समितिबाट सर्वसम्मत पारित विधायन विधेयक मन्त्रीले पढेपछि कार्यसूचीबाट हटाइयाे
२६ माघ २०८१
•
५ मिनेट पाठ
समितिबाट सर्वसम्मत पारित विधायन विधेयक मन्त्रीले पढेपछि कार्यसूचीबाट हटाइयाे
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विधायन विधेयक २०८१ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै काननुमन्त्री अजयकुमार चौरसिया। तस्बिर: रासस
प्रतिनिधिसभाको बैठकमा समितिबाट सर्वसम्मत पारित विधायनसम्बन्धी विधेयकलाई मन्त्रीले संशोधनको व्यहोरा पढेर सुनाएपछि पारित गर्ने कार्यसूची नै संसद्को बैठकबाट हटाइएको छ।




प्रतिनिधिसभाको शुक्रबारको बैठकको कार्यसूचीमा विधेयक पारित गर्ने योजना समेटिएको थियो। पारित गर्नुअघि विधेयकमाथि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायनसम्बन्धी विधेयकमाथि छलफलको प्रस्ताव गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई रोस्ट्रममा बोलाइएको थियो।

तर, उनले विधायन समितिको प्रतिवेदनमा राखिएका विषयको व्याख्या गर्दै विधेयक प्रतिवेदनमा रहेका केही व्यवस्था संशोधन गर्न संशोधनको व्यहोरा र बुँदा प्रस्ताव राखे। मन्त्रीले राखेका संशोधनको प्रस्ताव सभामुख, कार्य व्यवस्था र विधेयक प्रतिवेदन पेस गर्ने कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिलाईसमेत थाहा नभएको दाबी गरिएको छ।

छलफलमा भाग लिने क्रममा कानुन, न्याय तथा मानवअधिकार समिति सदस्य कांग्रेस सचेतक सुशीला थिङले पनि मन्त्रीले राखेकै संशोधन प्रस्तावको दफामा त्यही व्यहोराको संशोधनको प्रस्ताव राखिन्। विधेयकको दफा २१ को (१) मा संशोधन गर्नका लागि मन्त्रीले राखेको संशोधनको प्रस्ताव र थिङले राखेको संशोधन प्रस्ताव एउटै थियो।

सो प्रस्तावमा भनिएको छ, ‘प्रत्यायोजित विधायन स्वीकृत हुनुअघि नेपाल सरकारका मन्त्रालय वा सम्बन्धित निकायले त्यस्तो प्रत्यायोजित विधायन मस्यौदामा कानुन मन्त्रालयबाट तर्जुमा सहमति लिनुपर्नेछ। कानुन मन्त्रालयबाट तर्जुमा सहमति नलिई नेपाल सरकारले बनाउनुपर्ने नियम, गठन आदेश, प्रचलित कानुनबमोजिम नेपाल सरकार मन्त्रिपरिषद्ले बनाउनुपर्ने निर्देशिका कार्यविधि बनाउन पाइनेछैन भन्ने संशोधन प्रस्ताव गरियो।

कांग्रेस सचेतक थिङले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो र सरलीकृत बनाउने तथा सरकारी निर्णय प्रक्रियालाई सरलीकृत गर्ने उद्देश्यले नेपाल सरकारबाट जारी नियमावली २०६४ मा आठौं संशोधन भएको सन्दर्भमा सो संशोधन अनुकूल हुने गरी विधेयकको दफा २१ (१) को सट्टा उपदफा १ राखी उल्लिखित संशोधनसहित प्रतिवेदन पारित गर्न उनले अन्य सांसदलाई पनि अनुरोध गरिन्।

कानुन न्याय तथा मानव अधिकार समितिले तयार गरेको विधायनसम्बन्धी विधेयकको दफा २१ (१) मा सरकारले ल्याएकै व्यवस्थालाई कायम राखेको थियो। जसमा भनिएको छ, ‘कानुन मन्त्रालयबाट तर्जुमा सहमति लिएर नेपाल सरकारले बनाउने नियम, नेपाल सरकारबाट स्वीकृत हुने नियम, गठन आदेश, गठन आदेशअन्तर्गत विकास समितिले बनाएको नियम, ऐनले दिएको अधिकारबमोजिम नेपाल सरकार वा सम्बन्धित मन्त्रालयबाट स्वीकृत हुने कार्यविधि, निर्देशिका, मापदण्ड वा जारी हुने आदेश, नेपाल सरकारबाट स्वीकृत हुनुपर्ने संगठित संस्थाका नियम वा विनियम बनाउन सकिनेछ।

प्रतिनिधिसभामा एक पटक समितिले पारित गरेपछि यसलाई संशोधन गर्न सकिँदैन भन्ने हुँदैन तर संसद्को पूर्ण सत्रले सामान्यतया समितिका सिफारिसहरूलाई संशोधन वा अस्वीकार गर्नेसहित अन्तिम निर्णय राख्छ। तर संशोधन गर्ने प्रक्रिया संसदीय प्रक्रियासँग मेल नखाएको कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी बताउँछिन्।

‘समितिमा छलफल हुँदा मन्त्री पनि हुनुहुन्थ्यो, समिति सदस्यका रूपमा सुशीला थिङ माननीय पनि हुनुहुन्थ्यो, उहाँहरूकै सहमतिमा समितिले सर्वसम्मत विधेयक पारित गरेर विधेयक प्रतिवेदन सदनमा पेस गरिएको थियो, तर अचानक मन्त्री र एक जना सांसद(थिङ) को संशोधनको व्यहोरा नै पढेर सुनाएको देख्दा म छक्क परेँ।

सर्वसम्मत भएको विधेयक समिति सभापतिलाई थाहै नदिई किन यसरी संशोधन गरियो यसबारे आफू अनविज्ञ नै रहेको उनले बताइन्। उनले यसबारे थप छलफल गर्नुपर्ने भएकाले कार्यसूचीबाट विधेयक पारित गर्ने विषय हटाउन लगाइएको संकेत पनि गरिन्।

समिति सभापति सुवेदी भन्छिन्, ‘संशोधन गर्न सकिन्छ तर मन्त्री र सांसदले एक्कासि संशोधन व्यहोरा पढेकाले अलि ढंग पुगेन भन्ने लागेको छ, हामी छलफल गरेर अघि बढ्दै छौं,’ उनले भनिन्। सर्वसम्मत भएको विधेयक प्रतिवेदनमाथि छलफलको प्रस्ताव गर्न गएका मन्त्रीले संशोधनको व्यहोरा नै पढेर सुनाएपछि त्यसले संसद्को पनि अपमान गरेको समिति सभापतिको गुनासो छ।

कानुनविद् रामनारायण विडारीले भने समितिले पारित गरेको प्रतिवेदनलाई सदनमा लगेर संशोधन गर्न सकिने बताए। उनले भने, ‘समितिको प्रतिवेदन पेस भएपछि सो प्रतिवेदनलाई आफ्नो धारणा राख्ने क्रममा सबै सांसदले विधेयक प्रतिवेदनलाई स्वीकार गरेमा मन्त्रीले पनि स्वीकार गर्नु पर्नेछ। तर सांसदले अस्वीकार गरेर संशोधन गर्छन् भने मन्त्रीले त्यो संशोधनलाई स्वीकार गर्न सक्नेछन्। स्वीकार सहितको प्रतिवेदनलाई सदनको अङ्ग बनाइन्छ। र पारित गरिन्छ। उनको भनाई बमोजिम पहिला मन्त्रीले छलफल गरियोस् भनी प्रस्ताव गर्नुपर्ने, त्यसपछि सांसदहरूले धारणा राख्नुपर्ने र धारणा राख्दा संशोधनको कुरा उठेमा मन्त्रीले छलफलमा उठेका विषयमा जवाफ दिने क्रममा संशोधनको कुरा स्वीकार गर्ने भए स्वीकार गरेँ भन्ने अस्वीकार गर्ने भए अस्वीकार गरेँ भन्ने संसदीय प्रक्रिया रहेको देखिन्छ।

विधायन सम्बन्धी विधेयक माथि सांसदहरूले छलफलमा बोल्ने क्रम सकिएको छ। तर, कानुन मन्त्रीले छलफलमा उठेका विषयमा जवाफ दिने काम बाँकी छ। मन्त्रीले जवाफ दिने काम शुक्रबारै सकेर विधेयक पारित गर्ने तयारी थियो तर विधेयकमा सभामुख र कर्मचारीलाई थाहै नदिई मन्त्रीले संशोधनको प्रस्ताव राख्नुभयो, केही माननीयले सभामुखसमक्ष विधेयक पारित गर्ने प्रक्रिया रोक्न गोप्य रूपमा आग्रह गर्नुभयो,’ संसद् सचिवालय स्रोतले जानकारी दियो।

प्रतिनिधिसभाको नियमावली २०७९ को नियम १२३ (२) मा मन्त्रीले प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरियोस्, वा कुनै खास दफा वा दफाका सम्बन्धमा पुनः विचारार्थ निर्देशनसहित सम्बन्धित समितिमै विधेयक फिर्ता पठाइयोस् भन्नेमध्ये एउटा प्रस्ताव राख्नुपर्ने व्यवस्था छ। विधेयकलाई संशोधन गर्नुपर्ने भएमा पुनः समितिमा लगेर छलफल गर्न सकिने पनि थियो।
अर्को समाचार
प्रभावकारी छैन प्रधानमन्त्रीसँग प्रश्नोत्तर
०७ चैत्र २०८१
•
६ मिनेट पाठ
प्रभावकारी छैन प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा दुई पटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भएको छ। फागुन ४ गते पछि दोस्रो चैत ७ गते बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिएका छन्।




सांसदले सोधेका प्रश्नलाई उनले जसरी उत्तर दिइरहेका छन् त्यसले मात्रै सरकारले संसद्को अधिकार क्षेत्रलाई सम्मान गरेको पाइँदैन। संसदीय अभ्यासमा प्रश्नको उत्तर दिइसकेपछि एक पटक पुनः प्रश्न सोध्न दिनुपर्ने मान्यता छ। तर, प्रतिनिधिसभाको नियमावली २०७९ मा प्रधानमन्त्रीलाई पुनः प्रश्न सोध्ने व्यवस्था हटाइएको छ। जसले प्रधानमन्त्रीलाई सांसदले सोधेको उत्तर दिने तर त्यसमा प्रतिप्रश्न नपाइने हुँदा प्रधानमन्त्रीले उल्टै सांसदहरूलाई प्रश्न सोध्ने, अपमान गर्ने गरेको भन्दै सांसदहरूबाट आपत्ति हुन थालेको छ।

गत फागुनको प्रश्नोत्तर कार्यक्रममा जस्तै बिहीबारको कार्यक्रममा पनि प्रधानमन्त्री ओलीबाट सांसदले सोधेका प्रश्नलाई आधारहीन भएको, प्रश्न नभएर आरोपको रूपमा आफूले लिएको जस्ता शब्दावली प्रयोग भए भने अन्य व्यङंगात्मक वाक्यहरू पनि प्रयोग गरे।

संसद् सचिवालयका अधिकारी भन्छन्, ‘विगतमा जस्तो प्रधानमन्त्रीबाट जिम्मेवारीपूर्वक प्रश्नको उत्तर दिन पुनः प्रश्न सोध्ने व्यवस्था राख्नुपर्ने हुन्छ। यसबाट नै प्रधानमन्त्रीलाई सजक भएर आफ्नो प्रश्नको उत्तर दिन बाध्य गराउने उनीहरूको तर्क छ। माओवादी केन्द्रका सांसदले भने यसअघि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा भने उनले सांसदलाई अपमान नगरेको दाबी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका कुनै प्रश्नलाई सहज तरिकाले पनि उत्तर दिएका छन् भने कुनै प्रश्नमाथि उल्टै प्रश्न पनि सोध्ने गरेका छन् अर्कोतर्फ व्यङय पनि गरेका छन्। समग्रमा यसले संसद्मा रहेको प्रश्नोत्तर कार्यक्रम प्रभावकारी भएको मान्न नसकिने संसद् सचिवालयका अधिकारीको तर्क छ।

आम जनता पार्टीका सांसद प्रभु साहले गत फागुन ४ गतेको प्रश्नोत्तरको कार्यक्रममा आफूले सोधेका प्रश्नको उत्तर नदिएको भन्दै बिहीबारको प्रश्नोत्तर कार्यक्रम नै नराख्न आग्रह गरे। प्रश्नोत्तर कार्यक्रम सुरु भएपछि उनी बहिष्कार गरेर निस्किए। हुन त उनले पनि पूर्वाग्रह नै राखेर प्रश्न सोधेको पाइएको संसद् सचिवालयका अधिकारीको भनाइ छ।

सांसदले पूर्वाग्रह रूपमा प्रधानमन्त्रीलाई प्रश्न गरेका कारणले नै प्रतिनिधिसभा नियमावली २०७९ मा पुनः प्रश्न गर्ने व्यवस्था हटाइएको संसद् सचिवालयका एक अधिकारीले स्मरण गराए। विशेष गरी प्रतिपक्षका सांसदहरूले कुण्ठाहरू प्रयोग गर्दा नै त्यसलाई नियमबाट हटाउन नियमावली बनाउन गठन भएको समिति सहमत भएको उनीहरूको तर्क छ।

अर्कोतर्फ प्रधानमन्त्रीलाई सोधिने प्रश्नहरू सभामुखले निर्णय गर्ने व्यवस्था छ। संसद् सचिवालयमा प्रश्नहरू दर्ता भएपछि सभामुखले कुनै प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार छ। जसबाट सांसदले सोधेका सबै प्रश्न सभामुखले स्वीकार गरेको पाइँदैन। संसद् सचिवालय स्रोत भन्छ, धेरथोर सभामुख पनि सरकारको पक्षमा ढल्कने गरेको देखिन्छ।

बिहीबार प्रधानमन्त्रीलाई प्रश्न सोध्नेक्रममा रास्वपाका सांसद मनिष झाले ‘तपाईँले नियुक्त गर्नुभएको कर्मचारीको असक्षमताका कारण सरकार फेल भएको तथ्य स्वीकार गर्नुहुन्छ? भन्ने कुराको जवाफ मागे। त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘प्रश्न भन्दा अगाडि केही व्याख्या राख्नुभयो, केही आक्रोशपूर्ण देखिए। प्रश्नको उत्तर समाप्त गर्ने क्रममा प्रधानमन्त्रीले फेरि थपे, आधारहीन ढङ्गले प्रश्न गर्नुभन्दा तुलनात्मक तरिकाले प्रश्न गरेको भए राम्रो हुन्थ्यो, आरोपका रूपमा आएपछि मैले खण्डन गर्न बाध्य हुनुपर्छ।

प्रधानमन्त्री ओलीले सांसद झाको प्रश्नको उत्तरमा भनेका थिए, ‘आफ्ना मान्छेहरू नियुक्त गरेको भन्ने आरोप सही छैन, त्यस कारण अझ मेरो हैसियत हकमा भन्ने हो भने आफ्नो मान्छे भन्ने कुनै पनि हिसाबले एक जना नियुक्त भएको देखाइदिनुभयो भने यहाँलाई धन्यवाद।’

कर्मचारीहरू मैले नियुक्त गरेको होइन। र अहिलेको सरकारले हाम्रो मान्छे होइन, राम्रो मान्छेको खोजी गर्छ। योग्य मान्छे उपयुक्त ठाउँमा राख्छ। त्यसमा कुनै प्रकारको भेदभाव होइन, मेरिटोक्रेसीको आधारमा जिम्मेवारी दिने परिपाटी छ,’। लोकसेवा आयोगले परीक्षा लिएर कर्मचारी छनोट गर्दछ भन्दै उनले आफूलाई यसबारे आरोप नलगाउन आग्रह गरे। उनले पछिल्लो पटक नेपाल प्रहरीको ३१औं महानिरीक्षक(आईजीपी) मा दीपक थापा नियुक्त भएको उदाहरण प्रस्तुत पनि गरे। प्रधानमन्त्रीले अर्को कुरा पनि भने ८ महिनामा देश गरिब भएको हो भन्दै उल्टै सांसद झालाई प्रश्न सोधे।

यसैगरी, राप्रपा सांसद बुद्धिमान तामाङको चुच्चे नक्सा मात्रै जारी गरिएको तर प्रधानमन्त्रीको लिम्पियाधुरा, लिपुलेक र कालापानीको भ्रमण छ कि छैन भन्ने प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले मत जाने तत्काल योजन बनेको छैन, तपाईंको योजना बनेको छ कि क्या हो, योजना बनेको भए राम्रो कुरा भन्दै व्यंग्यात्मक जवाफ फर्काए। सांसद तामाङको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले सन् १९६२ अघिसम्म नेपालको अधीनमा रहेको भूभागको नक्सा हाल कायम रहेको नक्सा नै यथार्थ भएको बताए।’

२०१७ साल अघिसम्म देशको नक्सा अहिलेकै जस्तो थियो, त्यसपछि फेरियो। २०७७ असार ४ गते संविधानको दोस्रो संशोधनमार्फत संविधानको अनुसूची ३ मा रहेको नेपालको निशाना छाप अद्यावधिक गरियो,’ उनले भने। प्रधानमन्त्री ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन पहिला भारतका प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने भनिएका कारण भारतका प्रधानमन्त्रीले नबुझी नेपालका प्रधानमन्त्रीले नबुझ्ने बताए।

समझदारीबाटै समाधान खोजिने भन्दै उनले त्यसले औँल्याउने समस्या एकतर्फले बुझेर र एकतर्फ मात्र कार्यान्वयन गरेर नहुने उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले इपिजी प्रतिवेदन बुझ्ने सम्बन्धमा यसअघिका भेटघाटमा मित्रराष्ट्र भारत सरकारको उच्च तहमा कुटनीतिक रूपमा उठाइएको जानकारी दिँदै यसको समाधान खोजिने बताए, माओवादी केन्द्रकी सांसद विमला सुवेदीको शान्ति प्रक्रियाको टुंगो कहिले लाग्छ भन्ने प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुङयाउन प्रमुख प्रतिपक्ष दलको नेतासँग आफू सम्पर्कको प्रयासमा रहेको तर स्वास्थ्यका कारण सम्पर्कमा नआएको भन्दै अर्को व्यङय गरे। उनले भने, ‘यसमा अहिले पनि म प्रयासरत छु।

यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु तर मैले पटक पटक प्रयास गर्दा उहाँ स्वास्थ्य केही समस्या भएको सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु। उहाँसँग सम्पर्क हुनासाथ काम अगाडि बढाइनेछ।’ माओवादी केन्द्रका अध्यक्ष अहिले पार्टीको अभियानमा तराईका जिल्लामा छन्।

एकीकृत साजवादीका सांसद भानुभक्त जोशीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनुमति पत्र (प्रवेश पास) उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८१ कार्यान्वयनमा ल्याइएको जानकारी दिए। उनले नेपाल र चीन बिचको १४ वटा परम्परागत व्यापारिक नाकाहरूमध्ये १३ नाका पुनः सञ्चालनमा आइसकेको जानकारी दिए।

बझाङस्थित उरै भन्ज्याङ नाका सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय एवं कूटनीतिक पहल भइरहेको जानकारी दिए। नेपाल–चीन सिमानाका १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाका पुनः सञ्चालन गर्ने सम्बन्धमा सीमा व्यवस्थापनसम्बन्धी सम्झौताअन्तर्गत नेपाल–चीनबिच सन् २०१९ मै हस्ताक्षर भएको उनले बताए।

रास्वपा कि सांसद विनीता कठायतले सोधेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले धारचुलाका बासिन्दालाई भारतको बाटोबाट आउनु पर्ने बाध्यतालाई सम्बोधन गर्न त्यहाँका बासिन्दाको मागबमोजिम ५ करोडको बजेट निकासा गराई घोरेटो बाटो सञ्चालनको काम भइरहेको बताए।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस