सत्तारूढ दल नेकपा (एमाले) ले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको छ।
आइतबार सुरु भएर मङ्गलबार (आज) सकिएको केन्द्रीय कमिटी बैठकले १४ वटा समसामयिक प्रस्ताव पारित गर्दै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको हो।
'नेपालको संविधान संशोधनको १० वर्ष पुग्न लागेको छ। संविधान कार्यान्वयनको वस्तुनिष्ठ समीक्षा गर्दै यसका सबल र दुर्बल पक्षको निर्क्योल गर्न र संविधानका प्रगतिशील अन्तर्वस्तुहरूको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्नेगरी बृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन यो बैठक सरकारसँग माग गर्दछ,' पारित प्रस्तावको बुँदा नं. ५ मा भनिएको छ।
यस्तै एमालेले विभिन्न कारणले पार्टीभन्दा बाहिर रहेका नेताहरूलाई पार्टीमै फर्किन आह्वान गरेको छ। निर्णायक राष्ट्रिय शक्ति बनाउन एमालेलाई मात्रै सम्भव रहेको उल्लेख गर्दै पारित प्रस्तावको बुँदा नं. १० मा भनिएको छ, 'पार्टी विभाजनलगायत कारणले पार्टी बाहिर रहनुभएका कमरेडहरू र स्वतन्त्र ढङ्गले क्रियाशील रहनुभएका मित्रहरूलाई एमालेमै फर्किन, यसमा आबद्ध हुन र सक्रिय हुन यो बैठक आह्वान गर्दछ।'
एमालेले भ्रष्टाचारजन्य गतिविधिविरुद्ध निर्मम भएर उत्रिन सरकारलाई आह्वान गरेको छ। भ्रष्टाचार नियन्त्रण, अभियोजन र सुरु गरेका कदमहरू सकारात्मक भएको उल्लेख गर्दै पारित प्रस्तावको बुँदा नं. ४ मा भनिएको छ, 'पारदर्शिता सुनिश्चित गर्ने कुरामा यो बैठक दृढ सङ्कल्प गर्दछ।'
नेकपा (एमाले)को जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्न थालेका छन्। केन्द्रीय सदस्यहरूले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संशोधनका विषयमा धारणा राख्न सुरु गरेका हुन्।
अहिलेसम्म बैठकमा बोलेका केन्द्रीय सदस्यहरू राजीव पहारी, पदम गिरी, रवीन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राखेका छन्।
अहिलेसम्म धारणा राख्ने केन्द्रीय सदस्यहरूले पार्टी सचिवालय र पोलिटब्यूरोलेबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन्। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार केन्द्रीय सदस्य केदार सिग्देलले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नहुने धारणा राखेका छन्।
यस्तै अर्का केन्द्रीय सदस्य राजीव पहारीले एघारौं महाधिवेशनबाट पनि केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउन आह्वान गरे। मिसन-०८४ मा ओलीकै नेतृत्वमा गएर एमालेले बहुमत ल्याउनुपर्ने उनले बताए।
आफ्नो धारणा राख्नका लागि केन्द्रीय सदस्यहरूलाई तीन मिनेटको समय निर्धारण गरिएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दोसो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित समसामयिक विषयमा सम्बोधन गरेका छन्। उपाध्यक्ष एवम् विधान संशोधन समिति संयोजक विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तव प्रस्तुत गरेका छन्। महासचिव शंकर पोखरेलले विधान महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रस्तावका सन्दर्भमा प्रकाश पारेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...