चीनका राष्ट्रपति सी चिनफिनले नेपाललाई ५ सय मिलियन चिनियाँ युआन (करिब नौ अर्ब रुपैयाँ) अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्।
मंगलबार प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हितका विषय र सहकार्यका सम्भावनाहरूमा विस्तृत छलफल भएको थियो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार, राष्ट्रपति सीले नेपाल–चीन सम्बन्ध पुराना र असल छिमेकीबीचको मित्रताको उदाहरण भएको बताए।
राष्ट्रपति सीले नेपाल र चीनबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान, र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै नेपालको विकास र समृद्धिमा चीनले निरन्तर साथ र सहयोग दिने प्रतिवद्धता जनाए।
उनले नेपाली उत्पादनलाई चिनियाँ बजारमा पुर्याउन थप सहज बनाउने र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्तमा आधारित रहेको बताएका छन्। उनले कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट राष्ट्रपति सीलाई औपचारिक निमन्त्रणा दिएका छन्। जवाफमा राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाए।
प्रधानमन्त्री ओलीले बेइजिङमा आयोजित भेटमा चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। प्रधानमन्त्री लीले अनुकूल समयमा नेपाल आउने आश्वासन दिएका छन्।
यस भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।
रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’
उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’
तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...