प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गरेका छन्। चीनको औपचारिक भ्रमणमा रहेका उनले बेइजिङमा आज आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्र अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका लागि आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड ९सिसिपिआइटी० र चीनस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा उनले भने,'नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका छन्। थप नीतिगत र व्यावहारिक सुधार गरी लगानी विस्तार र व्यापार सहजीकरणका लागि तयार छौँ।'
द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताउनुभयो । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउनुहुँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सहकार्यलाई सरकारले प्राथमिकता दिएको र सोहीअनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताउनुभयो । उहाँले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको बताए।
चीन नेपालमा धेरै लगानी गर्ने मुलुकमध्ये एक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनले बताए।
सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए। साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने प्रतिबद्धता व्यक्त गरे।
चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउनुहुँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारबहन सहजीकरण गरिने उल्लेख गरे। चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने उनको भनाइ छ।
सम्मेलनमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो एक नेपालले व्यावसायिक वातावरण बनाउन गरेको पहलबारे जानकारी गराए। सरकारले लगानी सहजीकरणसम्बन्धी आठ वटा कानुन एकसाथ संशोधन गरेको र द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको उनको भनाइ छ।
यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारत पछि सबैभन्दा राम्रो आएको जानकारी पनि ढकालले गराए। यसले लगानीकर्ताहरु ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनको भनाइ छ।
साथै उनले सीमा क्षेत्रको पूर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए।
महासङ्घ अध्यक्ष ढकालले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए। पछिल्लो समय पर्यटन पूर्वाधारहरु जस्तै केबलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले बताए। नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे।
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।
महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे।
महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'
उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ।
बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।
कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।
यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...