संविधान संशोधनका अन्तर्वस्तुमा साझा धारणा तय गर्न मधेसकेन्द्रित ८ दल एक ठाउँ उभिएका छन्। काम गर्न सहज होस् भनेर उनीहरूले ८ सदस्यीय कार्यदलसमेत बनाएका छन्।
कार्यदलमा जनता समाजवादी पार्टी (जसपा) का इस्तियाक राई, जनमत पार्टीका शरदसिंह यादव, जनता समाजवादी पार्टी, नेपालका मनीष सुमन, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का गंगाराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी, नेपालका केशव झा, जनता प्रगतिशील पार्टी (जप्रपा) का शिवजी यादव र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का ब्रजेस सिंह छन्।
गत माघ १७ गते गठित कार्यदलले संविधान संशोधन भइहाले मधेस र मधेसी जनताको तर्फबाट के-के विषय समेट्ने भन्ने विषयको छिनोफानो गर्ने कार्यादेश पाएको छ।
८ दलको बैठक।तर, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भने कार्यदलमार्फत मधेसकेन्द्रित ८ दललाई सरकारका विरुद्धमा उभ्याउने प्रयास थालेका छन्। जबकि, कार्यदलका चार दल सरकारमै सामेल छन्। जसपा, जनमत, नाउपा र लोसपा सरकारमै छन्। उपेन्द्रले भने उनीहरूलाई नै प्रयोग गरेर सरकारविरुद्ध उभ्याउने प्रयास गरेका हुन्।
जनमतका तर्फबाट कार्यदल सदस्य रहेका शरदसिंह यादव भन्छन्, 'कार्यदल नितान्त संविधान संशोधनका विषय तर्जुमा गर्न बनेको हो। तर, यसैलाई सरकारका विरुद्धमा खडा गर्ने प्रयास सुरु भएको छ।'
जसपाका तर्फबाट कार्यदल सदस्य रहेका इस्तियाक राईको भनाइ पनि त्यही छ। 'कार्यदलको कार्यादेश संविधान संशोधन भइहालेको खण्डमा के के विषय छान्ने भन्ने छ। यो या त्यो भन्ने विषय रहँदैन। संविधान संशोधनका विषय बाहेक यो कार्यदलले केही गर्दैन।'
त्यसो त कार्यदलमा रहेका प्राय: दलसँग उपेन्द्र खुसी छैनन्। कार्यदलमा रहेका दलहरूमध्ये संसदीय हैसियतका आधारमा पनि उनी तेस्रो हुन्। पहिलो जसपा हो भने दोस्रो जनमत हो। जसपा र जनमतसँग क्रमश:७ र ६ सिट हुँदा उपेन्द्रसँग ५ सांसद मात्रै छन्।
जसपा आफ्नै दल जसपा नेपाल विभाजन भएर बनेको दल हो। पार्टीका तत्कालीन सङ्घीय परिषद् अध्यक्ष अशोक राईले १२ मध्ये ७ सांसद लिएर पार्टी विभाजन गरेका हुन्। यता जनमतका अध्यक्ष डा.सीके राउतसँग सप्तरी २ मा उनले दोब्बरभन्दा बढी मतान्तरले पराजय भोग्नुपर्यो।
उपेन्द्र यादव।यसबाहेक जनमतसँग उपेन्द्रको मधेस-प्रतिस्पर्धासमेत छ। उपेन्द्र र सीकेबीच मधेसमा कुन पार्टी स्थापित हुने भन्ने प्रतिस्पर्धा छ। कुनै बेला मधेसको सबैभन्दा ठूलो दलको नेतृत्व गरेका उपेन्द्र अहिले सङ्घीय र प्रादेशिक दुबै सरकारबाट 'आउट' छन्।
उपनिर्वाचनबाट भए पनि संसद् छिरेका उनी सत्ताभन्दा टाढा जान त्यति रुचाउँदैनन्। अहिले आफूलाई जसपा, जनमतलगायतका दलहरूले नै 'रिप्लेस' गरेकाले उनीहरूलाई नै प्रयोग गरेर सरकारविरुद्ध उभ्याउन प्रयास गरेको कार्यदलका एक सदस्य बताउँछन्।
तर, कार्यदल आफ्नो कार्यविधि र कार्यादेश बाहिर नजाने ती सदस्यको भनाइ छ। 'संविधान संशोधन बाहेक अरु विषयमा हाम्रो कन्सर्न छैन,' ती सदस्य भन्छन्, 'उपेन्द्रजीले यताउता गर्न खोज्दै हुनुहुन्छ।'
उपेन्द्रको दल जनता समाजवादी पार्टी, नेपालका तर्फबाट कार्यदल सदस्य रहेका मनीष सुमन भने यो कुराको खण्डन गर्छन्।
राष्ट्रिय सभामा सरकारले बहुमत गुमाएको छ। तीन सिट भएको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएसँगै सरकारले बहुमत गुमाएको हो। प्रतिनिधि सभामा झन्डै दुईतिहाइको सरकार राष्ट्रिय सभामा भने निरीह देखिएको छ।
५९ सदस्यीय राष्ट्रिय सभामा अब सरकारसँग २८ सिट (सांसद) मात्रै छ। राष्ट्रिय सभामा सरकारमा सामेल दलहरूमध्ये नेपाली कांग्रेससँग १६, नेकपा (एमाले) सँग ११ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग १ सिट छ। यसरी हेर्दा सरकारको पक्षमा २८ सिट मात्रै पुग्छ।
यदि जसपा नेपालले समर्थन फिर्ता नलिएको हुन्थ्यो भने सरकारसँग ३१ सिट पुग्थ्यो। त्यो भनेको ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमत हो तर, जसपा नेपालले समर्थन नै फिर्ता लिइसकेको अवस्थामा सरकार स्पष्ट अल्पमतमा परेको हो।
यता विपक्षमा भने बहुमत पुगेको छ। राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल नेकपा (माओवादी केन्द्र) सँग १७, नेकपा (एकीकृत समाजवादी)सँग ८, जसपा नेपालसँग ३ र राष्ट्रिय जनमोर्चासँग एक सिट छ। राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम पनि एकीकृत समाजवादी प्रवेश गर्दैछन्। उनको सङ्ख्या एकीकृत समाजवादीमा जोडिँदैछ। राष्ट्रपतिबाट मनोनीत सदस्यको तर्फबाट सरकारको पक्षमा एकभन्दा बढी सङ्ख्या बढ्न सक्ने अवस्था छैन। यसै भए पनि सरकारसँग २९ पुग्छ, त्यो पनि बहुमत होइन।
राष्ट्रिय सभाकै सङ्ख्या-सकसका कारण सरकार पूर्वसमझदारीमा पनि पुग्न सकेको छैन। गत वर्षको असार १७ गते सरकार बनाउने समझदारी गर्दा कांग्रेस-एमालेले संविधान संशोधनको विषयलाई जोडतोडका साथ उठाएका थिए तर, राष्ट्रिय सभामा बहुमत पुर्याउन सकस भएकै कारण त्यो अजेन्डा समझदारीमा सीमित बन्न पुगेको छ। जसपा नेपालले पनि हात झिक्दा सरकार झन् कमजोर बनेको छ।
राष्ट्रिय सभाको सङ्ख्या-सकसको कथा सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि संविधान संशोधनको भाखा २०८७ साल पुर्याएका छन्। जसको प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले भने विरोध गर्दै यही संसदीय कार्यकालभित्र त्यो काम हुनुपर्ने बताउँदै आएको छ। तर, अहिलेसम्म प्रारम्भिक कामसमेत सुरु हुन सकेको छैन। यही पृष्ठभूमिमा जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...