पाइन् भने कांग्रेसकी पुल्ती सरा शाहीले एक हजार चार सय ७४ मत पाइन्। खापर गाउँपालिका उपाध्यक्षमा कांग्रेसका मैना जोशी निर्वाचित भएकी थिइन्। एमालेकी सुलोचनाकुमारी भण्डारीलाई पराजित गरेकी उनको २०८० माघ ४ गते निधन भएको थियो। जोशीले एक हजार आठ सय १० मत पाउँदा भण्डारीले एक हजार ६ सय ३७ मत ल्याएकी थिइन्।
यसअघि कीर्तिपुर नगरपालिकाको प्रमुख जितेका राजकुमार नकर्मीको २०८१ साउन १० गते मिर्गौलासम्बन्धी रोगका कारण निधन भएको थियो। स्थानीय तह निर्वाचनमा ९ हजार ४३ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार केशरत्न बज्राचार्यले पाँच हजार पाँच सय सात मत पाएका थिए।
सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका तर्फबाट चन्द्रसिंह कार्की निर्वाचित भएकी थिइन्। उनको २०८१ भदौ ४ गते सवारी दुर्घटनामा परी निधन भएको थियो। तीन हजार दुई सय ६९ मतसहित कार्की निर्वाचित हुँदा त्यतिबेला एमालेकी जुनकुमारी फडेरा एक हजार ६४ मतसहित पराजित भएकी थिइन्। गौरीशंकरमा कांग्रेसका श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए। उनको २०८० असार ३१ गते हृदयाघातका कारण निधन भएको थियो। तामाङले चार हजार सात सय ४१ मत ल्याउँदा एमालेकी मुना शिवाकोटीले तीन हजार दुई सय ८१ मत पाएकी थिइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन बाँकी रहेको बताएका छन्।
शनिबार सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको सुनााए। यद्यपि, प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने उनले प्रतिबद्धता जनाए।
लामिछानेका अनुसार कर्णालीको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर हेरिने छैन। कर्णालीका जनताले एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको दाबी छ।
विगतमा अन्य दलहरूले आफ्ना उमेदवार जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेको आरोप लगाउँदै उनले रास्वपाले त्यस्तो राजनीतिक सौदाबाजीमा विश्वास नगर्ने बताए।
‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने होइन,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौं, कर्णालीले एकजना पनि नपठाओस् र एक भोट पनि नदियोस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ।’
पुल र बाटो बनाइदिने सर्तमा नभई कर्णालीका मुद्दा केन्द्रमा लैजाने प्रतिबद्धतासहित आफूहरू आएको उनले उल्लेख गरे। राजनीति चुनावका निम्ति मात्र नभएको बताउँदै उनले चुनाव राजनीतिको एउटा पाटो मात्र भएको धारणा राखे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...