पोखरा। चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
परियोजनाको कुल प्रगति ६५ प्रतिशतभन्दा बढी पुगेको हुँदा लक्ष्य अनुसार काम भइरहेको परियोजनाको तालुक निकाय सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले जनाएको छ। परियोजनाको अनुगमन पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष परियोजनाले सो जानकारी दिएको हो।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठले पर्या पर्यटनका निम्ति अत्यन्तै महत्वपूर्ण मानिएको परियोजना समयमै सम्पन्न गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन्। उनले उक्त परियोजनाको मोडल सफल भए अन्य तालहरूमा पनि सोही प्रकृतिका परियोजना सञ्चालन गर्न सकिने समेत बताए।
कर्मचारी तथा निर्माण व्यवसायीलाई द्रुत गतिमा काम गर्न निर्देशन दिँदै परियोजना सम्पन्न गर्नका लागि आवश्यक सहजीकरण मन्त्रालयले गर्ने समेत उल्लेख गरे।
कुल ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको सो परियोजनामा हालसम्म २ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ। यो कुल अनुमानित लागतको ६५.४८ प्रतिशत हो। आर्थिक वर्ष २०७३/७४ मा स्थापना भएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७४ साउनमा स्वीकृत भएको थियो।
पोखरा महानगरपालिकाका वडा नं. ३१ र ३२ तथा रुपा गाउँपालिकालाई समेटेर अघि बढाइएको परियोजनाको प्रमुख उद्देश्य रुपातालको संरक्षण, जलाधार व्यवस्थापन, बाढी तथा भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवर्द्धन गर्नु रहेको छ।
परियोजनाअन्तर्गत ६३५ मिटर लामो बाँध निर्माण, स्पिलवे तथा पुल निर्माण, तालको माटो व्यवस्थापन, सडक, पदमार्ग, पर्या पर्यटन बगैँचा र तालको बीचमा कृत्रिम टापु तथा मन्दिर निर्माणलगायतका संरचना प्रस्ताव गरिएको छ। परियोजनामा अहिले बाँध तथा स्पिलवेको काम अघि बढिरहेको छ।
२८ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको कामका लागि हालसम्म १६ करोड ४७ लाख रुपैयाँ खर्च भएको छ। स्पिलवे कम ब्रिजको निर्माण अन्तिम चरणमा रहेको र मुख्य बाँध तथा कार्यालय भवनको काम पनि भइरहेको परियोजनाले जनाएको छ।
त्यसैगरी, तालको बायाँ किनारमा ७.९ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ। तालमा थुप्रिएको माटो व्यवस्थापन तथा ड्रेजिङको पनि काम भइरहेको छ। ३९ करोड ६७ लाख रुपैयाँको लागतमा भइरहेको उक्त कामको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ। हालसम्म ५ लाख २ हजार ४४० घनमिटरभन्दा बढी माटो व्यवस्थापन गरिएको छ।
आयोजनाअन्तर्गत निर्माण गर्ने लक्ष्य राखिएका तीनवटै सिल्ट ट्रयाप, १२ वटा जलाधार संरक्षण पोखरी र १०६ वटा बेड बार तथा चेक ड्याम निर्माण सम्पन्न भएका छन्। दुईवटा पक्की पुलमध्ये एउटा निर्माण सकिएको छ भने आठ किलोमिटर नदी नियन्त्रणको लक्ष्यअनुसार ६ किलोमिटर तटबन्ध निर्माण भएको छ।
परियोजनाको संरचना निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको काम पनि अघि बढाइएको छ। स्वीकृत डीपीआरअनुसार कुल १ हजार ४७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भए पनि आयोजनाको तत्कालीन आवश्यकता १ हजार २०० रोपनी रहेको छ।
हालसम्म १ हजार ३४ कित्ताको १ हजार १८ रोपनी जग्गा अधिग्रहण गरिएको छ। यस क्रममा २३ वटा घरटहरा व्यवस्थापन गरिएको र मुआब्जा तथा जग्गा अधिग्रहणमा करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ।
परियोजनामा कुल ५६९ वटा रुख कटान गर्नुपर्नेमा हालसम्म २२२ वटा कटान गरिएको छ। यसका लागि करिब १ अर्ब २९ करोड रुपैयाँ खर्च भएको विवरण आयोजनाले सार्वजनिक गरेको छ।
तर इको फुटट्रेल निर्माणमा भने वनसम्बन्धी प्रक्रिया र रुख कटानको विषयले चुनौती सिर्जना गरेको छ।
यसैबीच, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले चालु आर्थिक वर्ष २०८३/८४ मा विभिन्न कार्यक्रमका लागि ६८ करोड ९४ लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन भएको आयोजना प्रमुख कृष्ण प्रसाद डुम्राकोटीले जानकारी दिए। जलस्रोत संरक्षण, टारबजार संरक्षण, नदी नियन्त्रण, पहिरो व्यवस्थापन, एकीकृत नदी बेसिन सिँचाइ तथा जलस्रोत व्यवस्थापन र सिँचाइ संस्थागत विकास यस वर्षका प्रमुख कार्यक्रम हुन्।
आयोजनाको कार्यक्षेत्र कास्कीसहित स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा र मनाङ गरी छ जिल्लामा फैलिएको छ। आगामी दिनमा तनहुँको चुँदी खोला नियन्त्रण तथा मनाङका तालबजार र चामे बजार संरक्षणका आयोजना अघि बढाउने तयारी पनि गरिएको छ।
२८ सेकेन्ड अघि
•
१ मिनेट पाठ