के माओवादी र एकीकृत समाजवादीबीच सम्भव छ एकता ?
२९ माघ २०८१
•
५ मिनेट पाठ
के माओवादी र एकीकृत समाजवादीबीच सम्भव छ एकता ?
मङ्गलबार (आज) सुर्खेत पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग चाँडै एकता हुने दाबी गरे।




चन्दको पार्टी त माओवादीसँग एकताका लागि तयार नै छ। बरु उसले माओवादी केन्द्रकै कारण एकता प्रक्रियामा ढिलाइ भइरहेको बताइरहेको छ। केही सङ्गठनात्मक तथा केही प्राविधिक विषय मात्रै मिल्न बाँकी देखिन्छ। वैचारिक तथा सैद्धान्तिक रूपमा नेपाल कम्युनिष्ट पार्टी र माओवादीका बीचमा एकताको सहमति नै भइसकेको हो।

तर, नेपालको एकीकृत समाजवादीसँग भने माओवादीले कुनै त्यस्तो सहमति गरेको छैन। न त एकीकृत समाजवादी आफैँ एकताका लागि तयार छ। तर, दाहालले भने बारम्बार एकता हुने दाबी गरिरहेका छन्।

दाहालले यसअघि गत माघ १९ गते पनि चितवनमा सोही दाबी गरेका थिए। एकीकृत समाजवादीका स्थानीय नेतालाई पार्टी प्रवेश गराउँदै उनले भनेका थिए, 'यो प्रवेशले माधवजीसँगको सम्बन्धलाई कुनै असर पर्ने छैन। उहाँहरूलाई भित्र्याउन मेरो कुनै भूमिका छैन। चितवनकै साथीहरूको भूमिका छ। अहिले माधवजी र हामी मिलेर समाजवादी मोर्चामा नयाँ ढङ्गले काम गर्न खोजिरहेका छौँ। अहिलेको पार्टी प्रवेशले माओवादी र एकीकृत समाजवादीबीचको पार्टी एकताको आधार बन्दैछ भन्ने मेरो बुझाइ छ।’ 

यो पनि पढ्नुहोस्

नेकपा एसका नेता भित्र्याउँदै दाहालले भने: माधव जीसँग पनि एकताको आधार बन्दैछ

त्यसो त माओवादी र एकीकृत समाजवादीबीच एकताको विषय नयाँ भने होइन। यद्यपि, एकता बहसमै सीमित रहेको भने पक्कै हो। यसअघि माओवादी र एकीकृत समाजवादीबीच एकता हुने चर्चा व्यापक नै थियो। त्यसअनुसार अध्यक्षद्वय दाहाल र नेपालले शृङ्खलाबद्ध रूपमा संवादसमेत गरेका हुन्। तर, खासगरी एकीकृत समाजवादीका दोस्रो तहका नेताहरूले त्यसलाई रोक्ने काम गरे।

पछिल्लो संसदीय निर्वाचनमा पार्टीले तीन प्रतिशतको थ्रेसहोल्डसमेत कटाउन नसकेपछि 'सोचमग्न' बनेका नेपाल माओवादीसँग एकता हुँदा पनि फरक नपर्ने बुझाइमा थिए। तर, दोस्रो तहका नेताहरूले उनलाई झस्काइदिए।

पार्टीको सचिवालय तथा स्थायी कमिटी बैठकमै दोस्रो तहका नेताहरूले माओवादीसँग एकता गरेको खण्डमा ठूलै पङ्क्तिमा नेताहरू एमाले फर्किने बताएका थिए। यसपछि नेपाल रोकिए र दाहालसँग पार्टी एकताकै लागि संवाद गर्न छाडे। दाहालले पनि यो थाहा पाएरै त्यसपछि थप कर गरेनन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।
तर, अहिले आएर दाहालले फेरि एकताकै रटान लगाउन थालेका छन्। यसको आधार के हो ? माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा भन्छन्, 'दाहाल र नेपालका बीचमा यसबारे पनि छलफल हुने गरेका छन्।' प्रवक्ता सापकोटा ती संवादहरूमा एकताको आधार तयार पार्नेगरी पनि छलफल भइरहेका बताउँछन्।

के माओवादी र एकीकृत समाजवादीबीच एकता सम्भव छ ? भन्ने नागरिकको जिज्ञासामा उनी भन्छन्, 'कुरा अध्यक्ष (पुष्पकमल दाहाल) ले जे भन्नुभएको छ, त्यही हो। कुरा त्यहीँ प्रष्ट नै छ त। संवाद भइरहेको छ, वातावरण बनिरहेको छ भन्ने त हो नि। असम्भव रहन्छ भन्ने हुँदैन।'

यही प्रश्न हामीले एकीकृत समाजवादीका उपाध्यक्ष डा. वेदुराम भुसाललाई सोध्यौँ। भुसालले पनि एकता नै हुँदैन भनेर त भनेनन्। तर, तत्कालका लागि भने त्यो निकै गाह्रो कुरा भएको बताए।

यो पनि पढ्नुहोस्

दाहालले फेरि भने: माधव जी र विप्लव जीसँग पार्टी एकता हुन्छ

'माओवादी र एकीकृत समाजवादीका बीचमा मात्रै होइन, नेपालका सबै कम्युनिष्ट पार्टीहरूका बीचमा एकता हुनुपर्छ, कम्युनिष्ट ध्रुवीकरण हुनुपर्छ भन्ने सैद्धान्तिक बुझाइ हो। यसमा अन्यथा छैन। तर, तत्कालै भने सम्भव देखिँदैन। नेताहरूका बीचमा भेट हुनु, कुराकानी, संवाद हुनु एउटा कुरा हो। तर, एकता नै भनेकोचाहिँ यतिकै हुँदैन,' उनले नागरिकसँग भने।

दाहालले भनेझैँ अहिले एकताका लागि आधार तयार हुँदैछ भन्ने कुराचाहिँ कति सत्य हो भन्दा उनले भने, 'अहिले त्यस्तो केही छैन।'

उसो त एकीकृत समाजवादीभित्र खासगरी जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, प्रेम आलेलगायतका नेताहरू माओवादीसँग एकता हुन नहुने पक्षमा छन्। यसअघि एकीकृत समाजवादिभित्र आफूभन्दा ठूलो दलसँग एकता नगर्ने, एकता गरिए त्यो एकता नभई विलय हुने बहस उठेको थियो। यी नेताहरू त्यही बिन्दुमा अडिग रहेको बताइन्छ।

त्यसबाहेक दुबै पार्टीभित्र टाउका-टाउकाको नभएर एकता पुच्छर-पुच्छरको हुनुपर्ने आवाज उठिरहेको छ। गत माघ २० गते पार्टीको सङ्घीय सम्पर्क कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्ने क्रममा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पनि त्यही बताएका थिए।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।
'माथि-माथि चोचोमोचो मात्रै मिलाएर गरिएको पार्टी एकता हामीले देख्यौँ, अब पार्टी एकता सडकमा हुनुपर्छ, बाटोमा हुनुपर्छ। कार्यकर्ताका बीचमा हुनुपर्छ। माथि-माथि मिलाएर एकता हुँदैन,' उनले भनेका थिए, 'अब पार्टीले एकताको आश गर्ने होइन,आफ्नै खुट्टामा टेकेर अगाडि जान्छ। पार्टी बन्ने यसरी हो।'

एकीकृत समाजवादीभित्र मात्रै नभएर माओवादीभित्र पनि यही माग छ। माथि-माथि मात्रै एकता गरेर त्यो साँचो अर्थको एकता नहुने नेताहरूले बताउँदै आएका छन्।

यसअघि एमाले र माओवादीबीच एकता भएर २०७४ साल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो। त्यसबेला एकीकृत समाजवादी एमालेमै थियो। २०७७ सालमा सर्वोच्च अदालतले नेकपालाई एमाले र माओवादीकै पूर्ववत् अवस्थामा फर्काइदिएपछि एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी गठन गरे।

त्यसबेलैदेखि एकीकृत समाजवादी र माओवादीबीच एकता हुने कुरा चल्ने गरेको हो। तर, अहिलेसम्म यसमा थप प्रगति भने भएको छैन। एकीकृत समाजवादीका नेताहरू बरु दाहालले एकता हुने भनेर 'मिडिया ट्रायल' गरेको आरोप लगाउँछन्। एक नेताले भने, 'उहाँले मिडिया ट्रायल गर्नुभएको कि जस्तो पो लाग्छ।'

यो पनि पढ्नुहोस्

माओवादी र समाजवादीबीच एकता हुँदैछ ?
अर्को समाचार
माओवादी र समाजवादीबीच एकता हुँदैछ ?
१९ माघ २०८१
•
३ मिनेट पाठ
माओवादी र समाजवादीबीच एकता हुँदैछ ?
शनिबार (आज) चितवन झरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीसँग एकताको आधार बन्दै गरेको दाबी गरे।




एकीकृत समाजवादीका स्थानीय नेतालाई पार्टी प्रवेश गराउँदै उनले भने, 'यो प्रवेशले माधवजीसँगको सम्बन्धलाई कुनै असर पर्ने छैन। उहाँहरूलाई भित्र्याउन मेरो कुनै भूमिका छैन। चितवनकै साथीहरूको भूमिका छ। अहिले माधवजी र हामी मिलेर समाजवादी मोर्चामा नयाँ ढङ्गले काम गर्न खोजिरहेका छौँ। अहिलेको पार्टी प्रवेशले माओवादी र एकीकृत समाजवादीबीचको पार्टी एकताको आधार बन्दैछ भन्ने मेरो बुझाइ छ।’

दाहालले यसो भनेपछि कतिपयले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुन लागेको रूपमा अर्थ्याएका छन्। यसबारे एकीकृत समाजवादीका उपाध्यक्ष डा. वेदुराम भुसाल नागरिकसँग भन्छन्, 'एकता हुनुपर्छ भन्ने सैद्धान्तिक बुझाइ छ। तर, तत्कालै एकता भने सम्भव देखिँदैन।'

एकीकृत समाजवादीको बैठक।
समाजवादी मोर्चामा सँगै रहेको उल्लेख गर्दै उनले थपे, 'अहिले पनि सहकार्य चलिरहेकै छ। समाजवादी मोर्चामा सँगै छौँ, मोर्चालाई थप सुदृढ गरेर लाने विषय छँदैछ। नेपालको कम्युनिष्ट आन्दोलनमा ध्रुवीकरणको आवश्यकता छ। यसको बोध हामीले मात्रै गरेर हुँदैन, माओवादीले मात्रै गरेर पनि हुँदैन। सबै कम्युनिष्टहरूले गर्नुपर्छ र अन्तत: एकतासम्म पुग्नैपर्छ।'

त्यसो त यसअघि नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने कुरा थियो। त्यसबेला खासगरी एकीकृत समाजवादी नै 'ब्याक' भएको थियो। पार्टीका दोस्रो तहका नेताहरूले आफूभन्दा ठूला पार्टीसँग एकता गर्दा त्यो एकता नभइ विलय हुने र माओवादी केन्द्रसँग एकता भयो भने ठूलै सङ्ख्यामा नेताहरू एमालेमा समाहित हुने बताएपछि अध्यक्ष माधवकुमार नेपाल हच्किएका थिए।

अध्यक्ष नेपाल भने एकता नै भए पनि फरक नपर्ने बुझाइमा थिए। तर, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, प्रेम आलेलगायतका नेताहरूले सहमति नजाएपछि उनी पछाडि हटेका थिए। अध्यक्ष नेपालले भने पहिले पनि एउटै पार्टीमा रहेकाले पुन: सँगै हुँदा फरक नपर्ने आशयका धारणा राख्थे।

त्यसपछि एकताको कुरा उसै हराएको थियो। तर, आज फेरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही विषय उधिनेका छन्।

उसो त माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता चलिरहेकै छ। यसबीचमा उनीहरूका बीचमा थुप्रैपटक 'वान् अन वान्' वार्तासमेत भएका छन्।

ती वार्ताहरूमा एकताको कुरा नछुट्ने माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा बताउँछन्। उनले नागरिकसँग भने, 'उहाँहरूबीच वान् अन वान् वार्ताहरू भइरहेका छन्। ती वार्ताका क्रममा यस्तै यावत् विषयबारे पनि छलफल हुने गरेका छन्। एकताबारे पनि कुरा हुने गरेकै छन्।'

माओवादी केन्द्रको बैठक।
प्रवक्ता सापकोटा पनि एकीकृत समाजवादीसँग एकताको आधार तयार भइरहेकै बताउँछन्। 'हाम्रो अध्यक्षले भन्नुभएकै कुरा साँचो हो। एकीकृत समाजवादीसँग एकताको आधार तयार हुँदैछ। अहिल्यै नहोला तर, केही समयपश्चात् एकता हुन्छ र हुनु पनि पर्छ।'

जसै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको धारणा भने अहिले पनि उही छ। पछिल्लो संसदीय निर्वाचनमा ३ प्रतिशतको थ्रेसहोल्डसमेत नकटाएको उनको दल सुदृढ हुँदै जानुको साटो विभाजनको डरमा छ। गत माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको विचारसभा सम्बोधन गर्ने क्रममा पनि उनले एकतामै जोड गरेका थिए।

तर, दोस्रो तथा तेस्रो तहका नेताहरूले सहमति नजनाउँदा उनलाई अप्ठ्यारो भएको छ।

यो पनि पढ्नुहोस्

नेकपा एसका नेता भित्र्याउँदै दाहालले भने: माधव जीसँग पनि एकताको आधार बन्दैछ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस